भर्खरै :

गीतमा माक्र्सको जीवनी सुनाउने देवराज सर

राजकुमार श्रेष्ठ
पञ्चायतकालमा गाउँ पञ्चायतका सदस्यहरूले जनताको सेवा गर्नुभन्दा पनि सामन्ती, जाली फटाहाहरूसँग मिलेर सिधा–साधा जनता र थारु किसानहरूलाई मुद्दा मामिला, किर्ते र जालसाझी गरेर दुःख दिने काम गर्दथे । सुकुमवासी जनताहरूलाई उठिबास लगाउने, किसानहरूको मोहियानी हक खोस्ने काम पञ्चायती सामन्तहरूले गर्थे । पञ्चायतको आड भरोसामा रहेर जमिनदार र साहुहरूले भोका, नाङ्गा किसान जनताको रगत पसिना चुस्थे । किसानहरूले दुःख गरेर उत्पादन गरेको अन्नबाली बिगारी दिने, खोसी दिनेजस्ता अमानवीय व्यवहार जाली फटाहाहरूले गर्थे ।
किसान संगठनको बिस्तारसँगै पञ्चायती अन्याय र अत्याचारीको विरुद्धमा किसानहरू राजनैतिक रुपमा सचेत सङ्गठित हुँदै गए । बाली काट्ने आन्दोलन, साहुको छाडा व्यवहारको विरोध, जाली फटाहालाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउनेजस्ता किसान सङ्घर्षहरू चितवनमा भए । त्यस्ता किसान सङ्घर्षहरूमा शिक्षक देवराज पौडेल पनि संलग्न भए ।
देवराज सर २०२८ सालमा नेकपा पुष्पलाल समूहको चितवन पार्टी सदस्य भए । २०२८ देखि २०३० सालको बाली काट्ने आन्दोलनमा सक्रिय भूमिका निभाए । २०३० सालमा शिक्षण पेशामा आबद्ध भई उनले जनताको सेवा थाले । शिक्षक भई जुन ठाउँमा पुगे पनि उनी राजनैतिक गतिविधिलाई अगाडि बढाउँथे । पार्टीको नीति निर्देशनमा रहेर इमानदारीसाथ उनी काम गर्थेे । समाजको परिवेश, अवस्थालाई गीतमार्फत सोझा जनतालाई सचेत र सङ्गठित गराउन उनी सिपालु थिए । पार्टीको निर्देशनमा २०३१ सालदेखि चितवनको पहाडी क्षेत्र काउले, चण्डीभञ्ज्याङ, कविलास, गढी, दाहाखानी, कोराक पञ्चायतलगायतमा सङ्गठन निर्माणमा उनी लागे । पहाडमा गरीब चेपाङहरू पातीले बारेको, छाना खरले छाएको घरमा बस्दथे । बाँसबाट बनेको मान्द्रो ओछ्याएर रात काट्थे । गुन्द्री पनि हुन्थेन । खाने कुरा पाउनै गा¥हो थियो । भिर पाख खोस्रेर उत्पादन गरेका अन्नबालीले दुई तीन महिनासम्म खान पुग्न कठिन थियो । गिठा, भ्याकुर, कन्दमूल नै बाँच्ने सहारा हुन्थ्यो । विगतमा पातीले बारेको, कटुस स्याउँला र खरको छानाको सट्टामा अहिले एनजीओ र आईएनजीओ जान थालेपछि टिनको छानामा फिरेको भए पनि गरीब चेपाङ बस्तीमा साँचो अर्थमा समस्या ज्युँका त्युँ रहेको उनको बुझाइ छ । गुरुङ, मगर, तामाङ जातिका गरिब किसानहरूलाई पनि वर्ष दिन दुःख गरेर उत्पादन हुने अन्नले छ–सात महिना कटाउन सकस हुन्थ्यो । त्यहाँ बास बस्ने बेलामा कोदो र फापरको ढिडो भए पनि व्यवस्था हुन्थ्यो । तर, गरीब चेपाङहरूले भने कलिलो मकैको खोइयासहित ढिकीमा कुटेर झोल बनाएर भोक टार्नु पर्दथ्यो । ती गरीब किसान जनतामाथि पञ्चायत शासनले थप शोषण लादेको थियो । पञ्चायत शासनको आड भरोसा लिएर साहु सामन्तीले किर्ते गर्ने, अन्न थुपार्ने र चर्को व्याजसहित फिर्ता लिने गरी अनिकालमा बेच्ने गर्दथे । पञ्चायतलाई पनि चर्को कर, मालपोत तिर्नु पर्दथ्यो । जनताका यस्ता दुःखपीडालाई गीतमार्फत जनतालाई नै सचेत बनाउने प्रयोग गर्ने पार्टीको नीतिअनुसार नै पौडेलले गीत रच्थे र तिनै गीतमार्फत समाजका दुःख कथा सुनाउँथे । शोषित, पीडित जनतालाई सचेत र सङ्गठित बनाउँदै अन्याय र अत्याचारको विरुद्धमा सङ्घर्षमा उतार्ने राजनैतिक काममा उनी पनि लागे ।
जुगेडी किसान सङ्घर्षमा उनी पनि संलग्न भए । २०३४ साल असार ६ गते भएको जुगेडी किसान सङ्घर्ष भोका, नाङ्गा किसानहरूको राजनैतिक सङ्घर्ष थियो । खडेरी गएको साल थियो । जङ्गलमा कन्दमूल पनि पाउन छोड्यो । छटपटाएका भोका किसानहरूको आँखा जुगेडीका चुसाहा साहुको अन्नको भण्डारमा पर्नु स्वाभाविक थियो । साहुको भण्डार कब्जा गर्ने उद्देश्यले किसानहरू सङ्गठित भए । किसान सङ्गठनको नेतृत्वमा योजनाबद्ध ढङ्गले भोका किसानहरूले शोषक साहुको अन्नको थुप्रो, लत्ताकपडा कब्जामा लिए । पौडेलले लेखेका क्रान्तिकारी गीतले सङ्घर्षमा जनतालाई निकै उत्साहित बनायो । जुगेडी किसान सङ्घर्षमा रामनगर, आँपटारी, नारायणगढ र भरतपुरको वन गस्ती र पुलिस प्रशासनको अवस्थाको विषयमा बुझ्ने जिम्मेवारी सङ्गठनले उनलाई दिएको थियो । जुगेडी किसान सङ्घर्षलगत्तै अगुवा कार्यकर्ता भेला दरभङ्गामा भएको बेलामा नेमकिपाका अध्यक्ष रोहितसँग भेटेको ताजा सम्झना उनीसँग छ– ‘दरभङ्गामा दाइले जुगेडी किसान सङ्घर्षको गीत लेख्न निर्देशन दिनुहुँदा मैले एक घण्टामा एघार पेज गीत लेखेको थिएँ ।’
२०३३–३६ सालमा भएको पटक–पटकको जुटपानी सङ्घर्षमा पनि उनी संलग्न भए । पञ्चायत प्रशासनले किसान सङ्घर्षमा लागेका जनतालाई जेल हाल्ने, थप बढी दुःख कष्टहरू दिन थाले । उनी भने पञ्चायती निरकुंशताको पञ्जाबाट पटक–पटक उम्कन सफल भए । २०३५ सालमा नेपाल मजदुर किसान सङ्गठनको जिल्ला समिति सदस्य रहेर पनि काम गरे । उनले आफ्नो राजनैतिक कालमा साहित्यिक क्षेत्रमार्फत जनताको सेवा गर्ने अवसर पाए । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक अवस्था र परिस्थितिलाई पनि गीत बनाएर नै जनताहरूलाई सरल ढङ्गबाट बुझाउने क्षमता उनीसँग छ । उनले अहिलेसम्ममा झण्डै ८० भन्दा बढी क्रान्तिकारी गीतहरू रचना गरे । पञ्चायतकालको किसान सङ्घर्षको बेलामै विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको जीवनीलाई पनि सरल शैलीमा गीत रचेर क्रान्तिकारी जनता माझ गाएका थिए । नयाँ युवा पुस्ताहरूलाई कम्युनिष्ट सिद्धान्त, विचार सिकाउन र बुझाउन उनी सधैं तम्तयार भए ।
नेपाल मजदुर किसान पार्टीका संगठनकर्ता बुद्धिकुमार गोसाई (जीवन) पुराना कार्यकर्ता सम्झी खोज्दै सोध्दै घरमै भेटघाट गर्न आउनु खुसीकोे क्षण भएको उनले सुनाए । जीवन दाइसँगसँगै गाउँ–गाउँमा पुगेको हिजो जस्तो लाग्छ उनलाई । नेमकिपाका पार्टी प्रकाशनहरू बेला–मौकामा पाउँदा, कार्यकर्ताहरूसँग भेट हुँदा उनलाई खुसी लाग्छ । श्रमिक साप्ताहिक पत्रिका हातमा पर्दा अन्तर्राष्ट्रिय खबरहरू उनले नछुटाइ अध्ययन गर्ने बानी छ । नेमकिपामा लोभी, स्वार्थी, पदको लोभ लालच राख्ने व्यक्तिहरू रहन नसक्ने उनले बुझेका छन् ।
जीवनको लामो समय उनको शिक्षण पेसामा बित्यो । झण्डै ३९ वर्ष शिक्षक भएर उनले सेवा गरे । माडीको राप्रावि, हरिनगरबाट शिक्षण सुरु गरेका पौडेलले ६ वटा विद्यालयमा सामाजिक विषय अध्यापन गरे । आवश्यक शिक्षण सामग्रीहरू उनी आफैँ बनाउन सिपालु छन् । ६ वर्ष अगाडि पटिहानीकै मावि, गंगानगरबाट अवकाश भए । आफ्नो पेशाको सिलसिलामा जहाँ पुगे पनि विद्यार्थीहरूलाई कम्युनिष्ट शिक्षा दिन उनी पछि परेनन् । बुद्धिजीवीहरू झन् अवसरवादी हुने उनको तीतो अनुभव छ– ‘जागिर पाउनको लागि पार्टीमा लाग्ने, जागिर पाएपछि पार्टी बिर्सने गर्छन् । नियमित रुपमा लेभी नदिने व्यक्तिहरू कम्युनिष्ट हुनै सक्दैनन् । प्राध्यापक र शिक्षकहरू सरुवा, बढुवा हुनको लागि जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् । थोरै विषय पढाएर पूरा तलब लिने, पैसा नै कमाउनको लागि आफ्नो मर्यादा नै भुल्ने शिक्षकहरू पनि छन् ।’ बुद्धिजीविहरूलाई माक्र्सवाद पढाउनुपर्ने उनको मत छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विषयमा अध्ययन गर्ने, चासो लिने बानी क्रान्तिकारी किसान सङ्गठनमा लागेदेखि नै भएको उनको भनाइ छ । जनता कम्युनिष्ट व्यवस्था चाहन्छन् तर सत्तामा गएका कम्युनिष्ट भनाउँदाहरूको आचरण राणा, पञ्चायत र नेकांभन्दा फरक भएन । कम्युनिष्ट सिद्धान्तमा सङ्गठन र विचारभन्दा व्यक्ति गौण हुन्छ । लोभी, ठग, गुण्डा, पदलोलुप, पैसावालाहरू ‘कम्युनिष्ट’ बनेकाले साँचो अर्थमा जनताले कम्युनिष्ट सरकारको अनुभव पाउन नसकेको उनको विचार छ । वडाध्यक्ष पदको लागि निर्वाचन लड्दा पन्ध्र–बीस लाख खर्च गर्छन् । धनी पैसावालाहरूले नै निर्वाचनमा टिकट पाउँछन् । फटाहा, गुण्डाहरू नै अगाडि आउँछन् । सिद्धान्तहीन र चरित्रहीन पार्टीहरूलाई कसरी कम्युनिष्ट भन्न सकिन्छ ?” उहाँको प्रश्न थियो ।
शिक्षक पेशाबाट अवकाश लिनु भएपछि हिजो–आज खेती लाउने, गाउँ–घरमै सामाजिक कामहरूमा सहभागी हुने, पत्रपत्रिका पढ्ने, लेख लेख्ने, समाचार सुन्ने, भेटघाट र छलफलमा नै उनका दिनहरू बितेका छन् । ६४ वर्ष पार गरेका पौडेल श्रीमती, दुई छोरा, एक छोरी र नाती नातीनाहरूसँग हाल भरतपुर महानगरपालिका– २२ स्थित पटिहानीमा बसोबास गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *