भर्खरै :

नयाँ वर्ष २०७६ को शुभकामना !

आजबाट नयाँ वर्ष २०७६ साल सुरू भयो । समय अविछिन्न भए पनि मानव सभ्यताले समयको सहज हिसाबको लागि युग र वर्षहरूमा खण्डीकरण गर्न सिकेको छ । समयलाई यसरी खण्डीकरण गरेर मानिस अविछिन्न समयभित्र पनि नयाँपन पहिल्याउँछ र जीवनलाई अझ ऊर्जाशील बनाउने प्रयत्न गर्छ । समयको खण्डीकरणले मानिसलाई आफ्नो विगतको समीक्षा गर्न अभिप्रेरित गर्छ । विगतको समीक्षाले मानिसलाई आफ्ना सकारात्मक र नकारात्मक पक्ष बुझ्न सक्ने बनाउँछ । आत्मसमीक्षाले मानिसको भविष्य अझ परिपक्व र परिमार्जित बनाउँछ ।
नयाँ वर्षको आरम्भ विगतको समीक्षा र भविष्यको लागि ऊर्जा बटुल्ने मिलनबिन्दु हो । हरेक व्यक्ति, संस्था, समुदाय र देशको आ–आफ्ना कर्तव्य र लक्ष्य हुने गर्छन् । नयाँ वर्षमा सबैले आफ्नो लक्ष्य पुग्ने दुरी अझ कति नजिक वा टाढा छ भन्ने कुराको समीक्षा गर्नसक्छ । लक्ष्य अझ टाढा हुँदै गए अझ उत्साहका साथ शिखरको बाटो हिंड्नु प¥यो, लक्ष्य नजिक बन्दै गए निकै सजगताका साथ यात्रा अघि जारी राख्नुपर्छ । लक्ष्य नजिक पुग्दा यात्रा अझ कष्टकर हुनसक्छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।
२०७५ को समीक्षा गर्दा कसैले पनि आफू एकजना व्यक्तिको रूपमा मात्र नभई देशको नागरिक र संसारकै बासिन्दाको रूपमा गर्नु आवश्यक छ । व्यक्तिगतरूपमा हामीले के कति सफल वा असफल भयौँ, समीक्षाको एउटा कोण हो । देशको एकजना नागरिकको नाताले हिजोभन्दा देश आज अघि बढेको छ, पछि सरेको छ वा जहाँको तहीं छ, सिंहावलोकन गर्न जरूरी छ । देशका कति युवालाई रोजगारी दिन सरकार सफल भयो ? नागरिकले आफ्नो जिउज्यान कति सुरक्षित मानेका छन् ? भविष्यका कर्णाधार विद्यार्थीले कति गुणात्मक जीवन सिकेको छ ? स्वास्थ्य शिक्षा नपाएर कति मानिसले अकाल ज्यान गुमाउनुप¥यो ? देशको नागरिक भएर अघिल्लो वर्षको समीक्षाको लागि उठाइन सकिने प्रश्न यस्ता हुनसक्छन् ।
पृथ्वीको बासिन्दाको रूपमा हरेक नयाँ वर्षमा हामीले समीक्षा गर्नुपर्ने प्रश्न भनेको जलवायु परिवर्तन, प्रदूषण, विश्व तापमान वृद्धि आदि चुनौतीले मानिसलाई हिजोभन्दा आज कति कमजोर बनाएको छ, त्यस्ता चुनौती रोकथाम गर्न हामीले के ग¥यौँ ?
संसारको राजनीतिमा असहिष्णुको भावना अझ बलियो बन्दै गएको छ । मानिसले मानिसबीच नै पर्खाल बनाउने राजनीति बढ्दै गएको छ । मानिसको छालाको र·, जाति, भाषा, इतिहासको आधारमा मानिसमाथि विभेद गर्ने क्रम अझ बढ्दो छ । लोकतन्त्र सबैले जप्न शब्द बनेको छ । लोकतान्त्रिक आचरण सर्वत्र कमजोर बन्दै गएको छ । बोल्न र आफूलाई चित्त नबुझेको कुरामा विरोध गर्न पाउने मानिसको अधिकारमा निषेध गरिन थालेको छ । बितेको सालमा संसारमा मानव सभ्यता अघि बढ्यो वा पछि स¥योे, यस्ता प्रश्न नै नयाँ वर्ष आरम्भ र बितेको सालको समीक्षाको आधार हुनसक्छ ।
उत्सव र खुशियालीका साथ नयाँ वर्षलाई स्वागत गर्दै गर्दा हामीले चिन्तनको दायित्व नछोडौँ । नयाँ वर्षको नयाँपन व्यक्तिगत जीवनमा मात्र नभई समाज, देश र सम्पूर्ण विश्वको लागि पनि प्रयत्न अघि बढाआँै । नयाँ वर्षको मङ्गलमय शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *