भर्खरै :

दाहालको रगतमा कम्युनिष्टको थोपा खोइ !

– मेरिना शाक्य
कम्युनिष्ट पार्टीको एउटा उद्देश्य पुँजीवादी व्यवस्था अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्नु हो । पुँजीवादी व्यवस्थाको अन्त्य संसदीय व्यवस्थामा टेकेर या सरकारको नेतृत्व गरेर सम्भव छैन । तीन दसकको संसदीय अनुभव र अभ्यासले सिकाएको पाठ यही हो । आफ्नै जीवनकालमा समाजवाद स्थापना भएको देख्न चाहने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बेलाबखत समाजवादको बखानमा डुबेर बर्बराउँछन् । अनि समाजवादकै चक्करभित्र डुलेर हराउँछन् र समाजवादी सिद्धान्त र विचारमा टेकेर त्यसैलाई धूलो पीठो पार्छन् । नत्र केही दसकभित्रै समाजवाद देख्ने दाहालले अब क्रान्ति असम्भव छ भनी किन फुक्नुप¥यो ? क्रान्ति असम्भव देख्ने अध्यक्ष दाहालको रगतमा कम्युनिष्टको थोपा बाँकी रहेको कसरी विश्वास गर्ने ?
सत्ताको स्वाद चाख्न पाएपछि, प्रधानमन्त्री र मन्त्रीको अवसर मिलेपछि क्रान्तिको धार छोड्ने, कम्युनिष्टको सिद्धान्त र विचार तोडमोड गर्न पछि नपर्ने नेता दाहाल एक नम्बरका अवसरवादी र भावनामा बग्ने नेता हुन् । माओवादीको ‘जनयुद्ध’ देशमा परिवर्तनको लागि होइन सरकारको नेतृत्व गर्नरहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरिसकेको छ । कम्युनिष्टको धर्म सामन्तवादमात्र होइन पुँजीवादी व्यवस्था अन्त्य गर्नु पनि हो । यो पुँजीवादी व्यवस्थामा सामन्तवादका दुर्गन्धहरू अद्यापि बाँकी छन् । राजतन्त्र अन्त्य भए पनि कति ऐन कानुन सामन्तहरूकै हकहितका छन् । यसकारण कम्युनिष्ट पार्टीले वर्गसङ्घर्षको बाटो छोड्नुहुँदैन, छोड्दैन ।
क्रान्तिकारी धार छोड्नुको अर्थ वर्गसङ्घर्षको बाटो छोड्नु हो । वर्गसङ्घर्षको बाटो त्याग्ने कुनै पनि दल कम्युनिष्ट पार्टी हुनसक्दैन । माक्र्सवाद, लेनिनवादलाई पथ प्रदर्शक मान्ने कुनै दलले वर्गसङ्घर्ष छोड्दैन । नेकपाभित्र कम्युनिष्टको सिद्धान्त र विचारका कुनै सच्चा नेता र कार्यकर्ताहरू छन् भने कम्युनिष्टविरोधी चरित्रका नेता तथा कार्यकर्ताहरूको विरोध गर्नुपर्छ । विरोध गर्दागर्दै कम्युनिष्टविरोधी गतिविधि गरिरहन्छ भने त्यस्ता नेता तथा कार्यकर्तालाई पार्टीमा स्थान दिनुहुँदैन । कम्युनिष्टको नाउँमा कम्युनिष्टकै बदनाम गर्ने नेकपाका नक्कली कम्युनिष्टहरू चिन्नुपर्छ, जनताबीच उदाङ्ग्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *