भर्खरै :

वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुईदिने गोष्ठी सुरु

वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुईदिने गोष्ठी सुरु

भक्तपुर, २१ वैशाख । वागीश्वरी कलेजको आयोजनामा वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा वागीश्वरी कलेजमा अध्यापनरत शिक्षकलाई अनुसन्धानमूलक लेखन र प्रकाशनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
गोष्ठीमा कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यशाला गोष्ठी सफलताको निम्ति शुभकामना दिँदै वागीश्वरी कलेज अनुसन्धानको क्षेत्रमा क्रमशः सक्षम हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
पिछडिएको जिल्लाको रूपमा परिभाषित भक्तपुर जिल्लालाई ‘एक घर एक स्नातक’ को मूल उद्देश्य लिएर अघि बढ्दा आज कला संस्कृतिसँगै शिक्षालगायतका क्षेत्रमा नमुना बनाउन सफल भएको दृष्टान्त प्रस्तुत गर्दै हामीले अनुसन्धानमा गरेको मिहेनतले भोलि आउने पिँढीलाई मार्गनिर्देशन गर्ने बताउनुभयो ।
वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षालाई उत्पादनमूलक, सक्षम, व्यावहारिक बनाउँदा विद्यार्थीहरूको गुणस्तरमा वृद्धि हुने बताउँदै वागीश्वरीले पढाइसँगै विद्यार्थीहरूलाई उद्यमशील हुन प्रेरित गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षक सक्षम भए गुणस्तरीय विद्यार्थीहरू उत्पादन हुने भएकाले यस्ता कार्यशाला गोष्ठी शिक्षक विद्यार्थीहरू सबैलाई आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् वागीश्वरी अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सिद्धिवीर कर्माचार्यले वागीश्वरी कलेजबाट भएका अनुसन्धानात्मक गतिविधिबारे चर्चा गर्दै अनुसन्धान जहाँ हुन्छ त्यस क्षेत्रमा पढाइ परिष्कृत हुँदै जाने बताउनुभयो ।
कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय डा. कोमल फुयाल र डा. शिव रिजाल स्रोतव्यक्ति रहनुभएको छ ।
वागीश्वरी कलेजको अनुसन्धान समितिका संयोजक तथा उपप्राध्यापक मोहनकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *