भर्खरै :

देशको सार्वभौमिकता खतरामा: जनता सचेत होऔं !

भक्तपुर, १० पुस। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सासद नारायणमान बिजुक्छें (रोहित)ले देशको सार्वभौमिकता र भू–अखण्डता खतरामा परेको औंल्याउँदै जनता सचेत भएमात्र देश जोगिने बताउनुभएको छ।
नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौं भक्तपुर जिल्ला सम्मेलनको दत्तात्रयमा उद्घाटन गर्दै अध्यक्ष रोहितले शासक दलका नेताहरूले भारतीय शासकहरूसामु आत्मसमर्पण गरेको बताउनुभयो।
किसानहरूले राम्ररी खेतीपाती गर्न जानेरमात्र नपुग्ने र देशको नीति निर्णयबारे पनि जानकारी राख्नुपर्नेमा जोड दिदैं अध्यक्ष रोहितले विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्नको निम्ति नेपाली जनतालाई आह्वान गर्नुभयो।
‘देशहितविरूद्ध निर्णय गर्ने र देशलाई विदेशीको हातमा सुम्पने हामै्र देशको सरकारविरूद्ध हामीले लड्नुपर्छ’, उहाँले भन्नुभयो।
भारतले आपसी सहयोग, भाइचारा र अनेक झिलिमिलिसमेत देखाएर पछाडिबाट नेपाललाई कब्जा गर्न खोज्दैछ भन्दै उहाँले भारतको मातहत पुग्ने नेपालीहरू भारतीय शासकहरूका पाल्तु जनावरसरह हुने औंल्याउनुभयो।
नेपाली सेना भारतीय सेनाको मातहतमा शान्ति मिसनमा पठाउनुको अर्थ नेपालको स्वतन्त्र अस्तित्त्व र स्वाधीनता समाप्त पार्ने बताउँदै अध्यक्ष रोहितले भारतले एक–एक पाइला गरी नेपाल कब्जा गर्ने योजनाबमोजिम उक्त प्रस्ताव अगाडि ल्याएको प्रस्ट पार्नुभयो।
नेपालको ठूलो भूभाग देशी वा विदेशी व्यक्ति वा कम्पनीलाई असीमित समयको लागि लिजमा दिनसक्ने कानुन बनाएको भारतीय एकाधिकार पूँजीलाई देश सुम्पने योजना अनुसार नै आएको बताउँदै अध्यक्ष रोहितले दर्ता नै नभएको रामदेवको कारखाना उद्घाटन गर्न राष्ट्रपति र प्रधानमन्त्री जानुले शीतलनिवास र सिंहदरवार ठगहरूको घेरामा रहेको पुष्टि हुन्छ भन्नुभयो।
माओवादी अध्यक्ष प्रचण्ड पहिलोपटक बालुवाटार प्रवेश गर्दा नेपाली सेना एक–डेढ लाख आवश्यक छैन १०–२० हजार भए पुग्ने कुरा गरेको र अहिले उनी प्रधानमन्त्री   नेपाली सेना भारतीय सेना मातहत लाने कुरा आउनु काकतालीमात्र हुन नसक्ने अध्यक्ष रोहितले बताउनुभयो।
नेपाल क्रान्तिकारी किसान सङघका अध्यक्ष एवं सांसद डिल्लीप्रसाद काफ्लेले किसानको हकहितबारे आजसम्मका सरकारले नसोच्दा किसानहरू कृषि पेशाबाट टाँढिंदै र युवाहरू देश छोडेर विदेशियको बताउनुभयो।
नेपालको कृषि क्षेत्रलाई ध्वस्त गर्नकै निम्ति नेपालको कृषि औजार र सामग्री उद्योगहरू जानीजानी घातामा पठाइएको, बन्द गरेको, निजीकरण गरेको बताउँदै सांसद काफ्लेले क्रान्तिकारी भूमिसुधार लागू नगरेसम्म देशमा उत्पादकत्व बढ्दैन भन्नुभयो।
सरकारले मुक्तिको नाममा भूमिहीन किसानको रूपमा कमैया र हलियाहरूलाई मोहियानी हकबाट वञ्चित गरेको उहाँले बताउनुभयो।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापा श्रेष्ठले भूकम्पपीडित जनता पीडामा छन् तर सरकार र प्राधिकरणले राहतको काम गर्न नसकेको बताउनुभयो।
गणतन्त्र कालमा पनि प्रशासक र कर्मचारीहरूमा जनभावनाविपरीत काम गर्ने मानसिकता रहेको बताउँदै उहाँले जनता सचेत र सङ्गठित बन्नुपर्नेमा जोड दिनुभयो।
सभापतिको आसनबाट नेक्राकिसङ्घका भजिस अध्यक्ष गोविन्द दुवालले किसान समस्या देशको मूल समस्या हुदाँहुँदै पनि किसानको हितमा कुनै पनि सरकारले नीति–निर्णय नगरेको बताउनुभयो।
नेक्राकिसङ्घ हिमाल, पहाड, तराई सबै ठाउँका शोषित पीडित किसानहरूको सङ्गठन हो भन्दै उहाँले स्थापना कालदेखि सङ्घले देशको सिमाना, सार्वभौमिकता रक्षा र जनअधिकारको निम्ति सङघर्ष गर्दै आएको बताउनुभयो।
शुभकामना मन्तव्य राख्दै नेक्रामसङ्घका जिल्ला अध्यक्ष कमलमैयाँ सुवालले महिलालाई पनि विनाभेदभाव, मोहीयानी हक, जग्गाको हक र रोजगारीको सुनिश्चितता हुनुपर्छ भन्नुभयो।
कार्यक्रममा नेक्राकिसङ्घ काभे्रका जिल्ला अध्यक्ष ऋषिराम दुलाल, नेक्राशिसङघ भक्तपुरका जिल्ला अध्यक्ष जगनाथ सुजखू, नेक्रामजदुर सङ्घ भजिसका प्रतिनिधि विष्णुराम दुमरू, नेक्रायुसङ्घ भक्तपुरका अध्यक्ष मिनबहादुर बाटा, नेक्राविसङ्घ भक्तपुरका अध्यक्ष रमेश प्रजापति र नेक्रासांसङ्घ भक्तपुरका अध्यक्ष बालकृष्ण वनमालाले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नेक्राकिसङ्घ भजिसका उपाध्यक्ष केशवप्रसाद तिमल्सिना र सचिव सूर्यबहादुर सैंजूले पनि बोल्नुभएको थियो।
उद्घाटन समारोहपूर्व विभिन्न बाजागाजा टोलीसहितको किसानहरूको सम्मिलित उद्घाटन र्‍याली भक्तपुर नपा १७ भार्वाचोबाट सुरू गर्दै नगर परिक्रमा गरी उद्घाटन समारोहस्थल दत्तात्रयमा पुगेको थियो।
सम्मेलनको बन्द सत्र सोमबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *