भर्खरै :

जोड दिनुप¥यो सीको भ्रमणलाई

भैरव रिसाल
अपराधीहरूको अपराध निश्चित लम्बाइ, चौडाइ र उचाइको हुँदैन, सीमा पनि हुँदैन न त हुन्छ थर, गोत्र र राष्ट्रियता नै, केवल अपराध हुन्छ । अपराधीहरूको मेलमिलाप पनि अपराध गरूञ्जेलमात्र हुन्छ । अपराध गरेर ल्याएका वस्तु र रकम भागबण्डा गर्दा नै कचकच हुन थाल्छ । त्यतिबेला घात, अन्तर्घातसम्म पनि हुने गरेका छन् । यो प्रसङ्ग उठ्दा नेपालमा पनि ३३ किलो सुन तस्करी काण्डमा एक जनाको क्रुर हत्यासम्म भयो । कतिपय ल्याटिन अमेरिकी मुलुकमा लागूपदार्थ तस्करीजस्ता काण्डमा समूहहरूबीच हमलाहरू हुन्छन्, समूह लडाइँ हुन्छ । समूह नै समाप्त हुन्छन् । जेलमा थुनिएका उनीहरूमा समूह आक्रमण हुन्छ र कारागारमै पनि एक समूहले अर्को समूहलाई समाप्त गर्ने गर्छन् । सत्ता र शक्तिमा नहुनेहरूबाट गरिएका त्यस्ता कानुनविपरीतका काम भ्रष्टाचार, अनाचार ठहरिन्छन् भने सत्तामा भएका वा सत्तासीन दलका, सत्ताबाहिरका पदाधिकारीहरूले गरेका त्यस्तै काम अपराध भ्रष्टाचारभन्दा माथि हुन्छन् अपराध ठहरिँदैनन् तर अपराध ठहरिनुपर्छ । हामीकहाँ सत्ताका वरिपरि बस्नेहरूको पनि शक्ति चल्छ । तसर्थ काम एउटै प्रकृतिको भए पनि सत्ता, सत्तानजिक एवम् सत्ता पर रहेकाहरूबाट भए गरेका एउटै प्रकारका अनुचित कामको पनि सजाय पृथक – पृथक हुनुपर्छ । अहिले ललिता निवासभित्रको जग्गा र अन्यत्रका पनि सरकारी जग्गा जग्गा दलाल र सत्ता नजिकका व्यक्तिहरूले आफन्तको वा आफ्नो नाममा विधिवत स्वामित्व कायम गराएका छन् । वास्तवमा ती अपराधी नै हुन् ।
जग्गा सरकारी गर – अपराधीलाई दण्ड गर !
अहिले भ्रष्टाचार सहनशीलता शून्य (!) सरकारका, शासकका दरबारहरू त्यस्तै ठगहरूको घेरामा परेका छन् । ललिता निवास, शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्री निवासहरू प्रत्यक्ष वा परोक्षरूपमा भूमाफिया दलालहरूका आश्रय वा मुन्टो लुकाउने ठाँउ भएका छन् । ती निवासका निवासी र लोभीपापीहरूलाई प्रतिक्रियावादीहरूले सजिलै फसाउने गरेका छन् । यस्ता भ्रष्टाचार र आपराधिक क्रियाकलाप रोक्ने एउटामात्र अचूक उपचार हो जनताको चेतनास्तर उकासिनु वा सचेत जनताको क्रियाशिलता । आजको समाजलाई विभिन्न खालका गैरसरकारी संस्थाहरूले पैसामुखी बनाउँदैछन् । चुनावको समयमा शासनमा भएका र पहिले गएका पार्टीहरू अथाह पैसा प्रयोग गरी जनतालाई झुक्याउँछन् र धोका दिने गर्छन् । राजनीतिक दल भनेको वास्तवमा काम गरेर खाने जनताको पाठशाला हो । उनीहरू पाठशालामा पढ्न जाने उमेरका खेतबारी, होटेल, रेष्टुरेन्ट, सवारी साधनमा, गलैँचा कारखाना वा घरेलु नोकरको रूपमा काम गर्नेमा परे । पढ्ने उमेर बित्यो । तसर्थ अहिले त्यस्ता व्यक्तिहरूको पाठशाला भनेकै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनहरू हुन् । त्यस्ता कामदारलाई शिक्षित एवम् सचेत गराउने काम राजनीतिक पार्टीहरूको हो । बजार रङ्गिएको छ – ललिता निवासको भित्रको सरकारी जमिन विभिन्न टाठाबाठा व्यक्तिका नाममा रजिष्ट्रेशन पास भइसकेको छ रे । त्यसै मेसोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको छोराको नाममा पनि आधा रोपनी जग्गा छ रे ! सरकारले त्यस्ता जग्गाको जुनसुकै खालको भए पनि लिखत बदर गरी सरकारकै नाममा कायम गर्नैप¥यो र जग्गा लिनेहरूलाई दण्ड – जरिवाना गर्नुप¥यो नत्र अपराध मौलाउँछ ।
कति धेरै सहभागी
यही साता चीनको राजधानी पेइचिङमा ‘एक पाटो, एक बाटो’ बेल्ट एन्ड रोड परियोजनाको दोस्रो विश्व सम्मेलन आयोजना हुँदैछ । बेल्ट एन्ड रोड सहकार्य ‘उज्यालो भविष्यको आकार कोर्दै’ नारा पनि तय गरिएको छ । यही १२, १३ र १४ गते तीन दिनसम्म आयोजना गरिने सम्मेलनमा संसारका ३७ मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुखसहित १५० भन्दा बढी देशबाट प्रतिनिधि सहभागी हुनेछन् भने ९० वटा अन्तर्राष्ट्रिय सङ्घ–संस्था सहभागी हुनेछन् । पाँच हजारभन्दा बढी विदेशीले सम्मेलनमा भाग लिने रे ! यो अवधारणा सन् २०१३ मा चिनियाँ राष्ट्रपति सि जिन पिङले प्रस्तुत गरेका हुन् । अघिल्लो सम्मेलनमा भन्दा पर्सि बिहीबारबाट प्रारम्भ हुने दोस्रो सम्मेलनमा दोब्बर मान्छेले भाग लिने कुरा चीनका विदेशमन्त्री वाङ यीले जानकारी दिए । त्यो महत्वपूर्ण सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्व गर्नुहुनेछ । भण्डारीले सम्बोधन गर्ने पनि कार्यक्रम राखिएको छ । उद्घाटन समारोहमा चीनका राष्ट्रपति सि जिन पिङले प्रमुख वक्ताको रूपमा मन्तव्य दिनुहुनेछ । विश्वका सम्पूर्ण देशको ‘साझा भविष्य र साझा समृद्धि’ को लक्ष्य राखी प्रस्ताव गरिएको एक पाटो एक बाटो परियोजना छिट्टै नै राजनीति र अर्थतन्त्रको महत्वपूर्ण अध्ययनको विषय बन्यो । कतिपय परियोजना राजनीति, अर्थनीतिमा मात्र साँघुरिएका हुन्छन् । तर, यो बेल्ट एन्ड रोड प्रस्तावले कूटनीति तथा संस्कृतिदेखि धेरै विषयमा प्रभाव विस्तार गरेको छ । जसरी चीनको भूमिका संसारमा चुलिँदैछ त्यसरी नै यो पाटो र बाटोको प्रभाव फैलिएको छ । यो प्राज्ञिक विषय पनि भएको छ ।
चीनलाई भारत र अमेरिकाले चिनेका छन्
नेपाल र चीन छिमेकी मुलुकमात्र होइनन् भूराजनीतिक हेराइबाट संवेदनशील क्षेत्र हुन् । एक पाटो एक बाटोको साझेदार देश भएकोले पनि नेपाललाई चीनले सधैँ झैँ यति बेला पनि प्राथमिकतामा नै राखेको छ । नेपाल आफ्नो विरूद्ध कसैबाट पनि प्रयुक्त नहोस् राजनीतिक र सामरिकरूपमा भन्नेमा चीन सजग छ । पश्चिमा शक्तिको प्रायोजनमा तिब्बती पृथकतावादी विद्रोहका निम्ति कतै नेपाल ‘स्प्रिङ बोर्ड’ नबनोस् भन्ने चिनियाँ चासो अद्यापि छँदैछ । हुनत, तिब्बती पृथकतावादी शक्ति क्रमशः कमजोर बन्दै गएको यथार्थ पनि छ । किनकि, तिब्बती जनता स्वयम् चिनियाँ विकासको मूलधारमा एकाकार भई अघि बढिरहेको परिस्थितिमा नेपालप्रति चिनियाँ चासो तिब्बती पृथकतावादसँग मात्र सीमित हुने देखिंदैन । बीचबीचमा केही तल–माथि भए पनि चीन–भारत सम्बन्ध वर्तमानमा तिक्ततापूर्ण छैन । यो राम्रो सङ्केत हो । वास्तवमा चीन–भारत दुवै देश हिजो–अस्तिजस्तो आपसमा वैरभावपूर्ण अवस्थामा बस्न सक्दैनन् । भारतले विश्वभर फैलिएको चीनको प्रभाव इन्कार गर्न सक्दैन । त्यसो भनेर संरा अमेरिकाले चीनको विश्वव्यापी प्रभाव अस्वीकार गर्नसक्छ भनेको पनि होइन । एउटा बेला थियो विश्वमा शित युद्ध थियो । त्यो समाप्त भयो । तत्पश्चात् यस्तो स्थिति आयो अमेरिकी साम्राज्यवादी पुँजी चीनको उदय रुचाउन कहाँ सक्थ्यो र ? त्यसमाथि आज त पाटो र बाटो परियोजनामार्फत चीनले संसारमा फैलाएको आपसी समृद्धि र सहयोगी सम्बन्ध अमेरिकाको लागि टाउको दुखाइ भएको छ ।
नजिकसँग टाढा, टाढासँग नजिक ?
भारत अहिले पनि असंलग्न विदेशी नीतिको बखान गर्नबाट थाक्दैन । तर, व्यवहारमा भने अमेरिकी हिन्द प्रशान्तीय सैनिक गठबन्धनमा भारतको सक्रियता देख्दा नजिकको चीनसँग हात मिलाउनुभन्दा धेरै टाढाको अमेरिकासँग पो त आशीर्वाद थाप्न बढी उत्सुक देखिनु साँच्चै किन होला भन्ने जिज्ञासा हुन्छ । यस्तो संवेदनशील वास्तविकतामा चीन–भारतबीच राखिदिएको छ नेपाललाई प्रकृतिले । अब, नेपालले कूटनीतिक सजगता एवम् परिपक्वता अवलम्बन गर्नुको कुनै विकल्प छ र ? स्थिति अझै अर्कै छ, भारत अहिलेसम्म पनि चीनद्वारा प्रस्तुत वन बेल्ट वन रोड परियोजनामा प्रवेश गरेको छैन । बरु उल्टो वैरभाव राख्दै आएजस्तो देखिन्छ । यता पाकिस्तानले भने यो बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत पूर्वाधार निर्माण गतिविधिले तीव्रता दिइरहेको छ । दक्षिण एसियालाई आफ्नो जिम्मेदारी वा अझ मौजा मान्ने भारतको विस्तारवादी सोचबाट काम चल्दैन, परिवर्तन जरूरी भइसकेको छ । चीन भ्रमणको निम्तो मागियो रे ! मागी – मागी अतिथि हुनु शोभनीय हो र ! अतिथिलाई आमन्त्रण गर्ने नगर्ने, कुन हैसियत दिने भन्ने कुरा आतिथेय मुलुकको आन्तरिक कुरा होइन र ?! सरसर्ती हेर्दा बेल्ट एन्ड रोड परियोजना विकास र समृद्धिको परियोजना हो । परियोजनामा प्रवेश गरेका देशमा चीनले पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ । चीनले हासिल गरेको विकास गतिमा नेपाल पुग्न खोज्छ ।
नेपाल केही माग्दैन, आश्वस्त पारौँ
हामी नेपाली आफूले परिश्रम गर्नुभन्दा पनि लाज नमानी माग्छौँ । मागेर पाएका वा नमागी प्राप्त गरेका औद्योगिक संस्था सस्तोमा बेच्छौँ । त्यसरी बेच्दा पनि लाज मान्दैनौँ, फेरि माग्छौँ ! यो बानी तत्कालै परिवर्तन गर्नु जरूरी छ । चीनबाट उच्चस्तरीय भ्रमण नभएको लामो समय भइसक्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन वर्षमा तीन पटक नेपाल आइसके तर अर्काे छिमेकी मित्रराष्ट्रबाट उच्चस्तरको भ्रमण नभएकोमा सरकार बेखबर छ । नेपालले आफ्नो संविधान आफैले बनाएर आफ्नो अनुकूलबमोजिम लागू गर्दा नाकाबन्दी गरी नेपाललाई आर्थिकरूपमा थला पार्ने छिमेकी देशका कार्यकारी प्रमुख तीन–तीनपल्ट नेपाल भ्रमण आउने अनि नाकाबन्दी गर्ने ! उता नाकाबन्दीका अप्ठेरोमा पूरा मद्दत गर्ने मित्रराष्ट्र चीनबाट उच्चस्तरीय भ्रमण नहुनू के हो ? किन हो ? सरकार किन गम्भीर हुँदैन ? भन्ने प्रश्न कम गम्भीर छैन । राष्ट्रपति सि जिन पिङको नेपालको मैत्रीपूर्ण र सद्भावना भ्रमण यति लामो समयसम्म किन हुन सकेन । गहिरोगरी किन विचार नगरिएको हो ? चीनका लागि वर्तमान राजदूतसँग किन साङ्गोपाङ्गो परामर्श नभएको हो । पछिल्लोपल्ट चीनमा राजदूत रहनुभएका डा. महेश मास्केसँग परामर्श गरेको भए असली कारण पत्ता लागिसक्थ्यो भन्ने लाग्छ । सुरक्षाको प्रश्न जरूरै नहोला वा होला पनि । समस्या के हो ? चिनियाँ महामहिम राष्ट्रपतिको नेपाल यात्राको अवरोधक तत्व के हो ? कि राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भमा नेपालले प्रस्तावित चीन–नेपाल रेल्वे सेवा बनाइदिन मुख फोर्छ भन्ने पो छ कि ? नेपालले राष्ट्रपतिको यो निकट भ्रमणमा विश्वास दिलाउनुप¥यो चीनलाई कि सीसँग नेपाल केही माग्दैन । तब यात्रा हुन्छ कि !?
पहिलो राजकीय भ्रमण ?
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणबारे कूटनीतिक उत्तर दिएर टार्नु भो । सिको भ्रमण अझै पूर्ववत् नै रह्यो । ज्ञवालीको ‘एउटा उपयुक्त समयमा चिनियाँ उच्च राजनीतिक नेतृत्वले नेपालको भ्रमण गर्ने कुरामा हामी विश्वस्त छौँ । दुवै पक्षको अनुकूलतामा तय हुनेछ’ कथनले चीनका राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण साँच्चै टुङ्गो रहेनछ भन्ने कूटनीतिक सन्देश दिएको छ । यो सदाबहार उत्तरले सिको नेपाल भ्रमण निकट भविष्यमा नहुने स्पष्ट पारेको छ । यद्यपि यसअघि डा. रामवरण यादव राष्ट्रपति हुँदा मलाई सम्झना भएसम्म दुईपल्ट चीन भ्रमण गर्नुभयो । तर, ती भ्रमण राजकीय होइन रहेछन् । भोलिदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण पहिलो राजकीय भ्रमण रहेछ । विशिष्ट व्यक्तित्वहरूको भ्रमण धेरै थरि हुने रहेछन् राजकीय, औपचारिक, अनौपचारिक र निजी । यसरी भ्रमणका प्रकार तोकिनुका सूक्ष्म भेद के – के हुन्छन् त्यो त थाहा छैन । परन्तु, राजकीय भनेको सर्वाधिक विधि विधानवाला वा प्रोटोकल बढी निर्वाह गर्नुपर्ने होला । निजी भनेको सबभन्दा सजिलो वा हलुका होला । यस्ता भ्रमण कुन खालको हो, त्यो भ्रमणपूर्व नै तोकिने गरिन्छ । यद्यपि नेपालका राष्ट्रपतिको भ्रमणमात्र भ्रमण नभएर एक पाटो एक बाटो अग्रसरताको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनकै सन्दर्भमा हुँदैछ जुन सम्मेलनलाई चीनले अत्यन्त महत्व दिएको छ, सर्वोच्च प्राथमिकतामा राखेको छ । हामी सफलता चाहन्छौँ ।
केही यस्ता हुन्छन् जो देखिनैपर्छ
यसअघिका राष्ट्रपति, प्रधानमन्त्रीहरूको चीन भ्रमण हुँदा केही न केही विकास आयोजनाहरूमा सम्झौता, सन्धि, समझदारीमा दुईपक्षबीच हस्ताक्षर हुने गर्थे सामान्यतः । यद्यपि चीनसँग औपचारिक दौत्य सम्बन्ध स्थापना भएको २०१२ साल साउन १७ गते हो । ६४ वर्षमात्र भएछ । त्यसको लगत्तैजसो २०१३ माघ १२ मा चीनका प्रधानमन्त्री चाउ एन लाइको नेपाल र नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको २०१३ असोज दोस्रो साता चीन भ्रमण सम्पन्न भयो । टङ्कप्रसादजीको भ्रमणको अन्तमा चीनले भा.रू. ६ करोड बराबरको सहयोग गर्ने भो । सो सहयोग पनि रू. २ करोड नगदमै र ४ करोडको जिन्सी थियो । २०१३ माघ १२ मा चिनियाँ प्रधानमन्त्री चाउको प्रथम नेपाल भ्रमण हो भने दोस्रो भ्रमण २०१७ वैशाख १४ मा भयो । नेपालबाट राजाको चीन भ्रमण पनि बेला – बेला भए । चीनका राष्ट्रपति, प्रधानमन्त्रीहरूका भ्रमण पनि बारम्बार हुने गरे । चेयरम्यान माओले पनि स्वास्थ्यले साथ दिए नेपाल आउने इच्छा व्यक्त गरेका थिए कीर्तिनिधि विष्टमार्फत । तर, त्यो हुन सकेन । नेपालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले पनि २०१६ फागुन २७ देखि चीन भ्रमण गरे । यसरी यी दुई निकटम राष्ट्रका शीर्ष नेतृत्वको भ्रमण बारम्बार भइरहेको परम्परा नै हो । तर, चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमण नभएको धेरै भो । राष्ट्रपति विद्यादेवीले चिनियाँ राष्ट्रपति सीसँग नेपालीहरूको चीनका राष्ट्रपतिलाई स्वागत गर्न तीव्र प्रतिक्षामा छन् भन्ने यथार्थ स्पष्टसँग भन्न सक्नुप¥यो । बेल्ट एन्ड रोड इनिसिएटिभ आफ्नो ठाउँमा सशक्त छँदैछ । सो सँगसँगै राष्ट्रपति सिको नेपाल भ्रमणलाई सर्वोच्च प्राथकितमा दिनु जरूरी छ । राष्ट्रपति भ्रमण किन सम्भव भैरहेको छैन ? सूक्ष्मरूपमा केलाउनुप¥यो । जोरीपारीले पनि औँला भाँच्न थालिसके । यो सन्देश पनि त्यहाँ प्रवाहित हुनुप¥यो । कतिपय कुरा यस्ता हुन्छन् जो देखिने गरी हुनुपर्छ । राष्ट्रपति सीको भ्रमण यस्तै भएको छ । यो सार चीनलाई बुझाउनु जरूरी भएको छ ।
–२०७६ वैशाख ९

Leave a Reply

Your email address will not be published. Required fields are marked *