भर्खरै :

८० वर्ष भयो, अझै उत्तिकै उज्यालो छ–चीनको आकाशमा रातो तारा

आजभन्दा चार बीस र दुई वर्ष पहिले ३१ वर्षका एक जना अमेरिकी युवक दिमागमा हजार प्रश्न बोकेर उत्तरपश्चिम चीनको लोएस पठारको अतिदुर्गम ‘निषेधित’ क्षेत्रमा पुगे ।
चीनका कम्युनिष्टहरु कस्ता हुन्छन् ? ‘लालहरु’ कसरी खाँदा हुन्, कस्ता लगाउँदा हुन्, खेल्दा हुन् वा खेल्दैनन्, प्रेम गर्छन् वा गर्दैनन्, ती मानिसहरु कस्ता कस्ता काम गर्दा हुन् ? लाल सेना जित्ने कतिको सम्भावना छ ? उनीहरुका नेता माओ त्से तुङ कस्ता होलान् ?
चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको झण्डै एक्लो लडाकु सेनाले अन्ततः जित हासिल गर्नेमा थोरै संशय बोकेर अमेरिकी पत्रकार एड्गर स्नो लोएस पठार पुगेका थिए । तर त्यहाँबाट फर्कुञ्जेलसम्ममा उनको मनमा चिनियाँ कम्युनिष्ट पार्टीले जित्ने कुरामा कुनै शङ्का रहेन ।
उनले चीनको आकाशमा रातो तारा नामको पुस्तक लेखे । संसारलाई निकै कम मात्र जानकारी भएको क्रान्तिकारी सङ्घर्षबारे ज्यादै दुर्लभ, विस्तृत र तात्कालीन परिस्थितिको लागि गज्जबको इतिवृत्तान्त सो पुस्तकमार्फत् सार्वजनिक गरे ।
स्नोको त्यो पुस्तक पश्चिमा जगतमा आँधी बनेर पस्यो । सन् १९३८ मा त्यो पुस्तकको चिनियाँ संस्करणले बजारमा धमाका मच्चायो । महत्वपूर्ण शास्त्रको रुपमा लिइने सो पुस्तकले माओकालीन चीनदेखि आजसम्मको चीनलाई प्रभावित बनाइरहेको छ ।
अस्सी वर्षपछि फेरि एकपल्ट मानिसहरुले यो पुस्तक व्यापक रुपमा पढिन थालेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीबारे जानकारी राख्न चाहने मानिसको सङ्ख्या बढेसँगै यो पुस्तकप्रतिको आर्कषण बढेको हो ।
स्नोले संसारसमक्ष चिनाएको त्यो पार्टी संसारको दोस्रो विशाल अर्थतन्त्र विश्व केन्द्रतर्फ दिन दुगुना रात चौगुणाका दरले अघि गुड्दै गर्दा त्यसको पाँग्रा पछाडि बसेको छ ।
साँचो, अकथन कथाहरु
यो पुस्तकले गैरचिनियाँ पाठकलाई मात्र होइन, सम्पूर्ण चिनियाँ जनतालाई समेत चिनियाँ इतिहासमा सबभन्दा ठूलो क्रान्ति गर्न चिनियाँ कम्युनिष्ट पार्टीले गरेको लामो सङ्घर्ष र चिनियाँ कम्युनिष्ट पार्टीबारे आधिकारिक रुपमा बुझ्ने सन्दर्भ पुस्तक बनेको छ ।
‘यो पुस्तकको आर्कषण भनेकै त्यसमा उल्लेखित यर्थाथ कथन हो ।’,चीनको आकाशमा रातो तारा पुस्तक चिनियाँ संस्करणमा प्रकाशन भएको ८० औं वर्षको अवसरमा यो साता आयोजित विचार गोष्ठीमा बोल्दै पेकिङ विश्वविद्यालयका प्राध्यापक र विख्यात लेखक काओ वेनछ्वानले भने ।
सन् १९३० को दशकमा त्यो पुस्तक एउटा अभूतपूर्व खोज थियो र झुठा समाचारको महामारी तथा ‘चिनियाँ खतरा’को हल्लाबीच पनि आज त्यो पुस्तक उत्कृष्ट पत्रकारी कृति मानिन्छ ।
चीनको आकाशमा रातो तारा पुस्तक प्रकाशन हुनुभन्दा अघि माओ र उनका कामरेडहरुलाई पश्चिमा देशहरुमा ‘लाल डाँकाहरु’ भनेर चिनिन्थे जो अपराजयी गुरिल्ला युद्ध लड्दै थिए । माओहरुका बारे प्रकाशित हुने कतिपय समाचारहरु पनि ‘त्यसो रे’ का भरमा तयार पारिन्थे । क्रान्तिकारी क्षेत्र जान निषेध भएकाले त्यस्ता समाचार पूर्ण रुपमा अतिरञ्जनाले भरिपूर्ण हुने गर्थे ।
तर स्नोले त्यत्तातिर लागेनन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको अस्थायी मुख्यालय पाओआन (आजभोलिको शहरी येनान)को यात्राले उनको आँखा उघारिदियो । चिनियाँ कम्युनिष्टहरुबारे भित्री कुरा जान्न सकेका स्नो प्रथम बाहिरियामध्ये एक जना हुन् । स्नोले माओ, चाओ एन लाई र अरु क्रान्तिकारी नेताहरुका बारेमा लेखे । उनीहरुसँग स्नो आफै पहाडी ओडारहरुमा चार महिनासँगै बसेका थिए ।
‘म माओले आफ्नो बाल्यकालबारे बताएको खण्ड सम्झन्छु ।’, सिन्ह्वा विश्वविद्यालयमा पत्रकारितामा स्नात्तक गरिरहेका विद्यार्थी मेन ल्याङचले भने,‘मलाई यस्तो महसुस भयो, मानौं म आफै स्नोसँग ती ओडारमा बसिरहेको छु अनि माओका कुरा सुनिरहेको छु ।’
स्टानफोर्ड विश्वविद्यालयमा इतिहासका प्राध्यापक गोर्डन एच. चाङले त्यो पुस्तक पढ्दाको आफूसँग ‘विस्मयकारी’ अनुभव भएको सुनाए ।
‘चिनियाँ कम्युनिष्टहरुबारे त्यसअघि कोही पनि पश्चिमा अध्येताले यस्तो गहिरो कुरा लेखेका थिएनन् ।’, चाङले भने ।
‘एड्गर स्नो एकै जना त्यस्ता व्यक्ति थिए जो सही समयमा त्यहाँ पुगे । उनी एक जना विलक्षण लेखक र इतिहासका गम्भीर पर्यवेक्षक थिए ।’
‘पुस्तकमा उनका कुरा सद्भावपूर्णमात्र थिए बरु वास्तविक स्रोत र प्रत्यक्ष अवलोकनको जगमा उभिएको छ । पुस्तक पढ्दा उनका कुरा सत्य लाग्छ र मलाईजस्तै अरु पाठकहरुलाई पनि त्यही प्रतीत भएको हुनुपर्दछ ।’, उनले भने ।
चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रहस्य
चिनियाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी इतिहासबारे जान्न उत्सुक चिनियाँहरु समेतका लागि चीनको आकाशमा रातो तारा पढ्नै पर्ने पुस्तक भएको छ ।
यो पुस्तकको चिनियाँ संस्करण त धेरै पटक प्रकाशित भइसकेको छ ।
सबभन्दा पछिल्लो एउटा संस्करण त सार्वजनिक भएको एक वर्षकै अन्तरालमा ३० लाख प्रति विक्री भएको थियो । चीनको शिक्षा मन्त्रालयले सो पुस्तक माध्यामिक विद्यालयका विद्यार्थीहरुले अनिवार्य रुपमा पढ्नुपर्ने पुस्तक बनाउन सुझाव दिएको छ ।
साहित्यिक कृतिहरुको समीक्षा प्रकाशित गर्ने एउटा लोकप्रिय अनलाइन साइट डाउबनमा चीनको आकाशमा रातो ताराका दश वटा चिनियाँ संस्करणका बारेमा समीक्षा गरिएको छ । ती सबै संस्करणले १० अङ्कमा ८ अङ्क पाएका छन् ।
डाउबनमा सर्वाधिक मनपराइएको एउटा टिप्पणीमा यो पुस्तकले ‘चिनियाँ कम्युनिष्ट पार्टीले किन सफलता हासिल गर्न पथ्र्यो ?’ भन्ने प्रश्नको उत्तर दिएको उल्लेख छ ।

धेरैका लागि यो प्रश्न आज पनि सान्दर्भिक रहेको छ ।
स्नोले कम्युनिज्मले कठिनाईको समयबीच पनि महान् सपना बोक्न उत्सुक र हिम्मतिला धेरै युवा चिनियाँहरुलाई प्रभावित बनाएको पाए ।
लाल सेनाका सिपाहींहरुलाई ‘सहनशीलताको अथाह शक्ति भएका’ ‘अपराजयी’ भनी व्याख्या गरिएको छ । उनीहरु ‘कुनै पनि कठिनाई बिना गुनासो छिचोल्न क्षमता राख्दछन् ।’ लामो हिंडाई आफैमा यसको सबभन्दा उत्तम उदाहरण हो ।
स्नोले लाल सेनाका बारेमा लेखे । लाल सेनाका अधिकांश सदस्यहरु गरीब किसानहरु थिए । उनीहरु अग्ला अग्ला पहाडहरु छिचोल्थे, नदी तर्थे, थोरै खाना खाएर पनि बाँँच्थे र येनान पुग्न कोमिङताङका जस्तै खतराको सामना गर्थे ।
‘पश्चिमा पाठकहरुलाई यही कुराले प्रभावित बनाउने गरेको छ ।’, प्रकाशक सङघ चीनका सह कार्यकारी निर्देशक ऊ शुलिनले भने,‘लाल सेनाको सहनशीलता र कठिनाईहरुको सामना गर्ने क्षमता प्रशंसनीय छ ।’
कोमिङताङ शासनबाट पीडित जनताको पनि कम्युनिष्टहरुले समर्थन जित्न सफल भए ।
क्रान्तिकारी क्षेत्रमा कम्युनिष्ट पार्टीका नीतिहरु ज्यादै लोकप्रिय थिए । अफिम उन्मुलन, बाल दासता अन्त्य, जबरजस्ती विवाहको अन्त्य र शिक्षाको प्रचार कम्युनिष्ट पार्टीका कार्यक्रमहरु थिए ।
कोमिङताङहरुको आक्रामक शैली, मनपरीतन्त्र र भ्रष्टाचारको तुलनामा कम्युनिष्टहरुका इमान्दार, प्रष्ट र वस्तुसंगत व्यवहारले जनतालाई प्रभावित बनायो ।
लाल सेनालाई ‘गरीब जनताको सेना’ भनेर चिनिन्थ्यो । त्यसकारण लाल सेनामा भर्ती हुन चाहनेहरुको सङ्ख्या धेरै थियो ।
‘यही सामान्य कारणले स्नोले धेरै सिपाहींहरुका बारेमा पनि पुस्तकमा लेखेका छन् ।’, पेकिङ विश्वविद्यालयका प्राध्यापक काओले भने ।
आफ्नो पुस्तकको अन्त्यमा स्नोले कम्युनिष्ट क्रान्तिको ‘अन्ततः विजय’ हुने लेखेका छन् ।
स्नोका अनुसार त्यस्तो विजय ज्यादै शक्तिशाली र अप्रतिरोधी हुने बताए ।
नयाँ लामो हिंडाई
सन् १९३० दशकको बाओआनभन्दा भिन्न आजको चीन संसारको एउटा हिस्सा बनिसकेको छ । तथापि चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो परम्परा त्यागेको छैन । चिनियाँ नेताहरु आज पनि आफ्ना कामरेडहरुलाई विगतका भावनाप्रति इमान्दार रहन आग्रह गरिरहेका छन् । ‘अनि हामीले कहाँबाट शुरु गरेका थियौं र हाम्रो लक्ष्य के हो भन्ने कुरा कहिल्यै नभुल्न’ नेताहरुले आफ्ना कामरेडहरुलाई भनिरहेका छन् ।
लक्ष्य सदैव एउटै रहेको छः चिनियाँ जनताको खुशीको खोजी र चिनियाँ राष्ट्रको पुनर्जागरण । तर पार्टीले अझ मूर्त तरिकाले आफ्नो लक्ष्य तय गरेको छ–यो शताब्दीको मध्यकालसम्ममा चीनलाई एउटा महान समाजवादी देश बनाउने ।
नयाँ लक्ष्यको लागि नयाँ बाटोमा चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ लामो हिंडाईमा लम्किरहेको छ ।
सन् २०२१ सम्ममा चरम गरिबी, वित्तीय खतरा र प्रदुषण नियन्त्रणका विरुद्ध लड्न कष्टसाध्य पहलकदमीको खाँचो पर्ने नेताहरु बताउँछन् ।
यसैबीच कार्यकर्ताहरुको व्यवहार सुधार गर्न लामो हिंडाईको शुरुवात भइसकेको छ ।
बितेका पाँच वर्षमा पार्टीभित्रको भ्रष्टाचार र अनुशासनहीन गतिविधि छ्यास्न बृहत् र दीर्घकालीन अभियानको शुरुवात गरियो । यो अभियानले राजनीतिक पर्यावरणमा बृहत् सुधार ल्याएको छ ।
विद्वानहरुका अनुसार यसले पार्टीलाई महान क्रान्तिमा विजय हासिल गर्न आवश्यक लोकप्रियतातिर फर्कने अवस्था बनाइदिनेछ ।
‘स्नोकै कारण आज हामीले क्रान्तिको शुरुवात कसरी भएको थियो भन्ने कुरा जान्न सकिरहेका छौं ।’, काओले भने,‘चिनियाँ कम्युनिष्ट पार्टीले शुरुवातका दिनहरुमा अघि सारेका सामान्य अनुशासनका नियमहरु, ‘तीन अनुशासनका नियम र ध्यान दिनुपर्ने आठ कुरा’ले नै पार्टीलाई बलियो बनायो ।’
स्नोको निधन सन् १९७२ मा स्वीट्रल्याण्डमा भएको थियो । उनको इच्छाअनुसार उनको अस्तुको केही भाग पेकिङ विश्वविद्यालयमा गाडिएको थियो ।
उनको चिहानमा चिनियाँ र अङ्ग्रेजी भाषामा लेखिएको छ,‘एड्गर स्नो, चिनियाँ जनताका अमेरिकी मित्र ।’
सिन्ह्वा समाचार संस्था अप्रिल २७, २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *