भर्खरै :

चिसो छल्न दुई सय मिटर तल झर्छन् फू वासी

मनाङ, ११ पुस । मंसिरको दोस्रो हप्ता सुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् । तर, मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका छन् । नेपालको दुर्गम जिल्लामध्ये ‘क’ वर्गमा पर्ने मनाङ जिल्ला त्यसमा पनि सबैभन्दा विकट गाउँ हो, फू गाउँ ।
करीब ४ हजार १०० मिटर उचाइमा रहेको यस गाउँका मानिस कृषि पेशामा निर्भर छन् । पशुपालन र खेतीपाती यहाँको मुख्य पेशा हो । वरिपरि अग्ला हिमालले घेरिएको सुन्दर सानो बस्ती रहेको यस गाउँको जनसङ्ख्या करीब ३०० रहेको छ ।
हिउँदको समयमा अत्यधिक चिसो हुने र गाउँलाई हिउँले ढाक्ने हुँदा यहाँका मानिस जाडो छल्न गाउँबाट करीब चार÷पाँच घण्टा लाग्ने क्याङमा आएर बस्दछन् । उनीहरू आफ्ना साना नानीबाबु पशुचौपाया लिएर यसै ठाउँमा बसोवास गरिरहेका हुन्छन् ।
“हुने खाने त सहर जान्छन् तर हामी खेती किसानी गर्ने यसरी नै जीवनयापन गरिरहेका छाँै”, ७० वर्षका टसी फुञ्जो लामाले भन्नुभयो । “दिनभर दाउरा, घाँस, भेँडा च्याङ्ग्राको स्याहार सुसारमा लाग्दा चिसोको अनुभव नै हँुदैन”, राडीपाखी, काम्लो, बख्खु, दोचा बनाएर गोठमा रमाइरहेकी ६५ वर्षकी छोर्तेन लामाले भन्नुभयो, “खेतीपातीको समय छैन, जाडोको मौसममा हामी महिला यिनै भेँडाचौँरीको ऊन कात्ने र त्यसैबाट आफूहरूले लगाउने कपडा बनाउने काम गर्छौं ।”
ऊनबाट आफ्नै हातले बुनेका बख्खु दोचाले हिमालको चिसो कटाउँदै आएका फू बासिन्दा जाडो याम सकिएपछि गाउँ फर्कने र खेतीपातीमा लाग्ने मिङ्मर लामाले बताउनुभयो । अनौठो तर सुन्दर यो स्वर्ग जस्तो गाउँ दूरदराजमा लुकेर रहेको छ । मानिस पौरखी छन् । आफ्नै सीप र पौरखमा आत्मनिर्भर बनेको यो गाउँका मानिस गाउँमा विकासको पर्खाइमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *