भर्खरै :

कसरी बन्छ नेपाल विश्वमा छिटो विकास हुने देश !

– गौरव प्रधान
मनको लड्डु बाँडेर सबैलाई दङ्ग पारेर आनन्द लिने प्रवृत्तिका नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सपनाका सन्देशहरू कति बाँडे कति ! हरेक सभा र बैठकमा बाँडेका यस्ता मीठा र आकर्षक सपनाहरू सङ्कलन गरेर एकै ठाउँमा राखे देशको राजधानी काठमाडौँमा थुप्रिने फोहरका डङ्गुरभन्दा कम हुँदैन । राष्ट्रिय योजना आयोगद्वारा शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा आयोजित दिगो विकास लक्ष्य निर्देशक समिति तथा १५ औँ योजनाको तयारी बैठकमा प्रधानमन्त्री केपी ओलीले भने – ‘‘हामी विश्वका सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौँ ।’’
विश्वमै सबभन्दा छिटो विकास गर्ने देश प्रधानमन्त्रीले फुकेपछि हुने हो र ? विकासका कुनै आधार या पूर्वाभ्यास तयार नगर्दै के नेपाल विकास छिटो हुने सूचीमा पर्छ ? विश्वकै गरिब, भ्रष्टाचार र अनियमितताको सूचीमा दरिएको नेपाललाई कसरी सबभन्दा छिटो विकास हुने मुलुकमा पर्छ ? बुझिनसक्नु छ । एउटा सानो काम थालेपछि, एउटा सुधारमूलक नीति ल्याएपछि नयाँ युगको सुरूवातको अनुभव गर्ने नेपालको सरकार, सरकारी नेताहरूले बोलेको कुरा सुन्दा त नेपाल उहिल्यै विकसित देश बनिसक्नुपर्ने हो । तर देशका ठूला शक्तिशाली, जनवादी र क्रान्तिकारी भन्ने दलले पटक–पटक सरकारको नेतृत्व गरे पनि देश गरिबको गरिब । प्रम ओलीले देशमा नयाँ युगको सुरूवात भएको बाँडेको सन्देशको स्वर सेलाउन नपाउँदै अर्का अध्यक्ष दाहालले देशको ‘विकासको युद्ध’ सुरू भएको फुके ।
संविधानसभाको सुरूको निर्वाचनताका एमाले, माओवादी, जनमोर्चाजस्ता दलका नेताहरूले नयाँ नेपालको नारा फलाकेका थिए । देश सङ्घीय बनेपछि सबथोक हुने आश्वासन उनीहरूले बाँडेका थिए । नानीदेखि लागेको बानीलाई नेताहरूले अहिले पनि छोडेका छैनन् । छलको राजनीति गरेर जनतामाझ भ्रमको खेती गर्ने नेताहरूको त्यो बानीबारे पार्टीभित्रका इमानदार नेता, मन्त्री, सांसद, प्रदेश सदस्य तथा कार्यकर्ताहरू किन मौन ? के मनलागी बोल्ने, आश्वासन दिने मन्त्री र नेताहरूको स्वेच्छाचारी नेकपालाई सह्य हुन्छ ? नेकपा साँच्चै कम्युनिष्ट पार्टी नभएरै यहाँ छल, भ्रमको खेतीमात्र होइन भ्रष्टाचार, अनियमितता भइरहेको हो । जसको तरवार उसको दरबार भनेझैँ राज्यको स्रोत र साधनमा सत्तासीन दलले ढुकुटी रित्याइरहेको हो ।
सरकारले एउटा नयाँ उद्योग खोल्न सकेको छैन । अरूको देशको भरमा चलेको सरकारले छिटो विकास हुने मुलुकको सूची राख्ने प्रयास के कल्पनाको धुनमा नाचेको नाचजस्तै हुँदैन ? प्रम ओलीले भनेझैँ कति वर्षपछि नेपाल छिटो विकास हुने देशमा पर्छ ? कि अहिल्यै छिटो विकास हुने काम सुरू भयो ? देशको मुहार फेर्ने हो भने भ्रष्टाचार, अनियमितता अन्त्य हुनुपर्छ । भ्रष्टाचारी, कमिसनखोर र पदको दुरूपयोग गरी अकूत सम्पत्ति कुम्ल्याउनेहरूमाथि कारबाही गर्नुपर्छ । गृहमन्त्रीले त्यो पनि फुकेकै हुन् । तर व्यवहारमा देखिएन । नेपाली जनताले कहिलेसम्म सरकारी आश्वासनको पोकोमै अल्झेर सन्तोषको सास फेरिरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *