भर्खरै :

देशभक्त, अनुशासित र असल नागरिक देशको लागि आवश्यक

देशभक्त, अनुशासित र असल नागरिक देशको लागि आवश्यक

भक्तपुर, २९ फागुन । लिशा इङ्गलिस सेकेन्डरी स्कूलको ३७ औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार एक विशेष समारोहबिच सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाँसुरीको धुनमा कार्यक्रमको उद्घाटन गर्दै बालबालिका नै आफ्नो सम्पत्ति भएको हुँदा उनीहरूलाई उच्च शिक्षा र राम्रो संस्कार दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षामा विकास भएको देश अघि बढ्ने विचार व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्य स्थल बनाउने प्रयासमा शिक्षक, अभिभावक, समाजका अगुवाहरूको महत्वपूर्ण देन हुने बताउनुभयो ।
कसैको डर धम्कीको अगाडि नझुक्ने देशभक्त, अनुशासित, असल नागरिकले देश हाँक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यालयमा पाठ्यपुस्तकबाहेक नयाँ नयाँ विषय पनि पढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले बालबालिका परिवारको खुसी मात्र नभई देशको भविष्य पनि भएको उल्लेख गर्दै बालबालिकालाई असल संस्कार र राम्रो शिक्षा दिनुपर्छ भन्नुभयो ।
उहाँले भक्तपुरको शैक्षिक विकासले भक्तपुरका जनतालाई शिक्षित र सचेत बनाउन मद्दत पु¥याएको बताउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले यो एक्काइसौँ शताब्दीमा सूचना सञ्चार र प्रविधिलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिँदै गलत सूचना प्रवाहले आफ्ना सन्तानहरू बिग्रिनेतर्फ अभिभावकहरू सचेत हुनुपर्छ भन्नुभयो । भ्रष्टाचारी, अपराधीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई सही बाटोमा ल्याउने काममा शिक्षक, अभिभावक र समाजसेवीहरूको महत्वपूर्ण देन हुन्छ भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालय बनाउन धेरै मेहनत गर्नुपर्ने खाँचो औँल्याउँदै समाजलाई अघि बढाउन नयाँ पुस्तालाई मार्ग निर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको निम्ति आवश्यक दक्ष जनशक्ति तयार गर्न, नयाँ पुस्तालाई इमानदार बनाउन असल संस्कार सिकाउनुपर्ने विचार व्यक्त गर्दै उहाँले पुरानो पुस्ताको अनुभव र ज्ञान तथा नयाँ पुस्ताले सिकेको प्रविधि सँगै अघि बढाए देशको मुहार फेर्ने बताउनुभयो ।
उहाँले विद्यालय नयाँ पुस्तालाई मार्गनिर्देश गर्ने विद्यार्थीहरूको दोस्रो घर हो भन्दै विद्यालयले असल संस्कारसँगै
रचनात्मक गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
लिशा इङ्गलिस सेकेन्डरी स्कूलका प्रिन्सिपल लिशा प्रजापतिले विद्यालयको गतिविधि र भावी योजनाबारे प्रकाश पार्दै विद्यार्थीको भविष्य जीवन सुनिश्चित गर्न मार्ग निर्देशन भइरहेको बताउनुभयो ।
विद्यार्थीहरूको शिक्षण सिकाइ प्रभावकारी बनाउन आवश्यक तालिम र सीपको विकाससँगै व्यक्तित्व विकास गर्न शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद आदि गतिविधिमा जोड दिइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति बलराम प्रजापतिले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन लक्ष्यतर्फ अघि बढ्नुपर्ने विचार व्यक्त गर्दै विद्यालय विद्यार्थीलाई अनुशासित, देशभक्त नागरिक तयार गर्ने थलो हो भन्नुभयो ।
शिक्षिका कृष्णश्वरी दुवालले वार्षिकोत्सव कार्यक्रमको आवश्यकताबारे चर्चा गर्नुभयो भने कक्षा १० का विद्यार्थी आयुषा खोजु र कक्षा ८ का विद्यार्थी रंगना कोजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका अतिथिहरूले विभिन्न प्रतियोगिता तथा क्रियाकलापमा उत्कृष्ट छात्रछात्राहरूलाई मायाको चिनो वितरण गरिएको सो समारोहमा विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए ।
समुद्घाटन कार्यक्रमपछि विद्यार्थीहरूको गीत, नृत्य तथा अन्य कला प्रदर्शनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *