भर्खरै :

चिनियाँ भाषा र कठैबरी म

चेतनाथ आचार्य
बेइजिङस्थित वैदेशिक अध्ययन विश्वविद्यालयमा केही चिनियाँ प्रहरी नेपाली भाषा अध्ययन गर्न आएका थिए । नेपाल र चीनबीचको नाका केरुङतिर काम गर्ने तिनलाई नेपाली भाषा पढाउन चिनियाँ अन्तराष्ट्रिय रेडियो सीआरआईको नेपाली सेवामा कार्यरत अजय अलौकिककी श्रीमती वैजिल केसी जानुभएको थियो । सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका छ, सात जवान कक्षामा थिए । उनीहरूले तिब्बतमा पहिल्यै आभारभूत भाषा कक्षा लिइसकेकाले सामान्य बोलचाल गर्न र लेखपढ गर्नसक्ने थिए ।
कक्षामा छलफल गर्दा सैनिक प्रहरीको प्रसङ्गमा व्यारेकको कुरा आएछ । बैजिलजीले ब्यारेकलाई नेपालीमा अनुवाद गरेर भन्नुभएछ ‘छाउनीमा सैनिक बस्ने गर्दछन् ।’ उहाँले प्रयोग गरेका वाक्य सुनेर चिनियाँ प्रहरीहरू रातोपिरो अनुहार बनाई घोसेमुन्टो लगाएछन् । उक्त एउटा शब्दले उनीहरूको हालत त्यस्तो बनाएको रहेछ । चिनियाँ भाषामा ‘छाउनीमा’ गाली गर्दा प्रयोग हुने सबैभन्दा निकृष्ट शब्द हो । यो शब्दको अर्थ अत्यन्त फोहोरी र तल्लो स्तरको हुने गर्छ । आफ्ना विद्यार्थीको अनुहारको भावबाट उहाँले थाहा पाउनुभयो । जसोतसो त्यो दिनको कक्षा पूरा गर्नुभयो ।
फरक भाषामा एउटै शब्दको अर्थ फरक हुनु स्वभाविक हो । त्यही शब्दको अर्थ कतै राम्रो हुन्छ त कतै आपत्तिजनक । कहिलेकाहीँ शब्दको उच्चारण नमिल्दा अथवा जिब्रो लट्पटिँदा पनि अर्थको अनर्थ भइदिन्छ । यस्तो जटिलता अरु भाषामा भन्दा चिनियाँ भाषामा बढी आउने गर्दछ । यसको खास कारण के हो भने एउटै चिनियाँ शब्दका उच्चारणमा अलिअलि फरक पर्दा चारवटा फरक अर्थ आउने गर्दछन् । उदाहरणका रुपमा चिनियाँ शब्द‘मा’ लाई लिन सकिन्छ । यसका चारवटा फरक अर्थ छन् । आमा, घोडा, गाली र प्रश्नवाचक भाव । हरेक चिनियाँ शब्दका चारवटा अर्थ हुन्छन् । हामी विदेशीले सुन्दा उस्तै सुन्छौं तर खै कसरी हो कुन्नि चिनियाँ साना बच्चाहरूले पनि उच्चारणअनुसार अर्थ बुझ्छन् ।
म सन् २०१३ को अगष्टदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको नेपाली सेवामा कार्यरत छु । लगभग पाँच वर्ष बेइजिङमा बसिसकेँ तर अझै पनि चिनियाँ भाषा आउँदैन । सिक्न नखोजेको होइन । सिक्ने इच्छा पनि भएकै हो । तर मैले जहाँ जहाँ आफूले जानेका केही शब्द प्रयोग गर्न खोजेँ त्यहाँ ठूलै आपत आइलागेको छ । बरु हिजोआज स्मार्ट फोेनले नै दोभाषेको काम गर्नथालेको छ ।
प्रायः नेपाली साथीहरूले सोध्ने गर्छन् ‘पाँच वर्ष बसेर चिनियाँ भाषा त फर्र बनाइयो होला है ?’ म पनि उडन्ते जवाफ दिन्छु ‘चिनियाँ भाषा त आदिदेखि अन्तसम्मै आइहाल्छ नि । सुरुमा निहाउ भन्ने । कसैप्रति आभार व्यक्त गर्दा सेसे भन्ने र छुटिने बेलामा चाइचेन भन्ने ।’ साँच्चै नै यी तीन शब्दभन्दा बढी चिनियाँ भाषा आउँदैन तर यति भएपछि मैले चाहिँ चिनियाँ भाषा आदिदेखि अन्तसम्म आएको मान्ने गरेको छु ।
पाँच वर्ष यता बस्दा चिनियाँ भाषाको सट्टा नेपाली भाषाचाहिँ केही सिकियो । सीआरलाई नेपाली सेवामा एकदर्जन चिनियाँ कार्यरत छन् । उनीहरू नेपाली भाषामा अङ्ग्रेजी शब्द मिसाउँदा बुझ्दैनन् । जति जानेका छन् शुद्धसँग नेपाली बोल्छन् । हामीचाहिँ सकेसम्म अङ्ग्रेजी भाषाका शब्द घुसाएर आफ्नो बडप्पन देखाउँछौँ । सीआरआईमा काम गर्न थालेपछि शौचालय भन्ने बानी परेको छ । नेपालमा त शौचालयभन्दा धेरैले नबुझ्लान् तर ट्वाइलेट भन्यो भने सजिलै बुझ्ने गर्दछन् । यस्ता उदाहरण कति हो कति । सीआरआई नेपाली सेवामा काम गर्ने चिनियाँहरूलाई नेपाली स्रोताले सजिलै चिनून् भनेर नाम पनि नेपाली नै राखेका छन् । वर्षा, रवि, हिमा, मेघा, सुमेघा, ललिता, राजु, प्रतिभा, ललिमा, मुना, राधिका, समुन्द्र र सन्ध्या । यिनीहरूको सङ्गतले चिनियाँ भाषा होइन बरु नेपाली भाषाचाहिँ सिकियो ।
यत्तिकै कारणले चिनियाँ भाषा नसिकेको चाहिँ होइन । चिनियाँ भाषा सिकेर थोरै तिनै शब्दलाई प्रयोग गर्न जतिपटक प्रयास गरेँ उतिपटक समस्यामा परेँ । कतिपय अवस्थामा त लाज मर्नु पनि भएको छ । केही उदाहरण यहाँ राखेको छु ।
ट्वाइलेट र सुपर मार्केट उस्तै
चीन आएको केही समय भएको थियो । आधारभूत रुपमा प्रयोगमा आइरहने चिनियाँ भाषाका केही शब्द र वाक्यहरू नोटबुकमा टिपेर घोकेको थिएँ । बेइजिङमा हरेक सातसय मिटरमा सार्वजनिक शौचालयहरू रहेछन् । तर उतिबेला यस्ता कुराहरू थाहा पाएको थिइन । सार्वजिनक शौचालय भए पनि कता छ भेउ पाउनै मुस्किल । कुनै रेष्टुरेण्टमा गएपछि पनि ट्वाइलेट, रेष्टरुम अथवा वासरुम कता छ भनेर नसोधिकन पत्ता लगाउने कुरा पनि भएन ।
एकपटक एउटा रेष्टुरेण्टमा गएको थिएँ । साथमा दुईजना साथी थिए । उनीहरू पनि चिनियाँ भाषामा मठ्ठुराम । मलाई पिसाब लाग्यो । रेष्टुरेण्टकी परिचारिकालाई सोधेँ ‘ह्वे इज ट्वाइलेट ?’ दुईतीन पटक सोद्धा पनि बुझिनन् । अनि अङ्ग्रेजीमा सोध्नुभन्दा ठुटे चिनियाँमै सोध्नु बेस भनेर सोधेँ ‘छव सो चाइनार?’ यसको अर्थ हुन्थ्यो शौचालय कहाँ छ ? ती परिचारिकाले बल्ल बुझिन् र हाँस्दै चिनियाँ के के भन्दै रेष्टुरेण्ट बाहिर निकालेर औंलाले बाटोको पारिपट्टि देखाइन् । हैन यत्रो ठूलो रेष्टुरेण्टमा शौचालय छैन ? मनमा यस्तै कुरा खेलाउँदै थिएँ । ती परिचारिका रेष्टुरेण्टभित्र पसिकेकी थिइन् । मलाई लाग्यो चीनमा व्यवसायिक केन्द्रहरू ठुल्ठूला हुन्छन्, सायद बाटो पारिपट्टिको भव्य महल पनि यही रेष्टुरेण्टको अफिस अथवा शाखा होला ।
म रेष्टुरेण्टभन्दा अलिक अगाडि गएर आकाशे पुलबाट बाटो काटी ती युवतीले देखाएको महलमा पसेँ । भित्र पस्नासाथ थाहा भयो त्यो त सुपर मार्केट पो रहेछ । ए त्यो रेष्टुरेण्टमा जाने जति ग्राहकहरू शौचालय प्रयोग गर्नचाहिँ यही सुपर मार्केटमा आउने रहेछन् भन्ने सोचेँ । तर सुपर मार्केटको तीनवटा तल चढ्दा पनि ट्वाइलेट पत्ता लगाउन सकिनँ । यता पिसाबले च्यापेर आपत पारिसक्यो उता रेष्टुरेण्टमा दुईजना साथी खाना पर्खिएर बसेका छन् ।
आखिर म त्यत्तिकै रेष्टुरेण्टमा फर्किएँ पिसाबले च्यापेर कक्रक्क पारेकै अवस्थामा । साथीहरूले हैन कता गायब भनेर गाली गरे । मचाहिँ त्यही केटीलाई हेर्दै मुरमुरिन थालेँ । यसबाहेक केही गर्नसक्ने अवस्थामा पनि त थिइन । त्यत्तिकैमा अर्का साथीले म पनि ट्वाइलेट जानु प¥योे कहाँ रहेछ भनेर सोध्यो । अब मैले के जवाफ दिने ? फेरि अर्की केटीलाई बोलाएर अङ्ग्रेजीमै शौचालय कहाँ छ भनी सोधेँ । उसले पनि बुझिन । त्यहीबेला अर्का एकजना चिनियाँ पुरुष टुप्लुक्क आइपुगे । उनी पनि खाना खान आएका रहेछन् । हामीले अङ्ग्रेजीमा सोधेको कुरा ती युवतीले नबुझेको उनले थाहा पाए र चिनियाँमा भनिदिए । युवतीहरूले मुख छोप्दै हामीलाई शौचालय देखाए । शौचालय त त्यही रेष्टुरेण्टको अर्कोपट्टि कुनामा रहेछ ।
मैले अरु कुरा गर्नभन्दा पहिले शौचालय जान चाहेँ किनभने आपत परिसकेको थियो । शौचालयबाट बाहिर आउँदा अगाध आनन्द लाग्यो । त्यही युवकलाई भनेँ, ‘मैले अघि चिनियाँ भाषामा शौचालय कहाँ छ भनेर सोद्धा यो केटीले किन बाटो पारिपट्टिको सुपर मार्केटमा पठाई ?’ मेरो कुरालाई उसले चिनियाँमा अनुवाद गरेर ती युवतीलाई सोध्यो । अनि खै उसले के जवाफ दिई कुन्नि । ऊ त मज्जाले हाँस्न पो थाल्यो । पछि उसले मलाई अथ्र्याएपछि आफैँलाई लाज लाग्यो । मैले चिनियाँ भाषा उच्चारण गर्दा सानो त्रुटिका कारण त्यस्तो भएको रहेछ । भन्नुपर्ने रहेछ ‘छ सो चाइनार ?’ तर भएछ ‘छ्वो श चाइनार ?’ जसको अर्थ हुनेरहेछ सुपर मार्केट कहाँनेर छ ? चिनियाँ भाषामा ‘छ सो’ भनेको शौचालय रहेछ अनि ‘छ्वो श’ भनेको सुपर मार्केट । हरे चिनियाँ उच्चारण !
प्रश्नका ठाउँमा चुम्बन
एकपटक एकजना चिनियाँ साथीसँग बजारमा डुलिरहेको थिएँ । ती साथीको अङ्ग्रेजी भाषा राम्रो भएकाले हामी मज्जाले गफ गरिरहेका थियौँ । फुटपाथमा एकजना चिनियाँ युवतीले एक अफ्रिकन व्यक्तिलाई खुब गाली गरिरहकी थिइन् । ती अफ्रिकन व्यक्ति काला जातिका भएकाले उनको अनुहारमा खासै फरक परेको थिएन । हामी भएको भएचाहिँ त्यतिको गाली खाँदा कालोनिलो भएर अफ्रिकनजत्तिकै हुने थियौँ । तर, अफ्रिकनले अरु कालो हुने ठाउँ नै थिएन । चिनियाँ युवती उनलाई कुटौँलाझैँ गर्दै थिइन् ।
अफ्रिकनको आँखा झट्ट ममा प¥यो । उनले सहयोग मागे । मलाई अङ्ग्रेजीमा भने ‘मैले यी चिनियाँलाई बाटो बिर्सिएँ कृपया तपाईंलाई सोध्न सक्छु भनेको यिनी त नराम्ररी रिसाइन् । यिनी अङ्ग्रेजी बुझ्दिनन् । मैले चिनियाँमै सोधेको थिएँ । तर मलाई पनि चिनियाँ भाषा अलिअलि मात्र आउँछ ।’
मलाई चिनियाँ भाषा नआउने भए पनि मेरो चिनियाँ साथीले उसको कुरा सुनिरहेको थियो । उसले ती युवतीलाई आफ्ना भाषामा केके भन्यो । त्यो केटीले मेरो साथीलाई पनि रिसाएको भावमा कुरा गरी । अनि साथीले ती अफ्रिकनलाई सोधे ‘ह्वाट डिड यु से इन चाइनिज ?’ अर्थात् तिमीले चिनियाँ भाषामा के भन्यौ ? उसले भन्यो, ‘मैले बाटो बिर्सिएकाले कृपया तपाईंलाई सोध्न सक्छु, भन्ने कुरालाई चिनियाँमा ‘छिङ वन नि ?’ भनेको थिएँ ।’ उसले अङ्ग्रेजी भाषाको बीचमा प्रयोग गरेको वाक्यलाई घुसाएर भन्यो । त्यसपछि मेरा साथी र ती युवतीले चिनियाँ भाषामा कुरा गरे । ती युवती रातो अनुहार लगाउँदै हाँस्दै भन्न थालिन् ‘तुइपुछी तुइपुछी’ अर्थात् माफ गर्नुहोस् माफ गर्नुहोस् । कुरा के भएछ भन्ने जिज्ञासा रह्यो । साथीले भन्यो, ‘छिङ वन नि’का दुईवटा अर्थ रहन्छन् । ‘छिङ’ भनेको कृपया हो भने ‘वन’ भनेको सोध्नु र ‘नि’ भनेको तपाईंलाई । अर्काे अर्थमा ‘छिङ’ र ‘नि’को अर्थ उही भए पनि ‘वन’को अर्थ चाहिँ चुम्बन हुँदोरहेछ । ती युवतीले बाटोमै मलाई एउटा अफ्रिकनले कृपया तपाईंलाई चुम्बन गर्नसक्छु भनेको बुझेर रिसाएकी रहिछन् । हामी चारैजना हाँस्यौँ । अगाडिसम्म रिसाइरहेकी चिनियाँ युवतीले ती अफ्रिकनसँग हात मिलाइन् । चिनियाँ भाषाको प्रयोगले कहिलेकाहीँ कुटाइ पनि खुवाउने रहेछ भन्ने लाग्यो ।
उल्टो अर्थ
एकपटक मेरो कोठामा इन्टरनेटको समस्या भयो । लबीमा गएर ‘इन्टरनेट इन्टरनेट’ भन्दै कोठा नम्बर टिपाएँ र कोठामा आएँ । केहीबेरमै एकजना युवतीले मेरो कोठाको ढोका ढकढक्याइन् । उनले इन्टरनेट भनेको मात्र बुझेँ ।
मैले बस्ने आग्रह गर्दै भने, ‘छिङ च्वो’ अर्थात् कृपया बस्नुहोस् । उनले अचम्म गरी हेरिन् र चिनियाँ भाषामा के के भन्न थालिन् । उनले उच्चारण गरेका शब्दहरूमध्ये मैले इन्टरनेट भनेको मात्र बुझँे । मैले फेरि उनलाई बस्नुहोस् भने । तीनपटक त्यसरी चिनियाँ भाषामा बस्नुहोस् भनेपछि रातोपिरो भएर हिँडिन् ।
कम्प्युटरमा एडीएसएल र कोठामा वाइफाई सेटिङ गर्न आएकी चिनियाँ स्टाफ फर्केपछि अक्क न बक्क परेँ । यसपटक चाहिँ मेरो कुनै गल्ती छैन भनेर पूर्ण विश्वस्त थिएँ । केही बेरमा फेरि लबीमा गएँ र उही कुरा दोहो¥याएँ ‘इन्टरनेट इन्टरनेट’ । लबीमा रहेका स्टाफले ती युवतीलाई फोन गरें । एकैछिनमा उनी आइपुगिन् । के के भनिन् कुन्नि । उनीहरूले बारम्बार ‘छिङ च्वो छिङ च्वो’ भनेको सुनेँ । उनीहरूले मुखामुख गरेर अनौठो भाव प्रदर्शन गर्न थाले । संयोगबस एकजना हंगेरीका साथी आइपुगे । अङ्ग्रेजी र चिनियाँ दुवै भाषा जान्दथे । उनी पनि आफ्नो कोठामा भएको केही समस्या लिएर आएका रहेछन् । मैले आफ्नो समस्या राखेँ । इन्टरनेट सेटिङ मिलाउन गएकी केटीले कामै नगरिकन फर्किएको सुनाएँ । उनले चिनियाँ भाषामा उनीहरूलाई मेरो समस्या प्रष्ट्याए । उनीहरूबीचमा कुराकानी भएपछि हङ्गेरीका साथीले प्रश्न गरे ‘ह्वाइ डिड यु से हर गो आउट ?’ अर्थात् इन्टरनेट सेटिङ मिलाउन गएकी केटीलाई तिमीले किन बाहिर जाऊ भन्यौ ?’
हँ, मैले कतिखेर भने बाहिर जाऊ भनेर । मैले बस्नुहोस् पो भनेको थिएँ त । स्पष्टीकरण दिएँ । थुइक्क बुद्धु यहाँ मेरै गल्ती रहेछ । ‘छिङ च्वो’ भन्नुपर्नेमा मैले ‘छिङ च्उ’ भनेछु । ‘छिङ च’ भनेको बस्नुहोस् हुन्छ भन्ने थाहा थियो तर मेरो उच्चारण बिग्रिएर ‘छिङ चउ’ भएछ अर्थात् बाहिर जाऊ ।
लाजमर्दाे
अलिअलि रक्सी पिउँदै गएपछि नेपालीले अङ्ग्रेजी बोलेजस्तै मलाई पनि अलिअलि चढाएपछि चिनियाँ बोल्न खुब रहर लाग्छ । एकपटक त्यस्तै भयो ।
रेष्टुरेण्टमा खाना खुवाउन आमन्त्रण गरेकी चिनियाँ युवतीले प्रसङ्गबस अङ्गे्रजी भाषामा म त धेरै खाँदिन भनिन् । हामीले दुईतीन राउण्ड वाइन पिइसकेका थियौँ । मैलेचाहिँ तिमी त लोभी रहिछौ भन्नका लागि चिनियाँ भाषामा पड्काइ दिएँ ‘नि हन सिआवो छि ।’ त्यसो भन्नासाथ उनको चहेराको रङ परिवर्तन भयो । उनले के भनेको के भनेको भनेर अङ्ग्रेजीमा सोध्न थालिन् । मैले चाहिँ कत्ति न चिनियाँ जानेको छु भनेर उही वाक्य दोहो¥याइ रहेँ ।
उनले भनिन् ‘हवाट डु यु मिन ? एक्स्ल्पेन मी इन इङ्गिलस्’ अर्थात् के भन्न खोजेको मलाई अङ्गे्रजीमा स्पष्ट भन । उनलाई थाहा थियो मलाई चिनियाँ भाषा त्यति आउँदैन भनेर । अनि मैले अङ्ग्रेजीमा भने तिमी त लोभी रहिछौ । मलाईमात्र खुवाउने । आफूचाहिँ नखाने ?
उनले त्यसपछि भनिन् ‘तिमीले चिनियाँ भाषामा लोभीभन्दा गलत शब्द प्रयोग ग¥यौ । त्यसको अर्थ राम्रो हुँदैन । कृपया यो शब्द कहिल्यै प्रयोग नगर्नू । चिनियाँ केटीले कुट्लान् ।’
उनको भनाइले अलिअलि चढेको रक्सीको मात कता भाग्यो कता । त्यस्तो प्रयोग गर्नै नमिल्ने शब्द के प्रयोग गरेँ भन्ने कुराले घोच्न थाल्यो । सोधेँ ‘मैले के नराम्रो शब्द प्रयोग गरेँ हँ ? कृपया मलाई स्पष्ट भनिदेऊ ता कि अर्कोपल्ट त्यो गल्ती नदोहो¥याऊँ ।’
लोभीलाई चिनियाँ भाषामा ‘सियाओ छि’ भन्नुपर्नेमा मैले उच्चारण गर्दा ‘सिआयो चिए’ भनेछु । ‘सिआयो चिए’ भनेको यौनकर्मी महिलालाई प्रयोग गरिने शब्द रहेछ । मैले उनलाई तिमी लोभी रहिछौ भन्दा तिनी बेश्या रहिछौं भन्ने अर्थ पर्न गएछ । ‘ओ माइ गड ! मलाई माफ गर्नुहोला । मेरो आशय त्यस्तो हैन । अनि मलाई त्यो शब्द पनि थाहा थिएन ।’ मैले उनीसँग माफ मागेँ ।
धन्न उनले मेरो मनसाय बुझिन् र भाषाको इररलाई सहज रुपमा लिइन् । उनले आफूले थोरै खानुपर्ने कारण पनि खुलाइन् । उनी वजन र शरीरको मोटाइ कम गर्नका लागि त्यसरी कम खाँदिरहिछन् । कसो आतिथ्य सत्कार नै शत्रुतापूर्ण हुनबाट जोगियो ।
चिनियाँ भाषाको उच्चारण
चिनियाँ भाषा त जानिएन । अक्षर पनि चिनिँदैन । त्यतिमात्र कहाँ हो र चिनियाँ शब्दलाई अङ्गे्रजी ‘फिनियन’मा लेखिएको पनि पढ्न जानिँदैन । विशेषगरी चिनियाँ व्यक्तिका नाम र चिनियाँ ठाउँ व्यक्तिवाचक हुन् । अङ्ग्रेजीमा लेखिएको भए पनि त्यस्ता नामको उच्चारण चिनियाँ चलनअनुुसार हुने गर्दछ । नेपाली सञ्चारमाध्यमले पनि त्यस्ता चिनियाँ व्यक्तिवाचक नामको गलत प्रयोग गरेका बग्रेल्ती उदाहरण छन् ।
अझै पनि सबै नेपाली सञ्चारमाध्यमले चिनियाँ राष्ट्रपतिको नामलाई शुद्धसँग लेख्न जान्दैनन् । अधिकांशले ‘सी जिनपिङ’ भनेर लेखिरहेका हुन्छन् । चिनियाँ राष्ट्रपतिको नाम ‘सी जिनपिङ’ नभएर ‘सी चिनफिङ’ हो । त्यसैगरी चीनमा सुधार र खुलापन थालनी गर्ने नेतालाई नेपाली सञ्चारमाध्यमले ‘देङ स्यावो पिङ’ भनेर लेखेका हुन्छन् । तर उनको नाम ‘तङ स्यावो फिङ’ हो । नेपाली सञ्चारमाध्यमले ‘ग्वाङजाउ’ ‘सेन्जेन’ भनेर लेखिरहेका हुन्छन् । ती ठाउँहरूको शुद्ध उच्चारण ‘क्वाङचौ’ र ‘सनचन’ हो । त्यसैगरी हामी खुनमिङलाई कुनमिङ र पोआउलाई बोआउ भन्छौँ ।
त्यसो त चिनियाँहरू आफ्नै देशलाई चीन अथवा अङ्गे्रजीमा भनिने चाइना भन्दैनन् र चाइना भनेको बुझ्दैनन् पनि । किनभने उनीहरूले आफ्नो देशलाई ‘चुङक्वो’ भन्छन् । चिनियाँ भाषामा ‘चुङ’ भनेको मध्य हो भने ‘क्वो’ भनेको भूभाग अथवा देश हो । त्यसकारण चिनियाँ भाषामा चीनलाई विश्वको मध्यभागमा पर्ने देश भनेर पुकारिन्छ । चिनियाँ भाषामा अरु देशको नाम पनि फरक फरक छ । उदाहरणका लागि अमेरिकालाई मैको, बेलायतलाई यिङको, फ्रान्सलाई फोको, जर्मनीलाई तको, भारतलाई इन्तु, नेपाललाई निपोउर, रुसलाई आलौस भनिन्छ ।
चिनियाँ भाषामा अङ्ग्रेजी ‘बी’ अक्षरको उच्चारण प हुन्छ । ‘जी’ अक्षरको उच्चारण क हुन्छ, ‘टी’ को थ हुन्छ, ‘डी’ को उच्चारण त, ‘जे’ को च, ‘पी’ को फ हुन्छ । अरुलाई बेइजिङ भन्छन्, चिनियाँहरू पैचिङ भन्छन् । यसो हुनुको कारण बी अक्षरलाई प उच्चारण हुनु र जेलाई च उच्चारण भएकाले हो । बेइजिङको नजिकै गे्रटवाल हेर्ने ठाउँको नामलाई अङ्ग्रेजीमा द्यबमबष्लिन लेखिन्छ । तर यसको उच्चारण पातालिङ हुन्छ । यदि कुनै अङ्ग्रेजी जान्ने चिनियाँलाई बादालिङ कहाँ पर्छ भनेर सोध्यो भने बताउन सक्दैन । तर पातालिङ कहाँ पर्छ भन्यो भने सजिलै बताउँछ ।
सन् २००५ मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको एउटा प्रतिनिधिमण्डल नेपाल भ्रमणमा गएको थियो । त्यो प्रतिनिधिमण्डलको नेता द्यबष् म्भ व्गल थिए । मल्ल होटलमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घोषक नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी हुनुहुन्थ्यो । उहाँले मञ्चमा बोलाउने क्रममा ‘बाई दे जुन’ भनेर बोलाउनुभयो । उहाँको चिनियाँ उच्चारणमा ‘पाई ते चुन’ हुन्थ्यो । दोहो¥याएर बोलाउँदा पनि उहाँले बुझ्नुभएन । चिनियाँ दूतावासका एकजना अधिकारीले बुझेर कानमा भनेपछि बल्ल उनी मञ्चमा आए ।
सन् २००८ देखि २०११ सम्म चिनियाँ राजदूत त्तष्ग न्गयजयलन थिए । तीन वर्ष बस्दा पनि ती राजदूतको नामलाई नेपाली भाषामा कुनै पनि पत्रपत्रिकाले शुद्धसँग लेख्न कहिल्यै जानेनन् । बोलाउँदा पनि कसैले शुद्धसँग बोलाउन जानेन । ती राजदूतको नामको चिनियाँ उच्चारण ‘छिउ कोहोङ’ हुन्थ्यो । तर सबै नेपाली सञ्चारमाध्यमले क्यु गुओहोङ भनेर प्रकाशन÷प्रसारण गरिरहे ।
उल्लिखित उदाहरणबाट आफैँलाई मूल्याड्ढन गर्छ । लाग्छ, पाँच वर्ष त के पचास वर्ष चीनमा बसें भने पनि म चिनियाँ भाषा जान्दिन ।
chetnath@ymail.com
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो
(सी.आर.आई) नेपाली सेवा, पैचिङ्गमा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन् ।)
स्रोत ः संहिता (प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन), असार २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *