धादिङ कारागारमा गोली लागेर दुई कैदीबन्दीको मृत्यु, सातजना घाइते
- भाद्र २५, २०८२
इजरायली ट्याङ्कहरू यसबेला गाजा सहरमा गुडिरहेका छन् । यो गाजापट्टीको कब्जा गर्न बाँकी अन्तिम हिस्सा हो । एकपछि अर्को गर्दै धमाधम भवनहरूमा बम फाल्दै धुलोपिठो पार्ने काम भइरहेको छ । बन्दुकको निसानामा राखेर परिवारहरूलाई निकाला गरिँदै छ । गाजाको सरकारी मिडिया कार्यालयअनुसार इजरायली सेनाले ८० भन्दा बढी विष्फोटनकारी रोबोट प्रयोगमा ल्याएको छ । पछिल्लोपल्ट आवासीय संरचनाहरूमा यी रोबोट सक्रिय छन् । धर्ती पोल्ने खेल चल्दै छ ।
कब्जाकारी शक्तिले योजनाबद्ध रूपमा भोकमरी फैलाइरहेको बेला नयाँ विध्वंशको सुत्रपात भएको छ । सयौँ प्यालेस्टिनी नरनारी र बालबालिका भोकले आँत सुकेर मरिसकेको अवस्था छ ।
युद्धमा सङ्कट आइलाग्यो । यो संयोग होइन । खासमा भाँडभैलो नै युद्धको विधि बनेको छ । गाजाको भोकमरी बुझेरै बुनिएको हो । पछिल्लो हमला सुरु हुनुभन्दा धेरै अघिदेखि यो विनाशको योजना बुनिएको थियो । गाजामा अहिले जे भइरहेको छ, त्यो जातिसंहार हो । यसको योजना वासिङ्टन र तेलअभिभले बुनेका हुन् ।
जातीय सफायाको योजना
गाजा सहरको पराजयसँगै पूरै गाजापट्टी इजरायली कब्जामा जानेछ । नेतन्याहुले यसलाई ‘टुङ्ग्याउने कदम’ भनेका छन् । प्यालेस्टिनीहरू अहिले बसिरहेका शिविरहरू बाहिरबाट पूरै बन्द छन् । यसरी प्यालेस्टिनीहरू अन्ततः आफ्नो पुख्र्यौली थलोबाट बाहिर खेदिएका छन् ।
फेब्रुअरीमा डोनाल्ड ट्रम्पले संरा अमेरिकाले गाजा ‘लिने’ र ‘स्वामित्वमा राख्ने’ बताए । उनले प्यालेस्टिनीहरूलाई जबरजस्ती ‘अन्य देशमा’ पठाउने बताए । धेरैले उनको भनाइलाई हल्काफुल्का टिप्पणी भनेर बेवास्ता गरे । तर, केही महिनापछि उनको भनाइको अर्थ खुल्दै छ । उनको भनाइ अहिले गाजामा रणनीतिको रूपमा साकार हुँदै छ ।
एउटा गोप्य दस्तावेजबाट यो नीतिको खुलासा भएको छ । दस्तावेजको भाषा रकमी खालको छ । यो दस्तावेज तथाकथित गाजा मानवीय प्रतिष्ठान, बोस्टन परामर्श समूह र टोनी ब्लेयर प्रतिष्ठानले दिएका सूचनाहरूमा आधारित छ । दस्तावेजमा प्रत्येक प्यालेस्टिनीको जीवनलाई वित्तीय एकाइ मानिएको छ । एकजना व्यक्तिलाई गाजाबाट हटाउँदा २३ हजार डलर ‘जोगिने’ हिसाब निकालिएको छ । जसले ‘राजीखुसी’ गाजा छोड्छ, उसलाई ५ हजार डलर पैसा र दुई वर्षको डेरा खर्च दिने प्रस्ताव छ दस्तावेजमा । कोही मरिहाल्यो सबैलाई आर्थिक लाभ हुने दस्तावेजको ठहर छ ।
यसरी जातिसंहारलाई वित्तीय खेलमा बदलिएको छ । लगानी, सरकारी–निजी साझेदारी र पुँजीगत खर्च जस्ता शब्दको आडमा जघन्य यथार्थलाई ओझेल पार्न खोजिएको छ । मान्छे भोकभोकै मर्दै छन्, सर्वत्र बमबारी छ र मान्छेलाई छानीछानी गोली हानिँदै छ । तर, वित्तपति र राजनीतिज्ञहरू आफ्नो खातापाता मिलाउँदै छन् ।
गाजा र साम्राज्यवादको नयाँ भूगोल
गाजाको विनाश वैचारिक मात्र होइन, रणनीतिक पनि हो । दस्तावेजमा यसबाट संरा अमेरिकालाई सिधै दुइटा फाइदा हुने उल्लेख छ । पहिलो ‘प्रचुर वित्तीय लाभ’ हो भने दोस्रो भटाभट ‘इमेक’ को काम गर्न पाउने मौका हो । ‘भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोर’ लाई ‘इमेक’ भनिएको छ ।
सन् २०२३ मा अमेरिकाको वासिङ्टन सहरमा ‘इमेक’ को घोषणा गरिएको थियो । चीनको ‘बेल्ट र रोड अगुवाइ’ लाई भूराजनीतिक हिसाबले टक्कर दिनका लागि यो परियोजना अघि सारिएको थियो । यो परियोजनाले भारतलाई युरोपसँग जोड्ने व्यापार कोरिडोर (मार्ग) बनाउने लक्ष्य राखेको छ । यो कोरिडोरमा अरबी प्रायःद्वीप र इजरायल पनि समेटिएका छन् । नेतन्याहुले राष्ट्रसङ्घको महासभामा हाकाहाकी यो कुरा खुलाएका थिए । ‘नयाँ मध्यपूर्व’ को नक्सामा उनले इजरायललाई भूमध्य सागरदेखि जोर्डन नदीसम्म फैलेको देखाए । उनको नक्सामा गाजा र पश्चिम किनारको नामनिसान थिएन । यसलाई उनले ‘भिजनरी’ कोरिडोर समेत भने ।
त्यसको हप्तादिनपछि इजरायलले गाजामा जातिसंहारकारी युद्ध सुरु ग¥यो । एकैबाजी यी सारा घटना हुनु काकताली थिएन । माथि चर्चा गरिएको रणनीतिक दस्तावेजमा गाजालाई कोरिडोरलाई खतरामा पारिरहेको ‘इरानी चौकी’ भनिएको छ । सो क्षेत्रमा अमेरिकी र इजरायली प्रभुत्वलाई जोगाउन तथा दसौँ खरब डलरको प्राकृतिक भण्डारमा पहुँच हासिल गर्न गाजालाई नामेट पार्न जरुरी रहेको दस्तावेजमा लेखिएको छ ।
युद्धको हतियारको रूपमा भोकमरी
यति पृष्ठभूमि बुझेपछि गाजामा चलिरहेको भोकमरीको अर्थ खुल्छ । भोकमरी युद्धको परिणाम होइन, बरु युद्ध चालु राख्ने अर्को अस्त्र हो । गाजाका कामचलाउ अस्पतालहरूमा अहिले सुकेर हाडखोर जस्ता बनेका बालबालिकाको भीड छ । गाजाबासीहरू फोहरका डङ्गुर खोस्रीखोस्री आहार जुटाउँदै छन् । इजरायली सेनाले राहत सामग्रीको आसले जम्मा भएको भीडमा अन्धाधुन्ध गोली चलाउँदै छ । भोकले मार्नु भनेको यही हो । बमबारी र मान्छे–धपाउ अभियानले स्थिति झन् कष्टकर पार्दै छ ।
विश्वको जनमत अहिले बदलिँदै छ । सर्वेक्षणले अर्कै कथा भन्दै छ । अमेरिकामा हाल इजरायलको पक्षमा उभिने जनताको सङ्ख्या इतिहासमै न्यून पुग्यो । यहुदी धर्म मान्ने अमेरिकीहरू समेत इजरायलको विपक्षमा जाँदै छन् । विश्वभरि जातिसंहारको विरोधले चर्को रूप लिएको छ । तैपनि वासिङ्टन र उसका आउरेबाउरेहरूले हातहतियार र धन दिएर इजरायली नरसंहारलाई सघाइरहेका छन् । किन ? यसको कारण मान्छेको दुस्साहसमा हेरेर पत्ता लाग्दैन । यसको नियम साम्राज्यवादको भित्री अन्तरमा भेटिन्छ ।
यहुदीवाद र साम्राज्यवाद
अमेरिकाले इजरायललाई किन सहयोग गर्छ ? अमेरिकी सत्ताभित्र इजरायलको पक्षमा चलखेल (लबिङ) गर्ने ‘एप्याक’ जस्ता संस्थाको बलमै यो सहयोग गरिएको होइन । जेफ्री इप्सटिन काण्डलाई देखाएर ट्रम्पलाई धम्क्याउनु पनि यसको कारण हुन सक्दैन । सहयोगको बिउ धेरै अघि सन् १९१७ को बालफोर घोषणामा रोपिएको थियो । त्यो घोषणामार्फत बेलायतले अरबी एकतालाई टुक्र्याउँदै प्यालेस्टिनमा यहुदीवादीहरूलाई एउटा देश दिने नीति अघि बढायो । सन् १९४८ पछि बेलायतको त्यो नीति अमेरिकाले अपुताली पायो । उसले पनि अरबी जगतलाई टुक्र्याउने र दबाउने औजारको रूपमा यहुदीवादलाई काखी च्याप्यो । ।
अरबी जगतले निकै ठुलो भूभाग ओगटेको छ । उत्तर अफ्रिका (इजिप्ट, लिबिया, अल्जेरिया आदि), अफ्रिकाको सुँड (सोमालिया, जिबौटी), नाइल उपत्यका (सुडान), लेभान्ट (जोर्डन, लेबनन, सिरिया, प्यालेस्टिन) देखि अरबी प्रायःद्वीप (साउदी अरब, यमन, ओमन आदि) मा फैलेको छ अरब जगत । यहाँ ४७ करोड जनताको बसोबास छ । तेलको खानीले सम्पन्न यो इलाकामा स्वेज नहरजस्ता अति महत्वपूर्ण व्यापारिक नाका र मार्ग छन् ।
अरब जगतको एकता साम्राज्यवादी प्रभुत्वको लागि ठुलो खतरा थियो । साम्राज्यवादको विरोधमा त्यो बेला जोडतोडले अरब–एकताको नारा घन्कियो । एक–अरब आन्दोलनले अरब जगतलाई एकताबद्ध पार्न थाल्यो । जवाफमा साम्राज्यवादी शक्तिहरूले बाक्लै चलखेल गर्न थाले । अरब जगतलाई एक हुन नदिन तिनले राजसंस्थाहरूलाई हातमा लिए, युद्ध थोपरे र कठपुतली तानाशाहरू खडा गरे । यसको लागि यहुदीवाद तिनको धारिलो हतियार बन्यो । यहुदीवाद आफैमा बसोबासी उपनिवेशवाद थियो । यसलाई प्रयोग गरेर साम्राज्यवादले अरब जगतमा फाटो ल्याए र त्यसलाई कमजोर पारे ।
अरब जगत एउटै भूभागमा थियो । तर, आधुनिक कालका यहुदीहरूको राष्ट्रिय भूभाग, अर्थतन्त्र वा भाषा थिएन । यहुदीवादी आन्दोलनकै निर्देशनमा धर्मग्रन्थको भाषा हिब्रुलाई राष्ट्रिय भाषामा बदलियो । साम्राज्यवादीहरूको खर्चपानीमा इजरायल राज्यको स्थापना सम्भव भयो । वासिङ्टनलाई त दोहोरो फाइदा भयो । नाजी अत्याचार होलोकस्टबाट बाँचेका यहुदी पीडितबाट पिण्ड छुट्यो । तिनीहरू संरा अमेरिका पसेको भए श्रमिक र कम्युनिस्ट आन्दोलन चर्किने सम्भावना थियो । दोस्रो अमेरिकाले तिनलाई अरब राष्ट्रवादविरुद्ध भरुवा बन्दुकको रूपमा राख्न पायो ।
नाजी सेनालाई ध्वस्त पारेपछि सोभियत लालसेनाले धेरै यातनागृहबाट पीडितहरूलाई उद्दार गरेको थियो । समाजवादी व्यवस्थालाई धेरैले बलियो मुक्तिकामी शक्ति माने । यो विचार युरोपभरि फैलियो । यो विचार शरणार्थी भएर अमेरिका र बाँकी विश्वमा फैलेका मानिसहरूले पनि लगे ।
उम्किने बाटो नपाउँदाको छटपटी
आज इजरायली समाजको लागि इतिहासको बाटो बन्द भएको छ । दक्षिण अफ्रिकाका उपनिवेशवादीहरू जस्तै इजरायलका बसोबासीहरू झन्झन् प्रतिक्रियावादी बन्दै छन् । दक्षिण अफ्रिकाका उपनिवेशवादीहरूले अफ्रिकी श्रमको शोषण गर्थे । त्यही शोषण चुसेर उनीहरू बाँचिरहेका थिए । इजरायलको स्थिति फरक छ । इजरायल प्यालेस्टिनी श्रमलाई एकमुष्ट रूपमा नामेट पार्न उद्यत छ । बसोबासी उपनिवेशवादको सोच त्यही हो । ऊ रैथाने जनतालाई लघार्न, बढार्न र नामेट पार्न खोज्छ ।
यो सोच अमेरिकी साम्राज्यवादलाई पनि हजम हुन्छ । एकातिर इजरायलका अपराधहरूलाई ‘इजरायली’ कर्तुत भनी पन्छिन पाइने । अर्कोतिर, फाइदा लिँदै गर्दा कुकर्मको दोष पनि लिन नपर्ने । दुवै हातमा लड्डु भनेको यही हो । वास्तविकता केलाउने हो भने स्थापना यता इजरायलले लडेका सबै युद्ध खासमा अमेरिकी सत्ताका प्रतिनिधि वा छद्म युद्ध थिए ।
वित्तीय पुँजीको तर्क
गाजामा आज जे भइरहेको छ त्यसलाई काकताली भन्न मिल्दैन । बरु, साम्राज्यवादी चरणमा नाङ्गो नाच नाचिरहेको पुँजीवाद हो आजको गाजा । सय वर्षअघि लेनिनले प्रस्ट पार्नुभएको थियो – वित्तीय पुँजीले स्वतन्त्रता होइन, प्रभुत्व खोज्छ । उहाँले भनेझैँ आज वित्तीय पुँजीले भोकमरीलाई मान्छे मार्ने हतियारमा फेर्दै छ† जातीय सफायालाई लगानी गर्ने मौका बनाउँदै छ; र जातिसंहारलाई आर्थिक वृद्धिको ढोका खोल्ने साँचो बनाउँदै छ ।
जातिसंहारका विज्ञहरूको अन्तर्राष्ट्रिय सङ्गठनले इजरायललाई नियोजित युद्ध अपराध र जातिसंहारको कसुरवार ठह¥याइसकेको छ । तैपनि दोष खालि इजरायललाई मात्र जान्न । यो अपराधमा उसलाई अमेरिकाको साम्राज्यवादी राजसत्ताले हतियार र युद्धखर्च दियो । अमेरिकी साम्राज्यवादले इजरायली अपराधलाई ढाकछोप गरिरह्यो । स्वदेशमा अमेरिका सरकारले जनतालाई सहुलियत पुग्ने सामाजिक कार्यक्रम रद्द गर्दै छ† श्रमिक सङ्गठनहरूको ढाड भाँच्दै छ; ज्यालामा कटौती गर्दै छ; सरकारविरोधी मत राख्नेहरूलाई दबाउन कम्मर बस्दै छ ।
गाजामा चलिरहेको आतङ्क जनताविरोधी अपराध मात्र होइन । भविष्यमा पुँजीवादले संसारलाई कुन हविगतमा पु¥याउन सक्छ भन्ने चेतावनी पनि हो गाजाको त्रासदी । चीन र रुससँग हुने झडपको सङ्घारमा अमेरिकी साम्राज्यवादले लाखौँ प्यालेस्टिनीहरूलाई सोत्तर पारेर छोटो भूमिका लेख्न पछि परेन । विश्वव्यापी युद्ध भयो भने उसले कति अरब जनतालाई बलि चढाउने होला ? अनुमान गरौँ ।
गाजाको जातिसंहारलाई पुँजीवादी प्रणालीबाट अलग राखेर हेर्न मिल्दैन । किनभने, त्यो जातिसंहार अमेरिकी पुँजीवादकै कारण भएको हो । प्यालेस्टिनी जनताको ज्यान जोगाउनका लागि गरिने सङ्घर्ष यथार्थमा वित्तीय पुँजीको विश्वव्यापी तानाशाहीविरुद्धको सङ्घर्ष हो । यस बेला मानव जातिको भविष्य यही सङ्घर्षमाथि निर्भर छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply