भर्खरै :

गुप्त समाजहरू

गुप्त समाजहरू

निश्चित उद्देश्य प्राप्त गर्न लुकिछिपी गठन गरिएको समूहलाई गुप्त समाज भनिन्छ । सामान्यतः गुप्त समाजमा निश्चित व्यक्तिलाई मात्र सदस्य बनाइन्छ । गुप्त समाजको अस्तित्व र उद्देश्यबारे सदस्यबाहेक अरूलाई थाहा दिइन्न । राजनीतिक दलले जस्तो गुप्त समाजले सर्वसाधारणबिच प्रचार र सङ्गठन गर्दैनन् ।
१७ औँ शताब्दीको अन्त्य र १८ औँ शताब्दीको पूर्वाद्र्धमा युरोपका अनेक देशमा राजनीतिक उद्देश्य बोकेका गुप्त समाजहरू खोल्ने चलन थियो । सामन्ती राजसत्ताविरुद्ध हुने विद्रोहमा गुप्त समाजहरूले महत्वपूर्ण भूमिका खेल्थे ।
मुक्ति सङ्घ
रूसमा १८१६ को फेब्रुअरीमा एउटा गुप्त समाजको स्थापना भयो । त्यसको नाम ‘मुक्ति सङ्घ’ थियो । निकिता र अलेक्सान्द्र मुराभ्योभ, सेर्गेइ र मात्भेइ मुराभ्योभ–अपोस्तोल, कुमार सेर्गेइ त्रुबेत्स्कोइ, तन याकुश्किन गरी उक्त सङ्गठनका ६ संस्थापक थिए । उनीहरू सबै रूसी सेनाका अफिसर थिए । भर्खरै नेपोलियनविरुद्ध मस्कोदेखि पेरिससम्मको लडाइँमा सहभागी भएर फर्केका ती अफिसरको सालाखाला उमेर २१ वर्ष पनि थिएन । स्थापनाको केही महिनामै मुक्ति सङ्घको सदस्य सङ्ख्या बढेर ३० पुग्यो । मिखाइल लुनिन र पाभेल पेस्तेलजस्ता जाँगरिला सदस्यहरू थपिए ।
‘मुक्ति सङ्घ’ का मुख्य दुई उद्देश्य थिए । एक, रूसमा तानाशाही जार शासनको ठाउँमा संवैधानिक व्यवस्था स्थापना गर्ने† दुई, रूसी किसानलाई अमानवीय भूदास प्रथाबाट मुक्त गर्ने । उद्देश्यमा स्पष्ट भएर पनि समाजका सदस्यहरूमा उद्देश्य प्राप्तिको निम्ति कुन बाटो रोज्ने भन्ने विषयमा अन्योल थियो । केही युवा जारलाई राजनीतिक र सामाजिक सुधारबारे बिन्तीपत्र लेख्ने पक्षमा थिए । अर्काथरी युवा सैन्य दबाब दिएर जारलाई संविधान जारी गराउन बाध्य पार्ने पक्षमा थिए । अन्ततः सन् १८१७ मा भएको गुप्त समाजको बैठकले एउटा नीति बनायो । जारको निधनपछि नयाँ जारले शपथ लिने बेला गुप्त समाजको प्रभावमा रहेका पल्टनहरूले शपथ लिन अस्वीकार गरेर नयाँ जारलाई संविधान जारी गर्न र सुधारका कार्यक्रमहरू लागु गर्न बाध्य पार्ने तय भयो । त्यसको निम्ति गुप्त समाजले सेना र निजामती सेवाका प्रमुख पदमा आफ्नो प्रभाव कायम गर्नुपर्ने थियो । सोही बैठकले समाजको नाम ‘पितृभूमिका सच्चा र बफादार छोराको समाज’ राख्ने निर्णय गर्यो ।
पाभेल पेस्तेलजस्ता केही युवा जारको निधनसम्म कुर्न सहमत थिएनन् । सम्राटको हत्या गर्ने योजना बनाएर अगुवाइ आफ्नो हातमा लिनुपर्ने उनीहरूको तर्क थियो । समाजका अरू सदस्य राजहत्याको प्रस्तावमा सहमत भएनन् । ठोस योजना र कार्यान्वयनको अभावमा गुप्त समाजमा निराशा बढ्दै गयो । यसैबिच समाजका बहुमत सदस्यले ‘मुक्ति सङ्घ’ विघटन गर्ने र व्यापक सदस्यतासहित अझ प्रभावकारी नयाँ गुप्त समाज बनाउने निर्णय गरे ।
समृद्धि सङ्घ
मुक्ति सङ्घकै जगमा सन् १८१८ मा ‘समृद्धि सङ्घ’ नामक नयाँ गुप्त समाजको स्थापना भयो । सेना र निजामती सेवामा रहेका सुधारवादी युवाहरूलाई नयाँ समाजमा भित्याउन अगुवा सदस्यहरू सक्रिय भए । धेरैभन्दा धेरै कुलीन युवाहरूलाई सुधारको पक्षमा तान्ने हेतुले वैध सांस्कृतिक र साहित्यिक समाजहरूमा गुप्त समाजका सदस्यहरू सक्रिय भए । कानुनी समाजहरूमा हुने छलफलमा समृद्धि सङ्घका सदस्यहरूले भूदास प्रथा, अधिकारीहरूको स्वेच्छाचारिता, सेन्सरसीप, सेनाभित्रको क्रूर सजाय व्यवस्था आदिबारे मन्तव्य दिन्थे । उनीहरू बरोबर पत्रिकाहरूमा लेख लेख्थे । केही समयमै ‘समृद्धि सङ्घ’ को सदस्यता २ सत्न्दा बढी पुग्यो । तीमध्ये अधिकांश सदस्य सैन्य अधिकारी थिए । बाँकी सदस्य सैनिक सेवाबाहिरका जमिनदार एवम् सम्भ्रान्त युवा थिए । ‘समृद्धि सङ्घ’ को नीतिगत निर्णय गर्ने एउटा केन्द्रीय समिति र ६ जनाको अर्को कार्य समिति बनाइएको थियो । साथै, सेन्ट पिटर्सबर्गबाहेक मस्को र दक्षिणका तुलचिन, किसिनेभलगायत सहरमा क्षेत्रीय समिति बनाएर समाजको प्रभावलाई देशव्यापी बनाउने कोसिस भयो ।
‘समृद्धि सङ्घ’ को विधानको पहिलो खण्डमा साङ्गठनिक ढाँचा र कानुनी गतिविधिबारे लेखिएको थियो । सीमित सदस्यलाई मात्र जानकारी दिइने दोस्रो खण्डमा समाजको अन्तिम उद्देश्यबारे लेखिएको थियो । सेना र सरकारी संरचनाहरूमा पहुँच बढाउँदै उपयुक्त समयमा सरकारलाई संविधान जारी गर्न बाध्य पार्ने समाजको मुख्य उद्देश्य थियो । भूदासहरूलाई मुक्त गर्ने दोस्रो उद्देश्य थियो । सैनिक सेवाको अवधि छोट्याउने अर्को महत्वपूर्ण उद्देश्य थियो । तिनताका एउटा सामान्य रूसी कुलीन युवाले सालाखाला २३ वर्ष सेना वा सरकारी सेवामा काम गर्नुपर्ने अनिवार्य प्रावधान थियो ।
भियना सम्मेलनपछि जार अलेक्सान्दरले विशाल रूसी साम्राज्यको पूर्वदेखि पश्चिमसम्म भूदासहरूका सैनिक बस्ती बसालेका थिए । शान्तिको समयमा उत्पादनमा सहभागी गराउने र युद्धको समयमा लड्न पठाउने उद्देश्यले बनाइएका ती बस्तीहरूमा कडा सैनिक अनुशासन पालन गर्नुपथ्र्याे । बिहेवारी गर्न भूदासहरूले अधिकारीहरूको अनुमति लिनुपथ्र्याे । महिलाहरूले खाना पकाउन पनि साइरनको आवाज पर्खिनुपथ्र्याे । गर्भवती भएको जानकारी समयमै अधिकारीहरूलाई दिनुपथ्र्याे । उदार विचारका डिसेम्बरवादीहरू जेलसरहका ती सैनिक बस्तीहरूको विरोधमा थिए ।
‘समृद्धि सङ्घ’ को अर्को उद्देश्य रूसी प्रशासनका मुख्य पदहरूबाट ‘विदेशी’ लाई निकाला गर्नु थियो । त्यस बखत सरकारका महत्वपूर्ण पदमा जारले जर्मन वा बाल्टिक क्षेत्रका विभिन्न जातका मान्छेलाई विश्वासका साथ नियुक्त गर्थे । ‘रूसीहरू रूसको निम्ति काम गर्छन् भने अन्य जातिका मान्छेहरू जारको निम्ति काम गर्छन्’ भन्ने जारको विश्वास थियो ।
सन् १८२० देखि १८२२ सम्म इटालीको नेपल्स र पियडमोन्ट तथा स्पेन र ग्रीसमा संविधानको माग गर्दै सामन्तवादविरोधी विद्रोहहरू भए । युरोपमा स्थायित्व कायम गर्ने नाममा रूस, अस्ट्रिया र प्रसियाको संयुक्त सेनाले ती विद्रोहलाई निर्मतापूर्वक दबायो । त्यो प्रतिक्रियावादी साँठगाँठलाई ‘पवित्र गठबन्धन’ भनिन्छ । रूसी सम्राट अलेक्सान्दर त्यस गठबन्धनका नाइके थिए । गुप्त समाजका केही सदस्यमा जारमार्फत नै रूसमा सुधारका कार्यक्रमहरू लागु गर्न सकिन्छ कि भन्ने झिनो आशा थियो । विदेशमा क्रान्तिकारी आन्दोलनहरू दबाउन अलेक्सान्दरले देखाएको सक्रियताले ‘बिन्तीपत्र होइन सैनिक विद्रोह’ भन्ने भावना बलियो हुँदै गयो । शान्तिपूर्णरूपमा संविधान जारी गराउन सकिने सम्भावनाबारे सदस्यहरूमा शङ्का बढ्दै गयो । यसैबिच ‘समृद्धि सङ्घ’ मा जारलाई फालेर सम्पूर्ण व्यवस्था नै पल्टाउनुपर्छ र रूसी गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने पक्षमा मत बढ्दै गयो । सङ्घको मूल नेतृत्व संवैधानिक राजतन्त्रको पक्षमा थियो, जारको हत्याको विरोधमा थियो ।
यसैबिच राजधानीको सेम्योनोभ्स्की पल्टनमा घटेको एउटा घटनाले ‘समृद्धि सङ्घ’ लाई विघटनको सङ्घारमा पु¥यायो । सन् १८२० को शिशिरमा नयाँ आएका कर्नेलको क्रूर व्यवहारले पल्टनमा नरम विद्रोह निम्त्यायो । सैनिक अधिकारीहरूले पल्टनमा गुप्तरूपमा वितरण गरिएका दुइटा पर्चा भेट्टाए । एउटा पर्चामा जारलाई सबभन्दा ठुलो डाँकु घोषणा गरिएको थियो र जारको तानाशाहीविरुद्ध विधिको शासनको निम्ति विद्रोह गर्नुपर्ने लेखिएको थियो । अर्को पर्चामा अन्य पल्टनलाई आफ्ना सैनिक हाकिमहरूलाई गिरफ्तार गर्न र आफूमध्ये बाटै अफिसरहरू निर्वाचित गर्न आह्वान गरिएको थियो । यसमा ‘समृद्धि सङ्घ’ का सदस्यहरूको नैतिक समर्थन भए पनि प्रत्यक्ष संलग्नता थिएन । तर, त्यस घटनाले सजग बनेका जारले सेर्गेइ मुराम्योभजस्ता पल्टनका प्रगतिशील अफिसरहरूलाई राजधानीबाट निकाला गरी दक्षिणका छाउनीहरूमा पठाइदिए । पल्टनका सम्पूर्ण सैनिकलाई ककेसियाको लडाइँमा पठाइयो ।
सेम्योनोभ्स्की घटनापछि कमजोर मन भएका नरम सदस्यहरू ‘समृद्धि सङ्घ’ बाट टाढिन थाले । राजधानी पिटर्सबर्ग र मस्कोका समूहहरू निष्क्रिय बने । अन्ततः विभिन्न शाखाका दर्जन मानिसहरूको भेलाले सन् १८२१ को सुरूमा समृद्धि सङ्घ’ लाई विघटन गर्ने निर्णय गयो । समाजलाई ‘उग्रपन्थी र पलायनवादीहरूको प्रभावबाट मुक्त गर्न र जारको आँखा छल्न गरिएको निर्णय थियो त्यो । केही सीमित विश्वासिला मानिसहरूको नेतृत्वमा ‘उत्तरी समाज’ को नाममा गुप्त समाज सक्रिय रह्यो । दक्षिणको युक्रेनी क्षेत्रमा रहेका शाखाहरूले विघटनको निर्णय स्वीकार गरेनन् र स्वतन्त्ररूपमा ‘दक्षिणी समाज’ को नाममा सक्रियता कायम राखे ।
उत्तरी र दक्षिणी गुप्त समाज
उत्तरी गुप्त समाज केही समय निष्क्रिय रह्यो । त्यसमा आबद्ध सदस्यको सङ्ख्या औँलामा गन्न सकिने अवस्थामा पुग्यो । तर, सन् १८२३ बाट उत्तरी समाज फेरि चलमलाउन थाल्यो । कुमार सेर्गेइ त्रुबेत्स्कोइ, कुमार येभगेनी ओब्लेन्स्की र निकिता मुराभ्योभ गरी तीनजनाको कार्य समिति बन्यो । निकिता मुराभ्योभ पश्चिम युरोप र अमेरिकाका राजनीतिक साहित्यहरूको गहिरो अध्ययन गरेका व्यक्ति थिए । निकितालाई उनका समकालीनहरू एउटा विश्वविद्यालयसरह मान्थे । विद्रोहपछि स्थापना हुने नयाँ रूसको निम्ति उनले संविधानको खेस्रा गरेका थिए । त्यसलाई पछि निकिता संविधान’ भनियो । जुनसुकै सम्राट संविधानको सीमाभित्र रहनुपर्छ र त्यसको लागि संवैधानिक राजतन्त्र उपयुक्त हुने उनको ठम्याइ थियो । भूदासहरूको मुक्ति र संवैधानिक व्यवस्था ल्याउन लामो समय शान्तिपूर्ण प्रचारको अवधि पार गर्नुपर्ने उनको मत थियो । उत्तरी समाजमा गणतान्त्रिक व्यवस्थाका पक्षधरहरूको पनि सहभागिता थियो ।
दक्षिणी समाज गणतन्त्रवादी पाभेल पेस्तेलको नीतिगत नेतृत्वमा चलेको थियो । कार्यक्षेत्रमा सेम्योनोभ्स्की घटनापछि दक्षिण धपाइएका सेर्गेइ मुराभ्योभ र मिखाइल रुमिनजस्ता युवाहरू सक्रिय भए । निकिता मुराभ्योभले जस्तै पाभेल पेस्तेलले भावी रूसको निम्ति गणतान्त्रिक संविधान तयार पारेका थिए । राजनीतिक र सामाजिक परिवर्तनको निम्ति दक्षिणी समाजमा आबद्ध युवाहरू अधैर्य बनेका थिए । उनीहरू कुनै पनि स्वरूपमा जार वा राजासहितको व्यवस्थाको विरुद्धमा थिए । त्यसको निम्ति जारमात्र होइन, आवश्यक परे उनका सम्पूर्ण उत्तराधिकारीहरूको सफाया गर्नुपर्ने विचार केही सदस्यहरू राख्थे । पाभेल पेस्तेल भूदासहरूको मुक्तिसँगै राज्यको खेतीयोग्य जमिन आधा राष्ट्रियकरण गर्ने र आधा मुक्त किसानहरूलाई वितरण गर्ने पक्षमा थिए ।
दुवै गुप्त समाजमा विद्रोहको सफलतापछि कस्तो व्यवस्था ल्याउने भन्ने विषयमा व्यापक बहस हुन्थ्यो । तर, विद्रोह सफल पार्न कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा अन्योल थियो । दुवै गुप्त समाज सन् १८२० को स्पेनी विद्रोहजस्तै शुद्ध सैनिक विद्रोहको माध्यमबाट अगाडि बढ्ने तर सकेसम्म थोरै रगत बगाउने पक्षमा थिए । फ्रान्सेली क्रान्तिमा जस्तै व्यापक जनतालाई समेट्दा विद्रोहले अराजकता निम्त्याउँछ भन्ने विचार प्रभावशाली थियो । जनतालाई सङ्गठित गर्ने कुरामा उनीहरूले ध्यान दिएका थिएनन् ।
सन् १८२३ मा पाभेल पेस्तोलले दक्षिणी गुप्त समाज कुनै पनि समयमा विद्रोहको निम्ति तयार रहेको खबर उत्तरी समाजमा पठाए र उत्तरी समाजको साथ खोजे । तर, उत्तरी समाज तत्काल विद्रोहको निम्ति तयार थिएन । संयुक्त छलफलमा विद्रोह दुवै समाजको सहमतिमा मात्र अगाडि बढाउने टुङ्गो लाग्यो । दुवै समाजले छुट्टाछुट्टै आ–आफ्नो तयारी अगाडि बढाइरहे ।
सन् १८२४ मा दक्षिणी समाज र पोल्यान्डको गुप्त समाजबिच एउटा सम्झौता भयो । पोल क्रान्तिकारीहरूले रूसीहरूलाई विद्रोहमा साथ दिने र बदलामा विद्रोह सफल भएपछि पोल्यान्डलाई रूसबाट स्वतन्त्र हुन सहयोग गर्नुपर्ने सहमति बन्यो । सन् १८०७ मा नेपोलियनले प्रसियाबाट टुक्रयाएर पुनः स्थापित गरेको पोल्यान्डको राजधानी वार्सासहितको दुईतिहाइ भूभाग सन् १८१९ को भियना सम्मेलनबाट अलेक्सान्दरले रूसी साम्राज्यको अधीनमा ल्याएका थिए ।
सन् १८२५ को गर्मी याममा संयोगले युक्रेनी क्षेत्रमा सक्रिय अर्को क्रान्तिकारी समूह ‘स्लाभ जातिहरूको संयुक्त सङ्घ’ सँग दक्षिणी समाजका नेताहरूको भेटघाट भयो । विद्रोह सफल भएपछि रूसी, युक्रेनी, बेलारूसीलगायत विभिन्न स्लाभ जातिहरूको स्वायत्ततासहितको सङ्घीय देश बनाउने सर्तमा ‘स्लाभ जातिहरूको संयुक्त सङ्घ’ दक्षिणी सङ्घमा सामेल हुन तयार भयो ।
सन् १८२४ मा उत्तरी समाजका नेतृत्वकर्तामध्ये एक कुमार सेर्गेइ त्रुबेत्स्कोइ युक्रेनमा सरुवा भए । उनको ठाउँमा उत्तरी समाजको नेतृत्वमा कोन्द्राती रिलेयेभ नामक एक कवि स्थापित हुँदै थिए । उनी गणतन्त्रवादी थिए । दक्षिणमा रहँदा कुमार सेर्गेइ त्रुबेत्स्कोइ निरन्तर दक्षिणी गुप्त समाजसँग सम्पर्कमा रहे । सन् १८२५ को नोभेम्बरमा उनी राजधानी फर्किनुअघि दुवै समाजको बिचमा एउटा सहमति भइसकेको थियो । सन् १९२६ को मे महिनामा जार दक्षिण रूसको सैनिक निरीक्षणमा आउने खबर थियो । त्यति नै बेला जारको हत्या गरेर विद्रोह सुरु गर्ने† उत्तरी समाजले जारका उत्तराधिकारीहरूलाई गिरफ्तार गर्ने† दक्षिणको सेना मस्को र पिटर्सबर्ग पुगेर सत्ता कब्जा गर्ने† एक अन्तरिम सरकार स्थापना गरेर नयाँ संविधान जारी गर्ने तय भएको थियो ।
घटनाक्रमले सोचेभन्दा फरक मोड लियो । विद्रोहको योजना गरिएको ५ महिनाअगावै १८२५ डिसेम्बरमा जार अलेक्सान्दर प्रथमको मृत्यु भयो । जारको मृत्यु र त्यसले निम्त्याएको अलमल विद्रोहीहरूको निम्ति मौका थियो । तर, दूरीका कारण उत्तर र दक्षिणका समाजहरूबिच तत्काल सम्पर्क गर्न सकिने अवस्था थिएन । अन्ततः सेनाले नयाँ जार निकोलस प्रथमको नाममा शपथ लिने भनी तोकिएको डिसेम्बर १४ (२६) का दिन विद्रोह सुरु गर्ने निर्णय ’उत्तरी समाज’ ले गर्यो । त्यसको जानकारी ‘दक्षिणी समाज’ मा पु¥याउन पठाइएका दूत दुई हप्तापछि दक्षिणको भासिल्कोभ सहर पुग्दासम्म पिटर्सबर्गको विद्रोह असफल भएर दक्षिणका क्रान्तिकारीहरूको नाममा पक्राउ पुर्जी जारी भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *