भर्खरै :

केरालाको चुनावः के वामपन्थी नेतृत्वले बाजी मार्ला ?

टीए अमिरुद्दिन
गएको अप्रिल ११ मा केरालाका मुख्यमन्त्री पिनाराई विजयन निकै उत्साहित थिए । किनभने, उनी वाम प्रजातान्त्रिक मोर्चाका पीपी सुनिरको पक्षमा वायानाड चुनाव क्षेत्रमा प्रचार गरिरहेका थिए । सुनिर काङ्ग्रेस सभापति राहुल गान्धीका प्रतिद्वन्द्वी हुन् ।
वायानाडलाई पाकिस्तानसँग तुलना गरेकोमा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहमाथि गतिलो जवाफ फर्काउँदै विजयनले केलपट्टाको चुनावीसभामा साहलाई इतिहासको आधारभूत ज्ञान पनि नभएको बताए । “उनले बुझ्न जरुरी छ, वायानाड वर्मा पाजिस्सिराजाको भूमि हो जो बेलायती उपनिवेशवादविरुद्ध अन्तिम श्वाससम्म लडेका थिए ।”, मुख्यमन्त्रीको यस्तो भनाइ सुनेर सहभागी जनताले कर्तल ध्वनिमा ताली बजाएका थिए ।
अप्रिल ४ मा वायानाडमा सम्पन्न राहुल गान्धीको चुनावी प्रदर्शनीमा ठूलो सङ्ख्यामा देखिएका भारतीय सङ्घीय मुस्लिम लिगका हरिया ध्वजातर्फ सङ्केत गर्दै अमित साहले वायानाड भारत हो वा पाकिस्तान, छुट्याउनै गाह«ो भएको बताएका थिए । केरालामा मुस्लिम लिगले काङ्ग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।
केलपट्टामा विजयन सहभागी बनेको चुनावी जुलुसमा पनि हरिया ध्वजा फहरिएका थिए । ती ध्वजा सबै भारतीय नेसनल लिगका ध्वजा थिए । सन् १९९४ मा मुस्लिम लिगबाट अलग भएर भारतीय नेसनल लिग स्थापना भएको थियो । भारतीय नेसनल लिग वाम प्रजातान्त्रिक मोर्चाको सहयोगी हो । “अमित साहको भनाइ वायानाडको अपमान हो ।”, मुख्यमन्त्रीले भने ।
सरकारी कर्मचारी गणेशकुमार विजयनको भाषणबाट प्रभावित भए । उनी कुनै पनि राजनीतिक दलसम्बद्ध छैनन् । तर, उनी विजयनको प्रशंसा गर्छन् किनभने ‘केरालामा उनी नै एक जना नेता छन् जसले भाजपालाई चुनौती दिनसक्छन् ।’
“काङ्ग्रेसका नेताहरूले अहिलेसम्म अमित साहको त्यो भनाइको जवाफ फर्काउन सकेका छैनन् ।”, गणेशले भने । “विजयनले मात्र अमित साहलाई मुखभरिको जवाफ दिए । उनको यो भाषणले आगामी चुनावको नतिजामा प्रभाव पार्नेछ । उनले यो चुनावमा वाम मोर्चालाई जिताउन सक्छन् ।”
केरालाका बीसवटै चुनावी क्षेत्रमा मुख्यमन्त्रीकै नेतृत्वमा चुनावी अभियान भइरहेका छन् । केरालामा मङ्गलबार अप्रिल २३ मा चुनाव हुँदैछ । विजयनसँगै यो चुनावमा वाम मोर्चालाई जिताउनुको विकल्प छैन किनभने कदाचित यो चुनावमा हात धुनुपरे आफ्नो प्रान्तीय सरकार र व्यक्तिगतरूपमा आफूलाई पनि नकारात्मक प्रभाव पार्नेछ ।
विजयन सन् २०१६ को मे महिनादेखि केराला सरकारको नेतृत्व गरिरहेका छन् । प्रान्तीय सभाको कूल १४० स्थानमध्ये वाम मोर्चाले ९० स्थानमा जित हासिल गरेको थियो । लोकसभाको निर्वाचनमा पनि यस्तै परिस्थिति कायम रहे केरालाको स्थान वाम मोर्चाकै पोल्टामा जानेछ । तर, यो त्यत्ति सजिलो भने छैन । मतदाताहरूले यो चुनावमा राष्ट्रिय राजनीति र प्रान्तीय सरकारका गतिविधिका आधारमा मतदान गर्नेछन् । गएको अगस्ट महिनामा केरालाले सामना गरेको विनाशकारी बाढी र सवरिमाला आन्दोलनको व्यवस्थापनमा प्रान्तीय सरकारले खेलेको भूमिकाको आधारमा मतदाताले मतदान गर्नेछन् ।
गएको अगस्ट महिनामा आएको बाढी शताब्दीकै सबभन्दा खराब प्राकृतिक प्रकोप थियो । केरालाका ९८१ गाउँका झण्डै ५५ लाख मानिस त्यसबाट प्रभावित भए । कम्तीमा ४८३ जनाले बाढीका कारण ज्यान गुमाउनुप¥यो । केराला अझै पनि बाढीले गरेको विनाशबाट उठ्न सकेको छैन ।
बाढीको समयमा ज्यादै प्रभावकारी तरिकाबाट उद्वार र राहत कार्य अघि बढाएकोमा विजयनको प्रशंसा हुने गरेको छ । तर, केरालामा रहेको सवरिमाला मन्दिरमा भएको आन्दोलनको व्यवस्थाको सन्दर्भमा विजयनको भूमिकाबारे केरालाका जनता विभाजित छन् । गएको सेप्टेम्बर महिनामा केरालाको सर्वोच्च अदालतले सवरिमाला मन्दिरमा महिनावारी भएका महिलालाई पुजा गर्न दिनुपर्ने भनी फैसला ग¥यो । अदालतको आदेश वाम मोर्चाको सरकारले पालना गर्ने घोषणा गरेपछि सङ्घ परिवार र त्यसका भातृसङ्गठनले अदालतको सो फैसलाविरुद्ध आन्दोलन गरे । त्यस्ता आन्दोलनले प्रायशः हिंसात्मक रूप लिएको थियो ।
‘उदाहरणीय काम’
बाढीको समयमा उद्धार र राहत वितरण कार्यमा विजयनले प्रभावकारी तरिकाबाट अनुगमन गरेकोमा बाढीपीडित जनता उनीप्रति आभारी छन् । मुख्यमन्त्रीको सक्रियताका कारण पनि धेरै मानिसको ज्यान जोगिएको केरालाका जनताको भनाइ छ । “बाढीको समयमा उनको नेतृत्व क्षमता देखियो ।”, ४० वर्षका सिकर्मी टीके बाबुले भने । उनलाई बाढीको समयमा हेलिकप्टरले उद्धार गरेको थियो । “उनी आफै अघि सरेर थ्रिसुरको चालाकाडुमा उद्धार कार्यलाई केन्द्रित गरेपछि धेरै मानिसको ज्यान जोगिएको थियो । धेरै मानिसको दिमागमा अझै पनि ती कष्टप्रद दिनको सम्झना बाँकी नै छ । त्यसको प्रभाव चुनावमा पर्छ जस्तो लाग्छ ।”
रिक्सा चालक विष्णुको घर बाढीले पूरै डुबाएको थियो । सरकारको सक्रियताका कारण उनको ज्यान जोगियो । उनी सरकारले उदाहरणीय काम गरेकोमा खुशी छन् ।
तर, केरालाको उच्च अदालतको अध्ययन समितिले बाढीको विषयमा सार्वजनिक गरेको प्रतिवेदनले भने सरकारलाई कठघरामा उभ्याएको छ । अप्रिल महिनाको सुरुमा सार्वजनिक गरेको प्रतिवेदनले सर्वोच्च अदालतको नेतृत्वमा विज्ञ समिति गठन गरी बाढी आउनुको मूल कारणबारे अध्ययन गर्न सिफारिस गरेको छ । राज्यनियन्त्रित पानी पोखरी (रिजभ्र्वाएर) बाट अचानक पानी फाल्दा बाढी आएको हुनसक्नेमा सोधअनुसन्धान गर्न समितिले सिफारिस गरेको हो ।
गत अप्रिल ८ मा इर्नाकुलममा आयोजित चुनावी सभामा बोल्दै मुख्यमन्त्रीले भने, “केही मानिसहरू बाढीमा आउनुको दोष सरकारमाथि लगाइरहेका छन् ।”, उनले भने, “यो दोषारोपण पूर्णरूपमा गलत हो । अतिवर्षा र धेरै पानीकै कारण हाम्रा नदीहरूले पानी थाम्न नसकेका हुन् । त्यसैकारण बाढी आएको हो ।”
तर, यो कुरा सबैले पत्याएका छैनन् । इडुकीमा धेरै मानिस पेरियार नदीको बाँधबाट आएको पानीले वा बाढीले पहाडी जिल्लामा अझ क्षति पु¥याएको धेरै मानिसको दाबी छ ।
स्थानीय एक किसान साजु जोसेफका अनुसार पानी नियन्त्रित तरिकाबाट बाहिर पठाइनुपथ्र्यो । “इडुकी बाँधका ढोका अचानक खोल्दा इडुकी, इर्नाकुलम र अलापुझ क्षेत्रमा बाढीले धेरै क्षति पु¥याएको थियो ।”, उनले भने, “यो सरकारको ठूलो असफलता हो ।”
‘हिन्दूविरोधी’
बाढी पीडित अलापुझ र पाथानामथित्ता धेरै मानिसले बाढीले आफूलाई बगाएको अवस्थाभन्दा सवरिमाला मन्दिरको पवित्रता आफ्नो लागि चासोको विषय भएको बताए ।
“विजयमले हिन्दुलाई झुक्याए ।”, पाथानामथित्ताको अयिरुरका ७३ वर्षका शान्थात्माले भनिन्, “हामीले यसको बदला चुनावमा लिनेछौँ ।”
गएको अगस्ट १५ मा पम्पा खोला किनारको उनको घर पूरै डुबानमा प¥यो । उद्धारकर्मीहरूले उनलाई सुरक्षित अस्थायी शिविरमा पु¥याए । “सरकारले हामी समस्यामा पर्दा शीर ढाक्ने छाना र खाना दियो ।”, उनले भनिन्, “तर हामीलाई त्योभन्दा बढी पीडा सवरिमालामा महिलालाई पस्न दिएर भएको छ । विजयन नै यो समस्याका जड हुन् ।”
अटो रिक्साचालक विष्णु पनि सवरिमाला विवादमा वाम मोर्चा सरकारको भूमिकाप्रति सन्तुष्ट छैनन् । “विजयनले जनताको धार्मिक भावना बुझ्नुपथ्र्यो ।”, उनले भने, “बाढी पीडितको व्यवस्थापनमा उनले खेलेको भूमिका वा सवरिमालामा उनको अडानमध्ये कुन पक्षमा जनताले मतदान गर्ने हुन्, मलाई थाहा छैन ।”
थिरुभानानथापूरमका पान पसले रवि नायरले विजयनले मन्दिरमा महिलालाई पस्न दिएर ‘सवरिमालालाई अपवित्र बनाएको’ आरोप लगाए । “वाममोर्चा हिन्दुविरोधी गतिविधि गरिरहेको छ ।”, उनले आरोप लगाए, “वाम मोर्चालाई चुनावमा त्यसको पाठ चखाउनुपर्छ ।”
सवरिमालामा विजयनको भूमिकाले विशेषतः केरालाका माथिल्लो जातमा नायरहरूलाई आक्रोशित बनाएको छ । केरालाको कूल जनसङ्ख्यामध्ये नायर १२ प्रतिशत छन् । सर्वोच्च अदालतबाट आदेश भए पनि नायर सेवा समाजले महिलालाई मन्दिरमा पस्न दिने निर्णयको आक्रामकरूपमा विरोध गर्दै आएको छ । सङ्घ परिवारले विरोध प्रदर्शनको नेतृत्व लिनुअघि नै केही प्रभावशाली समुदायले त्यहाँ विरोध प्रदर्शनहरू गरिसकेका थिए ।
नायर सेवा समाजले चुनावमा कुनै राजनीतिक दललाई औपचारिकरूपमा समर्थन वा विरोध गरेको छैन । तर, यो समुदायले वाममोर्चाको विपक्षमा मतदान गर्ने तयारीमा रहेको बुझिएको छ ।
यो धार्मिक असमञ्जसमाथि भाजपाले जातिवादको घ्यू थपिदिएको छ । हिन्दुत्व पार्टी मलायालमको मुखपत्र जन्मभूमिमा डिसेम्बर २५ मा एउटा कार्टुन प्रकाशित भएको थियो । त्यो कार्टुनमा मुख्यमन्त्रीले आफ्नो जात देखाइरहेको देखाइएको थियो । विजयन इजहाभा समुदायका हुन् । पिछडिएको जातिमा सूचीकृत यो जातिले खजुरको रुखबाट मादक पेय पदार्थ निकाल्ने गर्छ । केरालामा यो जातिका मानिस २८ प्रतिशत छन् ।
मुख्यमन्त्रीले तत्कालै त्यसको प्रतिक्रिया दिंदै केही मानिस सधैँ आफूलाई आफ्नो जात सम्झाउन लागिरहेको बताएका थिए । “म खजुरको रुखबाट मादक पेय पदार्थ उत्पादन गर्ने बुबाको छोरा हुँ । अनि उनीहरू म पनि त्यही हुनुपर्छ भन्ने सोच्छन् ।”
छवि बनाउँदै
पहिलोपटक मुख्यमन्त्रीको रूपमा काम गर्दै गरेका विजयनले आफूलाई केरालाको विकास गर्न चाहने नेताको रूपमा प्रस्तुत गर्ने गरेका छन् । उनले ठूलो आकारका पूर्वाधार परियोजना सुरु गरेका छन् । कोचीदेखि बंगालुरुसम्म ग्याँस पाइपलाइन निर्माण र राजमार्ग विस्तार योजना ल्याएका छन् । दुवै परियोजना अघिल्लो काङ्ग्रेस नेतृत्वको सरकारद्वारा प्रस्तावित हो । तर, वाम मोर्चाकै विरोधका कारण दुवै परियोजना अघि बढ्नसकेको थिएन । विजयनले फेरि यो परियोजना सुरु गर्ने प्रस्तावअघि सार्दा विरोध कार्यक्रमहरू भए । धेरै ठाउँमा त्यस्ता प्रदर्शन हिंसात्मक भए । पछि प्रहरी परिचालन गरी विरोध मत्थर पारियो ।
विजयनले कुदाकुलम–कोची विद्युत् प्रसारण लाइन परियोजना पनि अघि सारे । परियोजनाको लागि भूमि प्राप्तिसम्बन्धी प्रस्तावको विरोधमा सङ्घर्षका गतिविधि भएका थिए ।
यस्ता पहलले मुख्यमन्त्रीको पक्षमा केही मतदाताहरू थपिएका पनि छन् । “अझ फराकिलो राजमार्ग बनाउने यो उपयुक्त समय हो ।”, कान्नुरमा बस्ने के सथिसले भने, “साँघुरो राजमार्गका कारण धेरै दुर्घटना भइरहेका छन् ।”
मालापुरममा ग्याँस पाइपलाइनको विरोध गर्नेहरूले अझै पनि प्रहरी दमनको नृशंसता भुलेका छैनन् । “विजयन सरकारले हामीलाई चुप लगाउन शक्तिको प्रयोग ग¥यो ।”, आफ्नो घरनजिकैबाट पाइपलाइन जाने अब्दुल रहिमले भने, “मतदाताहरूले त्यो अत्याचार भुल्ने छैनन् । हामी चुनावबाट विरोध जनाउनेछौँ ।”
अन्त्यहीन राजनीतिक हिंसा
वाम मोर्चालाई क्षति पु¥याउने अर्को कारण उत्तरी केरालामा हुने गरेको अन्त्यहीन राजनीतिक हिंसा हो । सन् २०१६ मेदेखि यता उत्तरी केरालाको हिंसाका कारण दर्जनभन्दा बढी मानिस मारिएका छन् । विजयनको सरकारले सो राजनीतिक हिंसा आफ्नो उच्च प्राथमिकताको विषय भएको भन्दै सङ्घ परिवारसँग समाधानको लागि वार्तासमेत थालिसकेको छ ।
गएको फेब्रुअरीमा काङ्ग्रेस कार्यकर्ता कृपेश र शाराथलाललाई अपहरण गरी हत्या गरियो । मुख्यमन्त्रीको पार्टीकै मानिस सो हत्यामा संलग्न रहेको आरोप लागेको छ ।
विजयनले तत्कालै सो हत्याको विरोध गरे । “हामी कहिल्यै यस्तो नृशंस हत्या सहन सक्दैनौँ ।”, प्रहरीलाई आवश्यक कारबाही गर्न निर्देशन दिंदै उनले भने ।
कसरगडका कृष्णकुमार भने सरकारप्रति सन्तुष्ट छैनन् । “यी जुम्ल्याहाको हत्याले मुख्यमन्त्रीले हिंसा रोक्न असमर्थ छन् भन्ने कुरा पुष्टि गर्छ ।”
‘अहिलेसम्मकै उत्कृष्ट मुख्यमन्त्री’
गएको साता प्रकाशित तीन वटा जनमत सङ्कलनको नतिजाले वाम मोर्चा यो चुनावमा पराजित हुने देखाएको छ । मातृभूमि–एसी नियलसनको सर्वेक्षणले चुनावमा काङ्ग्रेस नेतृत्वको संयुक्त प्रजातान्त्रिक मोर्चाले चौध स्थान, वाम मोर्चाले पाँच स्थान र भाजपाले एक स्थान जित्ने देखाएको छ ।
मनोरमा समाचारको लागि कार्वे सर्वेक्षणले काङ्ग्रेसले पन्ध्र स्थान जित्ने, वाम मोर्चाले चार स्थान र भाजपाले एक स्थान जित्ने अनुमान गरेको छ । टाइम्स नाउ–भीएमआर मत सर्वेक्षणले सत्र स्थान युनाइटेड डेमोक्रेटिक फ्रन्ट र एक स्थान भाजपाले जित्ने देखाएको छ । बाँकी रहेका दुई स्थानमा मात्र वाम मोर्चा जित्ने देखाएको छ ।
विजयनले ती सर्वेक्षणका नतिजा हावादारी भएको बताए । उनले केरालाका कूल २० स्थानमध्ये अठार वटामा विजय हासिल गर्ने दाबी गरे ।
कोचीका फलफुल व्यापारी मनोज कुमार मुख्यमन्त्रीको पूर्वानुमान चाँडै साकार हुने आशा गर्छन् । “वाम मोर्चाले सबभन्दा बढी स्थान हासिल गर्नेछ ।”, उनले भने, “म कुनै पार्टीको मान्छे होइन । तर, म विजयनलाई मन पराउँछु । उनी भ्रष्ट छैनन् । केरालामा अहिलेसम्मकै सबभन्दा उत्कृष्ट मुख्यमन्त्री हुन् उनी ।”
स्रोतः स्क्रोल.आइएन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *