भर्खरै :

बर्दियामा महिला र विद्यार्थी भेला

बर्दिया, ७ पुस । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय महिला तथा विद्यार्थी भेला सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले सिद्धान्तनिष्ठ र अनुशासित कार्यकर्ता भएको क्रान्तिकारी पार्टीले समाजवादी आन्दोलनको नेतृत्व गर्नसक्ने बताउनुभयो ।
उहाँले सत्तासुखको लोभमा समाजवादी सिद्धान्तलाई विश्वासघात गर्नेहरूले समाजवादी व्यवस्था स्थापनाको निम्ति कहिल्यै इमानदार योगदान गर्न नसक्ने बताउनुभयो ।
उहाँले ‘कम्युनिष्ट’ नामले भन्दा पनि व्यवहारमा हुने बताउँदै उत्पादनका साधनको सामाजिकीकरण गर्ने, योग्यताअनुसारको काम र कामअनुसार ज्यालाको बन्दोबस्त गर्ने, जमिन जोत्नेलाई दिने, शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकतालाई निःशुल्क गर्ने सरकार नै कम्युनिष्ट र समाजवादी सरकार हुने धारणा राख्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखतबहादुर थापाले समाजमा आमूल परिवर्तन सङ्ख्या र भीडले भन्दा विचार र सिद्धान्तले गर्ने धारणा राख्नुभयो । उहाँले विचार र सिद्धान्तहीन पार्टी केही समयको लागि ‘सफल’ जस्तो देखिए पनि अन्ततः विचारको शून्यताले उनीहरूको पतन हुने बताउनुभयो ।
“नेमकिपा नै नेपालका व्यापक कामदार जनताको पक्षमा वैचारिक सङ्घर्ष गरिरहेको पार्टी हो । ‘कम्युनिष्ट’ नाम झुण्ड्याएर कामदार जनताको हितविपरीत काम गर्ने पुँजीवादी पार्टीको वास्तविकता उदाङ्गिनेछ ।”, उहाँले भन्नुभयो ।
नेमकिपा बर्दिया जिल्ला समितिका अध्यक्ष हरिलाल न्यौपानेको सभापतित्वमा भएको भेलामा महिला कार्यकर्ता कोपिला शाही, लक्ष्मी पोखरेल, मञ्जु चौधरीलगायतले बोल्नुभएको थियो ।
भेलाले डमरु विष्टको संयोजकत्वमा नेपाल क्रान्तिकारी महिला सङ्घ बर्दिया जिल्ला समिति र मनिषा थारुको संयोजकत्वमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ बर्दिया जिल्ला समिति पुनःगठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *