भर्खरै :

सरकारको कार्यशैली देखेर जनता आजित

सरकारको कार्यशैली देखेर जनता आजित

शासक दलहरूमा देखिएको वैचारिक विचलन र स्वार्थगत अभ्यासका कारण मुलुकले दिशानिर्देश गर्न नसकेको, स्पष्ट दृष्टिकोणका साथ सरकार अघि बढ्न नसकेको हो । ठुला कम्युनिस्ट भनिने दलको नेतृत्वमा रहेको यो सरकारले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार देश हाँक्न सकेन, सिद्धान्त र विचारमा विचलन आयो, पद, पैसा र भागबन्डामा भुल्यो भनेर नेपालमा कम्युनिस्ट पार्टी नै छैनन् भन्नु दृष्टिदोषबाहेक अरू हुनसक्दैन । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराअनुसार कम्युनिस्ट शासकहरूले शासन गरेनन्, सिद्धान्त र विचार छाडे भनेर अरू दललाई पनि उही दृष्टिले हेर्ने राजनीतिक विश्लेषक, लेखक र बुद्धिजीवीहरूको विश्लेषण सही मान्न सकिँदैन । देशका राजनीतिक विश्लेषक, लेखक, सञ्चारकर्मी र बुद्धिजीवीहरूको विश्लेषण सही हुनुपर्छ ।
के नेपालमा कम्युनिस्ट पार्टीहरू छैनन् ? माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारलाई पथप्रदर्शक मान्ने दलहरू नेपालमा छैनन् ? के सरकारको नेतृत्व गर्ने या सरकारमा सहभागी हुने दलमात्रै देशका दलहरू हुन् ? सरकारमा सहभागी नहुने संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने दलहरू दल होइनन् ? सत्तासीन दलका नेताहरूमा सिद्धान्त र विचारमा विचलन देखियो भनेर देशका सबै दललाई उही दृष्टिले हेर्नु के न्यायोचित हुन्छ ? शासकहरू सिद्धान्त र विचारबाट निर्देशित भएनन्† देश र जनतालाई भन्दा दलगत र व्यक्तिगत स्वार्थमा भुले भनेर, राजनीतिलाई मुलुक र जनताको हितमा उपयोग गरेनन् भनेर सबै दलको विरोध गर्दै हिँड्नु या विचार प्रवाह गर्नु उपयुक्त हुँदैन ।
सरकारमा सहभागी कम्युनिस्ट भनिने दलहरूले कम्युनिस्टको नाउँमा मत लिइरहेका छन्† निर्वाचनमा जितिरहेका छन् । कम्युनिस्ट पार्टीले देशमा केही गर्ला या परिवर्तन गरेर देशको मुहार फेर्ला भनेरै ती दलका उम्मेदवारलाई जनताले मतदान गरेका हुन्, जिताएका हुन् । कम्युनिस्टप्रति आस्था राखेर मतदान गरेका नेपाली जनता आजित छन् । तर पनि निर्वाचनमा तिनै दलका उम्मेदवारलाई जनता निर्वाचित गर्छन् । राजनीतिमा सिद्धान्त, निष्ठा र इमानदारिता नभएकै कारण छिनछिनमा सरकारको नेतृत्व परिवर्तन भइरहेको हो या सरकारले स्थिरता दिन नसकेको हो । यस अर्थमा सरकारमा जाने कम्युनिस्टहरूले जनतालाई धोका दिइरहेका छन्; झूटको खेती गरिरहेका छन्; जनतालाई झुक्याएर, भ्रमको जाल छोडेर विश्वासघात गरिरहेका छन् ।
व्यापक जनता सचेत र सङ्गठित नभएसम्म, जनताले देश र जनताको सेवा गर्ने सही दलका नेताहरू छनोट नगरेसम्म पुँजीवादी पार्टीका शासकहरूले रजाइँ गरिरहने छन्; गरिरहेका छन् । ‘सत्तारूढ दलमै असन्तुष्टि’, ‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’, ‘परिवार अनसनमा’, ‘सरकार भाषणमा’, ‘गोदाममै थन्किए २५ लाख राष्ट्रिय परिचय पत्र’, ‘सहकारी अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौँ गोलमाल’ जस्ता समाचारको शीर्षकले देशको स्थिति भद्रगोल भएको अनुभूति हुन्छ । पुँजीवादी व्यवस्थामा हुने यो भद्रगोल, अन्योल र अनिर्णयकै कारण देशको मुहार फेरिएन । यहाँ ठग्ने, ठगेर भाग्ने, छलछाम गर्ने, ढाँट्ने, पछार्ने, विश्वासघात गर्ने, खुट्टा तान्ने काम भइरहेको छ । खुट्टा तानेर पछार्ने, लोभलालच देखाउने, धम्काउने, तर्साउने, पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउने, राजनीति गर्नु नै कमाउन हो भन्नेजस्ता असङ्गतिको कुरा बखान गरेर राजनीतिलाई बेठाउँमा लाने, जनता जनता लडाएर, फसाएर अल्पमतले बहुमतमाथि रजाइँ गरिरहने काम शासक दलहरूले गरिरहेका छन् । देशमा दुर्दशा निम्त्याउने, निम्त्याउन सघाउने दल र दलमा आबद्ध व्यक्तिहरूकै कारण देशमा बेथिति बढेको हो; भ्रष्टाचार र अनियमितता बढेको हो; देशमा खाद्यान्नको अभाव हुँदै गएको हो । त्यसकारण, देशका सबै राजनीतिक दलहरूले इमानदारीपूर्वक राजनीति गर्नुपर्छ । लेखक र विश्लेषकहरूले दलको सही मूल्याङ्कन गरेर टिप्पणी गर्नुपर्छ । एउटा दलले गरेको गलत कामको दोष सबै दललाई दिनु उचित हुँदैन । सिद्धान्त र विचारको आधारमा राजनीति गरेर देशको मुहार फेर्न लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *