भर्खरै :

आमूल परिवर्तनको लागि महिलालाई शिक्षा दिनु अपरिहार्य

आमूल परिवर्तनको लागि महिलालाई शिक्षा दिनु अपरिहार्य

भक्तपुर, २९ फागुन । ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ प्रभात एकाइ समितिको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले आमूल परिवर्तनको लागि महिलालाई शिक्षा दिनु अपरिहार्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “छोराछोरीको विवाह उमेर २० वर्षबाट घटाउनुपर्ने विषयमा महिलाहरूको स्पष्ट मत आउनु आवश्यक छ । नेमकिपाले नयाँ पुस्तालाई कम्तीमा स्नातक तह उत्तीर्ण गराउने विषयलाई जोड दिँदै आएको हो ।”
सुर्खेतमा १६ वर्षीय इनिसा विकलाई बलात्कारपछि हत्या गरिएको सार्वजनिक भयो । सप्तरीमा नाबालिकामाथि यौन दुव्र्यवहार भएको पनि सार्वजनिक भयो । कञ्चनपुरका किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षौँ भयो तर दोषीमाथि कारबाही भएको सार्वजनिक भएन, उहाँले भन्नुभयो ।
अमेरिकी ट्रम्प प्रशासनले जातिवादी इजरायली सरकारलाई प्यालेस्टिनको गाजामा नरसंहार गराएको, ट्रम्प र नेतन्याहु सरकारले इरानलाई आक्रमण गरेको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “यो युद्धको कारण नेपालमा इन्धन र खाद्यान्नको अभाव बढ्यो, आधा सिलिन्डर खाना पकाउने ग्यास लिन लाइन लाग्नुपर्ने भयो । नेमकिपाले यसकारण युद्ध र हतियार निर्यातको विरोध गर्दै आएको हो । नेपाल बाँकी संसारमा देखिने अप्ठेरोबाट अलग हुन सक्दैन ।”
युद्ध अन्त्यको लागि इरानले राखेको तीन ओटा सर्त – ‘मानवीय हितको लागि आणविक ऊर्जा विकास गर्न पाउने वैध अधिकार स्वीकार गरिनुपर्ने, इरानमा भएको क्षतिको क्षतिपूर्ति इजरायल र ट्रम्प प्रशासनबाट हुनुपर्ने, इरानमा पुनः आक्रमण नहुने अन्तर्राष्ट्रिय प्रत्याभूति हुनुपर्ने’ जायज र न्यायोचित भएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
नेतन्याहु र ट्रम्प प्रशासनको आक्रमणले इरानमा कम्तीमा १,३४८ सर्वसाधारणको मृत्यु र १७ हजारभन्दा बढी घाइते भएको सार्वजनिक भएको, संरा अमेरिका र इजरायलले सुरक्षा परिषद्मा १४० देशलाई इरानविरुद्ध मत दिन लगाएको तर रुस र चीन तटस्थ बसेको सार्वजनिक भएको उहाँले बताउनुभयो ।
इरानको प्रत्याक्रमणले पश्चिम एसियाको १७ अमेरिकी सैन्य अखडामा क्षति भएको सार्वजनिक भएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “रुस–अमेरिकाको वार्ता ‘फलदायी’ भएको र अब अमेरिका–चीन वार्ता हुने तयारीले युद्धको बादल हट्दै जाने अपेक्षा गर्न सकिन्छ ।”
उहाँले भन्नुभयो, “प्रजग कोरिया (उत्तर कोरिया) समाजको स्वामित्वमा अर्थतन्त्र भएको, युद्धविरोधी हतियार निर्यात नगर्ने, आत्मनिर्भर देश हो । यहाँका नेता किम जङ उन आमूल परिवर्तनका उत्तराधिकारी हुनुहुन्छ । यो यथार्थ बुझपचाउनेहरू प्रजग कोरियाका नेतालाई तानाशाहीको आरोप लगाउँछन् ।”
संसारका राम्रा राम्रा अगुवाहरूको जीवनी अध्ययन गरेर हामीले नयाँ पुस्तालाई देशभक्त बनाउनु आवश्यक भएकोतर्फ सचिव सुवालले जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सृजना सैँजुले महिला आन्दोलन पनि वर्गसङ्घर्षकै एउटा पाटो भएको धारणा राख्दै सामाजिक बेथितिका बाबजुद पनि सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य व्यवस्था गलत भएसम्म जनताले दुःख पाउनुपर्ने हुन्छ । महिला आन्दोलन पुरुषविरोधी आन्दोलन नभई मजदुर आन्दोलनकै रुप हुनुपर्छ ।”
कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापति, अनिता न्हुछे, सविना, पुष्पा अवाल, मीरा दुगुजु, अनिता देशेमरु र तारा न्यौपानेले विश्वका क्रान्तिकारी महिलाहरूको जीवनीबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *