यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुरेश बखुन्छे
थालनी
मानव समाजको उत्पत्तिदेखि लिएर वर्तमानसम्म आइपुग्दा मान्छेले थुप्रै प्रगति गरिसकेको छ । प्रकृति प्रदत्त चीजको प्रयोग गरेर गरिने कामलाई विकास भनी मान्छेले नामकरण गरिदिए । के साँच्चै यस्ता खालका काम विकास हो त ? उसो त विकासको कुरा सर्वप्रथम अमेरिकाबाट प्रतिपादित शब्द हो । जसलाई उनीहरूले आफ्नो स्वार्थ वा उद्देश्यअनुरुप व्याख्या गरिदिए । पछि तत्कालीन सोभियत सङ्घले पञ्चवर्षीय आयोजनाको निर्माण गरी देशमै कार्यापलट ल्यायो । त्यसपछि विश्वव्यापीरुपमै पञ्चवर्षीय विकास आयोजनाले तीव्रता पाउन थाल्यो । त्यसरी नै नेपालमा पनि वि.सं. २०१३ सालबाट यस्ता आयोजनाका माध्यमबाट विकासका कार्यहरू गरिन थालिए ।
विश्वका विभिन्न देशले विकासका नाममा प्रकृतिको अत्यधिक दोहन, अनावश्यक प्रयोग आदि कार्य गर्न थाले । पछि दिगो विकासको अवधारणाको विकास भयो अर्थात् प्रकृति र वातावरणको संरक्षण गर्नुपर्ने कुरामा जोड दिन थाल्यो ।
विकास भनेको के ?
विकासलाई सकारात्मक परिवर्तन भनी बुझ्ने र बुझाउने गरेको पाइन्छ । विकासलाई कतिपय व्यक्तिले भौतिक परिवर्तनसँग मात्र जोडेर हेर्ने गरेको पाइन्छ, जुन आपैmमा अपूर्ण परिभाषा हो । विकास मूर्त तथा अमूर्त दुवै किसिमले हुनुपर्दछ । मूर्त भन्नाले भौतिक र अमूर्त भन्नाले व्यक्तिका इच्छा, चाहना, संस्कार आदि हुन् । हुन त विकासको मापन गर्न आर्थिक (प्रतिव्यक्ति आय), स्वास्थ्य (औसत आयु) र शिक्षा (साक्षरता दर) को आधारमा मापन गर्ने चलन रहेको छ । जुन ०–१ को बीचमा आउने अङ्कलाई आधार मानेर कुन देश कतिको विकसित छ भनेर छुट्याउने गरिन्छ । यसका आधारमा हेर्ने हो भने भौतिक परिवर्तनलाई खासै महत्व दिएको हो कि भन्ने लाग्छ ।
उसो भए के हो त विकास ? पहिलेको तुलनामा हुने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायतका विषयमा सकारात्मक परिवर्तन नै विकास हो । विकास प्रत्यक्ष रुपमा समाजसँग सम्बन्धित विषय हो । विकासको नाममा त्यसका उपभोक्ताले कुनै लाभ लिन सकेन भने त्यो विकास नाममात्रको विकास हो । सही अर्थमा त्यो विकासभन्दा पनि विनास हो । जसले आर्थिक, भौतिक, प्राकृतिक आदि क्षेत्रमा विनासमात्र गर्छ । असल विचार, समाजको हित हुने कार्य र प्राकृतिक तथा मानव स्रोत साधनको समानुपातिक प्रयोग नै विकास हो । स्पष्ट भाषामा भन्नुपर्दा प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्दै मानवीय शक्तिको प्रयोगद्वारा समाजको भलाइ हुने प्रावधानसहित प्रस्तुत गरिएको विचारअनुरुप गरिने कार्य सम्पादन नै विकास हो । यस आधारमा पनि हामी भन्नसक्छौं कि विकासको सम्बन्ध प्रत्यक्ष रुपमा समाज र सामाजिक जीवनसँग जोडिएको हुन्छ ।
विकास र प्रगतिमा फरक के ?
पक्कै पनि मानिस आपैm प्रगतिका उपज हुन् । बाँदरभन्दा फरक किसिमको प्रगति याने कि श्रमकै कारण मानिस मानिस बने र बाँदर बाँदर नै रहे । श्रम गर्नसक्ने बुद्धिको विकासले नै मानिसलाई प्रगति चाहने प्राणीका रुपमा स्थापित ग¥यो । श्रमसँगै त्यसको उचित प्रयोग र पहिचानले मानिसलाई सर्वश्रेष्ठ प्राणीको रुपमा स्थापित ग¥यो । मानव समाजले पार गरेर आएको असभ्य युगदेखि लिएर हालको सभ्य भनिएको युगसम्मको इतिहासले यही बताउँछ कि मानिसले गर्ने श्रम, त्यसको उचित प्रयोग, समय सापेक्ष उत्पादनको स्रोत र साधनको प्रयोगले पनि मानिसलाई प्रगतिशील प्राणी हो भन्न सकिन्छ । जुनसुकै प्राणी होस् वा वनस्पति नै किन नहोस्, जन्मिने, हुर्किने गर्छ । यो आपैm प्रगति हो । प्रगति निरन्तर प्रक्रिया हो । पहिलेभन्दा उन्नत हुनु नै प्रगति हो ।
हामीले चाहेको के ?
हामीले चाहेको खासमा प्रगति हो वा विकास ? प्रगति चाहेको हो भने यो त अवश्यम्भावी प्रक्रिया हो । हामीले चाहेको सम्पूर्ण मान वर प्रकृति जगतकै लागि विनासक विकासको नाममा “विकासे एम्बुस” पो हो ?
बाटो नपुगेको ठाउँमा बाटो पुग्नु, बाटो भएको ठाउँमा पिच गर्नु आदि कुरालाई एकथरीले विकासको नाम दिइरहेको पनि देखिन्छ । बाटो बनाउने भनेर जसरी पायो त्यसरी बनाउनाले बर्सेनि पहिरोको त्रास र मारमा हामी परिरहेका छौं । विकासका नाममा हामीले खोलाको धार परिवर्तन गरी बस्ती विस्तार ग¥यौं, जसको मार हामीले देखिरहेका छौं, भोगिरहेका छौं । विकासकै नाम दिएर अव्यवस्थित सहरीकरण गर्दा हामी जल, जमीन र जङ्गलबाट विमुख हुँदै छौं । यो “विकासे एम्बुस” नभएर के ? के हामीले चाहेको यस्तै एम्बुस हो ?
हिजोआज विकासभन्दा दिगो विकासको मान्यतालाई विश्वले स्वीकार गरिसकेको छ । वातावरणीय सन्तुलनलाई ध्यानमा राखेर पछिका पुस्ताले फाइदा पाउने विकास गर्नु नै दिगो विकास हो । यस्तो खालको विकासमा प्रत्यक्ष स्थानीयहरूको सहभागिता रहेको हुन्छ, स्रोत र साधनको उचित प्रयोग हुनुका अतिरिक्त प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्थानीयले लाभ पाउनुपर्दछ । हामीले खोजेको वा चाहेको यस्तै किसिमको विकास हुनुपर्दछ । यदि यसो हो भने समाजलाई त्रसित र आतङ्कित बनाएर गर्न खोजिएको (अ) विकास समयमै रोक्नुपर्दछ ।
“फास्ट ट्रयाक” को नाममा खोकनाका वासीलाई विस्थापित गर्न खोज्नु, सडक विस्तारको नाममा काठमाडौंका स्थानीयहरूलाई उठिबास लगाउन खोज्नु, रंगशालाका नाममा भक्तपुरका किसान तथा स्थानीयलाई विस्थापित गर्न खोज्नु विकासभन्दा पनि विनास हो । यो त एक किसिमको “स्लो प्वाइजन” हो अर्थात् विकासको नाममा एम्बुस हो । कहिले पड्किन्छ, केही भन्न नसकिने एम्बुस । यस्ता खालका (अ) विकासले न स्थानीयलाई फाइदा हुन्छ, न त राज्यलाई नै फाइदा पुग्छ ।
अन्तमा
मानिस प्रगतिशील प्राणीका अतिरिक्त स्वार्थी प्राणी पनि हो । आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर टोल, समाज, देश, राष्ट्र अनि सम्पूर्ण मानव जगत्को स्वार्थलाई केन्द्रमा राखेर कुनै काम गरिन्छ भने त्यसलाई देशकै हितको रुपमा लिने गर्छौं । यसरी हित चिताएर सबैको भलाइका लागि गरिने विकासमा हामीले आफ्नो ध्यान गर्नुपर्छ । कुनै सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति गर्न लहैलहैमा लाग्दा विकासको नाममा विनास निम्तिन सक्छ । यस्ता “स्लो प्वाइजन” को सिकार तपाईं–हामी नै हुनसक्छौं । समयमै सचेत भई राज्य, व्यक्ति वा कुनै संस्थाले गरेको काम वा कार्यक्रमलाई आलोचनात्मक रुपले हेरेर सही गलत खुट्याएर सल्लाह दिएमा सबैको हित हुनेछ । अनि हामीले चाहेको जस्तो विकास गर्नसक्छौं ।
Leave a Reply