भर्खरै :

अब उठ्ने पालो काङ्ग्रेसको रे !

खुशीलाल थारु
प्रतिगमनविरोधी आन्दोलनताका गिरिजाबाबुले एउटा गीत गाए, ‘एक जुगमा एक दिन’ । दरबारबाट सडकमा फालिएका गिरिजाबाबुले राणाशाहीविरुद्ध आन्दोलन सम्झे । फेरि सत्ताको भ¥याङ चढ्न गोपालप्रसाद रिमाललाई सम्झे । वामपन्थी र विद्रोही भावको त्यो गीत गाउन काङ्ग्रेसजनलाई दकस मान्नुपर्ने थिएन । किनभने रिमाल चल्तीको कुनै प्रतिद्वन्द्वी पार्टीका कार्यकर्ता थिएनन् । गीतको सन्देशले भन्दा पनि गायकको पार्टीगत संलग्नताको आधारमा गीत छनोट गर्ने नेपाली सङ्कीर्ण राजनीतिक डबलीमा माघ ३ गते भने फरक दृश्य देखियो । बुटवललाई ५ नं. प्रदेशको राजधानी बनाएको जस लिन आतुर काङ्ग्रेसले माघ ३ गते ‘एक लाख मान्छे’ सडकमा उतार्न ‘गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ! गीत बजायो । माघ ३ को खबरदारी सभामा भिड जम्मा गर्न काङ्ग्रेसको औपचारिक प्रचार सामग्री (जिङ्गल) मा ‘बलिदान’ चलचित्र आउनुअघि कुनै दल विशेषको पेवा ठानिएको ‘गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ! गीत बजाउनु आफैमा कम रमाइलो र चासोको विषय थिएन ।
के अब काङ्ग्रेस साँच्चिकै गाउँ–गाउँ र बस्ती–बस्तीबाट उठ्न लागेको हो ? यो देशको मुहार फेर्न उठ्न लागेको हो ? सहमतिको भागबण्डामा फसेको काङ्ग्रेस अब के सशक्त प्रतिपक्षमा देखिन खोजेको हो ? कम्युनिष्ट नाम राखेर देश र जनताको अहितमा, कम्युनिष्ट सिद्धान्तविपरीत विदेशी पुँजी र शोषकहरू, भ्रष्टाचारीहरूको निम्ति मरिहत्ते गरी लागिरहेको नेकपाको सरकारविरुद्ध काङ्ग्रेस जाग्न खोजेकै हो ? त्यसो त जनतालाई दुःख दिने सरकारविरुद्ध व्यापक जनतालाई सचेत पार्न सडकमा आउनु प्रतिपक्षको कर्तव्य नै हो ।
बिहीबार आफ्नो पार्टी सभापति शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते ५ नं. प्रदेशको अस्थायी राजधानी तोकेको स्मृतिमा प्रदेश राजधानी रुपन्देहीबाट नसार्न र प्रदेशको नाम लुम्बिनी राख्न दबाबस्वरुप काङ्ग्रेस रुपन्देहीले खबरदारी सभा ग¥यो । आपसी द्वन्द्व र भागबन्डामै अल्झिएर बसेको काङ्ग्रेस महासमिति बैठकपछि चल्मलाउन थालेको छ । महासमिति बैठकउपरान्त काङ्ग्रेस एक ढिक्का भएको देखाउन पनि सडक र सदनमा देखिने भूमिका निर्वाह गर्ने जनाएको थियो । यसै सिलसिलामा माघ ३ गते बुटवलमा काङ्ग्रेसले प्रदर्शन ग¥यो । प्रदेशको राजधानी र नाम अनिर्णयको बन्दी नबनाउन माग ग¥यो । काङ्ग्रेसको एउटा इमानदारिता के हो भने उसले औपचारिक रुपमा नै प्रदेशको राजधानी र नामजस्तो विवादित विषयमा प्रस्ट धारणा राख्यो ।
यद्यपि पुरानो लुम्बिनी अञ्चलका जिल्ला सभापतिहरू मात्र मञ्चमा देखिँदा सिङ्गै काङ्ग्रेसको यो धारणामा सहमति छ कि छैन ? सन्देह गर्ने ठाउँ दियो । बर्दिया, बाँके, दाङ, पूर्वी रुकुम, रोल्पा र प्युठानका काङ्ग्रेसीजनको धारणा के हो ? बुटवलको खबरदारी सभाले प्रस्ट बोलेको प्रदेशको राजधानी र नामबारे ती जिल्लाका काङ्ग्रेसीजनहरूको मौनता विरोध या समर्थन के हो ? तत्काल तथ्य प्रकाश पार्नु नै सिंगो काङ्ग्रेसको राजनीतिक इमानदारीता हुनसक्छ । होइन भने काङ्ग्रेसको चाला माछा आए दुलामा हातमात्र हुनेछ ।
८७ जना सदस्य भएको ५ नं. को प्रदेशसभामा नेकपाको मात्र दुईतिहाइभन्दा बढी मत ६१ जना सदस्य छन् । फोरमको ५, राजपाको १ र राजमोको १ जना सदस्यलाई आफ्नो पक्षमा मनाउन सके पनि १९ जना सदस्य भएको काङ्ग्रेसले निर्णायक भूमिका खेल्न सक्दैन । संसदीय गणितमा नेकपाको प्रस्तावलाई रोक्न पनि हैसियत नभएको काङ्ग्रेसले गर्ने भनेको खबरदारी नै हो । जनतालाई सचेत र सुशिक्षित बनाउने नै हो । सरकारका गलत क्रियाकर्मको भण्डाफोर नै हो । जनआन्दोलन उठाएर सरकारको नत्थी कस्ने नै हो । काङ्ग्रेसको आजको सक्रियता प्रतिपक्षीय धर्म पालन र प्रजातन्त्रको सदुपयोग हो वा जसबहादुर बन्ने च्याँखे दाउमात्रै हो ? समयले बताउला ।
प्रदेशको नाम र राजधानी तोक्न सक्ने गणितीय सङ्ख्या भएको नेकपाले अझै औपचारिक रुपमा प्रस्ट बोलेको छैन । नेकपाभित्रको पुराना एमाले र माओवादी नेताहरूले भिन्न–भिन्न धारणा दिइरहेका छन् । अनि प्रदेशसभाभित्रका मुख्यमन्त्री र सभामुखलगायत पदाधिकारीहरू अमुर्त भाषा बोलिरहेका छन् । रकमी भाषा बोलिरहेका छन् । अहिले प्रदेशको नाम र राजधानीलाई राजनीतिक मसला बनाइएको छ । काङ्ग्रेसलाई सडकमा उफ्रन मौका दिइरहेको छ । सायद नेकपाको सरकार चाहन्छ – क्षेत्रीय भावनाले प्रदेशमा आगो सल्कियोस् । भाँडभैलो मच्चियोस् । त्यही मसानको आगोमा रोटी सेक्नेहरू त बकुलाजस्तै मौका कुरिरहेकै होलान् । होइन भने नेकपाले ह्विप लगाउनासाथ दुईतिहाइको निर्णय हुन्छ । नाम र मुकाम टुङ्गो लागिहाल्छ । संसदीय दलको ह्विप नलगाउने हो भने सांसदहरू क्षेत्रीय भावनाबाट साँढेजस्तै अराजक हुन्छन् । नाफाको लागि विचारहीन राजनीति गरिरहेका शासक दलका नेता कार्यकर्ताको लागि क्षेत्रीय स्वार्थ नै सर्वोपरि भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा साख राख्ने कुत्सित मनसायले राजधानी र नामलाई ध्यान दिंदा नै प्रदेश ५ मा मात्र होइन, एमालेले नै नेतृत्व गरेको १ र ३ पनि नेकपा अकर्मण्य अवस्थामा छ । गणितीय हिसाबले निर्णायक भएर पनि नेकपा लाचार भएर बसेको छ ।
५ नं. प्रदेशको भूगोल र विकासको आवश्यकताले दाङको तुल्सीपुर नै राजधानीको लागि उपर्युक्त स्थान हो । दाङकै लमही पनि राजधानी हुनुपर्छ भन्नेहरू नभएको होइनन् । तर, यातायात व्यवस्थापन सहजताको निम्ति लमही सही जग्गा हुनसक्दैन । विकासमा पछाडि परेको रोल्पा, रुकुम र प्युठानसमेत समग्र प्रदेशको विकासको लागि तुल्सीपुर केन्द्र बनाउनु आवश्यक छ । देउवा सरकारकै पालामा उच्च अदालतको मुकाम, प्रहरीको प्रादेशिक मुकाम तुल्सीपुर नै तोकेको थियो । विकासको नाममा जग्गा दलाल र ठेकेदारहरूलाई पोस्ने कमिसनखोर नेताहरूकै चलखेलमा बुटवलमा राजधानी ल्याइयो र राजधानीको नाममा खिचातानी गरिरहेको छ । राजनीतिक कार्यकर्ता हुने र समाजको नेतृत्व नै गर्ने हो भने आफ्नो निर्वाचन क्षेत्रबारे मात्र होइन, समग्र प्रदेश र देशको दीर्घकालीन हित हुने चिन्तन गर्नुपर्छ । यो कोणबाट हेर्दा ५ नं. प्रदेशमा तुल्सीपुर नै राजधानी हुनसक्छ । राजनीतिक र प्रशासनिक केन्द्र हुनुपर्छ ।
औद्योगिक र व्यापारिक क्षेत्र बुटवल आर्थिक केन्द्रको रुपमा विकास गर्नुपर्छ । आर्थिक केन्द्रलाई राजनीतिक केन्द्र बनाउँदा उद्योग र व्यापारमा घाटा पर्छ । राजनीतिक आन्दोलनका गतिविधिले उद्योग र व्यापारमा बाधा पु¥याउँछ । बुटवलमै ८ सय विघाको प्रादेशिक नयाँ औद्योगिक क्षेत्र बन्दैछ । बुटवलमा निर्माण हुँदै गरेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, भैरहवामा निर्माणको अन्तिम चरणतिर पुगेको अन्तर्राष्ट्रिय विमानस्थल अनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी आदि कारण बुटवल–रुपन्देही पर्यटन उद्योगको पनि केन्द्र हुनसक्छ । विकासको पूर्वाधारले गति लिइसकेको रुपन्देही प्रदेशको राजधानी नहुँदैमा अधोगतितिर जाँदैन । विकासका स्रोत साधन सबै बुटवल–रुपन्देहीमै कुण्ठित पारेमा सन्तुलित विकासमा अवरोध आउनेछ । यसले फेरि अर्को प्रकारको असन्तुष्टिलाई जगाउनेछ । तसर्थ समग्र प्रदेशको सन्तुलित आर्थिक विकासको लागि, समग्र प्रदेशका जनताको सहज पहुँचका लागि, विकेन्द्रीकरणलाई व्यावहरिक रुपमा लागू गर्नको लागि बुटवल–रुपन्देहीमा होइन, दाङको तुल्सीपुर नै ५ नं. प्रदेशको राजधानी बनाउनु वाञ्छनीय हुन्छ । काङ्ग्रेसका मात्र होइन सत्तासीन नेकपाका नेताहरूको मनचिन्ते सोचको पछि लाग्नु प्रदेश, देश र जनताको हितमा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *