भक्तपुर, २४ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार ख्वप मा.वि./कलेजमा प्रवचन कार्यक्रम भयो । कलेज/विद्यालयमा कार्यरत महिला शिक्षक/कर्मचारीहरूको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप मा.वि./कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बहुसङ्ख्यक कामदार महिलाहरूको पक्षमा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसलाई वर्गीयरूपमा हेर्नु जरूरी छ भन्दै उहाँले समाजको हरेक क्षेत्रमा महिलाको सहभागिता तथा उपस्थिति उल्लेख्य भएमात्र समाजमा महिला र पुरुषबिच भेद कम हुँदै जाने बताउनुभयो ।
महिलालाई आरक्षण दिएर होइन सबल बनाएर प्रतिस्पर्धी बनाउनु जरूरी भएको धारणा राख्दै प्रमुख प्रजापतिले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा महिला वा पुरुषलाई बेचबिखनको साधनको रूपमा लिइन्छ । पुँजीवादी बन्दोबस्तमा यथार्थरूपमा महिला मुक्ति सम्भव छैन । शिक्षालाई रोजगार वा उत्पादन श्रमसँग जोड्ने समाजवादी व्यवस्थाले मात्र साँचो अर्थमा महिला मुक्ति गर्न सकिन्छ ।”
प्रमुख प्रजापतिले थप्नुभयो, “समाज परिवर्तनको मुख्य आधार शिक्षा र राजनीतिक चेतना हो ।”
उहाँले भन्नुभयो, “अत्यन्त पछाडि परेको भक्तपुरलाई नेमकिपाका अग्रजहरूको वर्षाँैको मेहनत र त्यागको परिणामस्वरूप भक्तपुर एउटा नमुना नगरको रूपमा विकास भइरहेको छ । यद्यपि, हालैको निर्वाचन नतिजाले जनतामा राजनीतिक चेतना अभाव भएको देखियो । नयाँ पुस्तालाई राजनीतिकरूपले सचेत गर्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले घरको कामबाट मुक्त नभएसम्म सामाजिक, राजनीतिक र आर्थिकरूपमा महिला मुक्ति सम्भव नहुने शिक्षा पाएर नै सोभियत रूसले अक्टोबर समाजवादी क्रान्तिपछि सामूहिक भान्छा र बालगृहको व्यवस्था गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिको महत्वपूर्ण उपलब्धिमध्ये महिला मुक्ति पनि हो ।”
संरा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबारे चर्चा गर्दै उहाँले साम्राज्यवादी देशले कुनै पनि देशलाई स्वतन्त्र राख्न नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षक–प्राध्यापकको जिम्मेवारी नयाँ पुस्तालाई शिक्षा दिनुको साथै देशको सुरक्षा र सार्वभौमिकताबारे ज्ञान दिनुपर्ने समयले हामीलाई सिकाएको छ ।”
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र आयोजक समितिका सदस्यहरू रोजिना थुसा, अन्जना सँैजू एवम् सुनिता गाइसीले कार्यक्रमको औचित्य र महिला मुक्तिबारे बोल्नुभएको थियो ।
Leave a Reply