दलहरू सिद्धान्त र विचारबाट भिज्नु आवश्यक
- कार्तिक २२, २०८२

छिमेकी देश भारत अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत काम गर्ने देश हो । यस्तो उल्लङ्घन भारतले पटक पटक गर्दै आएको घामझैँ छर्लङ्ग छ । भारत सरकार या भारतीय पक्षले नेपालमा थिचोमिचो गर्ने, अतिक्रमण गर्ने र एकतर्फी निर्माण गर्ने काम अहिले पनि छोडेको छैन । नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सरकारले आफ्नो भूमि भनी चीनसँग व्यापार गर्ने सम्झौता गरेर एकतर्फी निर्णय ग¥यो । अहिले पनि सर्वेक्षणका नाममा भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी कपिलवस्तु सीमा क्षेत्रमा दैनिक ड्रोन उडान गरेको जानकारी प्रकाशमा आयो । समाचार स्रोतअनुसार बिहीबार र शुक्रबार बुद्धभूमि नगरपालिका ५ स्थित गौतम सामुदायिक वन क्षेत्रमा ड्रोन उडाइएको थियो । उक्त ड्रोन लगातार उडाए पनि स्थानीय प्रशासन र सरकारको ध्यान नगएपछि स्थानीयले ड्रोन उडेको भिडियो नै खिचेर प्रचार गरे र विरोध जनाए । स्थानीय जनतामा त्रास फैलिएपछि या जनताको गुनासो एक कान दुई कान मैदान भएपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतीय पक्षलाई कन्सर्न राखेको बताएका छन् । भारतीय पक्षले नदीसम्बन्धी अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाल–भारत सीमामा पूर्वस्वीकृतिबिना ड्रोन उडाउनु सुरक्षाको दृष्टिकोणले संवेदनशील विषय हो । सीमावर्ती क्षेत्रमा ड्रोन उडाउनुअघि नेपाली पक्षसँग परामर्श लिनुपर्ने हो या जानकारी दिनुपर्ने हो । तर, जानकारी दिइएन । यो भारतीय पक्षको हेपाहा प्रवृत्ति हो । भारतीय पक्षको यस्तो हेपाहा प्रवृत्ति दसकौँदेखि दोहोरिँदै आएको छ । नेपाल–भारतको सीमामा गाडेको स्तम्भ फाल्ने या नेपालतर्फ सार्ने, नेपाल–भारत सीमामा एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पार्ने काम पनि भारतले गर्दै आएको हो । नेपाली भूमिमा खनजोत गरेर नेपाली जनतालाई उठिवास गर्ने, नेपाली भूमि अतिक्रमणको विरोध गर्दा दबाउने, प्रहरी दमन गर्ने र पक्राउ गरेर स्थानीय जनतालाई भारतीय पक्षले दुःख दिँदै आएको नेपाली पक्षको गुनासो रहेको छ । भारतीय पक्षको यो हस्तक्षेप, दमन, अतिक्रमण र एकतर्फी निर्माण कार्य हामीले कहिलेसम्म सहेर बस्ने ?
नेपालभित्र भारतीय गाडी ल्याउने आपराधिक व्यक्तिहरू खुलमखुला नेपालमा प्रवेश गरेर हिंसात्मक गतिविधिमा बढावा दिने, नक्कली नोटको कारोबार गर्ने, नेपाली चेलीबेटी भारतीय वेश्यालय पु¥याउने काम पनि भइरहेको छ । यो देशको चिन्ताको विषय हो । नागरिकता विधेयक वास्तवमा नेपाल र नेपालीलाई दूरगामी असर पु¥याउने गोटी हो; त्यो मन्द विष हो । पास भएको नागरिकता विधेयकले भारतीय नागरिकहरू नेपाल छिरेर कुनै दिन नेपालीभन्दा भारतीय नागरिक बढी हुन बेर लाग्दैन । यो हिमाली र पहाडी भेगमा नभए पनि तराई क्षेत्रमा हुन्छ । तराईमा नेपाली नागरिकभन्दा भारतीय नागरिक बढी भयो भने त्यहाँ गाउँपालिकाका वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नपाका उपप्रमुख र प्रमुखदेखि सांसदहरू जित्न बेर लाग्दैन । नेपालीको नाउँमा भारतीय नागरिकहरू निर्वाचित हुन थाल्यो भने तराईमा उनीहरूकै बहुमत हुन्छ । त्यसबेला त्यहाँको स्थिति के होला ?
एक मधेस एक प्रदेश नभए नेपाल नै नरहने धम्की दिने सांसदहरू पनि देखिए । तराई क्षेत्र टुक्रा गर्ने र काठमाडौँ उपत्यकालाई आर्थिक नाकाबन्दी गर्ने चेतावनी पनि दिइएको थियो । नेपाल नै नरहने चेतावनी दिने, तराई टुक्रा गर्ने भनी चेतावनी दिने सांसदहरू आज मन्त्रीमण्डलमा छन् । तराई टुक्रा गरिदिने धम्की देशविरोधी विचार हो । नेपाली भूमिमा जन्मेर, हुर्केर, नेपाली माना खाएर देश टुक्राउन धम्की दिने सांसदहरूलाई देशद्रोहीको मुद्दा लगाउनु पर्दैन ? त्यसबेला सरकार के गरेर बसेको ? यस्ता देशविरोधी जनप्रतिनिधि, सांसद र मन्त्रीहरूको बहुमत भयो भने के उनीहरूले देश बचाउलान् ? चिन्ताको विषय छ । कपिलवस्तुको सीमा क्षेत्रमा गरिएको ड्रोनको उडान नदीसम्बन्धी सर्वेक्षण गर्न हो कि देशको सीमा मिच्न गरिएको सर्वेक्षण हो ? भारतीय पक्षबाट हुने यस्ता हरेक एकपक्षीय काम र हेपाहा प्रवृत्तिलाई सरकारले किन टुलुटुलु हेरेर बसेको हो ? भारतीय पक्षले जे गरे पनि नेपाल सरकार मौन रह्यो भने भारतीय शासकहरू फेरि त्यस्तै हस्तक्षेप र देश हितविपरीत क्रियाकलाप गर्न पछि पर्ने छैनन् । देश हित विपरीतका कुनै पनि विदेशी देशको कामको नेपाल सरकारले विरोध गर्नुपर्छ, खबरदारी गर्नुपर्छ । नेपालको स्वाधीनता, सार्वभौमिकतामा आँच पु¥याउने कामको विरोध गर्नुपर्छ; नेपाललाई सधैँ विश्वसामु चिनाउने काम गर्नुपर्छ ।
Leave a Reply