भर्खरै :

सिक्किमीकरणका मतियार सीके लालको बकबक

–मोतिलाल
शुक्रबारका अखबारहरूमा निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण मेटाउने दुई प्रहरी अधिकारीहरूलाई बर्खास्त गरेको समाचार आयो । गृह मन्त्रालयको विज्ञप्ति हेर्दा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टले बलात्कार र हत्याको प्रमाण मेटाउन भित्री कपडा धुने, कम्मरमुनिको भाग नै पखाली दिने काममात्र गरेको होइन, नेपालमै नभएको मृतकको बुबाको दस्तखत देखाउने नक्कली काम गरेर ढाकछोप गर्ने र परिवारलाई धम्की दिने जघन्य अपराध गरेको स्पष्ट हुन्छ । यद्यपि लापरबाही गरिएका विष्ट र भट्ट दुवैलाई फेरि सरकारी काम गर्न पाउने सुविधा कायम राखेको छ । यसले सरकार ती अपराधीहरूप्रति उदार रहेको पुष्टि गर्छ । यति कारबाही पनि लोकलाज ढाक्नमात्र गरेको हो कि ? जनताको आक्रोशलाई थामथुममात्र पार्न खोजेको हो कि ? तर न्यायको लागि लडिरहेको आवाज कुण्ठित हुनसक्दैन । त्यसैले पन्त प्रकरणका दोषीहरूलाई कारबाही गर्न निरन्तर कलम चलाइरहेका कञ्चनपुरका पत्रकार खेम भण्डारीले लेखेका छन्, “बर्खास्त भए । यतिले मात्रै पुग्दैन । अब किन बर्खास्त भए ? त्यसको जवाफ चाहिन्छ । प्रमाण मेटाउने स्वतन्त्र हिंड्ने होइन, जेलमा हुनुपर्छ ।” घटनामा सुरुदैखि नै उच्च पहुँचवालाहरूको संलग्नता रहेको दाबी गर्दै आएका पत्रकार भण्डारीले फेरि पनि माग गरेका छन्,…त्यसै प्रमाण मेटाउँछ कसैले ? प्रमाण मेटाएको अभियोगको आधारमा बर्खास्त परेका डिल्ली विष्टलाई निर्मलाको हत्याराबारे थाहा छ, उनलाई थुनी कारबाही गरिनुपर्छ ।”
निर्मला पन्तको प्रकरण सामान्य हत्या र बलात्कार घटनामात्र रहेन । यसका दोषीहरूलाई जोगाउन यसले सिङ्गो राज्य नै लागेको आभास दियो । त्यसैले यसका दोषीलाई कारबाही गराउन कञ्चनपुरमात्र होइन देश नै आन्दोलित भयो । सडकमा मात्र होइन, सदनमा पनि चर्को विरोध भयो । नेपाल मजदुर किसान पार्टीका सांसदहरूले सङ्घीय र प्रदेश संसदमा अभियुक्तहरूको सम्बन्ध उच्च राजनीतिक तहसम्म रहेको आशङ्का व्यक्त गर्नुभयो । नेमकिपाका सांसदहरूले अभियुक्त एसपी डिल्लीराज विष्टले विगतमा कथित जनयुद्धमा माओवादीलाई सहयोग गरेको तथ्यका आधारमा प्रचण्डले नै यसको जवाफ दिनुपर्ने माग पनि गर्नुभयो । यो माग सञ्चारमाध्यममा आएका तथ्यको आधारमा गरिएको थियो । यो नेपाल मजदुर किसान पार्टीका सांसदहरूको मात्र माग थिएन सिङ्गो देशले खोजिरहेको माग थियो । तर शासकहरूले अनेक बहानाबाजी गरिरहे, अनुसन्धानकै नाममा दिन बिताइरहे । अनुसन्धानको नाममा गरेका क्रियाकलापले राज्य आफै यो प्रकरणमा फस्दै गयो । अभियुक्तहरूलाई जोगाउन सरकार आफै सन्देहजनक र रहस्यमयी बन्दै गयो । यसकारण यो प्रकरणमा मन्त्रीहरूले जतिसुकै राजनीतीकरण नगर्न विलाप गरे पनि राजनीतिक दबाबमै सही अनुसन्धान नगरेको र कारबाही नभएको छर्लङ्ग भएको छ । ‘एकजना व्यक्तिलाई बचाउन सिङ्गो सरकार फस्नु हुँदैन’ भनी एक मुख्यमन्त्रीले नै बोलिसकेका छन् । अभियुक्तहरू सामान्य भएका भए हत्या र बलात्कार घटनाका दोषीहरूलाई कारबाही गर्न आइतबार कुरेर बस्ने थिएन । यो बीचमा पनि कति घटनामा संलग्न अभियुक्तहरूलाई कानुनअनुसार कारबाही गरिएका समाचारहरू आइरहेका छन् ।
निर्मला पन्तको घटनामा सुरुदेखि नै एसपी विष्टको नाम विवादमा आयो । एसपी विष्टको इतिहास पनि बाहिर आयो । यो घटनाको औपचारिकमात्र होइन, अनौपचारिक अनुसन्धान पनि भएका छन् । औपचारिक तथा अनौपचारिक अनुसन्धानबाट आएका तथ्यको आधारमा सरकारलाई दोषी थाहा भएर पनि कारबाही नगरेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ । यही धरातलीय यथार्थको जगमा उभिएर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार ढल्ने डरले निर्मला पन्तका दोषीहरूलाई कारबाही नगरेको आशङ्का व्यक्त गर्नुभयो । नेपालभाषा साहित्य तःमुंज्याको ३८ औं साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष बिजुक्छेंले दुईतिहाइ बहुमतको सरकार अकर्मण्य रहेको उदाहरण दिंदै निर्मला पन्त प्रकरणमा पनि ओली सरकार निरीह रहेको स्पष्ट पार्नुभयो । आरोपित एसपी विष्टसँग प्रचण्डको सम्बन्ध भएकै कारण ओली सरकारले निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न आँट नगरेको सरकारमाथि आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेंको भनाइबारे विभिन्न अनलाइनहरूमा आएका समाचारहरूले पनि प्रमाण नष्ट गर्ने प्रहरीहरूलाई राजद्रोहको मुद्दा लगाई ज्यान सजाय दिनुपर्नेमा सरकार ढाली देला भनेर प्रचण्डसँग डराएर ओलीले कारबाही गर्न हिम्मत नगरेको स्पष्ट पारेका छन् । यद्यपि सीके लालले शुक्रबार ‘नागरिक’ दैनिकमा सरकार ढल्ने भएकोले निर्मला पन्तका दोषीहरूलाई कारबाही नगर्न सल्लाह दिएको गलत व्याख्या गरेको देखियो । सरकार साँच्चिकै इमानदार भए कारबाही गरेर देखाउन अध्यक्ष बिजुक्छेंले दिएको चुनौतीलाई व्यापक सचेत नेपाली जनताले बुझेभन्दा फरक ‘कारबाहीको माग गर्नेहरूको उद्देश्य ओली सरकार ढाल्नु हो भन्न खोजेको’ बुझ्ने सीके लालको बौद्धिक खोक्रोपनमात्र होइन, कुत्सित स्वार्थको व्यापार पनि उदाङ्गिएको छ ।
शुक्रबार प्रकाशित सीके लालको ‘विश्वसनीयताको स्खलन’ मूलतः प्रचण्डको ‘हैसियत’ देखाउन केन्द्रित छ । नेपालमा कुनै पनि नेता विश्वसनीय नभएको देखाउन नै सीके लाल यतिबेला मरिमेटेर लागेका छन् । नेपाल असफल राज्य हो, यहाँ नेता, पार्टी र संस्थाहरू कुनै पनि काम लाग्ने छैनन् भनी जनतामा निराशा र वितृष्णा जगाउनु भारतीय एकाधिकार पँुजी र भारतीय विस्तारवादी शासकहरूको ‘तात्कालीन कार्यक्रम’ बनेको छ । यही कार्यक्रम कार्यान्वयन गर्न नेपाली शासक पार्टीहरूमा समेत भारतीय शासकहरूले दरो घूसपैठ गराएका छन् । सीके लालजस्ता कथित बौद्धिकहरू पनि जोडतोडले लागेका छन् । यसरी उनीहरू नेपाललाई सिक्किम बनाउन चाहन्छन् । सिक्किम बनाउन लेण्डुप दोर्जेहरू जन्माउन यस्तै सीके लालजस्ता धुपौरेहरूले पनि त गीत गाउनै प¥यो, माना पचाउनै प¥यो । कामदार वर्गका अन्तर्राष्ट्रवादी नेता अध्यक्ष बिजुक्छेंलाई ‘सिक्किमीकरणको भय बेच्ने जातीय राजनीतिकर्मी’ देख्ने सिक्किमीकरणका मतियार सीके लालको दृष्टिकोण आफैमा तुच्छ कलमको भरियाभन्दा अरु के प्रमाणित गर्दछ ? माओवादीलाई एमालेसँग मिसाएर सिङ्गो नेकपालाई नै भारतीय ट्रोजन हर्स बनाएको व्याख्या गर्ने अनि ओली सरकारको अकर्मण्यतामाथि औंला तेर्साउने अध्यक्ष बिजुक्छेंले ओलीको सरकारको प्रतिरक्षा गरेको हल्ला गर्ने सीके लालको लेखले उनको पूर्वाग्रही र सङ्कीर्ण सोचलाई छताछुल्ल पारेको कसले बुझेको छैन र ?
सिता खान गीता गाउनै परे पनि आकाशवाणीबाट आएका सूचना स्रोतमा मात्र भर नपरी यसो नेपाली सञ्चारजगतमा पनि एक नजर लगाउने गरेका भए सीके लाल यतिविघ्न नाङ्गेझार हुनुपर्ने थिएनन् कि ? समकालीन नेपाली राजनीतिक डबलीमा निष्कलङ्कित राजनीतिकर्मी अध्यक्ष बिजुक्छेंलाई सीके लालजस्ता प्रायोजितहरूले जतिसुकै हिलोछ्याप्न खोजे पनि नेपाली कामदार जनताको हृदयबाट खोस्न सक्दैन । अध्यक्ष बिजुक्छें जनताको हृदयमा हुनुहुन्छ र जनताको हृदयको आवाज अध्यक्ष बिजुक्छें बोल्नुहुन्छ । यो नै नेपाली राजनीतिको सत्य पाटो हो ।
त्यसैले दुईतिहाइको दम्भ देखाइरहेको सरकार साँच्चिकै आफ्नो खुट्टामा उभिएको छ भने निर्मला पन्तका बलात्कारी र हत्यारा अनि प्रमाण नष्ट गरेर देश र जनतालाई भ्रममा राख्न खोज्नेहरू सबैलाई कारबाही गरेर देखाउनुपर्छ । अन्यथा अध्यक्ष बिजुक्छेंले भनेजस्तै सरकार ढल्ने भयले ओली सरकार लुगलुग कामिरहेको पुष्टि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *