ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
पुस्तक परिचय
कथाकार धनमान श्रेष्ठद्वारा रचित आत्मवृत्तान्त तथा विविध लेख रचनासङ्ग्रह ‘व्यक्ति एक आयाम अनेक’ पुस्तक अध्ययन गर्ने अवसर मिल्यो । पुस्तक पढ्दै जाँदा विगतमा घटेका घटनाहरू थाहा पाउने अवसर मिल्यो । विभिन्न खण्डहरू समावेश गरी पाठकहरूको सामु पुस्तकको रूपमा ल्याउनु सराहनीय काम हो ।
साहित्य क्षेत्रमा लागेका नयाँ लेखकहरूलाई यो पुस्तक प्रेरणाको स्रोत बन्ने छ ।
यस पुस्तकको पहिलो संस्मरण ‘मेरो बाल्यकालदेखि..’ अध्ययन गर्दा विगतका आफ्नो विद्यालय जीवनलाई पनि सम्झना गरायो । राजगद्दीमा बसेको राजाको हातमा राजदण्ड भएजस्तो कक्षामा पढाउन आउने शिक्षकको हातमा तीखो लट्ठी हुन्थ्यो । लट्ठीको डर देखाई शिक्षकले पढाउने चलन थियो । कथाकारलाई त झन् नखाएको बिष लागेको घटनाको स्मरण मार्मिक छ । त्यस्तै, नखाएको बिष लागेको घटना कथाकार धनमान श्रेष्ठको आफ्नै टोल नासचामा घटेको थियो । यो १०–११ सालतिरको घटना होला । नासचा टोलको गरिब किसान विष्णुभक्त सुवाललाई १ माना चामल चोरेको आरोपमा नजिकैको पाटीमा बाँधी पिटपाट गरेको सम्झना दिलायो । वास्तवमा चोर अर्कै थियो । आमा–छोरामात्र भएको गरिब परिवार उनको कारण शङ्काले दुःख पाएको थियो । निज सुवाल अर्काको भारी बोकेरै आफ्नो जीवन बिताएर गयो ।
‘काङ्ग्रेस हेर्ने रहर’ संस्मरणले पनि धेरै ज्ञान दिलायो । विनाछलछाम निःस्वार्थरूपमा जनताको अधिकारको लागि एकतन्त्रीय राणा शासनविरूद्ध सङ्घर्ष गर्नु कम साहस थिएन । बलिदानी भावना बोकेर सङ्घर्षमा उत्रेका भक्तपुरका योद्धाहरू चिनिन अवसर मिल्यो । ती योद्धाहरूमध्ये मेरै काका द्वारिकानाथ भएको थाहा पाएँ । उहाँले जेलनेल भोगेको कुरा मेरा हजुरबा र हजुर आमा बताउनुहुन्थ्यो । तर, मलाई दन्त्य कथाजस्तो लाग्थ्यो । मेरो काकाबारे एउटा घटलाग्दो कुरा सुनेको थिएँ । २००७ सालको परिवर्तनपछि अन्तरिम सरकारको लागि भक्तपुरका क्रान्तिकारी योद्धाहरूमध्ये १ जना योद्धा द्वारिकानाथ उलकलाई मन्त्री मण्डलमा समावेश गराउने प्रस्ताव पेस भएछ । मन्त्रीको लाममा बसेका मेरो काकामात्र योग्यता नपुगेको कारण प्रस्ताव स्वीकृत हुन सकेन । त्यसैको रिस पोख्न आफ्नो बुबा हरिभक्त उलकसँग ‘मलाई किन नपर्खेको’ भन्दै झगडा गर्न आएको थियो रे । यो घटनाले नयाँ योद्धाहरूलाई सोच्न बाध्य पार्नेछ ।
कथाकारले आफ्नो संस्मरणमा राणा शासनविरूद्ध लड्ने योद्धाहरू विभिन्न समूहमा रहेको कुरा पनि लेखेको भए झन् बोझिलो हुन्थ्यो । उदाहरणको लागि हाल भनपा–९ स्थित तचपाल टोलमा गणेशमान समूह (नेपाली काङ्ग्रेस), डिल्लीरमण समूह (नेपाली राष्ट्रिय काङ्ग्रेस), डा.के.आई.सिंह समूह, टङ्कप्रसाद आचार्य समूह (नेपाल प्रज्ञा परिषद्) रहेको सम्झना छ ।
‘काङ्ग्रेसको भूत’ शीर्षकको संस्मरण पढ्दा अग्रज कम्युनिस्ट कार्यकर्ताहरू चिन्ने अवसर मिल्यो । कम्युनिस्ट पार्टीकै निर्देशनमा विभिन्न पुस्तकालयहरू स्थापना भएको र अध्ययन गोष्ठीहरू सञ्चालन हुने गरेको थाहा पाइयो । यस्तै गतिविधि भक्तपुरमा अद्यापि छ । यो राम्रो कुरा हो । कथाकारले भक्तपुर तचपाल टोलस्थित ‘युग विजय पुस्तकालय’ बारे उल्लेख गर्न भुलेको जस्तो लाग्यो । उक्त पुस्तकालय युवक पुस्तकालय र नव अध्ययन पुस्तकालय एकीकरण गरी युग विजय पुस्तकालय नामकरण भएको कुरा लेखकलाई राम्ररी थाहा छ । पुस्तकालय एकीकरण गर्ने सभामा तचपाल टोलको रामेश्वर मास्के र गछेँ टोलको दयाप्रसाद देवको बिचमा झगडा भई सभा बिथोलिएको थियो । त्यो सभा दत्तात्रय मन्दिरको भजन घरमा सञ्चालन भएको थियो ।
‘एस.एल.सी. जाँचको तनाव’ शीर्षकको संस्मरणले नयाँ पिँढीका विद्यार्थीहरूलाई भक्तपुरको बिगतको शैक्षिक अवस्थाबारे ज्ञान दिलाउँछ । मलाई थाहा भएअनुसार उसबेला बहुमत जनता शिक्षाको महत्वबारे बुझ्दैनथे । वर्तमान स्थितिसम्म ल्याउन अग्रज समाजसेवी युवाहरूले हदैसम्म मेहनत गरेको होला । एसएलसी परीक्षा केन्द्र भक्तपुरमा राख्न लगाउन र भक्तपुर कलेज स्थापनाको लागि तत्कालीन राजनीतिक कार्यकर्ता तथा समाजसेवीहरूले कष्टपूर्ण सङ्घर्ष गरेको बुझ्न सकिन्छ ।
‘नेपालबाट नेपाल जाँदाको सकस’ संस्मरणले पुरानो नेपालको भौगोलिक अवस्थाको ज्ञान दिन्छ । ‘डाक्टर नपढेको म डाक्टर’ त सा¥है घटलाग्दो छ ।
एकजना स्वास्थ्यकर्मीको जागिरे व्यक्ति भए तापनि विद्यालयको शिक्षक भई काम गर्नु सराहनीय काम भएको कुरा ‘मेरो शिक्षण काल’ संस्मरणबाट थाहा पाएँ । यस कार्यबाट कथाकार समय खेर नफाल्ने व्यक्तिको रूपमा चिन्न सकिन्छ । साथै विभिन्न स्वास्थ्य संस्थामा आबद्ध भई बिरामीको सेवा गर्नु कहिल्यै नमेटिने धर्म हो भन्ने लाग्छ ।
‘मेरो भद्रगोल जेल यात्रा’ संस्मरण घटलाग्दो छ । यस संस्मरण अध्ययन गर्दा २०१७ सालपछि स्वास्थ्य क्षेत्रमा लागेर देशको सेवा गरिरहेको स्वास्थ्यकर्मीलाई किन जेल हालेको होला भन्ने प्रश्न मनमा उब्जियो ।
यस पुस्तकबारे विभिन्न लेखक तथा विद्वत्वर्गमा आफ्नो धारणा पनि समावेश गरेको हुँदा पुस्तक बोझिलो भएको छ । पुस्तकको कागज राम्रो छ । गाता आकर्षक छ । नेपाली साहित्यको ढुकुटीमा उपयोगी पुस्तक थपेको अनुभव गर्छु । मूल्य रु. ४५०।– ठिक्कै मान्नुपर्छ । लेखक तथा प्रकाशकलाई सादर धन्यवाद !
Leave a Reply