भर्खरै :

जलिया थरुनी

राजकुमार श्रेष्ठ
जलिया थरुनी उमेरले ९० वर्ष पार गरिसकेकी छिन् । चितवन रत्ननगर नगरपालिका–९ स्थित गड्यौलीमा स्थाई बसोबास भई उनको बिहे गाउँमै भएको हो । परिवारमा पनातिसम्म देखिसकेका उनी बच्चाको हेरचाह र हाँस, कुखुराको रेखदेखमा जीवन बिताउँछन् । चितवनको तराईमा जन्मनु र हुर्कनु उनको आफ्नै कथा व्यथा छ ।
९० सालको भूकम्पमा चितवनको तराईमा भेंडा, बाख्रा चराएर डुल्ने गरेको उनलाई सम्झना छ । दुई घरवार भएको उनको ४ छोरा र २ छोरी छन् । अहिले ३ छोरा र २ छोरी साथमा छन् । त्यसबेलाको समयमा लोग्नेको मृत्यु भएमा विधुवा आइमाईलाई थारु समाजले नै अर्को केटा खोजेर बिहे गरिदिने चलन भएको जलिया थरुनी सुनाउँछिन् । श्रीमान्को मृत्युपश्चात् उनको पनि चलनअनुसार दोस्रो विवाह भएको हो । अहिले उनी कान्छो छोराको साथमा छन् । चितवनको तराई भूभागमा धेरै थारु बस्ती रहेको छ । थारुहरूले नै झाडी फाडेर खेतीयोग्य जमिन बनाएका हुन् । आफ्नो पालामा दुई विगाहा जमिन भएको तर अहिले छोराहरूको भागमा १ कठ्ठामात्र रहेको उनी बताउँछिन् । गरिब थारु किसानहरूको बस्ने घडेरी पनि लोप हँुदै गएकोमा उनको चिन्ता छ ।
उतिबेला जलिया थरुनी जमिनदारका छोरी थिइन् । आफ्नै माइती घरमा बस्ने थारु केटासँग उनको विवाह भएको हो । थारु जातिमा पनि जमिनदार र किसानको भेद थियो । जमिनदारको घरमा गरिब भएर बस्नुपर्ने बाध्यता थियो । बालबच्चालाई जमिनदारले नै खान दिन्थ्यो । दिन रात साहुकै घरमा काम गर्नुपर्ने समाजका कहानीबारे उनी यसरी बताउँछिन्, गरिबका बालबच्चा हुर्केपछि जमिनदारकै घरमा काम गर्नुपर्दथ्यो । वर्ष दिनभरिको कामपछि दुई मुरी धान ज्यालाको रुपमा दिन्थे । महिलालाई भने वर्ष दिनको १० पाथी अन्न दिन्थे । उतिबेला महिला र पुरुषलाई ज्यालामा विभेद गर्ने चलन रहेको उनी बताउँछिन् ।
विगतमा चितवनमा थारुहरू आफ्नै रीतिरिवाज र संस्कारमा रमाउँथे । आजभोलि आफ्नो संस्कार हराउँदै गएकोमा उनी दुखेसो पोख्छिन् । चितवनका थारुहरूले मनाउने मुख्य पर्व पितृऔंसी हो । जसलाई थारु भाषामा ‘एमसा’ भनिन्छ । ‘एमसा’ पर्वमा मरेको मान्छेलाई सम्झने गरिन्छ । छोरी चेलीलाई बोलाएर खुवाउने चलन रहेको जलिया थरुनीको बुझाइ छ । घटस्थापनाको अघिल्लो दिन पितृऔंसी पर्दछ । तिहार, जितियापर्व थारुहरूले मनाउने पर्वहरू हुन् । पहाडियाहरू तराई आएकाले आफ्नो संस्कार लोप भएको उनको बुझाइ छ । उतिबेला पहाडियाहरू तराईमा आउँदा थारु महिलाहरू ढोका थुनेर लुक्ने गरेको उनकोे भोगाइ छ । पहाडियाहरू देख्नासाथ लाज मान्ने, डर लाग्ने र भाग्ने गरेको उनी बताउँछिन् । पहाडियाहरूले भैंसी दिएर जग्गा लिन्थे । डर, त्रास देखाएर पनि जग्गा लिएको उनी भन्छिन् ।
समाजमा जो टाठो, बाठो छ उसलाई नै राजनीतिले फाइदा गरेको उनको बुझाइ छ । चुनावको बेला भोट माग्न आउँछन्, नमस्कार गर्छन्, विकास गर्छौं भन्छन्, चुनावपछि देख्नै गा¥हो हुने गरेको जलिया थरुनी भन्छन् । बोलेको जस्तो व्यवहारमा नदेख्दा राजनीतिक नेताहरूप्रति विश्वास नभएको उनको बुझाइ छ । अहिलेको समाजलाई नियाल्दा विकास नभई विनास हुँदै गएको उनको बुझाइ छ । अहिले जताततै घर छ । उत्पादन हुने जग्गामा बस्ती बस्नुलाई उनी विकास नभई विनासतर्फ गएको ठान्छन् । घर घरमा पसल, होटल हुनुले स्थानीय परिकार, स्वादलाई बिर्संदै गएको उनी बताउँछिन् । कलिला युवाहरू जाँड रक्सी खाएर गाउँ, समाज र घरपरिवारमा नै झगडा गर्ने तथा युवाहरू बरालेको देख्दा उनलाई दुःख लाग्छ ।
आफ््नो समयमा विद्यालय नभएकोले उनले पढ्न पाइएनन् । जमिनदारको घरमा बाहिरबाट मास्टर ल्याएर आफ्नो छोरा छोरीलाई पढाउने गर्दथ्यो –उनी सुनाउँछिन् ।
“आफ्नो समयमा जनावरको डर हुन्थ्यो, अहिले मान्छेकै डर मान्नुपर्दछ”– जुलिया थरुनी भन्छिन् । चितवनमा बाघ, हात्ती, गैंडा, भालु, कस्तुरीजस्ता जङ्गली जनावरहरूले दुःख दिन्छन् । हात्ती, गैंडा घरमै पसेर अन्न खाइदिने गरेको उनको भोगाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *