भर्खरै :

धार्मिक अन्धविश्वासले समाजलाई अघि बढ्न दिन्न

धार्मिक अन्धविश्वासले समाजलाई अघि बढ्न दिन्न

मध्य युगतिर युरोपमा राज्यसत्ता र चर्च (State and Church) बिच ठुलै सङ्घर्ष चल्थ्यो । जसलाई दुई तरबारको सिद्धान्त (Theory of Two Swords) भनिन्थ्यो । राजा आफूलाई परमेश्वरले पृथ्वीमा शासन गर्न पठाएको परमेश्वरको प्रतिनिधि भएको हुँदा सर्वोच्च दैवीसत्ता आफूसँग रहेको दाबी गथ्र्यो । उसले चर्च र पादरीहरूको सम्पत्तिमा पनि राज्यको कर लाग्नुका साथै राजकाज सञ्चालनमा पादरीको परामर्श जरुरी नभएको तर्क राख्थ्यो । चर्चका पुरोहितले पनि परमेश्वरले आफूलाई धर्म रक्षा र मानिसको आत्माशुद्धिको निम्ति पठाएकोले आफू परमेश्वरको असली प्रतिनिधि तथा आफूमा सर्वोच्च दैवीशक्ति रहेको दाबी गथ्र्यो । यसकारण, पादरीको निर्देशन राजाले पनि पालना गर्नुपर्छ भन्ने तर्क राख्थ्यो । यिनीहरू एकले अर्कालाई आफ्नो अधीनमा रहनुपर्ने जिकिर गर्थे । राजा र चर्चका पादरीको सङ्घर्ष धेरै लामो समयसम्म चल्यो । यो युग युरोपेली जनताको निम्ति भने अन्धकार नै रह्यो ।
यही अन्धकार युगमा तर्क र विचारको आन्दोलन पनि अगाडि बढ्यो । स्वतन्त्र विचार र वैज्ञानिक खोजका पक्षपातीहरूले धार्मिक अन्धविश्वासको कडा प्रतिवाद गरे । अङ्ग्रेज दार्शनिक रोजर बेकन (१२२०–१२९२) ले धार्मिक ग्रन्थहरूलाई कण्ठस्थ पार्ने प्रचलनलाई बेकार बताए । उनले बुद्धि, तर्क र अन्वेषणद्वारा मात्र सत्य पत्ता लाग्ने विचार अगाडि सारे । मान्छेले ईश्वरको भरोसा छोडेर आफ्नो तर्क, बुद्धि र अन्वेषणको आधारमा काम गर्दै गए गोरुबाट चल्ने गाढाका ठाउँमा इन्जिनबाट चल्ने गाडी बनाउन सकिने र टाढा टाढाका देशका मान्छेसँग घरमै बसेर कुरा गर्न सकिने प्रचार गरे । ते¥हौँ शताब्दीमा बेकनले गरेको यो प्रचार पछि सत्य साबित भयो ।
पन्ध्रौँ शताब्दीमा युरोपमा पृथ्वी स्थिर छ† सूर्य चन्द्रलगायतका ग्रहहरूले पृथ्वीको परिक्रमा गर्छन् भन्ने विश्वास गरिन्थ्यो । इजिप्टका निवासी ‘टालमी’ नामका एक ग्रीक ज्योतिषले यो सिद्धान्त प्रतिपादन गरेका थिए । इसाई धर्मावलम्बीहरूले यही विचारलाई सत्य मान्दै आएका थिए । सो¥हौँ शताब्दीमा पोल्यान्डमा जन्मिएका कोपर्निकस (१४७३–१५४३) ले चर्चले स्वीकारेको टालमीको यो सिद्धान्तको खण्डन गरे । उनले पृथ्वीभन्दा सूर्य धेरै ठुलो छ† पृथ्वीले सूर्यको परिक्रमा गर्छ† सूर्य स्थिर छ भन्ने विचार राखे । यसबारे उनले एउटा किताब पनि लेखे तर त्यो किताब उनको जीवनकालभरि छापिएन । छापिएको भए उनलाई मृत्युदण्ड हुनसक्थ्यो । किनभने, त्यतिबेला इसाई मतविरुद्ध बोल्दा सुलीमा चढाउने धार्मिक कानुन नै थियो । इसाई धर्मावलम्बीहरूले उनको यो विचारलाई स्वीकारेनन् । पछि जर्मनका केप्लर (१५७१–१६३०) र इटालीका ग्यालिलियो ग्यालिली (१५६४–१६४२) ले कोपर्निकसको सिद्धान्तलाई समर्थन गरे । केप्लर र ग्यालिलियोले कोपर्निकसको विचारलाई थप व्याख्या गरेर इसाई धर्मावलम्बीहरूको मत गलत रहेको प्रमाणित गरे ।
ग्यालिलियोले अन्तरिक्षमा हेर्न सकिने दूरविनको आविष्कार गरे । उनले तारा, नक्षत्रलगायत पुरै ब्रह्माण्डबारे नयाँ वैज्ञानिक व्याख्या गरे । जसले धार्मिक अन्धविश्वासलाई चिर्ने काम ग¥यो । धार्मिक अन्धविश्वासको त्यस समयमा धेरै वैज्ञानिक तथा अन्वेषकहरूले खोज र अनुसन्धानलाई जारी राख्दै विज्ञानका नयाँ नयाँ आविष्कारहरू गरे । तर, इसाई धर्मावलम्बीहरूलाई सह्य भएन । धार्मिक कानुनमा पूर्ण विश्वास राख्ने त्यसबेलाको राज्यसत्ताले कैयौँ वैज्ञानिकहरूलाई ज्युँदै आगोमा जलाएर मार्न थाले । तर, पनि विज्ञान अगाडि बढ्दै गयो ।
त्यतिबेला चर्चका पादरीहरूले युरोपमा मान्छेलाई ‘स्वर्ग पठाउने’ र ‘पाप मोचन’ हुने टिकट बिक्री गर्थे । मान्छेहरू अन्धविश्वासमा परेर ‘स्वर्ग जाने टिकट’ लिन तँछाडमछाड गर्थे । तर, यो अन्धविश्वासविरुद्ध पनि आवाज उठ्यो । रोमन क्याथोलिकहरूले बाँडेको ‘स्वर्ग जाने टिकट’ वा ‘पापमोचन पत्र’ विरूद्ध सर्वप्रथम १५१७ मा जर्मन पादरी तथा धर्मशास्त्रका प्राध्यापक मार्टिन लुथर (१४८३–१५४६) ले आवाज उठाए । यही आवाजलाई युरोपको इतिहासमा धर्मसुधार आन्दोलनको सुरुआत मान्ने गरिएको छ । उनले ‘पापमोचन पत्र’ इसाई धर्मशास्त्रविरूद्ध रहेको बताए । आफ्ना ९५ वटा तर्कसहित चर्चको ‘पापमोचन पत्र’ को उनले डटेर विरोध गरे । उनको विरोध युरोपभरि फैलियो । यसले युरोपभरि धर्मसुधार आन्दोलनको लहर उठ्यो । पोपहरू पछि हट्न बाध्य भए ।
धर्मसुधार आन्दोलनले युरोपको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पा¥यो । इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, उत्तर जर्मनी, डेनमार्क, नर्वे, स्विडेन, नेदरल्यान्ड, आदिका भागहरू रोमन चर्चको अधीनबाट अलग भए । ‘इसाई जगत’ भन्ने शब्दलाई अर्थहीन बनाइयो† चर्चको सम्पति जफत भयो र रोमनको चर्च प्रणालीलाई अधार्मिक घोषणा गरियो । धर्मसुधार आन्दोलनले युरोपको उत्पादन प्रणाली र अर्थव्यवस्थामा गहिरो प्रभाव पा¥यो । यसले उद्योगीहरूलाई ठुलो लाभ भयो । यो आन्दोलनले धर्मविरोधी र भौतिकवादी विचार र आन्दोलनलाई समेत जन्मायो, जुन विचार नै भावी द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणको लागि सानो भ्रुणको रूपमा रहन गएको मानिन्छ ।
धर्मको दबदबा कम भएपछि स्वतन्त्र विचारकहरू बढ्न थाले । वैज्ञानिकहरू निर्धक्कसँग खोज, अनुसन्धान र अन्वेषणको क्षेत्रमा लाग्न पाए । जसको परिणाम नयाँ नयाँ आविष्कारहरू हुन थाले । सामन्तको जन्जिर पनि चुँडिन थाल्यो । भूदासको रूपमा रहेका किसानहरू पनि स्वतन्त्र हुन थाले । मान्छेलाई दास बनाउने बँधुवा प्रथाको अन्त्य भयो । बेलायतमा फ्रान्समा भन्दा पहिला बँधुवा प्रथाको अन्त भएको थियो । अब जनता आफनो रूचिअनुसारको काम गर्न स्वतन्त्र भए । यस्ता जन्जिरहरू चुँडिन थालेपछि युरोप विकासको गतिमा अगाडि बढ्नुका साथै युरोपेलीहरूको जीवनमा पनि परिवर्तन ल्यायो ।
युरोपको इतिहास अध्ययन गर्दा धार्मिक अन्धविश्वासको जन्जिरले समाजलाई अगाडि बढ्न नदिने रहेछ भन्ने प्रस्ट देखिन्छ । दक्षिण एसियाली मुलुकहरूमा अझै पनि धार्मिक अन्धविश्वासको जालो जेलिएको छ । जबसम्म धार्मिक अन्धविश्वासको जालो बाँकी रहन्छ तबसम्म समाज अगाडि बढ्न सक्दैन । कार्ल माक्र्सले धर्मलाई अफिमको नशासँग तुलना गर्नुभएको छ । अफिमको नशाले मान्छेलाई जसरी लट्ठ पारेर प्रगति गर्न दिँदैन उसैगरी धार्मिक अन्धविश्वासले समाजलाई अगाडि बढ्न दिन्न । यसकारण, मानव जीवनको निम्ति धार्मिक अन्धविश्वासको जालो चुँडाल्नु नै कल्याण हुन्छ ।
२०८१ वैशाख १६

Leave a Reply

Your email address will not be published. Required fields are marked *