भर्खरै :

जन्मजयन्तीमा यसरी सम्झियो देवकोटालाई

– सुशील दर्नाल 
काठमाडौँ, १९ कात्तिक  ः
“म रंगीचंगी छु वसन्त छोरो
म जन्मिएँ कोकिलले कराई ।
झुसिल्किराको सपना सिङ्गारी
दिए पखेटा प्रभुले मलाई”
विसं २०१७ मा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘बाल–कविता, सग्रह भाग २’ मा समावेश ‘पुतली’ शीर्षकको यो कविता नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्ष गुञ्जायमान भएसँगै कार्यक्रम शुरु गरियो ।
देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित प्रवचन, पुस्तक परिचर्चा एवं कविता वाचन कार्यक्रममा कवि प्रभा भट्टराईले माथिको कविताको पङ्क्ति वाचन गरेर वातावणलाई काव्यिक तुल्याउनु भएको थियो । कवि भट्टराईले मात्र होइन देवकोटालाई सम्ँिझदै कवि मातृका पोखरेलले आफ्नो ‘नक्कली हावा’ शीर्षकको कविता वाचन गर्नुभयो, जसले वर्तमान समयलाई पनि उत्तिकै सम्बोधित गरेको महसुश हुन्थ्यो ।
कविहरु सुलोचना मानन्धर ‘मेरो कविता’, अनिता लामा ‘गुलाब’ र मित्रलाल प्रगेनी ‘जिउँदो छँदै खान देऊ’ कविता वाचन गर्दै देवकोटालाई सम्झिनुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि देवकोटा नेपालका विराट प्रतिभा हुनुहुन्छ, जसलाई नेपाली समाजले अधिकतम चर्चा गरेका छन् भन्नुभयो ।
“महाकवि देवकोटा केही समय प्राज्ञ पनि हुनुहुन्थ्यो, यो एकेडेमीको परिकल्पनाकार पनि हुनुहुन्थ्यो, यसको स्थापनासँग जोडिएकाले पनि हामी उहाँलाई विभिन्न सन्दर्भमा सम्झिन्छौँ, उहाँको सान्दर्भिकताबारे कृतिहरु पनि निकालिएको छ”, कुलपति उप्रेतीले भन्नुभयो ।
पूर्वकुलपति बैरागी काइँलाले महाकवि देवकोटाले साहित्यबाट नेपालको गौरवगान गर्नुभएको चर्चा गर्दै देवकोटाका कृतिहरुलाई अन्य भाषाहरुमा समेत अनुवाद गरेर अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
डा अमर गिरीले महाकवि देवकोटाको विविध पक्षमाथि प्रकाश पार्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म चिनाउने सन्दर्भमा पनि महाकवि देवकोटाले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । “देवकोटा नेपाली साहित्यका विराट व्यक्तित्व हुन्, उनले नेपाली साहित्यमा जे जति योगदान दिएका छन, त्यो धेरै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपाली साहित्यलाई उचाइमा पु¥याउनका लागि महाकवि देवकोटाको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।
प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले महाकवि देवकोटाबाट नेपाली साहित्यको क्षेत्रमा आउन चाहने नयाँ पुस्ताले धैरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सोही अवसरमा सिक्किमका साहित्यकार शङ्करदेव ढकालद्वारा लिखित भुटानी शरणार्थीको व्यथा र बाध्यतालाई समेटिएको उपन्यास ‘किरायको कोख’ सार्वजनिक गरियो । कुलपति उप्रेती र पूर्वकुलपति बैरागी लगायतले सामूहिक रुपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो । सो पुस्तकबारे समीक्षा गर्दै डा हेमनाथ पौडेलले नेपाली उपन्यासको क्षेत्रमा ‘किरायको कोख’ नामक नयाँ विषयवस्तुमा आधारित उपन्यासले प्रवेश पाएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्कम शाखाले प्रकाशन गरेको सो उपन्यासमा भूटानी शरणार्थीमाथि रचेको एउटा घटनालाई लिएर सारा शरणार्थीको जीवनलाई एकमुष्ट रुपमा हेर्न पाइनेछ । ‘किरायको कोख’ साहित्यकार शङ्करदेवको तेस्रो उपन्यास र नवौँ कृति हो ।
यसअघि उहाँले नेपाली साहित्य क्षेत्रमा ‘कालो भारी’, ‘अलौकिक मिलन’ (गोर्खा फौज उपन्यास)सहित ६ वटा कृति प्रकाशन गरिसक्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *