भर्खरै :

सन्दर्भ : २०६ औँ माक्र्सको जन्म दिवस सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्स

सन्दर्भ : २०६ औँ माक्र्सको जन्म दिवस सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्स

दुईसय दुई वर्ष पहिले अर्थात् सन् १८१८ मई ५ को दिन जर्मनीको पश्चिमी भाग, राइन प्रान्तको ट्रियर नगरमा कार्ल माक्र्सको जन्म भएको थियो । एक सभ्य र सुसंस्कृत परिवारमा उहाँ हुर्कनुभयो । राइन प्रान्तमा त्यसबेला तीव्रगतिमा औद्योगिकीकरण अगाडि बढिरहेको थियो ।
कार्ल माक्र्स सानैदेखि परिश्रमी हुनुहुन्थ्यो । बालककालदेखि नै उहाँ आफ्नो धेरै समय अध्ययनमा बिताउनुहुन्थ्यो । सन् १८३० देखि १८३५ सम्म उहाँको शिक्षा ‘ट्रियर जिम्नेजियम’ स्कूलमा भयो । उहाँ त्यसबेला ‘ट्रियर जिम्नेजियम’ का एक तीक्ष्ण छात्र हुनुहुन्थ्यो । सम्पूर्ण समाजको निम्ति सोच्ने विचार उहाँमा सानैदेखि प्रबल रूपमा देखिन्थ्यो । उहाँले स्कूलको अन्तिम परीक्षामा एक निबन्ध लेख्नुभयो । त्यस निबन्धको शीर्षक थियो, ‘पेशा चुन्ने सम्बन्धमा एक तरुणको विचार’ । यसमा उहाँले एक युवकले कस्तो पेशा छान्नुपर्छ भन्ने विषयमा निकै राम्रा तर्क दिनुभएको थियो । उहाँले त्यस निबन्धमा निःस्वार्थरूपले मानवको सेवा गर्ने कुरा लेख्नुभयो । उहाँले विद्यालयको सबैजसो विषय विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो ।
स्कूल अध्ययनपश्चात् माक्र्सले बोन र बर्लिन विश्वविद्यालयमा कानुनको अध्ययन गर्नुभयो । उहाँ दर्शनशास्त्र र इतिहासमा गहिरो चाख राख्नुहुन्थ्यो । विभिन्न विद्वानका दर्शनशास्त्र र हरेक देशको इतिहासलाई ठूलो चाख लिएर पढ्नुहुन्थ्यो । आफ्नो परिश्रम एवम् तीखो बुद्धिले गर्दा उहाँले विद्यार्थी जीवनमै राम्रो ज्ञान प्राप्त गरिसक्नुभएको थियो ।
बर्लिनको ‘स्नातक क्लब’ मा अर्का जर्मन दार्शनिक हेगेलको दर्शनबारे युवाहरूको छलफल हुन्थ्यो । हेगेल हरेक वस्तु परिवर्तनशील छ र समाज पनि परिवर्तनशील छ भन्ने तर्क गर्नुहुन्थ्यो । माक्र्स पनि त्यस छलफलमा उपस्थित हुनुहुन्थ्यो ।
सन् १८४१ मा उहाँले विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि (डक्टरेट डिग्री) प्राप्त गर्नुभयो । उहाँ प्राध्यापक भएर जनताको सेवा गर्ने ठूलो इच्छा राख्नुहुन्थ्यो । त्यसैले उहाँ प्राध्यापनको लागि बोन जानुभयो । तर, सरकारको प्रतिक्रियावादी नीतिले गर्दा उहाँको इच्छा पूरा भएन । त्यसबेलाको सरकारले विश्वविद्यालयमा स्वतन्त्र तथा प्रगतिशील विचार भएको व्यक्तिलाई स्थान दिँदैनथ्यो ।
माक्र्स गरिब जनतालाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँ सधैँ गरिब जनताको मुक्तिको निम्ति नयाँ–नयाँ विचारहरू मनमा खेलाइरहनुहुन्थ्यो । त्यसैबेला युरोपमा (खास गरेर बेलायत र फ्रान्समा) पँुजीवादको विकास भइरहेको थियो । त्यसताका शासन जमिनदार र सामन्तवर्गको हातमा थियो । यसले गर्दा पुँजीपतिवर्ग धेरै चिढिएका थिए । पँुजीपति र सामन्तवर्गबीच भयङ्कर सङ्घर्ष भइरहन्थ्यो । किसानहरू कमाराजस्तै थिए । तिनीहरू भू–दासत्वबाट मुक्त हुन सकेका थिएनन् । गरिब जनताको यस्तो अवस्था देखेर उहाँ धेरै दुःखी हुनुहुन्थ्यो । गरिब जनतालाई पुँजीपति र सामन्तवर्गको पन्जाबाट छुटाउने सम्बन्धमा धेरै चिन्तनशील हुनुहुन्थ्यो । प्राध्यापक हुने इच्छा छोडेर उहाँले पत्रकार बन्ने निश्चय गर्नुभयो । यसबाट उहाँले गरिब जनतालाई सहयोग गर्ने इच्छा राख्नुभयो ।
सन् १८४२ मा जनताको पक्षमा कोलोन भन्ने ठाउँबाट ‘राइनिश्चे जाइटुङ’ (राइन समाचार) नामक समाचारपत्र प्रकाशित भयो । केही समय कार्ल माक्र्सले त्यस समाचारपत्रमा काम गर्नुभयो र पछि आफै प्रधान सम्पादक हुनुभयो । त्यसमा धेरैजसो लेखहरू जनतामाथिको अत्याचारको विरोधमा छाप्नुहुन्थ्यो । त्यस पत्रिकाले गरिब जनतालाई धेरै चेतना दिने काम ग¥यो । जनताले त्यस पत्रिकालाई धेरै मन पराउन थाले । त्यसको लोकप्रियतालाई देखेर सरकारले सन् १८४३ मा पत्रिकामाथि प्रतिबन्ध लगायो । माक्र्स त्यसबेला २४–२५ वर्षका युवा हुनुहुन्थ्यो । युवा उमेरमै कार्ल माक्र्स जनताको हितचिन्तक र सरकारविरोधी भइसक्नुभएको थियो ।
कार्ल माक्र्सका बुबा हेनरिक माक्र्स एक वकिल हुनुहुन्थ्यो । माक्र्स परिवारको सम्बन्ध भोन वेस्टफालेन भन्ने एक सम्भ्रान्त परिवारसँग थियो । किशोर माक्र्सको पनि त्यस घरमा आवतजावत थियो । त्यहाँ एउटा पुस्तकालय पनि थियो र माक्र्स पुस्तकालयमा अध्ययन गर्नुहुन्थ्यो । त्यस परिवारकी छोरी जेनीसँग कार्ल माक्र्सको प्रेम बसेको थियो । जेनी भोन वेष्टफालेनको जन्म १८१४ मा भएको थियो । उहाँका बुबा लुडविङ्ग भोन वेष्टफालेन राजसभाका सल्लाहकार हुनुहुन्थ्यो । जेनीका हजुरबुवा एक महत्वपूर्ण सैनिक व्यक्ति हुनुहुन्थ्यो । वेष्टफालेन परिवार एक सम्भ्रान्त परिवार थियो र जेनीका जेठा दाजु प्रशिया सरकारका गृहमन्त्रीसमेत थिए ।
जेनी एक शिक्षित, बुद्धिमत्ता र अत्यन्त राम्री हुनुहुन्थ्यो ।
सन् १८४३ मा २५ वर्षको उमेरमा माक्र्सले जेनीसित विवाह गर्नुभयो ।
माक्र्स र एँगेल्सको भेट
सन् १८४३ मा माक्र्स फ्रान्सको राजधानी पेरिस जानुभयो । पेरिस पुगेपछि उहाँले राजनीतिशास्त्र र समाजवादको अध्ययन गर्नुभयो । यसले उहाँको राजनैतिक चिन्तनमा अझ स्पष्टता ल्यायो । सन् १८४४ मा पेरिसमा फ्रेडरिक एँगेल्ससित माक्र्सको पहिलो भेट भयो । भेटमा उहाँहरूले आफ्ना विचारहरूमा धेरै समानता पाउनुभयो । त्यसैबेलादेखि दुई प्रगतिशील लेखकहरूको गहिरो मित्रता सुरु भयो । प्रशिया सरकारको दबाबका कारण फ्रान्सेली सरकारले माक्र्सलाई पेरिसबाट निष्कासन ग¥यो । त्यसपछि उहाँ सन् १८४५ मा बु्रुसेल्स जानुभयो । ब्रुसेल्स बेल्जियमको राजधानी हो । त्यहाँ उहाँले अर्थशास्त्रमा गम्भीर अध्ययन सुरु गर्नुभयो । त्यसबेलाका समाजवादीहरूसित सम्बन्ध राख्न सन् १८४६ मा ‘कम्युनिस्ट पत्र व्यवहार समिति’ खोल्नुभयो । सन् १८४७ मा सबै समाजवादीहरूको निमन्त्रणालाई स्वीकार गर्दै माक्र्स र एँगेल्स ‘न्याय समिति’ ९ीभबनगभ या व्गकतष्अभ० मा सामेल हुनुभयो । त्यसपछि उहाँले त्यसको नाम ‘कम्युनिस्ट लीग’ (कम्युनिस्ट दल) राख्नुभयो । त्यसबेला माक्र्स २९ वर्षका हुनुहुन्थ्यो ।
‘कम्युनिस्ट लीग’ को दोस्रो सम्मेलन नोभेम्बर १८४७ मा लन्डनमा भयो । त्यसमा माक्र्स र एँगेल्सले पनि भाग लिनुभयो । सम्मेलनमा उपस्थित सबैको अनुरोधमा उहाँहरूले प्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’ लेख्नुभयो । यो ‘कम्युनिस्ट घोषणापत्र’ फ्रेब्रुअरी १८४८ मा प्रकाशित भयो । यो माक्र्स र एँगेल्सको बौद्धिकताको निचोड थियो । त्यस ‘घोषणापत्र’ ले संसारका सबै सर्वहारावर्गलाई मुक्तिको बाटो देखायो । ‘कम्युनिस्ट घोषणापत्र’ को सुरुआत यसरी गरिएको छ –“अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” ‘घोषणापत्र’ को अन्तमा लेखिएको छ – “मजदुरहरूसँग हार्नको निम्ति आफूलाई बाँधेको सिक्रीबाहेक अरू केही पनि छैन । जित्नको निम्ति उसको अगाडि सारा संसार छ !”
त्यस ‘घोषणापत्र’ ले त्यसबेलासम्म सामन्त र पँुजीपतिवर्गबीचको वर्गसङ्घर्षलाई प्रस्ट्याइदियो । साथै, संसारका मजदुर, किसान, सुकुम्बासी र सर्वहारावर्गलाई बाँधेको बन्धनलाई चुँडाल्ने शिक्षा दियो । संसारका सर्वहारावर्गमा एकता ल्याउन ‘घोषणापत्र’ को अन्तमा लेखिएको छ – “संसारका मजदुरहरू एक होऔँ !”
‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएकै वर्ष फ्रान्समा ‘दोस्रो राज्य क्रान्ति’ सुरु भयो । ‘संसारका मजदुरहरू एक होऔँ’ को शिक्षा लिएर फ्रान्सको मजदुरवर्ग अगाडि बढ्यो । त्यस क्रान्तिको प्रमुख स्रोत माक्र्सलाई नै ठानेर सरकारले उहाँलाई बेल्जियमबाट पनि निष्काशन ग¥यो । दृढ निश्चयी माक्र्स बेल्जियमबाट फेरि पेरिस फर्कनुभयो । तर, पेरिसमा पनि माक्र्सले धेरै अप्ठ्याराहरूको सामना गर्नुप¥यो । त्यसैले ५ वर्षको निष्काशनकाल सकिएपछि सन् १८४८ मा उहाँ आफ्नो देश जर्मनी फर्कनुभयो ।
मजदुर तथा गरिब जनताको निम्ति मरिमेट्ने माक्र्स चुप लागेर बस्नुभएन । स्वदेश फर्केर उहाँले १ जून १८४८ देखि कोलोनका मजदुरहरूको पक्षमा ‘न्यु राइनिश्चे जाइटुङ’ (नयाँ राइन समाचार) नामक दैनिक पत्र निकाल्नुभयो । यसको प्रधान सम्पादक उहाँ आफै हुनुहुन्थ्यो । उहाँ एक देशका जनताको मात्रै प्रिय नेता नभई सम्पूर्ण सर्वहारावर्गका महान् नेता हुनुभयोे । ‘नयाँ राइन समाचार’ मा उहाँले फ्रान्सेली जनताको क्रान्तिकारी उत्साहको प्रशंसा गर्नुभयो । फ्रान्समा सामन्तवर्गको हातबाट पँुजीपतिवर्गको हातमा शासन सत्ता गयो । पछि, पँुजीपतिवर्गले जनतालाई धोका दिएर निर्मम दमन ग¥यो । जर्मनीमा पनि क्रान्तिविरोधी शक्तिहरूको विजय भयो । यसपछि उहाँलाई स्वदेशमा बस्न मुश्किल भयो । सरकारले ‘नयाँ राइन समाचार’ माथि प्रतिबन्ध लगाउन अनेक षड्यन्त्र गर्न थाल्यो । यसले गर्दा १८ मई १८४९ मा सो पत्रिकालाई सरकारले बन्द गरिदियो, ‘नयाँ राइन समाचार’ को अन्तिम प्रकाशन रातो अक्षरले लेखिएको थियो । कोलोनका मजदुरसित बिदा माग्दै उहाँले भन्नुभयो, “सबै ठाउँबाट आफ्नो अन्तिम साससम्म मजदुरवर्गको मुक्तिको लागि आफ्नो सङ्घर्ष चालू राख्नेछौँ !”
३१ वर्षको उमेरमा सन् १८४९ मा माक्र्सलाई जर्मनी सरकारले देश निकाला ग¥यो । त्यसपछि उहाँ पेरिस जानुभयो । तर, पेरिसबाट पनि निकालिनु भएपछि उहाँ लन्डन जानुभयो । त्यसबेला जेनी र तीन स–साना बच्चाहरू पनि साथमै थिए । लन्डनमा जेनीले एक शिशु जन्माउनुभयो । प्रवासमा रहँदा सबैको जीवन निश्चय नै कष्टपूर्ण हुन्छ । उहाँको जीवनमा पनि यस्ता कष्टपूर्ण घटनाहरू कैयौँ पटक घटे । उहाँ आफ्नो जीवन निर्वाहको लागि ‘न्युयोर्क ट्रिब्युन’ नामक पत्रिकामा लेख लेख्नुहुन्थ्यो । तर, घरको खर्च, घर भाडा इत्यादिमा उहाँलाई धौ – धौ पथ्र्यो । कैयौँ दिनसम्म केबल आलु खाएर दिन काट्नुहुन्थ्यो । बाल–बच्चा बिरामी हुँदा औषधी – उपचारसमेत गराउन सकिन्नथ्यो । यसकारण, चार सन्तानमध्ये दुई जना मृत्युको शिकार भए । सन् १८५० मा पाँचौँ छोरी जन्मिइन् । उनको पनि गरिबीकै कारण मृत्यु भयो । त्यसबेला माक्र्स परिवारको अवस्था सा¥है दयनीय थियो । पाँचौँ छोरी सन् १८५२ मा बितिन् । छोरीको शव उठाउन कात्रो किन्ने पैसा पनि जेनीसित थिएन । यस सङ्कटमा एक छिमेकी प्रवासीले जेनीलाई कात्रो किन्न दुई पाउन्ड मद्दत गरे । त्यसले आफ्नी मृत छोरीको निम्ति जेनीले कात्रो किन्नुभयो ।
यस्तो गरिबीको अवस्थामा पनि कार्ल माक्र्स कहिल्यै विचलित हुनुभएन । आफ्नो सिद्धान्तलाई अगाडि बढाउन जस्तै आपत्ति परे पनि धैर्यपूर्वक काम गर्दै जानुभयो । सन् १८५२ देखि १८६१ सम्मको धेरै समय उहाँले ‘न्युयोर्क ट्रिब्युन’ मा लेखेर बिताउनुभयो । खास गरेर उहाँ आर्थिक लेखहरू लेख्नुहुन्थ्यो । सन् १८५७ मा पुँजीवादी संसारमा आर्थिक सङ्कट सुरु भयो । त्यसबेला उहाँले आर्थिक सङ्कटबाट हुने प्रभावहरूबारे ठूलो अनुभव प्राप्त गर्नुभयो । यसपछि उहाँले पँुजीवादी अर्थशास्त्रीहरूको सिद्धान्त र दृष्टिकोणलाई आलोचना गर्दै ‘पुँजी’ पुस्तकको प्रथम खण्डको लेखन सुरु गर्नुभयो र सन् १८६५ मा सकाउनुभयो । उहाँले यसलाई साथी एँगेल्सको विचारअनुसार हेरफेर गर्नुभयो । सन् १८६७ मा ‘पुँजी’ को प्रथम खण्ड पूर्णरूपले तयार भयो । उहाँले ‘पुँजी’ नामक किताबमा पुँजीवादको विकास र यसको पतन कसरी हुन्छ भन्ने स्पष्टरूपमा व्याख्या गर्नुभएको छ ।
कार्ल माक्र्सले २८ सेप्टेम्बर सन् १८६४ मा ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ को स्थापना गर्नुभयो । एकातिर उहाँलाई पारिवारिक आर्थिक सङ्कटले सताएको थियो अर्कोतिर उहाँलाई ‘पुँजी’ को दोस्रो खण्ड सुरु गर्नु थियो । यतिमात्र नभएर ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ लाई उहाँ धेरै समय दिनुहुन्थ्यो । यसले गर्दा उहाँको शरीर दिन प्रतिदिन कमजोर हुँदै गयो । तर, मजदुर चेतना भने महासागरको छालजस्तै पुँजीवादको जरा उखेल्न अगाडि बढिरहेको थियो । सन् १८४८ देखि १८५२ सम्म भएको फ्रान्सको क्रान्तिमा पँुजीपतिवर्गले दिएको धोकालाई मजदुरवर्गले बिर्सेको थिएन । त्यस अनुभवले उहाँलाई एक व्यावहारिक ज्ञान दियो । पँुजीपतिवर्गले अब सामन्तवादको विरोधमा पुँजीवादी क्रान्ति पूरा गर्न सक्दैन भन्ने अनुभव गर्नुभयो । सर्वहारावर्गले मात्र क्रान्तिलाई पूरा गर्न सक्छ भनी उहाँले सर्वहारावर्गको अधिनायकत्व खडा हुने भविष्यवाणी गर्नुभयो । सर्वहारावर्गको निम्ति उहाँले आफ्ना लेखहरू लेख्नुभयो । उहाँका लेखहरू साँचो अर्थमा आगाका झिल्कासमान थिए । ती झिल्काहरूले पुँजीवादी समाजमा डढेलो लगाउन सक्थे । कार्ल माक्र्सलाई आर्थिक कठिनाइ हुँदा एँगेल्सले मद्दत गर्नुहुन्थ्यो र उहाँलाई काम गर्न सजिलो हुन्थ्यो । उहाँ दिनभरजसो ‘लन्डन म्युजियम’ पुस्तकालयमा अध्ययन गर्नुहुन्थ्यो ।
सन् १८७१ मा फ्रान्सको राजधानी पेरिस मजदुरहरूले कब्जा गरे । तिनीहरूले ‘पेरिस कम्युन’ को स्थापना गरे । ‘पेरिस कम्युन’ मजदुरवर्गको पहिलो सरकार थियो । पँुजीपतिवर्ग पेरिस छोडेर भर्सेलिज सहरमा भागे । मजदुरहरूले पेरिसमा सर्वहारा अधिनायकत्व कायम गर्न सङ्घर्ष गरे । दृढ निश्चयी ‘पेरिस कम्युन’ अगाडि बढ्यो । पँुजीपतिवर्गको सत्ता ‘पेरिस कम्युन’ को हातमा प¥यो । संसारमा सर्वहारावर्गको रातो झन्डा पहिलोपटक पेरिसमा फर्फरायो । माक्र्सको सिद्धान्तले पेरिसमा साकार रूप लियो । सत्ता हातमा आएपछि ‘पेरिस कम्युन’ ले धेरै सुधारहरू ग¥यो – निःशुल्क शिक्षाको व्यवस्था ग¥यो । त्यसताका विज्ञान पनि धर्मको अधिनमा थियो – इसाई पादरीहरूले धर्मको नाममा सबै क्षेत्रमा शोषण गर्थे । धर्मले स्वतन्त्र विचारधाराको विकास हुन दिंदैनथ्यो, बौद्धिक विकास गर्न दिंदैनथ्यो । राष्ट्रको ठूलो सम्पत्ति धार्मिक संस्था वा गिर्जाघरको अधिनमा थियो । यसप्रकार, तिनीहरूले धर्मको नाममा शोषण गर्थे । संसारमा पहिलोपटक ‘पेरिस कम्युन’ ले धर्मको नाममा हुने शोषणलाई अन्त गरिदियो । गिर्जाघरको सम्पत्ति गरिब जनतालाई बाँडिदियो । प्रत्येक मजदुर पेरिसका रक्षक भए । शिक्षालाई धर्मबाट मुक्ति दिलाइयो । हरेकलाई शिक्षा दिन सार्वजनिक शिक्षा व्यवस्था सुरु गरियो । जनतामा रहेको अज्ञानतालाई हटाउन ‘पेरिस कम्युन’ ले हरेक क्षेत्रमा विभिन्न साहसिक कदमहरू चाल्यो । विवाह र अन्य सामाजिक कामहरू पनि कम्युनको हातमा गयो । संसारमा पहिलोपटक ‘पेरिस कम्युन’ ले जनताको जीवन सुरक्षाको गहन जिम्मेवारी आफ्नो हातमा लियो । मालिकले आफ्नो इच्छा वा स्वार्थअनुसार गरिब र मजदुर जनतालाई अनुचित काम गराउन नपाउने भए । ‘पेरिस कम्युन’ ले कामको निश्चित अवधि (आठ घन्टा) र उचित मजदुरी तोकिदियो । यसरी ‘पेरिस कम्युन’ ले जनतालाई साँचो अर्थमा रोजीरोटीको स्वतन्त्रता प्रदान ग¥यो ।
विश्वको इतिहासमा ‘पेरिस कम्युन’ एकदम नौलो उद्देश्य लिएर खडा भएको सर्वहारावर्गको राज्य थियो । ‘पेरिस कम्युन’ को शिक्षा लिएर संसारका सबै मजदुर अगाडि बढ्ने डरले सबै देशका शासकवर्ग थर–थर काँपिसकेका थिए । सबैले ‘पेरिस कम्युन’ लाई एक खतराको रूपमा देख्न थाले । ‘पेरिस कम्युन’ को सुरक्षाको निम्ति माक्र्स अन्तर्राष्ट्रिय सङ्घर्षमा उत्रनुभयो । आफ्नो ज्यानलाई हत्केलामा राखेर उहाँले ‘पेरिस कम्युन’ को बचाउको निम्ति सङ्घर्ष गर्नुभयो ।
७२ दिनसम्म पेरिसमा ‘कम्युन’ को रातो झन्डा फरफराइरह्यो । तर, सबै पँुजीपतिवर्ग मिलेर ‘पेरिस कम्युन’ को निर्मम दमन गरे । ‘पेरिस कम्युन’ को रक्षाको निम्ति सर्वहारावर्गले आफ्नो सम्पूर्ण ताकत लगाएर लड्यो । अन्तिम बन्दुक भएसम्म मजदुरवर्गले पेरिसमा रातो झन्डा ढल्न दिएन ।
‘पेरिस कम्युन’ले सबै राजनैतिक पक्षलाई एकगठ गर्न सकेन, एक केन्द्र हुनुपर्नेमा बहुकेन्द्र बन्यो । ‘पेरिस कम्युन’ले पँुजीपतिवर्गलाई गिरफ्तार गर्नुपर्नेमा पादरीहरूमात्र पक्राउ ग¥यो । पँुजीपतिवर्गलाई भाग्न दिनुहुने थिएन । गुप्तचरहरूमाथि निगरानी राखिएको थिएन । कुनै पालो पहरा नहुँदा कम्युनका नेताहरू मारिए । शत्रुहरूले बारुद खाना थाहा पाएर पहिले नै त्यहाँ आगो लगाइदिए । सैनिकरूपले कामदारवर्गको बस्तीमात्र होइन ठूल्ठूला घर भएका बस्तीहरूमा समेत शत्रुको बाटो छेक्ने काम भएन, त्यहीँबाट शत्रु सेना पेरिस घुस्यो । पेरिसका कम्युनार्डहरूको बैठकमा तुरुन्तै भर्सेलिज वा शत्रुहरूको गढमा हमला गर्नुपर्ने नत्र पछि ढिलो हुने सल्लाह दिइएको थियो । तर, त्यसबारे कम्युनार्डहरू गम्भीर भएनन् । पँुजीपतिहरूले किसानहरूमा मजदुरविरोधी भावना जगाए र लडाइँमा मरे स्वर्ग पुगिन्छ भनी पादरीहरूले किसानलाई विश्वास दिलाएर शत्रु सेनामा भर्ती गराए ।
यसरी मजदुरवर्गमा क्रान्ति, राज्य सत्ता टिकाउने राजनैतिक र सैनिक ज्ञान आदि अनुभवको कमीले फ्रान्सको पुँजीवादी सरकारले जर्मन सरकारलाई पेरिसमा हमला गर्न बाटो खुला गरिदियो । देशी र विदेशी प्रतिक्रियावादी शक्ति मिलेर पेरिस कम्युन दबाए ।
संसारका सर्वहारावर्गले पँुजीपतिहरूको त्यस घोर अत्याचारलाई कहिल्यै बिर्सेनन् । ‘पेरिस कम्युन’ को निर्मम दमनपछि सर्वहारावर्गका जन्मदातामाथि चारैतिरबाट प्रहार सुरु भयो । तैपनि माक्र्सलाई कसैले विचलित पार्न सकेनन् । उहाँले यस सङ्कटको घडीमा पनि दृढतापूर्वक भन्नुभयो –“‘पेरिस कम्युन’ लाई आफ्नो गौरवपूर्ण अगुवाको रूपमा सधैँ नै याद गरिनेछ” ।
‘पेरिस कम्युन’ को हारबाट माक्र्सलाई ठूलो दुःखको अनुभव भयो । उहाँको शारीरिक अवस्था दुर्बल हुँदै गइरहेको थियो । ‘पुँजी’ को दोस्रो र तेस्रो खण्ड समाप्त गर्ने उहाँको सपना सफल हुने सम्भावना भएन । २ डिसेम्बर १८८१ मा जेनी माक्र्सको क्यान्सर रोगले निधन भयो । जेनी माक्र्सको निधनले उहाँलाई अझ ठूलो धक्का लाग्यो । यस्तै बेला उहाँकी जेठी छोरी ‘जेनी लाङ्गे’ को निधनले उहाँलाई थप पिडा भयो । शरीर कमजोर भएपनि आफ्नो आदर्शप्रति उहाँलाई ठूलो विश्वास थियो । लामो अवधिसम्मको प्रवासको कष्टपूर्ण दिनहरूमा ‘पुँजी’ लाई पूरा गर्नुभयो । ‘अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ का लक्ष्यहरू पूरा गर्नको लागि दिलोज्यानले काम गर्नुभयो । पारिवारिक आर्थिक समस्या र अरू विभिन्न महत्वपूर्ण कामहरूलाई पूरा गर्नुपर्दा उहाँले आराम गर्न पाउनुभएन । आखिर मानव शरीर पनि एक मेसिनसमान नै हो । काम गर्दा–गर्दा पुरानो भएपछि काम गर्न नसक्ने हुँदोरहेछ !
मार्च १४ सन् १८८३ मा ६५ वर्षको उमेरमा वैज्ञानिक कम्युनिज्मका जन्मदाता कार्ल माक्र्स सदाको निम्ति अस्ताउनुभयो । उहाँ संसारका सर्वहारावर्गका नेता हुुनुहुन्थ्यो । उहाँले एक नौलो युगको जग बसाल्नुभयो । उहाँको शवलाई १७ मार्च सन् १८८३ मा पत्नी जेनीसँगै लन्डनको ‘हाइगेट’ नामक समाधिमा समाधिस्थ गरियो । माक्र्सका घनिष्ट मित्र एँगेल्सले उहाँको समाधिको छेउमा उभिएर मुटु छुने भाषणमा भविष्यवाणी गर्नुभयो –“उहाँको नाम युगौँ–युगसम्म अमर रहनेछ; उहाँको कीर्ति पनि अमर रहनेछ ।”
माक्र्सको निधनको खबरले संसारका कामदार जनतालाई शोकमा डुबायो । जर्मनी, फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्यान्ड, रुसलगायत विभिन्न देशका मजदुर नेताहरूले लन्डनमा शोक सन्देश पठाए । न्युयोर्कदेखि लन्डनसम्म संसारको कुना – कुनामा माक्र्सको स्मृतिमा भएका बैठक र ¥यालीहरूमा समाजवादी नेताहरूले माक्र्सका विचारहरू अमर रहने र माक्र्सले जुन उद्देश्यको निम्ति आफ्नो जीवन समर्पित गर्नुभयो, त्यो उद्देश्य पूरा हुनेमा दृढ विश्वास व्यक्त गरे । माक्र्स र एँगेल्सका साथी लेसनरले माक्र्सकी छोरी इलेनरलाई पठाउनुभएको चिठीमा लेखिएको छ – “माक्र्सको नाम र शिक्षा यस धर्तीमा मानव जाति अस्तित्वमा रहेसम्म रहनेछ ! सूर्यले जस्तै उहाँको विचारले मानव जातिलाई उज्यालो दिइरहनेछ, यसलाई कसैले पनि रोक्न सक्नेछैन ।” त्यस्तै बर्लिनको कृषि एकेडेमीका एक विद्यार्थीले एँगेल्सलाई पठाएको चिठीमा लेखिएको थियो, –“माक्र्सको विचार युगौँसम्म सम्मानित रहनेछ र १९ आंैँ शताब्दी माक्र्सको नाममा रहनेछ !”
माक्र्स र एँगेल्सको शिक्षालाई माक्र्सवाद भनिन्छ । माक्र्सका कति रचनाहरू एँगेल्सकै सल्लाहअनुसार परिमार्जन भएको बताइन्छ । ‘कम्युनिस्ट घोषणापत्र’ मा समेत प्रश्न–उत्तरको भाग एँगेल्सकै शैली बताइन्छ । त्यस्तै माक्र्सका अन्य रचनाहरूमा समेत माक्र्स र एँगेल्सको संयुक्त चिन्तन भएको अनुभव पाठकहरू गर्छन् । माक्र्स बित्नुभएपछि एँगेल्सले माक्र्सका अधुरा रचनाहरू पूरा गर्नुभयो । माक्र्सको मृत्युपछि एँगेल्सले ‘पुँजी’ को दोस्रो र तेस्रो भाग प्रकाशन गर्ने अभिभारा पूरा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *