भर्खरै :

उदयपुरमा समसामयिक विषयमा छलफल कार्यक्रम

उदयपुरमा समसामयिक विषयमा छलफल कार्यक्रम

उदयपुर, १५ वैशाख । नेपाल मजदुर किसान पार्टी सुन्दरपुर एकाइ समितिको आयोजनामा शनिबार समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कोसी प्रदेश समितिका सदस्य महेन्द्र बखुन्छेले सङ्गठनमा आबद्ध हुनाले सामूहिक भावनाको विकास हुने भएकोले विभिन्न सामाजिक गतिविधिमा लाग्न अनुरोध गर्नुभयो । उहाँले सहकारी संस्थाका सञ्चालकहरू जनताको पैसा लिएर भागिरहेको अवस्थामा गाउँ घरमा पनि बचत गर्दा सचेत हुनुपर्छ भन्नुभयो । कृषि उत्पादनमा वृद्धि गर्नको लागि सहकारी संस्था र क्लवले गाउँ घरका कृषकहरूलाई विभिन्न तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कृषि उत्पादनले मात्र देश आत्मनिर्भर हुने विचार व्यक्त गर्नुभयो । नेमकिपाले स्वदेशमै रासायनिक मलकारखाना स्थापनाको लागि सङ्घर्ष गर्दै आइरहेको बताउँदै किसानहरू जागरुक हुनुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपा कोसी प्रदेश समितिका सदस्य दिनेश खड्गीले संविधानमा आधारभूत तहसम्म निःशुल्क र अनिवार्य, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनी उल्लेख गरे तापनि शासक दलका नेताहरूकै निजी विद्यालय, कलेजमा लगानी भएको कारण ऐन कानुन नबनाएको हो भन्नुभयो । देशको शिक्षा नीति देशलाई आवश्यक जनशक्तिको आधारमा नभई बहुराष्ट्रिय कम्पनीको अनुदानमा पाठ्यक्रम परिवर्तन गरेको हुनाले युवा विद्यार्थीहरू रोजगारीको नाउँमा बेचिनुपर्ने उहाँले बताउनुभयो । उहाँले जात, धर्म र क्षेत्रको आधारमा कामदार जनताबिच द्वन्द्व मच्चाउने काम शासक दलले नै गरेको हुनाले कामदारवर्ग एक भई पुँजीवादी व्यवस्था अन्त्यको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा सुन्दरपुर एकाइ समितिका अध्यक्ष दल बहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा उदयपुर जिल्ला समितिका सचिव पूर्णबहादुर बुढाथोकीले गाउँमा भइरहेको विकृति विसङ्गतिको विषयको आवाज उठाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *