भर्खरै :

कर्तव्यच्युत हुँदै नागरिक

– प्रकाश
फेसबुकमा एउटा चित्र भाइरल बनेको थियो – एक बालक/बालिका पोखरीमा दुब्दै गरेको हुन्छ । पोखरी वरपर बसेका भलादमी महिला तथा पुरुषहरू मोबाइलले फोटो र भिडियो खिच्दै हुन्छन् । उक्त चित्रले विभिन्न विशेषतासहितका मोबाइल भित्रिएपछि मानिसमा संवेदना मर्दै गएको र प्रविधि प्रयोगको लत बसेकोमा व्यङ्ग्य गरिएको थियो । भाइरल बनेको उक्त चित्रमाथि टिप्पणी गर्दै कतिपयले यो हुनै नसक्ने घटना वा व्यङग्य हो भने तथा कतिपयले सटिक व्यङ्ग्य भने । तर, समाजमा नागरिकहरू आफ्नो नागरिक कर्तव्य पूरा गर्नबाट च्युत भएका अनेक घटना बढ्दै गएका छन् ।
सन्दर्भ सोमबार दिउँसो नयाँ बानेश्वर बुद्धनगरमा भएको आगलागीको घटनाको हो । प्रत्यक्षदर्शी, सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो र समाचार नियाल्ने हो भने त्यहाँ रमिता मानेर हेरेर बसेका मानिसले नागरिक कर्तव्य पूरा गरेको भए आधा जति फर्निचर जल्नबाट बचाउन र आगो थप फैलिनबाट जोगाउन सकिन्थ्यो । दुर्भाग्य सबैजना आ–आफ्नो मोबाइल ठड्याएर भिडियो खिच्न र लात् गर्न व्यस्त भए तर आगोबाट सामान बचाउन सघाउनमा कोही अगाडि बढेन । भिडियो खिच्नेहरूले वारुणयन्त्रको मोटर आउँदा पनि बाटो छोडिदिएनन् । के त्यो हदैसम्मको संवेदनहिनता होइन र ? त्यस्तै कतिपय दुर्घटनाको बखत घाइतेको उद्वार गर्ने र प्रहरीलाई खबर गर्ने भन्दा फोटो र भिडियो खिच्न तम्सनेहरू कम छैनन् । नयाँ प्रविधिको प्रयोग गर्नु हुँदैन भने पंक्तिकारको मत होइन तर आगलागी, बाढी, पहिरो, भूकम्प आदि विपत्तिको क्रममा फसेका मानिसलाई जोगाउन हरसम्भव प्रयत्न गर्नु पहिलो प्राथमिकता बन्नुपर्छ भन्ने हो । यसो गर्नु नागरिक कर्तव्य हो, नैतिकता हो । धार्मिक दृष्टिकोणले साँचो धर्म हो । तर विडम्बना प्रविधि प्रयोगको नाममा मानिसहरू कर्तव्यच्युत भएर रोक्न सकिने त्रासदी रोक्नमा समेत चुकेका छन् । मानिसहको अधिकतम हितका निम्ति प्रविधिको उपयोग गर्ने हो, न कि मानिस स्वयम् प्रविधिको दास बन्ने वा प्रविधिको नसामा मानवता नै बिर्सने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *