भर्खरै :

बालकृष्ण गुरुले देखाएको बाटो

– शरच्चन्द्र वस्ती
नेपाली भाषा–वाङ्मयका महर्षि प्रा. बालकृष्ण पोखरेल अब हामीबीच हुनुहुन्न । ८६ वर्षको उमेरमा, तीन दिनअघि उहाँले चोला छोडिसक्नुभएको छ । अलप भएको छ त्यो व्यक्तित्व, जसले नेपाली भाषालाई बाटो देखाउने निद्र्वन्द्व आधिकारिकता राख्थ्यो, जसको छहारीमा नेपाली भाषाले आफूलाई सुरक्षित महसुस गथ्र्यो— जति झञ्झावात आउँदा पनि । एउटा अनौठोे रिक्तता र स्तब्धता सृजना भएको छ, मानौं सगरमाथा हेर्दाहेर्दै एक्कासि अलप भएको छ । नेपाली भाषाको झन्डै छ दसक लामो ‘बालकृष्ण युग’ इतिहास बन्ने तरखरमा छ ।
२३ वर्षको कलिलो उमेरमै झर्रोवादमार्फत नेपाली भाषाको शुद्धता र मौलिकताको शङ्खनाद गर्ने बालकृष्ण गुरुले अध्ययन, अनुसन्धान र लेखनका दुर्लंघ्य शिखरहरू खडा गर्नुभएको छ । चाहे नेपाली भाषाको इतिहास पर्गेल्ने ‘पाँच सय वर्ष’ होस् वा सम्बन्धित विषयकै ज्ञातालाई पनि पर्गेल्न गा¥हो पर्ने ‘खस जातिको इतिहास’ होस्, अथवा साढे तीन दसक अघिको ‘नेपाली बृहत् शब्दकोश’ र हालैको ‘नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश होस्, सबै आ–आफैमा प्रतिमान हुन् । भाषा–साहित्यका दर्जनौं कृति र सबै एक–से–एक गहकिला । ‘पैसा कमाउने’ मात्र उद्देश्यले, उपनामबाट लेखेका आधा सय जति उपन्यास पनि सन्देशमूलक । आधा दर्जन जति उपनाम आधा दर्जन भाषामा उत्तिकै अधिकार । सम्झँदा पनि अचम्म लाग्ने— यति धेरै र गहन कृति कसरी लेखे होलान्, यसका लागि कति अध्ययन गरे होलान्, त्यत्रा कुरा दिमागमा कसरी अड्यो, स्थिर रह्यो र चाहिएको बेला फुतुफुतु कसरी निस्क्यो होला भनेर । एउटा शब्दको कुरा उठाएपछि दुई–चार घन्टा व्याख्या–विश्लेषण सामान्य कुरा थियो, त्यसमा संसारै प्रवेश भएजस्तो लाग्ने । हरेक वाक्य गहनतामा डुबेका, सबै त बुझ्न पनि नसकिने । त्यत्रो विद्वान भइकन पनि फेरि पत्यारै नलाग्ने सरलता, त्यति गम्भीर भइकन पनि भेटघाट हुँदा सहज, ठट्यौला र मिजासिला । उत्साह, ऊर्जा र स्मृति अन्तिम दिनसम्म पनि उस्तै !
तर, यो सबले मात्र उहाँलाई बालकृष्ण पोखरेल बनाएको होइन । शास्त्र र सूत्रको जडसूत्रीय भारी बोकिहिँड्ने भरिया हुनुहुन्नथ्यो उहाँ । उहाँ त त्यसभन्दा माथि उठेका, गहन प्रज्ञा जाग्रत भएका विभूति हुनुहुन्थ्यो । भाषाका ‘पण्डित’ हुनुहुन्थ्यो उहाँ । ‘पण्डा’ अर्थात् सही र गलत छुट्याउन सक्ने ‘बुद्धि’ जाग्रत भएका पण्डित । आफ्नो मान्यता र सिद्धान्तमा अडिग, कसैले हल्लाउँछु भनेर कल्पनै गर्न नसक्ने । उहाँसँग दोहोरो वादविवाद गर्ने कसको ह्याउ, कसको ल्याकत ? फेरि आफ्नो गल्ती थाहा भएपछि सच्चिन र सही बाटो पक्रिन पटक्कै सङ्कोच नमान्ने । कति प्रचण्ड आत्मविश्वास ! अब उहाँको शरीर छैन तर उहाँको सङ्गत र उहाँसँग दोहोरो कुराकानीको अवसर जसले प्राप्त गरेको छ, उसका लागि त्यही जीवनको गौरव बन्न पुगेको छ ।
नेपाली भाषाले दैवी वरदानका रूपमा पाएका महागुरूप्रति मेरो हार्दिक श्रद्धाञ्जली !
यहाँनेर आइपुग्दा मेरो मनले हठात् प्रश्न गरेको छ, कसैलाई श्रद्धाञ्जली दिनुको अर्थ के हो ? केले श्रद्धाञ्जलीलाई सार्थक बनाउँछ र केले विशुद्ध ढोङ्गमा रूपान्तरित गर्छ ? कसैको आदर्श, मान्यता र जीवन–निष्कर्षलाई उपेक्षा र तिरस्कार गर्ने हो भने घनघोर प्रशंसा र बडेबडे विशेषणका फुँदा जोडेर दिइने श्रद्धाञ्जली कोरा नाटकमात्र हुन्छ कि हुँदैन ? मलाई लाग्छ, नेपाली भाषामा बालकृष्ण पोखरेलले देखाएको बाटोमा हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । त्यसलाई उपेक्षा, तिरस्कार वा अपमानित गर्ने हो भने श्रद्धाञ्जलीका नाममा गरिने तमाम कार्यव्यापार एउटा विराट ढोङ्गबाहेक केही हुनेछैन । यस्तो श्रद्धाञ्जली उहाँलाई स्वीकार्य होला कि नहोला ? के हो त नेपाली भाषालाई उहाँले देखाएको बाटो ? पराइ भाषाको प्रभावले थिचिएर हराउन लागेको बेला छ दसकअघि, २०१३ सालमा उहाँले शुद्धता र झर्रोपनको बाटो देखाउनुभयो । त्यसैलाई पछ्याए विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानहरूले । तदनुसारै बन्यो नेपाली बृहत् शब्दकोश (नेबृश), २०४० सालमा । तर, कालान्तरमा के देखिन थाल्यो भने, अलिकति प्रतिक्रियात्मक आवेग र अलिकति उग्रता मिसिएको त्यो कदमले नेपाली भाषामा अन्योल, अराजकता र भाँडभैलो सृजना गर्नथाल्यो । त्यसले उग्र रूप लिंदै गएपछि फेरि उहाँ अगाडि आउनुभयो र आफ्ना पुराना मान्यता परिमार्जित गर्दै पुनः बाटो देखाउनुभयो, ‘नेपाली कसरी शुद्ध लेख्ने ? हिज्जे विचार’
(नेकशुले–२०६९) मार्फत । balkrishna
त्यसै सन्दर्भमा उहाँले भन्नुभयो, ‘डा. तारानाथ शर्मा, डा. बल्लभमणि दाहाल, कोशराज रेग्मी, चूडामणि रेग्मी आदि महारथीको अति उर्वर गिदीमा झर्रोवादको बीजारोपण गर्ने तथाकथित भाषाप्रेमी मै थिएँ । झर्रोवादअनुरूप नेपाली हिज्जेको रूपान्तरण गराउनलाई त्रिविमार्फत विराटनगर, पाल्पा, पोखरा र काठमाडौंमा विशेषज्ञको टोली घुमाउने परम्पराका सूत्रधारहरूमध्ये अग्रणी मै थिएँ क्यार । … (त्यसैले) यस कोश (नेबृश) मा मैले मेरो प्यारो झर्रोवादको अनुकूल क्रान्ति ल्याउँला भन्ने आशा मेरा क्रान्तिकारी चेलाहरूको थियो । तर, मलाई एकान्तमा बोलाएर ‘यसतर्फ लागेर नब्बे सालको भुइँचालो नल्याउने’ राय कविवर माधव घिमिरेले दिनुभयो । सङ्क्षेपमा जिरे खोर्सानीझैं उहाँको सल्लाह थियो, ‘परिवर्तनको नाममा भाँडभैलो प्राज्ञको धर्म होइन । ’ उहाँलाई नटेरी मैले उक्त कोशमा ०.५ प्रतिशत क्रान्ति चाहिं लागू गरें । … आज मलाई अर्थ लाग्दैछ, आधा प्रतिशतको कुरो परै जाओस्, यदि ‘क्रान्ति’ हो भने हामीलाई चौथाइ प्रतिशत पनि चाहिंदैन । हिज्जेलाई खास खास याममा परेवा अथवा चीलले झैं प्वाँख झार्ने आवश्यकता पनि पर्दैन । … नेकशुले–२०६९ मा सही गरेपछि बल्ल मैले बुझेँ, माधव घिमिरेले शब्दकोशमा नब्बे सालको भुइँचालो नल्याउने सल्लाह सुटुक्क मेरो कानमा नदिनुभएको भए आज २०६७ तिर मच्चिएको भाँडभैलो २०४० मै मच्चिने थियो ।’ (कान्तिपुर, २०६९ असार ९)
आज नेपाली भाषामा मच्चिएको भाँडभैलोको उद्गमस्रोत त्यही आधा प्रतिशत ‘क्रान्ति’ थियो भन्ने स्पष्ट पार्दै उहाँले लेख्नुभयो, ‘२०४० मा न्यून मात्रामा भए पनि हामी झर्रोवादीहरू संस्कृत तत्समबाहेक अन्य भाषाबाट आएका सहर, कानुन, मालूम, वकील, रसीद, जादू, जासूस, शायद आदि शब्दलाई नेपाली भोटो लगाइदिएर तद्भवीकृत नगरे (सहर, कानुन, मालुम, वकिल, रसिद, जादु, जासुस, सायद नबनाए) अशुद्ध घोषित गथ्र्यौं । २०४० को मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित ‘नेपाली बृहत् शब्दकोश’ को यो पापको ‘नेकशुले–२०६९’ मार्फत मैले प्रायश्चित गरेको छु ।’ (ऐ)
त्यो शब्दकोशमा गरिएको ‘पाप’ थियो, हिज्जे बिगारिएका शब्द (जस्तैः सहर, कानुन, वकिल, जासुस, सायद) लाई पहिलो प्रविष्टिमा राखेर शुद्ध हिज्जे भएका शब्द (जस्तै— सहर, कानुन, वकील, जासूस, शायद) लाई दोस्रो प्रविष्टिमा राख्ने । अर्थात्, बिगारिएको हिज्जेलाई पहिलो दर्जामा उकालेर नबिग्रेको, शुद्ध हिज्जेलाई दोस्रो दर्जामा झार्ने । यसले अन्य धेरै विकृतिका साथै तीन ठूला दुष्परिणाम निम्त्यायो ।
क. आधिकारिक शब्दकोशले प्राथमिक प्रविष्टिमा राखेको हिज्जे नै सरकारी कामकाज, औपचारिक लेखन, पाठ्यपुस्तक र शिक्षा प्रणालीमा प्रयोग हुने भएकाले ती ठाउँबाट शुद्ध हिज्जे गायब हुँदै गयो र बिगारिएको हिज्जे भाषाको मूलधार बन्ने विकृति झांगियो । राज्यसत्ताको आडमा लादिएको त्यही विकृतिको बाढीमा सञ्चारमाध्यमहरू समेत अनायास बग्न थाले ।
ख. यसले, भाषाको हिज्जेलाई कसैको निर्णय र आदेशबाट एकमुस्ट रूपमा बदल्न सकिन्छ र त्यसो गर्न हुन्छ भन्ने दुनियाँमा कतै नभएको नजीर स्थापित ग¥यो । परिणामस्वरूप दुई–चार वर्षमा एउटा ‘गोष्ठी’ आयोजित गरेर, आयोजकले पहिल्यै तयार पारेको प्रस्ताव पारित गराई रातारात एकमुस्ट हिज्जे बदल्दै जाने अराजक परम्परा चल्न पुग्यो । २०४० को नेबृशमा दोस्रो प्रविष्टि दिएरै भए पनि राखिएका शुद्ध हिज्जेका शब्दहरूलाई २०५८ को (तेस्रो) संस्करणदेखि षड्यन्त्रमूलक तवरमा हटाउनै थालियो ।
अघिल्लो दिनसम्म दीर्घ लेखिने गरेका फूल, दूध, खीर, मीत, ठूलोजस्ता शब्दहरू भोलिपल्टदेखि ¥हस्व लेख्न उर्दी जारी हुनथाल्यो । यही मेसोमा ‘कथ्य’ नेपाली वर्णमालामा दीर्घ ई–ऊ, श–ष, ञ–ण लगायतका वर्ण हुँदैनन् भन्दै ५२ को सट्टा ३५ वर्ण मात्र पढाउन थालियो । (यसकै पछिल्लो चरणमा संयुक्ताक्षर समाप्त पारेर विद्या, विद्वान्, द्वन्द्व लेख्ने आदेश जारी भएको हो । )
ग. मैथिली, अवधी, भोजपुरी, बज्जिका, नेवारी, राई, लिम्बू, तामाङ, मगर, शेर्पा, गुरुङ आदि भाषाहरूबाट नेपालीमा जस्ताको तस्तै आएका र आउने शुद्ध शब्दलाई हिज्जेको नाममा अङ्गभङ्ग र विरूपीकरण गर्न थालियो । आफ्नै राष्ट्रिय भाषाहरूप्रति हेपाहा र अपमानजनक व्यवहार गर्ने, भाषिक अस्मिता र पहिचानमाथि धावा बोल्ने यस्तो प्रवृत्तिले जातीय तथा भौगोलिक समुदायहरूमा नेपाली भाषाप्रति अपनत्वको भाव खुम्च्याउँदै पृथकताको भाव बढाउने र तीव्र पार्दै जाने दुर्भाग्य निम्त्यायो ।
यही सब देखेर व्यथित हुनुभएको थियो उहाँ, र उहाँकै निर्देशन तथा सहभागितामा २०६९ वैशाखमा ‘नेकशुले–२०६९’ को निर्माण भयो । त्यसपछि नै ठूलो ग्लानि र भाराट मुक्त भएर उहाँले भन्नुभएको हो— २०४० मा गरेको पापको मैले प्रायश्चित्त गरें । उहाँका शब्द थिए, ‘यसको समर्थनमा म एक्लोमात्र होइन कमलमणि दीक्षित, डा. तारानाथ शर्मा, मुकुन्दशरण उपाध्याय, डा. कुमारबहादुर जोशी, कृष्णप्रसाद पराजुली, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, जगदीश घिमिरेलगायतका झण्डै एक सय विद्वान छन् । … नेपालीभाषीहरूबीच फूट ल्याउन खोजिएको भेउ पाएर हामी एक ठाउँ आएका हौँ ।’ (ऐ) हुन पनि, सरकारी जागिरे ‘विद्वान’ ले भाषाबारे उर्दी जारी गर्ने राणाकालदेखि गणतन्त्रकालसम्म चल्दै आएको परम्पराका विपरीत, भाषाको जागीर नखाइरहेका तर आ–आफै संस्थाजस्ता बनिसकेका त्यति उच्चस्तरका र विविध धारका विद्वान, साहित्यकार र वरिष्ठ पत्रकारहरूले नेपाली भाषालाई विकृति र अराजकताबाट मुक्त पारेर स्वच्छ, उदार र गतिशील बनाउन एकमतले गरेको त्यो व्यवस्था नेपाली भाषाको इतिहासमै अद्भूत र सर्वाधिक गुरुत्वपूर्ण थियो ।
झर्रोवादमा रहेको उग्रता अब असान्दर्भिक भइसकेको स्पष्ट्याउँदै उहाँले हिज्जे बिगार्नेहरूलाई त्यसपछि पनि सम्झाउन छोड्नुभएन ः “उसबेला (२०१३ मा) भाषिक युद्धकाल थियो । त्यसैले उग्रताको नीति लिइएको थियो । अहिले त्यसको आवश्यकता छैन । … भाषा त सुटुक्क फेरिने कुरा हो । सयौं वर्षमा केही कुरा फेरिन्छ भने त्यसलाई स्वाभाविक रूपमा हेरिनुपर्छ । तर, जानी जानी, सिपालु भएर, म भाषा परिमार्जन गर्छु, सजिलो बनाउँछु भनेर हुँदैन । अहिले जसरी नयाँ वर्णविन्यास थोपर्ने प्रयास भइरहेको छ, त्यो देख्ता मलाई हाँस्न मनलाग्छ । … व्याकरण र वर्णविन्यास छोटो समयमा परिवर्तन गरिरहने हो भने यसले भाषालाई अस्थिर र अस्पष्ट बनाउनेछ । यो परिवर्तन हुन पहिले जनजीवनमा परिवर्तनलाई राम्रोसँग भिजिसक्न दिनुपर्छ । … नेपाली भाषा परिपक्व र वैज्ञानिक छ । यसमा नियम र परिवर्तन थोपरिनु हुँदैन ।” (सेतोपाटी डट कम, २०७३ भदौ २७)
प्रा. बालकृष्ण पोखरेलको प्रतिभा जति बहुआयामिक र विलक्षण भए पनि उहाँको मूल व्यक्तित्व भाषाशास्त्रीकै हो । उहाँ नै हो हाम्रो भाषालाई बाटो देखाउने धु्रवतारा । आफ्नो जीवनभरको भाषिक साधना, अनुसन्धान, त्रुटि–परिष्कार र मत स्थिरीकरणपछिको अन्तिम निचोडका रूपमा हामीलाई र नेपाली भाषालाई उहाँले देखाएको बाटो हो— ‘नेकशुले–२०६९’ । परम्परालाई अपमान नगरौँ, स्थापित शब्दको हिज्जेमाथि आक्रमण नगरौँ, भाषामा हुने स्वाभाविक परिवर्तनलाई आत्मसात् गरौँ भन्ने त्यसको मूल मर्म हो । यो बाटो हिँडेर नै हामी नेपाली भाषालाई अन्योल, अराजकता र सङ्कुचनबाट मुक्त गर्नसक्छौँ, यसको विस्तार तथा विकास गर्नसक्छौँ । (नत्र भने कता पुगिने हो, त्यसको झलक देखिन थालिसकेकै छ र उहाँप्रतिको हाम्रो सार्थक श्रद्धाञ्जली पनि यही हुनेछ । लेखक, प्रकाशक, सञ्चारकर्मी, भाषाविद्, सबैलाई मेरो विनम्र आग्रह छ— अनावश्यक कुण्ठा, भ्रम र अहङ्कारबाट मुक्त भएर हामी बालकृष्ण गुरुले देखाएको राजमार्गमा हिँडौँ । किनभने, उहाँ जति राम्रो बाटो देखाउन सक्ने हाम्रासामु अर्को कोही छैन । अलिक गम्भीर र संवेदनशील भएर सोचौँ, उहाँले देखाएको भन्दा फरक बाटो समातेर हामी नेपाली भाषालाई चहकिलो पार्न सकौँला त ?
अन्त्यमा, गोरखापत्रकै प्रसङ्ग । झन्डै एक शताब्दीसम्म नेपाली भाषाको ‘मानक’ बनेर रहेको गोरखापत्र पछिल्लो समयका मौसमी भाषिक उर्दीले रनभुल्ल परेको देखिन्थ्यो । ‘नेकशुले –२०६९’ को घोषणापछि यसको चेतना जाग्रत भयो र स्वयं बालकृष्ण गुरुकै सल्लाह र सहभागितामा, विशेषज्ञहरूमार्फत उसले वर्णविन्यासमा केन्द्रित आफ्नो शैली पुस्तिका तयार ग¥यो । त्यसलाई सञ्चालक समितिले पारित गरेपछि २०६९ असार १९ गते गुरूपूर्णिमाका दिन पहिलो पृष्ठमा ‘भाषिक सुधारको सड्ढल्प’ शीर्षकको विशेष सम्पादकीय प्रकाशित गरी सोही दिनदेखि शैली पुस्तिका लागू गरिएको घोषणा ग¥यो र त्यो बाटोमा अघि बढ्यो ।
यस प्रक्रियाका कतिपय चरणको प्रत्यक्षदर्शी म स्वयं पनि थिएँ । केही समयपछि भने यो त्यसप्रति उदासीन बन्दै गएको देखियो । आफ्नै घोषणा र शैली पुस्तिकालाई बेवास्ता गर्नु पक्कै पनि उचित होइन । नेपाली भाषाशास्त्रीका भीष्मपितामहको संलग्नतामा बनेको त्यो शैली पुस्तिका गोरखापत्रप्रति उहाँको स्नेहको अमूल्य चिनो पनि हो । त्यसलाई लागू गर्दा गोरखापत्रको प्रतिष्ठा पनि बढ्नेछ र त्यो बालकृष्ण गुरूप्रति सच्चा श्रद्धाञ्जली पनि हुनेछ ।
स्रोत ः गोरखापत्र, फागुन १४
(भाषिक शुद्धताका पक्षपाती वस्ती त्रिविमा प्राध्यापन गर्नुहुन्छ । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *