भर्खरै :

क्यान्सर उपचारमा नवीनतम् प्रविधि र औषधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड

क्यान्सर उपचारमा नवीनतम् प्रविधि र औषधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड

भक्तपुरमा हाडजोर्नी तथा मांशपेशीको क्यान्सरसम्बन्धी (MOSON) को तेस्रो द्विवार्षिक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, १३ मङ्सिर । मस्कुलोस्केलेटल अन्कोलोजी सोसाइटी अफ नेपाल, मोसोन (Musculoskeletal Oncology Society of Nepal-MOSON) को तेस्रो द्विवार्षिक सम्मेलन (3rd Biennial Conference–२०२६) भक्तपुरमा सम्पन्न भयो । मङ्सिर ४ र ५ गते (नोभेम्बर २० र २१, २०२६) दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपालका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका साथै विदेशबाट आएका विशेषज्ञ चिकित्सक, अन्कोलोजिस्ट तथा स्वास्थ्यकर्मीसहित करिब २०० जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
क्यान्सर रोगको उपचार, विशेष गरी हाडजोर्नी तथा मांसपेशीसँग सम्बन्धित क्यान्सरको पहिचान, निदान, शल्यक्रिया, उपचार पद्धति र पछिल्लो चिकित्सकीय प्रविधिबारे ज्ञान, अनुभव तथा अनुसन्धान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
भक्तपुरमा आयोजित उक्त सम्मेलनको समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरमा पहिलोपटक यस किसिमको अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सम्मेलन आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । उहाँले यस्ता ज्ञानमूलक तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरूले भक्तपुरको परिचय र स्वास्थ्य क्षेत्रको विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
बिजुक्छेँले आफ्नो पारिवारिक अनुभव सुनाउँदै क्यान्सर रोगको उपचारको क्रममा बिरामी र परिवारले भोग्नुपर्ने कठिनाइबारे चर्चा गर्नुभयो । उहाँले नेपालमा क्यान्सर उपचारका लागि आवश्यक नयाँ तथा प्रभावकारी औषधिहरू सहज रूपमा उपलब्ध हुन नसक्नु गम्भीर समस्या भएको बताउनुभयो ।
भारतलगायत अन्य मुलुकमा उपलब्ध भइरहेका कतिपय क्यान्सरविरुद्धका नयाँ औषधि नेपालमा सहज रूपमा उपलब्ध नहुनु दुःखद विषय भएको उल्लेख गर्दै उहाँले यसका लागि आफूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउनुभयो । क्यान्सरका बिरामीले आर्थिक समस्याका साथै औषधि उपलब्ध नहुँदा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यस्तो समस्या समाधान गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ तथा प्रभावकारी औषधि नेपालमै उपलब्ध हुने वातावरण बनाउन र बिरामीले तिनको उपयोग गर्न पाउने व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनले चिकित्सा विज्ञान, स्वास्थ्य सेवा र क्यान्सर उपचारको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै ख्वप अस्पतालमार्फत आधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाको लक्ष्य ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज स्थापना गर्नु रहेको प्रस्ट पार्दै उपप्रमुख जोशीले क्यान्सर रोगको समयमै पहिचान, विशेषज्ञ उपचार सेवामा सर्वसाधारणको पहुँच र आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहजता प्रदान गर्नु राज्यको दायित्व हो भन्नुभयो ।
उहाँले सम्मेलनले नेपालमा मस्कुलोस्केलेटल अन्कोलोजी सेवाको विकास र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक समितिका सचिव डा. विनायक ढुङ्गेलले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विशेषज्ञ चिकित्सक, अतिथि, सहयोगी संस्था र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मोसोनका अध्यक्ष डा. अरुण सिग्देल, आयोजक समितिका अध्यक्ष डा. अभिमन्यु झा, डा. ऋषिराम पौडेल, डा. वसन्त महर्जन, डा. जनिथ सिंहलगायत विभिन्न पदाधिकारी तथा चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. निराजन सुवेदी, विभिन्न देशबाट आएका आमन्त्रित विशेषज्ञ चिकित्सक, मोसोनका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आएका विशेषज्ञ चिकित्सक तथा प्रतिनिधिहरूलाई प्रमुख अतिथि नारायणमान बिजुक्छेँले कदरपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । त्यसैगरी, सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका दीक्षा गौरी हाडा मेमोरियल फाउन्डेसनलाई पनि आयोजक संस्थाले विशेष सम्मान प्रदान गरेको थियो ।
दुई दिनसम्म सञ्चालित सम्मेलनको पहिलो दिन मङ्सिर ४ गते (नोभेम्बर २०) प्रि–कन्फरेन्स कार्यक्रमअन्तर्गत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (Patan Academy of Health Sciences), त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH), महाराजगञ्ज र राष्ट्रिय ट्रमा तथा अर्थोपेडिकसम्बन्धी चिकित्सा सेवा केन्द्र, न्याम्स् (NAMS) मा छुट्टाछुट्टै विषयगत कार्यशाला सञ्चालन गरिएको थियो । पाटनमा पेडियाट्रिक अन्कोलोजी, त्रिवि शिक्षण अस्पतालमा मस्कुलोस्केलेटल प्याथोलोजी र न्याम्स्मा अर्थोपेडिक अन्कोलोजीसम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो ।
न्याम्स् अडिटोरियममा आयोजित अर्थोपेडिक अन्कोलोजी कार्यशालामा क्यान्सरका कारण हड्डीमा देखिने समस्या, बायोप्सी गर्ने उपयुक्त विधि, लिम्ब साल्भेज सर्जरी, पेल्भिक तथा सेक्रल ट्युमरको शल्यक्रिया, मेटास्टेटिक बोन डिजिजको उपचारलगायत विषयमा विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए । साथै थ्रीडी प्रिन्टिङ र भर्चुअल रियालिटीसम्बन्धी व्यावहारिक कार्यशाला पनि सञ्चालन गरिएको थियो ।
दोस्रो दिन मङ्सिर ५ गते (नोभेम्बर २१) भक्तपुरस्थित होटल भादगाउँमा मुख्य सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा नेपालसहित सिङ्गापुर, बेलायत र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकहरूले क्यान्सर उपचारसम्बन्धी नवीनतम ज्ञान, अनुसन्धान र चिकित्सकीय अनुभव प्रस्तुत गरेका थिए ।
सम्मेलनमा सिङ्गापुरको सिङ्गापुर जनरल अस्पतालका अर्थोपेडिक अन्कोसर्जन डा. सुराया जैनुल अबिदिन, बेलायतको रोयल म्यानचेस्टर चिल्ड्रेन्स अस्पतालकी पेडियाट्रिक अन्कोलोजिस्ट डा. बर्नाडेट ब्रेनन, रोयल अर्थोपेडिक अस्पताल बर्मिङ्घमकी मस्कुलोस्केलेटल टिस्यु प्याथोलोजिस्ट डा. सुमथी वैयापुरी, भारतको गुजरात क्यान्सर एन्ड रिसर्च इन्स्टिच्युटका अर्थोपेडिक अन्कोसर्जन डा. अभिजित सालुङ्के तथा बेलायतको रोयल अर्थोपेडिक अस्पताल बर्मिङ्घमका अर्थोपेडिक अन्कोसर्जन डा. भीम श्रीमललगायत विशेषज्ञहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
सम्मेलनले क्यान्सर उपचारमा अन्तर्राष्ट्रियस्तरमा विकसित भइरहेका नयाँ प्रविधि, उपचार विधि र अनुसन्धानका उपलब्धिबारे नेपाली चिकित्सकहरूलाई जानकारी आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
सम्मेलनको समापन समारोहसँगै आयोजित सांस्कृतिक कार्यक्रममा दीक्षा गौरी हाडा मेमोरियल फाउन्डेसनले करिब एक घण्टाको आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी अतिथिहरूलाई नेपाली कला, संस्कृति र सङ्गीतसँग परिचित गराएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक रवि हाडा, गायक लक्ष्मण पलिखेल तथा नवगायक प्रनिल पलिखेले विभिन्न गीत प्रस्तुत गर्नुभयो भने नेपाली मौलिक संस्कृति झल्काउने कुमारी नृत्य सन्मुक्ता शर्मा र परम्परागत बज्रयोगिनी नृत्य रञ्जना सितिखुले प्रस्तुत गर्नुभएको थियो । मोडल आराध्या लक्ष्मी खड्कीले नेपालभाषा तथा नेपाली गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, कृषला मथ्या र यजश्वी प्रजापतिद्वारा प्रस्तुत नृत्यले पनि कार्यक्रममा विशेष आकर्षण थपेको थियो ।
मोसोनको तेस्रो द्विवार्षिक सम्मेलनले क्यान्सर उपचार क्षेत्रमा कार्यरत नेपाली तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबिच ज्ञान, सीप, अनुभव र सहकार्य आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *