भर्खरै :

कार्यकर्ताहरू क्रान्तिका अग्रदूत

समाज वर्गमा विभाजित छ । वर्गमा विभाजित समाजमा नेता, कार्यकर्ता मात्र होइन बुद्धिजीवी, इन्जिनियर, वकिल, प्राध्यापक, लेखक, कलाकार, कर्मचारी आदि पनि विभाजित हुन्छन् । समाजमा रहेका कुनै पनि मानिस प्रत्यक्ष या अप्रत्यक्षरूपमा कुनै वर्ग, सिद्धान्त, विचारको पक्षमा या प्रभावित हुने हुँदा त्यसअनुसार उनीहरूले विचार पोख्नु या राजनीति गर्नु अस्वाभाविक होइन । समाज परिवर्तन कसरी गर्ने भन्ने विषयमा पनि उनीहरूको धारणा या दृष्टिकोण फरक फरक हुन्छ । त्यसमध्ये कति मानिस क्रान्ति या परिवर्तनको निम्ति जुट्छन्, खट्छन् त कति अवसरवादी र द्वैधचरित्रका हुन्छन् । कति क्रान्तिविरोधी हुन्छन् । समाजमा सामन्त, जमिनदार, प्रतिक्रियावादी, पुँजीपति, जालीफटाहा, शोषकहरू पनि हुन्छन् । उनीहरू श्रमजीवी जनताको राजनीतिको विरोध गर्छन्† गरिब जनतालाई भिडाएर, लडाएर शोषण गर्छन् या फाइदा लिन्छन् । तर, उनीहरू वर्गीय राजनीतिबाट अलग हुनसक्दैनन् । यसकारण बुद्धिजीवी, इन्जिनियर, प्राध्यापक, कलाकार, पत्रकार, लेखक, डाक्टरहरू वर्ग र वर्गीय राजनीतिबाट अलग हुनसक्दैनन् ।
कुनै क्रान्ति ध्वंश गर्न होइन देश र जनताको सेवा गर्न गरिएको हुन्छ । शोषणमा आधारित सरकार र समाजलाई उल्टाउन या फाल्न सजिलो छैन । सामन्त, पुँजीपति, जमिनदार, जालीफटाहा, विदेशी दलालको सरकार उल्टाई त्यसको ठाउँमा मजदुर, किसान, उत्पीडित तथा शोषित पीडित जनताको शोषण नहुने क्रान्तिकारीवर्गको समाज र सरकार निर्माण गर्नु क्रान्ति या परिवर्तन हो । देशमा बर्सेनि हजारौँ जनता भोक, रोग, शोक र औषधि गर्न नपाउँदै मर्छन् । औषधि गर्न सक्ने रोगीहरू पनि देशमा आवश्यक अस्पताल र अस्पतालमा चिकित्सक र औषधि नभएर, नपुगेर जनता मरिरहेका छन् र कति बाध्य भएर बिदेसिएका छन् । नेपालमै राम्रो उपचारको प्रबन्ध नभएर पनि कति नेपालीहरू विदेश पुगेर उपचार गर्छन् र लाखौँ थप खर्च गर्न बाध्य हुन्छन् । यसकारण, यस्ता अभाव पूर्ति गर्न या समस्या समाधान गर्न कम्युनिस्ट भनिने सरकार लाग्नुपर्ने हो । तर, त्यतातर्फ सरकारको ध्यान गएको देखिँदैन ।
क्रान्ति गर्न देश, काल र परिस्थिति मिल्नुपर्छ । अन्तर्राष्ट्रिय परिस्थिति तयार हुनुपर्छ । क्रान्ति जनताले गर्छन् । क्रान्ति गर्न जनता सचेत, सङ्गठित र एकगठ हुनुपर्छ । क्रान्ति गर्न जनतामाझ कम्युनिस्टको सिद्धान्त र विचार पु¥याउनुपर्छ । किनकि, पार्टी नेता तथा कार्यकर्ताहरू क्रान्तिका अग्रदूत हुन् । पार्टी कार्यकर्ता नभए पार्टी हुँदैन, पार्टी भएन भने क्रान्ति पनि सम्भव छैन । क्रान्तिको लागि बाटो तयार गर्नुपर्ने सत्तासीन कम्युनिस्टहरू सत्तामुखी राजनीति या जसरी भए पनि दल ठुलो बनाउने, सत्तामा जाने र कमाउने धन्दामा व्यस्त देखिएका छन् । माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने ती सत्ताधारी कम्युनिस्ट दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू साँच्चै कम्युनिस्ट भएर राजनीतिमा लागेका छैनन् । तर, तिनीहरू आफूलाई कम्युनिस्ट नै ठान्छन् ।
सिद्धान्ततः माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने दलहरू कम्युनिस्टहरू हुन् । तर, उनीहरूले त्यस सिद्धान्त र दर्शनअनुसार राजनीति गरिरहेका छैनन् । कम्युनिस्टबाहेकका अन्य दलले पनि दलको नाममा ‘समाजवाद’ शब्द जोडेका छन् । दलले लोकतान्त्रिक समाजवाद, जनता समाजवादी पार्टी जे नाउँ राखे पनि ती दलहरू साँच्चै देशमा बहुमत जनताको सेवा गर्ने समाजवादी पार्टी होइनन् । यही कारण शासकहरूले संविधानमा उल्लेखित समाजवादउन्मुख राज्य बनाउने प्रयत्न गरेका छैनन् । कतिपय दलले समाजवाद, उन्मुक्ति आदि शब्द पार्टीमा झुन्ड्याएर जनताको विश्वास जित्ने यत्न गरिरहेका छन् । तर, नाउँले दल साँचो कम्युनिस्ट पार्टी हुने होइन । कम्युनिस्ट पार्टीले व्यापक जनताको हित हुने राजनीति गर्नुपर्छ† तद्नुसार जनतालाई सुसूचित पार्नुपर्छ । व्यापक जनताको हितमा राजनीति नगर्ने दल सच्चा कम्युनिस्ट पार्टी हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *