भर्खरै :

युवा अवस्थामा नै मिर्गौला फेल : कारण तथा उपचार

युवा अवस्थामा नै मिर्गौला फेल : कारण तथा उपचार

मिर्गौलासम्बन्धी रोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । जसमा मेडिकल कारण तथा सर्जिकल कारण पर्छन् । धेरैजसो मिर्गौला रोगको कारण सर्जिकल समस्या हुन सक्छ । अन्य कुनै रोगका कारण मिर्गौलामा असर परेमा त्यसलाई मेडिकल कारण भनिन्छ ।
यदि कसैलाई सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोलजस्ता रोगका कारण मिर्गौलामा असर परेको छ भने त्यसलाई मिर्गौला रोगको मेडिकल कारण मानिन्छ । मेडिकल समस्याका कारण मिर्गौलामा आएको समस्या हटाउन सकेमा मिर्गौलाले पुनः सामान्य रूपमा काम गर्न थाल्छ ।
समस्या बढ्नुका कारण
पछिल्लो समय मिर्गौलासम्बन्धी समस्या बढ्दै जानुको प्रमुख कारण जीवनशैलीमा आएको व्यापक परिवर्तन हो । युवावस्थामै सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोलजस्ता समस्या देखिन थालेकाले मिर्गौलासम्बन्धी समस्या पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
त्यस्तै, विभिन्न प्रकारका इन्फेक्सनका कारण पनि मिर्गौलासम्बन्धी रोग बढ्दै गएको पाइन्छ । मिर्गौलामा स्टोन देखिनु तथा क्यान्सर हुनु पनि समस्याको अर्को कारण हो ।
पानीको अपर्याप्त सेवन, असन्तुलित खानपान शैली, बारम्बार इन्फेक्सन हुनु, मिर्गौलामा ढुङ्गा बन्नु तथा समयमै उपचार नहुनुजस्ता कारणले पनि मिर्गौलासम्बन्धी समस्या पछिल्लो समय बढ्दै गएको छ ।
मिर्गौला रोग र खानपान शैली
पिसाबमा प्रोटिनको मात्रा देखिएको छ वा छैन भन्ने आधारमा खानपानमा परिवर्तन गर्नुपर्ने वा नपर्ने निर्धारण गरिन्छ । यदि स्टोनका कारण मिर्गौला रोग भएको छ भने त्यसअनुसारको खानपान शैली अपनाउनुपर्छ ।
मिर्गौलालाई स्वस्थ राख्न दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्छ । खानामा नुनको मात्रा सकेसम्म कम गर्ने, रातो मासु तथा गेडागुडी आवश्यकताअनुसार खाने र दैनिक शारीरिक व्यायाम गर्ने बानीले मेडिकल तथा सर्जिकल कारणबाट हुन सक्ने मिर्गौला रोगबाट जोगिन सकिन्छ ।
युवावस्थामै मिर्गौला फेलको समस्या
युवावस्थामै मिर्गौला फेल हुनुको प्रमुख कारण उच्च रक्तचाप हो । समयमै उच्च रक्तचापको उपचार हुन नसक्दा युवावस्थामै मिर्गौला फेल हुने समस्या बढ्दै गएको छ ।
नियमितरूपमा उच्च रक्तचापको परीक्षण नगर्दा र त्यसको रोकथाम गर्न नसक्दा मिर्गौला फेलसम्मको समस्या आउन सक्छ । त्यस्तै, युवावस्थामै मिर्गौला फेल हुनुको अर्को कारण सुगर पनि हो । उच्च रक्तचाप र सुगरलाई समयमै पत्ता लगाई नियन्त्रण गर्न सके यस्तो समस्याबाट जोगिन सकिन्छ ।
मिर्गौला रोगीलाई सहज उपचार कसरी ?
मिर्गौला रोगका लागि सरकारले १ लाख रूपैयाँ बराबरको उपचार सहुलियत प्रदान गर्दै आएको छ । डायलासिस सेवा पनि निःशुल्क उपलब्ध गराइँदै आएको छ ।
यद्यपि, दीर्घकालीन उपचार आवश्यक पर्ने बिरामीका लागि यो पर्याप्त छैन । मिर्गौला प्रत्यारोपण सेवाका लागि सरकारले ४ लाख रूपैयाँ बराबरको सहुलियत दिँदै आएको छ ।
तर, प्रत्यारोपणका लागि यो रकम पर्याप्त हुँदैन । सरकारी अस्पतालमा उपचार गराउने बिरामीले केही थप रकम तिरेर सेवा लिन सके पनि निजी अस्पतालमा उपचार गराउनेहरूका लागि यो निकै अपुग हुन्छ ।
निजी अस्पतालमा प्रत्यारोपण गराउन कम्तीमा १५ देखि २० लाख रूपैयाँसम्म खर्च हुन सक्छ । नेपाल सरकारले दिने सहुलियत निजी अस्पतालमा उपचार गराउने बिरामीले पाउन सक्दैनन् ।
प्रत्यारोपणपछि बिरामीले खाने औषधिको लागत मात्रै मासिक २५–३० हजार रूपैयाँसम्म पर्छ । त्यसैले सरकारी अस्पतालमा उपचार गराउने बिरामीका लागि पनि सरकारले उपलब्ध गराउँदै आएको सहुलियत पर्याप्त देखिँदैन ।
मिर्गौलामा समस्या आउनबाट कसरी जोगिने ?
मिर्गौला रोगबाट जोगिन कम्तीमा वर्षमा एकपटक मिर्गौला परीक्षण गराउनु आवश्यक छ ।
त्यस्तै मिर्गौला रोगका मुख्य कारकहरू जस्तै सुगर, प्रेसर, डायबिटिज आदिको उपचार समयमै गर्नुपर्छ । खानामा नुनको मात्रा सकेसम्म कम गर्ने, पर्याप्त पानी पिउने, नियमित शारीरिक व्यायाम गर्नेजस्ता बानीले मिर्गौलामा समस्या आउनबाट जोगिन सकिन्छ ।
(मिर्गौला प्रत्यारोपण सर्जन तथा युरोलोजिस्ट डा. अन्सारी जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *