भर्खरै :

मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २२ वैशाख । मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानको २५ औँ वार्षिक (रजत महोत्सव) साधारणसभा तथा अधिवेशन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले कार्यक्रमको समुद्घाटन एवं प्रतिष्ठानको मुखपत्र ‘तलेजु’ स्मारिकाको पाँचौँ अङ्क विमोचन गर्नुभयो ।
उद्घाटन मन्तव्य राख्दै अतिथि बिजुक्छेँले मल्लकालीन कला, संस्कृति र सम्पदा राष्ट्रकै गौरव भएको बताउनुभयो ।
मल्लकालीन संस्कृति बचाउनको लागि नयाँ पुस्तालाई मल्लकालीन इतिहास, संस्कृति र सम्पदाबारे शिक्षा दिनु अत्यावश्यक भएको धारणा राख्दै उहाँले पृथ्वीनारायण शाहले छलकपटकासाथ मल्लकालीन राज्यसत्ता कब्जा गरेको इतिहास बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति भनेको देश र जनताले निःस्वार्थपूर्व सेवा गर्ने उद्देश्यले गर्ने हो । इमानदार मान्छेले राजनीति नगरे खराब मान्छे राजनीतिमा अगाडि पर्ने भएकोले सक्षम र असल मान्छेले राजनीति गर्नुपर्छ ।”
राजाहरू पनि देशभक्त हुनसक्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेले साम्राज्यवादविरोधी आन्दोलनमा कम्बोडियाका राजा सिंहानुकको योगदानबारे चर्चा गर्नुभयो ।
एमसीसी सम्झौता देशघाती भएको स्पष्ट पार्दै उहाँले सित्तैमा पायो भन्दैमा विष खान नहुने बताउनुभयो ।
वरिष्ठ इन्जिनियर शङ्करकृष्ण मल्लले भक्तपुरको विकास विदेशीहरूले गरेको नभई भक्तपुरवासीले नै गरेको बताउनुभयो ।
भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजुराज जोशीले भक्तपुरको विकासको लागि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले लेख्नुभएको ‘सय वर्ष पछिको भक्तपुर’ मार्गचित्र भएको धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक समितिका अध्यक्ष डा. माधवसुन्दर मल्लले आफ्नो कार्यकालमा भएको गतिविधिबारे जानकारी दिनुभयो ।
कार्यक्रममा उत्तमनारायण मल्ल, उपाध्यक्ष प्रा.डा. राजाराम प्रधानाङ्ग, इ. सुदिप हाडा, विजयशङ्कर प्रधानाङ्ग, राजेशभगत प्रधानाङ्गलगायतले बोल्नुभएको थियो । सभाले प्रतिष्ठानको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
सम्मेलनको दोस्रो सत्रले डा. माधवसुन्दर मल्लकै अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
विविध छात्रवृत्तिहरू प्रदान गरिएको उक्त कार्यक्रममा परम्परागत ‘कुमारी नृत्य’ पनि देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *