भर्खरै :

चाँगुनारायणमा शैक्षिक मेला

भक्तपुर, १९ माघ। ऐतिहासि तथा पुरातात्त्विक क्षेत्र चाँगुनारायणमा शैक्षिक मेला सम्पन्न भएको छ।
संस्थागत विद्यालय संघ नेपाल (इसान)का अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरूद्वारा निर्मित रोबोट चलाएर मेलाको उद्घाटन गर्नु भएको थियो। चम्पक विद्यापीठद्वारा आयोजित सो मेलाको उद्घाटन गर्दै अध्यक्ष थापाले शिक्षालाई उत्पादन श्रमसँग गाँस्नुपर्ने आवश्यकता औँल्याउँदै घोक्ने र कण्ठ गर्ने परिपाटीबाट विद्यार्थीलाई मुक्त गर्न सके विद्यार्थीको व्यक्तित्व चौतर्फी रूपमा विकास हुन्छ भन्नुभयो ।
विद्यापीठका प्रिन्सिपल रमेश सुवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दोलागिरी उच्च माविका सह प्राचार्य गौरीशंकर केसी, हिमालयन ग्लोरी स्कूलका प्रिन्सिपल कृष्णराम त्वायनाबासू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रधरान्द राजोपाध्याय लगायतले विद्यालयमा दिइने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न शैक्षिक मेलाको आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उसु खेलमा रजत पदक विजेता सुस्मिता तामाङलाई सम्मान गरिएको थियो।
कार्यक्रममा गायक विनोद वि.क. तथा रोशन लामाले सांगीतिक प्रस्तुति दिनु भएको थियो। हजारौँ शिक्षक, विद्यार्थी, तथा सर्वसाधारणले अवलोकन गरेका सो मेलामा ३० भन्दा बढी शैक्षिक स्टलहरू समावेश थिए। चम्पक विद्यापीठका विद्यार्थीद्वारा निर्मित रोबोट, स्वचालित पानीजहाज तथा रकेट मेलाको आकर्षण बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *