भर्खरै :

विशाल जनप्रदर्शनमा सहभागी हुन नौ दलको आह्वान

काठमाडौं, १० पुस। देशको सार्वभौमिकता र स्वाधीनताविपरीत भारतको निर्देशनमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गराउन नेपाली जनताको सडक र सदनमा आन्दोलन चालू छ।
विधेयकको विरोधमा आन्दोलनरत नेपाल मजदुर किसान पार्टीलगायत नौ दलको आह्वानमा पुस २२ गते काठमाडौं भृकुटीमण्डप मार्गमा दिउँसो १ बजे विशाल जनप्रदर्शनको आयोजना हुँदैछ। सो प्रदर्शन र सभामा सम्पूर्ण नेपाली जनताको सहभागिताको लागि दलले काठमाडौंमा पत्रकार सम्मेलन गरी अपिल गरेका हुन्।
पत्रकारहरूको जिज्ञासामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संविधान संशोधन विधेयक भारतकै निर्देशनमा ल्याएको उल्लेख गर्दै तराई–मधेसको भूभाग अलग प्रदेश बनाउने विधेयकको प्रावधान सिक्किम भारतमा गाभिएजस्तै नेपाल भारतमा गाभ्ने योजना भएको बताउनुभयो।
सांसद सुवालले राष्ट्रसङ्घीय शान्ति मिसनमा भारतमार्फत नेपाली सेनालाई पठाउने प्रस्तावको पनि विरोध गरेको उल्लेख गर्दैै प्रदेश नं. ५ को तराई अलग गरी मधेसभित्र अलग प्रदेश बनाउने प्रावधान नेपालको सार्वभौमिकता र स्वाधीनताविपरीत भएको हुँदा प्रदेश नं. २ लाई पनि हिमाल–पहाडसँग जोड्नुपर्ने विचार राख्नुभयो।
सांसद सुवालले देशघाती विधेयक संसदमा छलफल गर्न लायक नभएको हुँदा सो विधेयक फिर्ता गरी निर्वाचन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयक संसदमा छलफल गर्न लायक नभएको हुँदा सो विधेयक फिर्ता गरी निर्वाचन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले पनि बोल्नुभएको सो सम्मेलनमा एमालेका भानुभक्त ढकालले अपिल वाचन गर्नुभएको थियो।
सम्मेलनमा मालेका सीपी मैनाली, राजमोका दुर्गा पौडेल, परिवार दलका एकनाथ ढकाल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) का सीमाकुमारी विक, मधेस समता पार्टीका मेघनाथ निषाढ र बहुजन पार्टीका विश्वेन्द्र पासवानको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *