भर्खरै :

निकट भविष्यमा कस्तो होला संसार ?

निकट भविष्यमा कस्तो होला संसार ?

एक आँखीझ्याल

साम्राज्यवादविरोधी डिग्रोथतर्फ
उत्तरी गोलाद्र्धको अति पुँजी सञ्चय गाजालगायत क्षेत्रलाई अविकसित राखेर र ती क्षेत्रमा गरिने ‘फोहर सञ्चय’ का कारण मात्र सम्भव भएको हो । दिन प्रतिदिन हामी विश्व पुँजीवादी व्यवस्था चालु राख्न आवश्यक अत्याचार झन्झन् बढिरहेको देख्दै छौँ । यो पेचिलो, असङ्गतिपूर्ण र नारकीय भुमरीबाट निस्किने उपाय आर्थिक वृद्धि (डिग्रोथ) तथा पुँजी सञ्चय (डिएक्युमुलेसन) को मारबाट मुक्ति नै हो । अर्को विकल्प छैन । तर, अन्तर्राष्ट्रवादी तथा साम्राज्यवादविरोधी ऐक्यबद्धताबेगर डिग्रोथको लक्ष्य हासिल गर्न सकिन्न । यी भावनाका आधारमा अनेक रणनीति बनाएपछि मात्र विश्वभरि डिग्रोथमा जान सकिन्छ । विश्वका धेरैजसो श्रमिक सङ्गठनले प्यालेस्टिनी मुक्ति सङ्घर्षको पक्षमा वक्तव्य जारी गरे । तर, युद्ध प्रक्रियालाई अवरुद्ध गर्न र जातिसंहारक पुँजीलाई चुनौती दिनका लागि उत्पादनका जरा हल्लाउन सक्ने अझ सशक्त रणनीतिहरू अपनाउन आवश्यक छ । हतियार उत्पादनको अन्त्य डिग्रोथ अभियानसँग प्रत्यक्ष जोडिएको छ । डिग्रोथको आधारभूत सिद्धान्त नै नाफा र आर्थिक वृद्धिको लागि जीवनलाई ध्वस्त पार्नुको सट्टा उत्पादनको सामाजिक सम्बन्धमै हेरफेर ल्याएर जीवनलाई दिगो तुल्याउनु हो ।
अर्को शब्दमा उत्पादनका साधनहरूलाई जीवनको विनाशतिर नधकेली समाजका हितकारी आवश्यकताको सेवामा तान्न कामदारवर्गले तिनलाई नियन्त्रणमा लिनैपर्छ† यसको लागि उसले आफूलाई योग्य पार्नैपर्छ । वर्तमान व्यवस्थाजन्य अवरोधका कारण यस्तो हेरफेर सम्भव भएन भने कामदारवर्गले प्यालेस्टिनलगायत क्षेत्रका जनताप्रतिको सिद्धान्तनिष्ठ ऐक्यबद्धताका लागि आफ्नै भौतिक स्वार्थलाई तिलाञ्जली दिन पनि तयार रहनुपर्छ । शोषित वा सहुलियत प्राप्त गरी दुई स्थितिमा रहेका उत्तरी गोलाद्र्धका कामदारहरूबिचको अर्को अन्तर्विरोधलाई पनि हल गर्नुपर्छ । यो उँच–नीच साम्राज्यवादी व्यवस्थाले पैदा गरेको हो ।
अर्थतन्त्रका विभिन्न शाखामा बाँडिएको कामदारवर्गबिच एउटा विस्तृत सहकार्य हुनुपर्छ । यो सहकार्य साधन र साध्य दुवै हो । यसले कामदारहरूलाई अझ सशक्त गतिविधि गर्न योग्य मात्र पार्दैन । बरु, साँचो अर्थमा डिग्रोथको लक्ष्य हासिल गर्न पनि यस्तो सहकार्य अति आवश्यक छ । साम्राज्यवादविरोधी डिग्रोथ वास्तवमा विश्व अर्थतन्त्रको आमूल रूपान्तरण हो । यसमा एउटा एकीकृत बहुपक्षलाई अँगालेको योजनाबद्ध अर्थतन्त्र निर्माण गरिन्छ । त्यो अर्थतन्त्रमा विभिन्न क्षेत्रको संयोजन हुन्छ र त्यसलाई समस्त समाजले नियन्त्रण गर्छ । त्यस अर्थतन्त्रबाट प्राप्त अतिरिक्त उत्पादनलाई समग्र समाजको कल्याणमा परिचालित गरिन्छ ।
विश्वमा बलियो राज्यनिर्देशित योजनाबद्ध डिग्रोथको अभाव छ । यही दृश्यबिच अन्तर्राष्ट्रिय श्रमिक ऐक्यबद्धताका अनेक उदाहरण देखापरेका छन् । यही फेब्रुअरीमा भारतीय बन्दरगाहमा काम गर्ने मजदुरहरूले इजरायल लग्ने ‘हतियारवाहक जहाज’ मा सामान राख्न र झार्न अस्वीकार गरे । दुई वर्षअघि ‘अमेरिकी सञ्चार मजदुर’ नामक संस्थाका सदस्य मजदुरहरूको एउटा ऐक्यबद्धता दल रोजगारी रक्षा तथा अतिरिक्त कामजस्तो साझा चासोको विषयमा छलफल गर्न फिलिपिन्समा पठाएको थियो । कामदारहरू स्वयम्ले यस्तो पाइला चाल्न नसक्दा ‘प्यालेस्टिन एक्सन’ जस्ता अभियन्ता समूहले प्रत्यक्ष कदम चाल्ने जिम्मेवारी लिन्छन् । सो संस्थाले हतियार उत्पादन कम्पनी एल्बिट सिस्टमविरुद्ध लामो र प्रत्यक्ष पाइला चाल्यो । त्यस संस्थाले एल्बिटलाई बेलायतको ट्याम्वर्थस्थित उसको ‘एलिट केएल’ कारखाना बेच्न बाध्य पा¥यो । घट्दो नाफा, बढ्दो सुरक्षा खर्च र उच्चस्तरको आपूर्ति शृङ्खला हेर्दा ‘प्यालेस्टिन एक्सन’ को उक्त कदम सही ठहरियो । यस्ता दाउपेचका साथै मानिसहरू क्रान्तिकारी सङ्गठनमा आबद्ध हुने प्रतिबद्धता निकै महत्वपूर्ण हुन्छ । यसरी मात्र समयान्तरमा शक्तिको निर्माण गर्न र हातेमालो गर्न सम्भव हुन्छ । यो हातेमालो ‘एउटा आमूल रूपान्तरणकारी एवम् सुगठित कार्ययोजना लागु गर्न तथा हामी बाँचिरहेको संसारको पुनःसंरचना गर्ने ध्येयले जनतालाई परिचालन गर्न’ उन्मुख हुनुपर्छ ।
केही थान हरित सामाजिक सुधार अथवा सामाजिक जनवाद पक्षधर वामपन्थीहरूको प्यारो ‘न्यु ग्रीन डील’ को पछि लागे हामी शासकवर्गले बिछ्याएका दुई जालोमा पर्छौँ । पहिलो, हामीले तिनीहरूको नाफा सञ्चयलाई हरियो रङले पोत्ने मौका दिन्छौँ । यसका साथै उत्तरी गोलाद्र्धका श्रमजीवी जनतालाई रक्तरञ्जित हरियो जुठोपुरो सुनिश्चित गरेर सर्वहारा विजयको दाबी गर्न पुग्छौँ । दोस्रो, हामीले सामाजिक जनवादीहरूको प्रतिनिधित्व र तिनले चलाइरहेको बहसलाई वैध तुल्याउँछौँ । जब कि उनीहरूले एकै सासमा प्यालेस्टिनी हकहितको कुरा पनि गर्छन् र दक्षिणपन्थीहरूलाई नष्ट गर्न हतियार तथा प्रविधिको तारिफ पनि गर्छन् । लेनिनको शब्द सापटी लिएर तिनीहरूलाई ‘हरित सामाजिक साम्राज्यवादीहरू’ भन्न सकिन्छ । जलवायु अभियन्ता तथा युद्धविरोधी अधिकारकर्मीहरूले यसकारण एकाधिकार पुँजीले कसरी हरित साम्राज्यवादी दाउपेचहरू प्रयोग गरेर झन् बढी आदिवासी भूमि र प्राकृतिक स्रोतसाधन दोहन गर्छ† झन् बढी कार्बन डाइअक्साइट उत्सर्जन गर्छ र प्यालेस्टिनी बालबालिकाको हत्या गर्छ भनी पहिल्याउन जरुरी छ । अन्तिम विश्लेषणमा प्यालेस्टिनको मुक्तिबेगर जलवायु न्याय असम्भव छ ।

प्रविधिभन्दा अगाडि ऐक्यबद्धता
सन् १९७० को दशकतिरै पश्चिमा शासकवर्गलाई नजिकिँदै गरेको जलवायु विनाशबारे थाहा थियो । त्यतिबेला नै जीवाश्म इन्धनमा आधारित विश्व अर्थतन्त्रमा रोक लगाउनुपर्ने उसले बुझिसकेको थियो । माथिका तथ्यहरू थाहा पाइसकेपछि रूपान्तरणका कुराले अझै पनि धेरैलाई अल्मल्याउन सक्ने देखिन्छ । कामदार तथा शोषकहरू दुवैको कानमा तेल हालेर सुताउने माथिको दाउपेचले त्यतिबेला मात्र काम गर्न सक्छ जतिबेला तिनीहरूमा एकतर्फी प्रविधिको प्रगतिमाथि अन्ध–आस्था जाग्छ । विज्ञानको प्रतापले प्रकृतिलाई समन गर्न सक्छ भन्ने यो अन्ध श्रद्धा मानिसहरूमा जगाउनुपर्छ । प्रकृतिसँगको अन्तरक्रियामा विज्ञान र प्रविधिले ठुलो देन दिएको नकार्न सकिन्न । तर, विज्ञान र प्रविधि आफँैमा तटस्थ साधन होइनन् । प्रगतिको विचारधारा आफैमा प्रतिक्रियावादी बन्न सक्छ । प्राविधिक समाधानको सकसबारे सारमा निम्न कुरा भन्न सकिन्छ :
प्रविधि सही कि गलत अथवा मान्छेले वातावरणलाई आकार दिनु सही कि गलत भनी बहस गर्नु ठीक छैन । बरु हामीले पर्यावरणीय जटिलतालाई प्रजातान्त्रिक प्रणालीमा ढाल्ने बाटो खोज्न आवश्यक छ । समस्याको प्राविधिक पक्षमा मात्र ध्यान दिएर ऐतिहासिक र सामाजिक सन्दर्भलाई बेवास्ता गरेको खण्डमा समस्याको मूल जरा ज्यूँका त्यूँ रहनेछन् ।
आणविक ऊर्जा उत्पादनमा इजरायलको सुरुआतले निश्चय नै यहुदीवादी उपनिवेशवादलाई अघि बढाउने विज्ञान पैदा गर्नेछ । तर, यो विज्ञान प्यालेस्टिनी जनताबाट खोसिएको भूमिमा अमेरिकी सेनाको सहकार्य तथा सिलिकन उपत्यकाको पैसाले पोषित हुनेछ । यो विज्ञान पैदा गर्न युरेनियम उत्खनन तथा प्लुटोनियम प्रशोधनमा सिद्धहस्त विज्ञहरूलाई नेगेभ मरुभूमिस्थित आणविक हतियारको प्रयोगशालामा परिचालित गरिनेछ । विज्ञान र मिडियाले लगातार सचेत पार्दा आणविक ऊर्जालाई जलवायु सङ्कट समाधान गर्ने उपाय मान्नु असम्भव सपनासरि हुनेछ । ‘प्रकृतिलाई रताउने’ विचारधारामा टेकेर गरिने प्राविधिक उन्नति पनि यस्तै सपना साबित हुनेछ । (साथै राष्ट्रिय मुक्तिका लागि प्रविधिको प्रयोगका लागि पनि अलग्गै उत्पादन सम्बन्ध आवश्यक पर्छ ।) यहुदीवादले ‘मरुभूमिलाई हराभरा बनाउने’ झूट लगातार भट्याइरहेको छ । यसबाट पर्यावरणमैत्री आधुनिकताको मूर्खता र घातक पक्ष मात्र सिद्ध हुन्छ । यी विचार आफैँमा प्रविधिसम्बन्धी पुँजीवादी विचारधाराकै अङ्ग हुन् ।
जातिसंहारका दुई महिना बितिसकेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मानव जाति ‘एकढिक्का बन्नुपर्ने’ रटान दोहो¥याइरहेका छन् । उनी ‘सम्पूर्ण समुदायलाई जलवायु सङ्कटबाट जोगाउनुपर्ने तथा पृथ्वी र पृथ्वीवासीलाई सुहाउँदो नवीकरणीय, दिगो एवम् समतापूर्ण भविष्यलाई मलजल गर्नुपर्ने’ बताइरहन्छ । उनले भनेजस्तो भविष्य हासिल गर्न गाजा अथवा दक्षिणी गोलाद्र्धका देशहरू साम्राज्यवादी हिंसाको चपेटामा परेसम्म असम्भव छ । साम्राज्यवादको भवन भत्किन थालेपछि मात्र आर्थिक वृद्धि (डिग्रोथ) तथा पुँजी सञ्चय (डीएक्युमुलेसन) को मारबाट पार पाउने प्रक्रिया अघि बढ्न सक्छ । एउटा प्रजातिको रूपमा अस्तित्ववान् हुन र सबै मानिसको लागि स्वाभिमानपूर्ण जीवन यापनका लागि चाहिने न्यूनतम सुविधा प्राप्त गर्न उपनिवेशवादबाट मुक्तिको आधारभूत आवश्यकता पूरा हुनैपर्छ ।
स्रोत : ‘साइन्स फर द पिपल’ बाट
अनुवाद : सम्यक
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *