भर्खरै :

सडक मजदुरी ः काम कठिन, आम्दानी अनिश्चित

–राजकुमार श्रेष्ठ
भरतपुर, ७ पुस । “नारायणगढमा मजदुरी गरी बसेको बीस वर्ष भयो । सम्पति जोड्न सकेको छैन । घर परिवार चलाउनै धौ धौ छ ।”– यो भनाइ विष्णुनारायण चौधरीको हो । हाल उहाँ नारायणगढको पशुपति रोड केरियरमा गाडीबाट माललोड अनलोड र ठेलामा सामान राखेर पसल–पसलमा पु¥याउने काम गर्नुहुन्छ ।
उमेरले ४० वर्ष पार गरेका उहाँ केही पैसा कमाउनको लागि ट्रान्सपोर्टमा मालवाहक गाडीको पर्खाइमा बस्नुहुन्छ । ट्रान्सपोर्टमा सामान बोक्ने गाडी धेरै आएमा केही सय रुपैयाँ कमाइ हुने र गाडी कम आए थोरै कमाइ हुने बताउँदै उहाँ भन्नुहुन्छ – दुःख पनि त्यत्तिकै गर्नुपर्दछ ।
विष्णुनारायण चौधरीको घर सर्लाही हो । बागमतीमा आएको पचास सालको बाढीले उहाँको गाउँ, घर पनि डुबानमा प¥यो । सरकारले बाढीपीडितलाई रौतहट जिल्लामा बस्ती सा¥यो । सरकारले पुनः बस्ती उठाएपछि उहाँ भूमिहीन हुनुभयो । हाल रौतहट जिल्लाकै सुकुमवासी बस्तीमा ससुरालीको जग्गामा घर बनाएर बस्दै आएको उहाँ बताउनुहुन्छ ।
परिवारमा तीन छोरा र एक छोरी छन् । एक्लैको कमाइले परिवार चलाउन गाह्रो भएको उहाँको दुखेसो थियो । बलको काम गर्नुपर्दछ । कामअनुसारको ज्याला नहुनाले यो कामप्रति उहाँ सन्तुष्टी देखिन्नुहुन्न थियो । बिहानैदेखि बेलुका आठ नौ बजेसम्म काम गर्नुपर्दछ । काम गरे पैसा पाइन्छ नगरे खान पनि पाइँदैन । उहाँ भन्नुहुन्छ – “बिरामी भए काम गर्न सकिन्न, उपचार गर्न पनि पैसाको समस्या हुन्छ ।”
पहिला नारायणगढमा श्रमिक रिक्सा चलाएको थिएँ । रिक्साबाट कमाई हुन छाडेपछि ट्रान्सपोर्टमा काम गरेको ७ वर्ष भयो । दैनिक तीन सयदेखि एक हजारसम्म कमाइ हुन्छ । सधैं यस्तो गाह्रो कामगर्न सकिन्न । सजिलो काम पाइँदैन । भोलिको दिन सम्झँदा दुःख लाग्छ । छोराको बिहेको ऋण छ । घरमा श्रीमती बिरामी छन् । गरिब भनी बुहारीले छोरालाई छाडेर गइन्, उहाँ आफ्नो पीडा सुनाउनुहन्छ ।
दुःख गरेर खाने मान्छेलाई राजनीतिप्रति कम चासो हुने उहाँको बुझाइ छ । परिवार पाल्न, काम गर्नमै गरिबको समय बित्छ । पहाडमा जस्तो तराईका जिल्लाहरूमा विकास हुन सकेको छैन । तराईमा ठूलठूला जमिनदार हुन्छन् । राजनीति पनि धनी हुनेखानेले नै गर्छन् । तराईमा बढी भ्रष्टाचार हुन्छ, विष्णुनारायण बताउनुहुन्छ ।
कक्षा ३ सम्म पढ्न पाइयो । बुबाआमाको कमाइले घर चलाउन गाह्रो भएपछि काम गर्न सानै उमेरमा घर छाडेको उहाँले भन्नुभयो । खेती गर्न जग्गा कम थियो । अरुको जग्गामा खेती गर्दा उत्पादन भएको आधा भाग दिनुपर्ने, पैसाको समस्या भने सधैं परिरहने उहाँ सुनाउनुहुन्छ ।
“कथित जनयुद्ध, जन आन्दोलनले हामीजस्ता गरिबहरूको लागि केही पनि परिवर्तन ल्याउन सकेन । सडक, बाटो, ढलहरू कहींकतै विकासको नाममा देखापरेको छ । कामभन्दा पनि धेरै कमिसन खाने नेताहरूको विश्वास लाग्दैन । शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण कुराहरू राज्यले जिम्मा लिनुपर्दछ,” मजदुर चौधरी भन्नुहुन्छ । चुनावको बेला नेताहरू भोट माग्न आउँछन् । चुनावपछि आफ्नै काममा व्यस्त भइन्छ । सरकार र नेताहरूको हामीलाई केही मतलब नभएको कुरा उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *