भर्खरै :

मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–३

मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–३

इतिहास
प्यारा भाइबहिनीहरू,
तिमीहरूले आफ्नो पत्रमा मानविकीमा इतिहासको अध्ययनको महत्व र सम्भावनाबारे पनि सोधेका छौ । तर, तिमीहरूलाई थाहा भएकै कुरा हो – हिजोको अनुभवले आजका मानिसले काम गर्छन् र आजको स्थिति हेरेर भोलिको अनुमान गर्छन् । हिजोको हाम्रो मानव समाज कस्तो थियो† आजको सम्पन्नता, सुसंस्कृत र विकसित संसार बनाउन मानिसले के–कस्ता हन्डर खाए, अनुभव गरे, आविष्कार गरे तथा त्यस्ता आविष्कारले मानव समाजमा के–कस्ता राम्रा र नराम्रा प्रभाव पारे भन्ने जानकारी हामीलाई इतिहासले दिन्छ ।
तिमीहरू भनौला – इतिहास त राजा–महाराजा वा ठुला– बडाहरूका बितेको बखान मात्रै त हो । भाइबहिनीलाई इतिहासबारे केही भ्रम रहेछ भन्ने यसबाट थाहा हुन्छ । हो, इतिहासको निश्चित कालखण्ड वा अवधिमा समाजका केही समूह, परिवार वा व्यक्ति अगाडि देखापरेका हुन्छन् । वास्तवमा त्यो त्यसबेलाको वर्ग, समूह वा दृष्टिकोणको प्रतीक मात्रै हुने गर्छ, व्यक्ति स्वयम् गौण कुरा हो । तर, सबैको इच्छालाई उसले अभिव्यक्त गर्ने हुँदा कसैको नाममात्रै अगाडि देखापरेको हुन्छ ।
यस विषयलाई ‘इतिहासमा व्यक्तित्वको महत्व’ को रूपमा हेरिन्छ । विकास, समय तथा इतिहासको धारको विरोधमा हिँड्ने जस्तोसुकै महान् भनिएका व्यक्ति केही समय सफल देखिए तापनि अन्ततः ती व्यक्ति र तिनीहरूका उपलब्धि माटोमा मिल्दै जान्छन् र विकासको नियमसम्मत चिन्तन वा उपलब्धि मात्रै पछिसम्म रहिरहन्छ । सिकन्दर, चङ्गेज खाँ, नेपोलियन, बिस्मार्क, हिटलर र मुसोलिनीजस्ता इतिहासका केही पात्रहरू छन्, जसले आफ्नो समयमा अनेकन लडाइँ गरे, अस्थायी विजय पाए र पछि आफू तथा आफ्ना उपलब्धिसँगै तिनीहरू माटोमा मिले वा समयसँगै पराजित भए । भौतिकवादी दृष्टिले ती ऐतिहासिक पात्रहरू साहसी, अति परिश्रमी र रणकौशलका धनी देखिए पनि मानव सभ्यता एवम् मानव कल्याणको हितसँग मेल नखाने हुँदा तिनीहरू इतिहासका नकारात्मक पात्र, तानाशाह, युद्धपिपासु, आक्रामक र हिंसाप्रेमी एवम् दमनकारी प्रमाणित भए ।
इतिहासमा मानव कल्याण र हितमा काम गर्ने केही पात्रलाई मानिसहरूले सकारात्मकरूपले सम्झिरहन्छन् । दासमोचन गर्ने योद्धाहरू, देशको स्वतन्त्रता र मुक्तिको निम्ति लड्ने नेताहरू, प्रजातन्त्र र समाजवादको निम्ति आफूलाई समर्पण गर्ने अनेक अग्रदूत एवम् सेनानीहरू सदा आ–आफ्ना देश र विदेशका सचेत जनताको मन–मस्तिष्कमा जीवित रहन्छन् । यसरी इतिहासमा मानिसका उपलब्धिहरू तथा सकारात्मक र नकारात्मक पात्रहरूको काम–कारबाहीको जानकारी भएमा आजका घटनाका जिम्मेवार व्यक्तिहरूले आ–आफ्नो सानो स्वार्थको निम्ति नभई व्यापक जनता र दीर्घकालीन हितलाई हेर्ने बाटो पहिल्याउने थिए । त्यही बाटोले मानव समाजको भविष्य र व्यापक जनताको हित गर्नेछ ।
इतिहासको अध्ययन अत्यन्त महत्वपूर्ण हुन्छ । आज हाम्रो देश ठूलो अन्योलमा छ । बेलायतको ४००, संरा अमेरिकाको अढाइ सय, फ्रान्सको २०० र जर्मनीको डेढ सय वर्ष पहिलेको स्थितिसँग नेपाललाई दाँज्न मिल्छ । त्यस्तै, रुसको १०० र चीनको ९० वर्ष पहिलेको स्थितिसँग देशलाई तुलना गर्नु आवश्यक छ । ती देशहरूले २–३ सय वर्षको सङ्घर्षको अनुभवले प्राप्त गरेको उपलब्धिलाई नेपालका केही व्यक्तिले कम मिहिनेत तथा केही वर्षमै विदेशीको सहायताबाट प्राप्त गर्ने जमर्को गर्छन् वा आशा गर्छन् ।
विदेशीको सहायताले मुक्त भएका देशहरू पछि फेरि विदेशीकै पन्जामा परेका र विदेशीकै अ¥होट–प¥होटमा फसेको पनि विश्व इतिहासमा यत्रतत्र भेटिन्छ । अरूले बगाएको रगतबाट सिकेको अनुभव र आफ्नै देशको बलिदानबाट प्राप्त अनुभवलाई एक ठाउँमा राखेर अध्ययन गर्दा आफ्नै अनुभव बढी यथार्थपरक हुने गरेको छ ।
युग र इतिहासको बाटोबारे उचित अध्ययनको अभावले नेपालको स्थिति अन्धाको हात्ती छामछाम र छुमछुम साबित हुँदै छ । अँध्यारो रातमा दिशा पत्ता नलगाई जङ्गलमा जति हिँडे पनि जसरी एउटै घेरामा घुमिन्छ, देशको स्थिति पनि झन्डै त्यसरी नै अवरुद्ध छ; देश अगाडि बढ्न सकेन, किन ?
सत्तामा बस्ने र बसिसकेका व्यक्तिहरूले इतिहासबाट सिक्न चाहेनन्† त्यस्तै इतिहासका ज्ञाता प्राध्यापकहरूले समेत मूकदर्शक भएर आ–आफूले दिनसक्ने योगदान दिन कन्जुस्याइँ गरिरहे । यसको एउटा ज्वलन्त उदाहरण हो – संसद् विघटन वा प्रतिगमनको अढाइ वर्ष बितिसक्दा पनि कुन–कुन देशका इतिहासले के–कस्ता बाटा रोजे र हाम्रो देशले अब कुन बाटो रोज्नुपर्छ भन्नेबारे प्राज्ञिक छलफलमा इतिहासका विद्वानहरूले भाग लिएनन् । आफ्नो पद, बढुवा, भविष्य र परिवार तथा पुरानो सम्बन्धको चिन्ता नगरी तीतो सत्य बोल्न मानेनन् । देश जहाँको त्यहीँ रह्यो† सरकारमा जान पाए ‘प्रतिगमन’ सच्चियो र सत्ताबाट दूधको झिँगाजस्तै फालिएमा वा गलहत्याइएमा ‘प्रतिगमन’ बाँकी रह्यो भन्ने खालका कुतर्कमै बुद्धिजीवी भनीटोपल्नेहरू अडिइरहे । इतिहासका प्राध्यापकहरू पनि तटस्थ बसे† बोल्नुपर्ने समयमा नबोल्नु भनेको सत्यको पक्ष नलिनु र असत्यको विरोध नगर्नु हो । देशमा सयौँ–हजारौँ इतिहासका विद्यार्थी हुन्थे भने देश यस्तो मूकदर्शक स्थितिमा रहनुपर्ने थिएन ।
यसकारण, मैले भाइबहिनीहरूलाई इतिहासको अध्ययनको महत्वमा जोड दिन चाहेको हुँ । साँच्चै भनूँ भने विश्वविद्यालयका कक्षाहरूमा इतिहासका विद्यार्थीको कमी अनुभव गरिँदै छ । एउटा विश्वविद्यालयमा इतिहास सङ्कायको निम्ति वर्षको २ करोड जति खर्च हुन्छ । विद्यार्थी सङ्ख्याको न्यूनता हेर्दा ती सबै विद्यार्थीलाई विदेशमा छात्रवृत्ति दिएर अध्ययन गराउन पुग्दो छ ।
तिमीहरूले शङ्का गर्नेछौ – पेशाको दृष्टिले इतिहासका विद्यार्थीहरूले गर्ने कामको सम्भावित क्षेत्र सा¥है सीमित होला कि ¤ त्यो पनि साँचो होइन । विद्यालय र महाविद्यालयहरूमा इतिहासका राम्रा शिक्षक र प्राध्यापकहरूको कमी मात्रै होइन, परराष्ट्र मन्त्रालय, प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, पाठ्यपुस्तक प्रकाशन, पुरातत्व, विश्वविद्यालयका अनुसन्धानको क्षेत्र, स्थानीय तह, जिल्ला, प्रदेश, प्रतिनिधि तथा राष्ट्रियसभा र सरकारका अनेकौँ सल्लाहकार समितिहरूमा इतिहासका ज्ञाताहरूको खाँचो छ । रेडियो, टीभी र अन्य प्रचार माध्यमहरूमा पनि इतिहासविद्हरूको खाँचो अनुभव हुँदै छ ।
अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाकै कतिपय देशहरूको बारेमा नेपाली भाषामा इतिहास लेखिएका छैनन् । हरेक देशका बारेमा ५–१० जना इतिहासका ज्ञाताहरूको आवश्यकता कहिले पूरा होला ? हाम्रै देशको किराँतकालको इतिहासको अनुसन्धानमा आवश्यक जानकारहरूको अभाव महसुस गरिँदै छ । अनुसन्धानका यस्ता धेरै फाँटहरू खाली छन् । तर, लिखित इतिहासको अभावले आफ्नै देशको इतिहास अध्ययन र अनुसन्धान गर्न विदेशी लेखकहरूका पुस्तक पढ्नुपर्ने वा विदेशी विश्वविद्यालयहरूमा धाउनुपर्ने बाध्यता छ ।
इतिहास मानव जातिको अनुभवको सूची, ज्ञान र सार हो । त्यसले आज बाटो देखाउँछ र भोलिको निम्ति बाटो तयार गर्न सहयोग पु¥याउँछ । साथै, इतिहासलाई वीरहरूको कथाको रूपमा मात्रै हेरिने स्थिति बदल्न इतिहासको भौतिकवादी व्याख्या गर्न धेरै इतिहासका युवा–विद्यार्थीको खाँचो छ । म आशा गर्छु – भाइबहिनीहरूले यसमा अवश्य ध्यान पु¥याउनेछौ र आपसमा छलफल गर्नेछौ । मिश्रको पिरामिड, चीनको लामो पर्खाल एवम् विभिन्न देशका कला र संस्कृतिका स्मारकले हिजोको ‘दास युगको पीडा’ र ‘स्वर्ण युग’ सम्झाउँछ । ती स्मारकहरूलाई आज मानव सभ्यताको धरोहरको रूपमा लिइँदै छ र संसारका एक कुनाका मानिस अर्को कुनामा गएर ती आश्चर्यहरूलाई आत्मसात् गर्दै छन् ।

भूगोल
भाइ राजु र बहिनी दीपा,
पत्रमा तिमीहरूले भूगोल पढ्ने विद्यार्थीको कमी र विद्यार्थीहरूबिच ‘भूगोल पढेर काम नपाइने’ विषयमा हुने कुराकानीबारे पनि लेख्यौ । तिमीहरूको जिज्ञासा राम्रो हो तर भूगोल आफै एउटा ठूलो र व्यापक विषय हो भन्नेबारे मैले बताइरहनु नपर्ला !
हाम्रो देशका दुर्गम क्षेत्र र त्यहाँका जनता अझै पछाडि परेको र गरिब भएको विज्ञहरू बताउँछन् । साथै, सरकार, प्रतिनिधिसभा, राष्ट्रियसभा जस्ता नीति निर्माणको क्षेत्र वा योजना आयोगमा भूगोलविद् वा भूगोलवेत्ताको अभाव रहेको जानकारहरू औँल्याउँछन् । प्रदेश र जिल्लाहरूको हावापानी, माटोको गुण, चट्टान तथा जनसङ्ख्याको स्थिति एवम् स्वभाव, बाटा–घाटा, उब्जनी, प्राकृतिक स्रोत र सोअनुसारको विकास–निर्माणमा प्राथमिकता केलाइदिने व्यक्तिहरू नै भूगोलविद् वा भूगोलवेत्ताहरू हुन् । तिनीहरूको सङ्ख्या नेपालमा साह्रै कम छ । यसको कारण सत्तामा बस्ने पार्टी र तिनका नेताहरूले तिनीहरूको महत्व नबुझ्नु हो भनी जानकारहरू बताउँछन् ।
त्यतिमात्र होइन, एउटा देशमाथि अर्को देशले आक्रमण गर्दा वा रक्षा गर्दा पनि भूगोलका ज्ञाताहरूको ठूलो भूमिका रहन्छ । बेलायतले भारत वा नेपालमा आक्रमण गर्नुभन्दा पहिले धर्म प्रचारक, व्यापारी, दूत, पर्यटक आदि इत्यादिको भेषमा धेरै अङ्ग्रेजहरू भारत र नेपाल पसे† वर्षौँ लगाएर तिनीहरूले यहाँको प्राकृतिक र मानवीय स्थितिको अध्ययन गरे† शुभलाभको अध्ययन गरे; स्थानीय ठूला–बडा टाउकेहरूलाई किने† राजनीतिक, आर्थिक, सामाजिक र सैन्य महत्वका सूचनाहरू प्राप्त गरे; शासकहरूबिच गृह कलह चर्काए अनि भारत र नेपालमा आक्रमण गरे । त्यस्तै, आफ्नै देशको रक्षा गर्न भूगोलको ज्ञानको धेरै महत्व हुन्छ ।
चीनको मुक्ति आन्दोलनमा चिनियाँ जनतालाई हराउन संरा अमेरिका, फ्रान्स, जर्मनी, जापान, बेलायत आदि विभिन्न देशका साम्राज्यवादी रणविद्हरू लागेका थिए । तर, चिनियाँ जनताका महान् नेता माओ त्से–तुङ र अन्य चिनियाँ नेताहरूको भूगोलको ज्ञान र रणकौशलको कारण सबै देशका साम्राज्यवादी हमलाहरू पराजित भए । तिनीहरूको बुद्धि र ज्ञान सबै माटोमा मिले । सन् १९५४ मा भियतनाममा फ्रान्सेली आक्रमणकारीहरू डियन वियन फू भन्ने ठाउँमा पराजित भए । सन् १९७० को दशकमा अमेरिकी साम्राज्यवाद भियतनाम र हिन्द–चीनबाट भाग्न बाध्य भयो ।
नेपालमा १०–१२ वर्षसम्म ‘माओवादी’ को विद्रोह भड्किनु तथा लामो अवधिसम्म देशले ‘गृहयुद्ध’ को स्थिति व्यहोर्नुको कारण सत्तामा बस्ने पार्टी र तिनका नेताहरू तथा सिंहदरबार र सदरमुकामहरूमा बस्ने कर्मचारीहरूको भूगोलको अज्ञानता एवम् ती ठाउँका जनताको स्थिति, विकासको सम्भावना र इच्छा आकाङ्क्षालाई नबुझ्नु हो वा बुझ पचाएर काम गर्नु नै हो । यहाँ पनि राजनीतिक नेतृत्व तथा माथिल्ला एवम् स्थानीय कर्मचारीतन्त्र र प्रशासनमा भूगोलविद्हरूकै अभाव खट्किन्छ ।
जुम्ला र हुम्लाजस्ता सडक नपुगेका जिल्लाहरूमा ३०–४० वर्षदेखि त्यहाँको हावापानी अनुसारको बाली र वनस्पति, पशुपालन र खाद्यान्नमा आत्मनिर्भर बनाउनेबारे नसोची पिँजडाको चरालाई दाना दिएसरह महँगो इन्धन खर्च गर्दै हवाइजहाजबाट अन्न ओसार्दै खुवाउने नीति लिइयो । के ती योजनाकार वा नीति–निर्माताहरू व्यापारी र जाली फटाहाहरूबाट ठगिएका थिए ? वा, तिनीहरू आफै त्यसका हिस्सेदार थिए । खोजबिनकै विषय हो । एउटा जिल्लाको निम्ति तोकिएको चामल र गहुँ त्यहाँ वा आवश्यक अन्य दुर्गम जिल्लामा पुग्दैन । बरु त्यसलाई खाद्यान्न ढुवानी गर्ने ठेकेदार र सम्बन्धित कार्यालयका हाकिमहरू मिलेर अन्यत्रै बेचेर खान्छन्† ढुवानी भाडा पनि खान्छन् । दुर्गम क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, फलफूल खेती आदिमा सहयोग र राहतको निम्ति छुट्याइएका सामान र वार्षिक बजेटको करोडौँ–करोड रुपियाँ आधाभन्दा बढी बाटैमा चुहिँदै छ । त्यस कार्यमा ठुल्ठुलो स्वरले दुर्गम जिल्लाहरूको वकालत गर्ने ठूलाबडा व्यक्तिहरू नै संलग्न भएको देखिन्छ ।
निरन्तर खाद्यान्न ढुवानीमा त्यतिको खर्च गर्नुभन्दा ती ठाउँकै हावापानीअनुसारको बालीनालीको विकासको निम्ति भूगोलविद्, वैज्ञानिक, वनस्पति वैज्ञानिक र कृषि–विशेषज्ञहरू पठाएर नयाँ बन्दोवस्त गर्न लगाइएको भए केही वर्षभित्रै देशमा चरालाई दाना दिएसरह हवाइजहाजको महँगो ढुवानी खर्च व्यहोर्नुपर्ने थिएन वा बिचैमा हुने चुहावट भोग्नुपर्ने थिएन ।
जिल्ला–जिल्लाको भू–बनोटअनुसार बन्दोवस्त गर्न जान्ने भूगोलविद्हरूको अभावले देशको क्षेत्रीय विकास र समान विकास हुन नसकेको प्रस्ट छ । यस्तो खाँचो पर्दा विशेषज्ञहरूको अभाव नीति– निर्माणका क्षेत्रमा मात्रै होइन, विश्वविद्यालय, महाविद्यालय, विद्यालय र प्राज्ञिक क्षेत्रमा पनि खट्केकै विषय हो । यसकारण, भाइबहिनीहरूले भूगोलको ज्ञान र भूगोलबेत्ताहरूको महत्वबारे छलफल गरी देशलाई खाँचो परेको श्रमशक्ति तयार गर्ने काममा सघाउने विश्वास गर्छु ।
नेपालको पूर्व, पश्चिम र दक्षिणको सीमा भारतसँग जोडिएको छ । तीनैतिर भारतसँग हाम्रो सीमा विवाद छ । हाम्रा सर्भेसम्बन्धी कतिपय कर्मचारीहरू भारतबाटै तालिमप्राप्त छन् र तिनीहरू भारतीय दृष्टिकोणबाट समेत प्रभावित छन् । यसकारण, नेपाल–भारत सीमामा ७१ भन्दा बढी ठाउँमा भारतबाट थिचोमिचो भएको नेपाली जनता अनुभव भारतले सीमा मिचेका नेपालका जिल्लाहरू गर्दै छन् । कतिपय मन्त्रालयका सचिव र विभागीय स्तरका निर्देशकहरू समेत भारतको प्रभावमा छन् ।
वन, सिँचाई, सीमा, जलस्रोतजस्ता क्षेत्रका हाम्रा सरकारी कर्मचारीहरू भूगोलको ज्ञानको अभाव तथा ठूलो देशको प्रभाव वा लोभमा परेर सीमा निर्धारणमा जान्छन् । नेपालबाट बगेका नदीहरूमा भारतीय पक्षले एकतर्फी बाँध बाँधेर देशको हजाराँै–हजार एकड भूमि जलमग्न हुने, हजारौँ–हजार जनता बिचल्लीमा पर्ने लगायतका दृश्य देख्दादेख्दै पनि ती कर्मचारीले समयमै कारबाही चलाउँदैनन् । जनता कराएपछि बल्ल बिउँझन्छन् । कर्मचारीहरूले यसको दोष भारतको अगाडि झुक्ने नेता र मन्त्रीहरूलाई दिन्छन् भने तिनीहरू कर्मचारीहरूलाई दोष दिएर पन्छिन्छन् ।
देशको सीमा जोगाउन समेत भूगोलविद् र भूगोलका ज्ञाताहरू चाहिने हुँदा हामीलाई हजारौँ–हजार भूगोलका विद्यार्थीको खाँचो छ । भूगोलका ज्ञाता वा भूगोलविद्हरूले नै सीमा र सीमाका सिद्धान्तहरू एवम् इतिहासको जानकारी राखेर आफ्नै ज्ञान र बुद्धिले रगत बगाई कोरेको सीमारेखालाई जोगाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *