भर्खरै :

सुत्केरी मसला

–डा. अरुणा उप्रेती
मेरी हजुरआमालाई चाहिं परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्वले रगतको कमी हुन दिंदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिं धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हद्दी बलियो हुन्छ, रगतको कमी हुन दिंदैन’ भन्नेजस्ता झूटा विज्ञापनमा विश्वास गर्छन् ।
१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो (१० गुणा महँगो) बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो ? यसमा कति पौष्टिक तत्व हुन्छ ? थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमान्लाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि ? सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?
सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्नसक्छ ? बत्तिसाको धुलोबारे चाहिं के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिं सुनेको छु । आफैले चाहिं प्रयोग गरेको छैन ।
गुँदमा पाइने कार्बोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँग घुल्दैन ।
हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान भोजनलाई औषधि नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधि’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।
सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्नेमानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि ।
सुत्केरी मसला समय–समयमा दिएको भोजनले एक महिनामा सुत्केरी स्वस्थ हुन्छिन् । अपशोच, यस्तो राम्रो चलनको सट्टा सुत्केरीलाई छाउगोठमा राखेर रोटी र नुनमात्र खान दिने चलन छ, सुदूर पश्चिममा । हरेकपल्ट त्यहाँ जाँदा सुत्केरीहरूको खानाबारे सुनेर दिक्दार लाग्छ । पूर्वतिर र काठमाडौंतिर चाहिं सुत्केरीले राम्रोसँग नखाए स्याहार नभएपछि जीउ दुख्छ, शरीर बिग्रन्छ भन्ने चलन छ । सायद सुदूर पश्चिमका महिलाको स्वास्थ्य खराब भएको कारण पनि सुत्केरीलाई पौष्टिक खानेकुरा नदिएको हुनाले हो कि ?
सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।
कालो धान
केही महिनाअघि एक माओवादी नेतासंँग भेट भयो । पहिले मन्त्री भइसकेको मान्छे राजनीतिबाट दिक्क लागेर अहिले कृषिमा लागेको उनले खुलाए । आफूले उत्पादन गरेको ‘कालो चामल’ उपहार दिए । ‘कालो चामल’ कसरी खाने होला, विचार गर्दै थिएँ । सायद मेरो मनको कुरा बुझेर होला, उनले भने, यो ‘कालो चामल’ एक किलोको प्याकेट झण्डै ५ किलोको अन्य चामलमा मिसाएर पकाउनुहोस् ।
असाध्यै स्वस्थकर र स्वादिलो हुन्छ । एकचोटी चाखेर त हेर्नुस् भनी सल्लाह दिए । मैले उनलाई धन्यवाद दिई त्यो चामल लिएँ । लामो समयसम्म भान्छामा रहिरह्यो । एकदिन विदेशबाट आएका एक साथी कहाँ खान बोलाएका बेला कालो र सेतो चामल मिसाएर पकाएको पुलाउ खाएँ । उनले पनि कालो चामलबारे वर्णन गरे । उनले भने–“१०० ग्राम कालो चामलको भातमा झण्डै ३४ ग्राम कार्वोहाइड्रेड, ८.५ ग्राम प्रोटिन, झन्डै ५ ग्राम रेशादार पदार्थ, ३.५ लौह तत्व र अन्य चामलको तुलनामा प्रोटिन, रेशादार पदार्थ बढी हुन्छ ।”
‘कालो चामल’ बारे केही अध्ययनले देखाएको छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ । साथै शरीरमा आउने बुढ्यौलीलाई केही हदसम्म रोक्न पनि मद्दत गर्छ । रेशादार पदार्थ पर्याप्त पाइने हुनाले यो खाँदा लामो समय भोक लाग्दैन । साथै कब्जियतको समस्या रोक्छ । कब्जियत पेटको समस्याको कारण हुनसक्ने भएकाले कब्जियत हुनेलाई तरकारी र फलफूलका साथै कालो चामलको प्रयोग राम्रो हुन्छ । रेशादार पदार्थ सेतो चामल वा मैदामा हुँदैन ।
त्यसैले मैदाबाट बनेका बिस्कुट, चाउचाउ, पाउरोटी आदिको प्रयोग गर्न छाड्नुपर्छ । कालो चामलमा ‘ग्लुटेन’ नहुने भएकाले गहुँको प्रयोग गर्दा पेट फुल्ने, दुख्ने समस्या भएकालाई पनि यो प्रयोग गर्न सकिन्छ भनी केही वैज्ञानिकले लेखेका छन् । अहिले अमेरिकातिर ‘ग्लुटेन’ नभएको खाना खाने चलन बढेको छ । सायद कालो चामलमा अध्ययन भएको कारण पनि यही होला ।
कालो चामलको एक रमाइलो इतिहास छ । हजारांै वर्षअघि प्राचीन चीनमा कालो चामल उच्च घरानाका मानिसहरूले मात्र खान पाउँथे । सामान्य मानिसलाई त कालो चामल नउब्जाउने आदेश थियो रे । सायद उच्च वर्गका मानिसहरूमात्र स्वस्थ हुन् भनेर हो कि ? अमेरिकामा पनि कालो चामल सन् १९९० तिरमात्र आयो । जबकि एसियामा यो लामो समयदेखि प्रयोग भइरहेको थियो ।
कालो चामल पकाउँदा ६÷७ घण्टा चाहिं भिजाउनुपर्छ । अन्य सेतो चामलभन्दा यसको बाहिरको बोक्रा कडा हुने भएकाले भिजाएपछि यो सहजसंँग पाक्छ । कालो चामललाई पिसेर सुपमा हालेर पनि खान सकिन्छ । आँटामा पनि मिसाउन सकिन्छ । पुलाउ बनाएर खान सकिन्छ ।
सायद सबैले कालो चामलमात्रै पचाउन सक्दैनन्, उनीहरूले एक भाग कालो चामल र ३ भाग साधारण चामल मिसाएर खाए हुन्छ । मार्सी चामलसँग कालो चामल मिसाए त झनै राम्रो
सौप
कतिपयले खाना खाएपछि मुख ताजा गर्न सौप चपाउने गर्छन् । पेटको वायु शोषण गर्ने, भोक जगाउने गुणका कारण सौप चपाउने गरेका हौं कि ? रोमन डाक्टर (एडी २३–७९) ले सौपका २० भन्दा बढी चिकित्सकीय गुणबारे वर्णन गरेका छन् । सुत्केरीलाई हामीकहाँ सौपको परिकार दिने चलन पनि छ । सौपमा भिटामिन सीसँगै क्याल्सियम, सोडियम, फोस्फोरस, आइरन, पोटासियम जस्ता खनिज तत्व हुन्छन् ।
दालचिनी
केही आयुर्वेदिक चिकित्सक मधुमेहका बिरामीलाई दालचिनीले फाइदा गर्ने बताउँछन् । साथै, यसले रगतमा रहेको खराब बोसोको मात्रा पनि घटाउने नेशनल जोग्राफी मा उल्लेख छ । दालचिनीको तेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । दालचिनीमा क्यालोरी, भिटामिन ए, भिटामिन के लगायत हुन्छ ।
चिया
एक किम्वदन्तीअनुसार चीनमा पाँच हजार वर्षअघि चियाको आविष्कार भएको थियो । १२ औं शताब्दीमा चिया जापानमा फैलियो । १६ औं शताब्दीमा डचहरूमार्फत यो युरोपमा पुग्यो । हामीले चिया प्रायः दूधमा पकाएर पिउँछौं । तर, युरोपमा प्रायः दूध नहाली चिया पिइन्छ । चियाको गुणलाई बुझ्ेर चियापत्तीको क्याप्सुल पनि बनाइन्छ । कतिले झडापखाला लागेका बेला चियापत्ती चपाए फाइदा गर्छ भन्छन् । केही दिनसम्म तातोपानीमा भिजाएर पनि चियाको स्वाद लिन सकिन्छ, दूध हालेको चिया पिउने बानी परेकालाई यो नौलो लाग्ला । तर, दूध नहालेको चियाको चिकित्सकीय महत्व थाहा पाएपछि हाम्रो बानीमा परिवर्तन आउनसक्छ ।
डाक्टर भगवान होइन
डाक्टर र नर्सको काम सकेसम्म बिरामी निको पारेर पठाउनु हो । आफूले दिएको औषधि खाएर बिरामीको मृत्यु होस् भन्ने भावना कुनै स्वास्थ्यकर्मीको हुँदैन । उपकरण र औषधि अभावमा पनि सुत्केरी आमाको ज्यान बचाउन डाक्टरहरू तत्पर भएको हामी धेरैचोटि सुन्छौं । रगतको कमी भएर मर्न लागेका सुत्केरीलाई बझाङ, बाजुरामा डाक्टरले आफ्नै रगत दिएर बचाएका उदाहरण छन् ।
डाक्टर भगवान होइनन् । कहिलेकाहीं सम्पूर्ण शक्ति लगाउँदा पनि मुटु बिग्रेका बिरामी बचाउन सकिन्न । सुत्केरी आमाको लगातार रगत बगिरह्यो भने जोगाउन सकिंदैन । निमोनियाग्रस्त कुपोषित बालक अन्तिम अवस्थामा अस्पताल आउँदा ज्यान जोगाउन नसकिएको उदाहरण छ ।
असुरक्षित गर्भपतन गराएकी किशोरी अस्पताल आउँदा रगतमा विष फैलिइसकेको हुन्छ । डाक्टरले दिने औषधिले ज्यान जोगिंदैन । सडकबाट सय मिटर तल गाडी खसेर क्षतविक्षत घाइते यात्रु जोगाउन डाक्टरहरूलाई हम्मे पर्छ । तै ल्याकत र अनुभव प्रयोग गरेर बिरामीको ज्यान जोगाउन कस्सिएकै हुन्छन् ।
त्यस्तो बेला बिरामीको मृत्यु भए बद्नियत भन्दै डाक्टरलाई पाँच वर्ष जेल हाल्नु कत्तिको जायज हुन्छ ?
मानसिक बिरामी औषधि खान बिर्सन्छ । डिप्रेसन भएर आत्महत्या गर्छ । अब मनोचिकित्सकलाई बद्नियत राखेको भन्दै जेल चलान गर्न मिल्छ ?
हाम्रा नेताहरू हम्मेसी स्वदेशमा उपचार गराउँदैनन् । सानोतिनो रोग लाग्दा पनि उडेर विदेश जान्छन् । उनीहरूले ल्याउने कानुनको भुक्तमान हुने जनता हो। यसले बिरामीको उपचार गर्न कस्सिने आँटिला डाक्टरको हात बाँधिनेछ । केही भइहाले बद्नियत राखेको दोष खेप्नुपर्ला भनेर पहिल्यै सतर्क हुन्छन् । यो स्वास्थ्य सेवाको निम्ति सकारात्मक अवस्था होइन ।
कानुनको यही प्रावधान टेकेर टोल–टोलका गुन्डा अस्पताल र डाक्टरको ‘ब्लायकमेल’ गर्न अघि सर्न सक्छन् । कानुनी शासन स्थापना गर्नुपर्ने बेला कानुनले नै गुन्डागर्दीलाई मलजल दिनु सुखद सङ्केत होइन ।
चिकित्सा सेवामा लागेको समुदायसँग छलफलै नगरी ल्याइएको कानुन हेर्दा लाग्छ, खानेकुरामा विष राख्ने व्यापारीलाई सरकार माया गर्छ, मान्छे कुल्चेर मार्ने गाडीचालकप्रति सरकारको सद्भाव छ, बिरामीको जीवन बचाउन तत्पर डाक्टरप्रति भने बद्नियत किन ?
नेशनल जोग्राफीको एउटा अङ्क
नेशनल जोग्राफी को ‘प्रकृतिको उत्कृष्ट उपचार’ पत्रिका रु.१५०० मा किनें महँगोे भए पनि स्वास्थ्यसम्बन्धी विशेष जानकारी समेटिएकाले यो अङ्ग सङ्ग्रहणीय रहेछ । यसबारे मैले बताएपछि मेरा केही साथीहरूले पनि किन्न खोजेका थिए, तर बिक्री भएर बजारबाट सकिएकाले पाएनन् । यो अङ्कको पत्रिका यति लोकप्रिय भयो कि नेशनल जोग्राफी ले सन् २०१९ मा पुनः मुद्रण गर्ने भएको छ ।
यो पत्रिका किन्नुको सन्दर्भ पनि विशेष छ । केही महीनाअघि कवि तुलसी दिवसले भन्नुभयो, ‘नेपालमा लोकवार्तासम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ, त्यसमा एउटा प्रस्तुति गर ।’ लोकवार्ता सम्मेलनमा मैले के प्रस्तुत गर्ने ? उहाँले प्रस्ट्याउनुभयो, ‘नेपालका विभिन्न ठाउँका भोजन, तिनको पौष्टिक र सांस्कृतिक महत्वबारे प्रस्तुत गर । त्यो पनि लोकवार्ताकै एक अङ्ग हो ।’
गीत–सङ्गीत, नृत्य र लोकसाहित्यमात्रै नभएर परम्परागत मौलिक भोजन, घर, पोशाक, परम्परागत औषधि, जडीबुटी पनि लोकवार्तामा समाहित हुँदोरहेछ । त्यही प्रस्तुतिका लागि सामग्री खोज्ने क्रममा नेशनल जोग्राफी को यो अङ्क भेटेकी थिएँ । यसमा संसारका विभिन्न भागका वनस्पति र तिनको महत्वबारे समेटिएको छ । त्यस्तै, हाम्रै गाउँघरमा पाइने वनस्पति, बजारमा सहजै उपलब्ध हुने भान्साका सामग्रीको वैज्ञानिक उपयोगिताबारे पनि उल्लेख छ ।
अदुवा
अदुवा हामी अधिकांशको भान्सामा कहिल्यै टुट्दैन । हामी जाडोमा अदुवा चियाको स्वाद लिन्छौं, तर अदुवा कहाँबाट आयो, यो शब्दको उत्पत्ति कसरी भयो भन्नेबारे हामीले नसोचेका पनि हुनसक्छौं । नेशनल जोग्राफी का अनुसार एशियामा चार हजार वर्ष अगाडिदेखि प्रयोग गरिएको अदुवा अहिले प्रायः संसारभरि पाइन्छ ।
वाक्वाकी लागेका बेला अदुवा खाँदा फाइदा गर्छ । मैले त गर्भवती महिलालाई जहिले पनि एक टुक्रा अदुवा मुखमा राखिराख्न सल्लाह दिन्छु । लामो यात्रामा जाँदा मैले केही टुक्रा अदुवा साथै लैजान्छु । केही अध्ययनले देखाएको छ, क्यान्सरका बिरामीलाई विकिरणद्वारा उपचार गरेपछि जब खान मन नलाग्ने, वाक्वाकी लाग्ने हुन्छ, अदुवाले त्यसमा औषधिको काम गर्नसक्छ । हामी कहाँ पेट दुखेका बेला अदुवा र बिरेनून घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ ।
अदुवाको महत्व कति छ भन्ने मैले इरानमा हुँदा थाहा पाएकी थिएँ । भारतबाट आयात हुने एक किलो अदुवालाई त्यहाँ २५ अमेरिकी डलर तिर्नुपथ्र्यो, यो सन् २००४ को कुरा हो । अहिले झ्नै महँगिएको होला । अदुवालाई आयुर्वेदमा पनि महत्व दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *