भर्खरै :

बडाराष्ट्र अहङ्कारवादबाट सार्कलाई जोगाऊ

३३ वर्षअघि सन् १९८५ डिसेम्बर ८ का दिन स्थापना भएको सार्क आज लगभग कोमा अवस्थामा छ । २०७१ मंसिर १० र ११ गते काठमाडांैमा सम्पन्न अठारौं शिखर सम्मेलनयता सार्कको शिखर सम्मेलन भएको छैन । पाकिस्तानको राजधानी इस्लामाबादमा २०७३ कार्तिक २४–२५ हुने निर्धारित उन्नाइसौं शिखर सम्मेलन भारत सहभागी नबन्ने घोषणा गरे पनि स्थगित भएको थियो । मूलतः भारत–पाकिस्तान शत्रुतापूर्ण सम्बन्ध र सार्कलाई आफ्नो छत्रछायाँमा राख्ने भारतीय सोचका कारण सार्क सङ्गठन प्रभावकारी बन्न सकेको छैन । चीनलाई सार्कको पर्यवेक्षक बनाउने प्रस्ताव भारतलाई मनपरेको थिएन । साथै पाकिस्तानसँग भारतको तिक्ततापूर्ण सम्बन्धका कारण सार्क सञ्चालनमा यसअघि पनि पटक–पटक समस्या नआएका होइनन् ।
सार्क क्षेत्रीय सङ्गठन हो । सार्कसम्बद्ध देशहरूको आर्थिक, सामाजिक र सांस्कृतिक हित नै यो सङ्गठनको मूल लक्ष्य हो । सार्क सम्बद्ध प्रत्येक देशको समान हैसियत छ । सार्कभित्रका कुनै पनि एउटा देशले अर्को देशमाथि हस्तक्षेप सार्कको भावना र लक्ष्यविपरीत हो । कुनै पनि दुई देशबीचको समस्या आपसमा बसी समाधान गर्न सार्कले सहयोग गर्न सक्दछ । तर सार्कलाई कुनै पनि दुई देशबीचको द्वन्द्वको मञ्च बनाइनु उचित होइन । सार्कको बडापत्रमा प्रष्टतः यो कुरा उल्लेख छ । तर विशेषतः भारतले सार्कलाई आफ्नो तखतमा राख्ने र आफ्ना निर्णय अन्य सार्क देशमाथि लाद्ने प्रयास गर्दैआएको छ । भारतले पाकिस्तानसँगको आफ्नो रिसइवी र चीनसँगको ईष्र्या पोख्ने मञ्च सार्कलाई बनाउँदै आएको छ । उसका यस्ता गतिविधि वास्तवमा सार्कको भावनाविपरीत हो ।
३३ वर्ष लामो इतिहास बोकेको सार्कको आजको अवस्था हेर्दा यसले अत्यन्त धिमा गतिमा प्रगति गरिरहेको प्रस्ट छ । क्षेत्रीय सङ्गठनको रुपमा अन्तर्राष्ट्रिय मञ्चमा सार्कले हासिल गर्नुपर्ने उचाइ हासिल गर्न सकेको छैन । सार्कले उचाइ लिंदा अन्तर्राष्ट्रिय समुदायमा भारत आफू छायाँमा पर्ने डर पालेर बसेको छ । बरू भारत अन्तर्राष्ट्रिय मञ्चहरूमा सिङ्गो दक्षिण एसियाली देशको आफू नै आधिकारिक नेताको रुपमा उभिने चाहना राख्दछ । अनि भारतको यस्तो मनसायविरुद्ध उभिने कुनै पनि मतप्रति ऊ असहिष्णु बन्दै आएको छ ।
विश्वमञ्चमा दक्षिण एसियाको महत्व र चर्चा दिनानुदिन व्यापक बन्दै गएको छ । दुई वटा विश्वयुद्ध भोगिसकेको पश्चिमा विश्वको अर्को लडाइँ एसियाको पोल्टामा पार्ने विचार र एसियाली देश चीन स्वयं संसारका महाशक्ति देशलाई चुनौती दिनसक्ने हैसियतमा विकास हुनुका कारण सिङ्गो एसिया आज कुनै न कुनै कारण विश्वमञ्चमा हावी बनेको छ । दक्षिण एसिया आफै पनि संसारका शक्ति देशहरूको निशाना बनिरहेको छ । यस्तो परिस्थितिमा दक्षिण एसियाली देशबीचको सहकार्य र समन्वय अझै अपरिहार्य बन्दै गएको छ । तर बडाराष्ट्र अहङ्कारवादको मनोविज्ञान बोकेका भारतीय विस्तारवादी शासक वर्गले क्षेत्रीय सहयोग र समन्वत्न्दा पनि क्षेत्रको एकतर्फी नेता बन्ने होडमा लागेको छ । सार्कबाट सबै समस्याको समाधान सम्भव छैन । सार्कको मञ्चबाट समाधानको खोजीसम्म हुनसक्दछ । समस्याको समाधान गर्ने मञ्च सार्क हुनसक्दैन । तर आजको अवस्थाको सार्कले त्यो काम पनि गर्नसक्दैन । सार्कलाई पङ्गु बनाएर कुनै पनि देशलाई फाइदा हुन सक्दैन । बरू सक्रिय भएको अवस्थामा सबै देशलाई कुनै न कुनै हित अवश्य हुनेछ ।
सार्कलाई क्षेत्रीय अहङ्कारको कालो छायाँबाट मुक्त गरौं । आफ्ना सङ्कीर्ण स्वार्थ पूरा गर्न सार्कको विकल्पको खोजी गर्नु गलत हो । सार्कका कुनै पनि सदस्यलाई दुश्मनीका आधारमा निषेध गर्न सार्कमाथि सौता ल्याउनुले दक्षिण एसियामा राजनीतिक असन्तुलनको कारण हुनसक्छ । सार्कको अध्यक्ष हुनुको नाताले नेपालले यसबारे सुझबुझपूर्वक कूटनीतिक पहलकदमी अघि बढाउन जरुरी छ । यथाशक्य चाँडो सार्क सम्मेलन गर्न नेपालले भूमिका खेल्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *