जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
दैलेख, १७ वैशाख । नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिले १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सोमबार बिन्द्रासैनीमा प्रशिक्षण कार्यक्रम गर्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले सर्वहारावर्गका महान् गुरु एङ्गेल्सको प्रस्तावमा कम्युनिस्टहरूले नै अन्तर्राष्ट्रिय मजदुर दिवस सन् १८८९ देखि मनाउन थालेको बताउनुभयो ।
मजदुरहरूको वास्तविक मुक्तिका निम्ति कम्युनिस्टहरूले मजदुर दिवसको अवसरमा इतिहासको गहिरो अध्ययनबाट सिक्ने गरेको बताउँदै संयोजक गोसाईले पुँजीवादी पार्टीका मजदुर सङ्गठनहरूले मजदुर दिवसलाई मनोरञ्जनको रूपमा मनाउँदै मालिकहरूसँग सौदाबाजी गरिरहेका छन् भन्नुभयो ।
क्रान्ति हुन नदिन विदेशी पुँजीको आडभरोसामा नेपाली शासकहरूले नेपालमा औद्योगिकीकरण हुन नदिएको चर्चा गर्दै संयोजक गोसाईले विदेश पलायन भएका नेपाली युवाहरूले राजनीतिक अधिकार नपाएको स्पष्ट पार्नुभयो ।
नेमकिपा जिल्ला अध्यक्ष जगत ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाही, हरिसुन्दर बासी, सुरेन्द्रबहादुर शाहीले शुभकामना दिनुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी चामुन्डा विन्द्रासैनी नगर समितिले सोमबार जम्बुकाँध बजारमा जुलुस तथा कोणसभा गर्यो ।
कोणसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले मजदुरहरूको सङ्घर्षबारे उल्लेख गर्दै स्थानीय पालिकाको खानेपानी आयोजनामा काम गरेका मजदुरहरूलाई वर्षौँदेखि पारिश्रमिक नदिएको चर्चा गर्नुभयो । उहाँले ती मजदुरहरूलाई समयमै पारिश्रमिक दिनुपर्छ भन्नुभयो ।
गाउँका बालबालिकाहरूले आफ्नै गाउँमा पढ्न पाउनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य शाहीले चामुन्डा विन्द्रासैनी नगरपालिकाले विद्यालय समायोजनको नाममा शिक्षा नियोजन गरिएको बताउनुभयो । विद्यार्थी अभाव भन्दै विद्यालय समायोजन गर्दा विद्यार्थीहरू पलायन भएको उल्लेख गर्दै उहाँले विद्यालय समायोजन गर्दा नगर प्रमुखले कार्यपालिका सदस्य र सरोकारवाला पक्षसँग परामर्श नगरेकोमा विरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासी, निरकबहादुर शाही, इन्द्रप्रसाद चौलागाई, धनकुमारी शाही र सुरेन्द्रबहादुर शाहीले मजदुर दिवसको महत्वबारे स्पष्ट पार्नुभयो ।
Leave a Reply