भर्खरै :

सिरियाका बाबु–छोरा

दमासकस, ३० मे । हुस्सेन मोस्साको बाल्यकाल शान्तिपूर्ण र सम्झना योग्य थियो । तर, उहाँको छोरा इब्राहिमको बाल्यकाल भने त्यस्तो हुन सकेन ।
हुस्सेनको जन्म सन् १९८६ मा सिरियाको अलेप्पो प्रान्तको मनबिज सहरमा भएको थियो । उहाँसँग बाल्यकालका दिनहरूबारे कुरा गर्दा पुराना सम्झना र सन्तोषले उहाँका आँखा चम्किला बनेका थिए ।
तर, कुनै बेला शान्तिपूर्ण उहाँको सहर आज विभिन्न विद्रोही समूहको क्रिडाभूमि बनेको छ । हुस्सेनको शान्त अलेप्पो सहर टर्कीको सहयोगप्राप्त स्वतन्त्र सिरियाली सेनादेखि इस्लामिक स्टेट (आईएस) अनि अन्ततः संरा अमेरिकाको सहयोगी कुर्दिस शक्तिको नियन्त्रणमा गयो ।
हुस्सेनको ठूलो छोरोको जन्म सन् २०११ मा जन्म भयो । त्यतिबेला सिरिया सङ्कट भर्खर सुरु भएको थियो ।
सिरियामा युद्धको समयमा जन्मेकालाई ‘युद्धको पुस्ता’ भन्ने गरिन्छ । ‘युद्धको पुस्ता’ का बच्चाहरूको बाल्यकाल आफ्ना बुवाआमाका बाल्यकाल जस्तै सामान्य र स्वस्थ्य हुन पाएन ।
अत्यन्त खतरनाक मानिने आइएसलगायत विभिन्न विद्रोही समूहको नियन्त्रणमा धेरै वर्ष बिताइसकेपछि सन् २०१४ मा हुस्सेन, उनकी श्रीमती र छ सन्तान मनबिजबाट भाग्न सफल भए । त्यतिबेला मनबिज सहर आइएसको नियन्त्रणबाट कुर्दिस शक्तिको हातमा गएको थियो ।
आजभोलि हुस्सेनको परिवार सिरियाको राजधानी दमासकस नजिकको जारामानामा बन्दै गरेको घरमा भाइको परिवारसँगै बस्दै आएको छ ।
एउटै घरमा २३ जना सदस्य बसेका छन् । घरका भित्ता सिमेन्टले प्लास्टर नगरिएकाले सबै रङ्गरोगन बिहीन अवस्थामा छ । तथापि भित्ताको चिसो फुङ उडेको पर्खाल छोप्न उनीहरूले पर्दा लगाउने गरेका छन् ।
कठोर वास्तविकताबीच निर्माणाधीन यो घर निकै सुरक्षित स्वर्ग र जीवनको कोशेढुङ्गा नै बनेको छ । जहाँ परिवारले फेरि नयाँ जीवन पाएका छन् । लामो युद्धको अनुभवपछि त्यही घरमा उनीहरूले जीवनको अनुभव गर्न पाएका छन् । हुस्सेनले आफ्नो छोराछोरीले टीभीमा कार्टुन हेर्ने उमेरमा हत्याहिंसा र बमबारी देख्नुपरेको र निकै दुःख भोग्नुपरेकोमा दुःख पोखे ।
“मेरो छोरोको बाल्यकाल पूरै सङ्घर्षले भरिपूर्ण बन्यो । न विद्यालय न के … उसले युद्धको कुरूप दृश्य भोग्यो, हत्या, हातहतियार र बमबारी । त्यसकारण उसको बाल्यकाल पूरै दुःख पीडामा बित्दैछ”, हुस्सेनले भने ।
हुस्सेन आफ्नो बाल्यकाल सम्झन्छन् । कति शान्त थियो, उनको बाल्यजीवन ।
“मेरो बाल्यकाल निकै फरक थियो किनभने त्यत्तिबेलाको परिस्थिति फरक थियो । शान्त थियो त्यो समय । त्यत्तिबेलाको अवस्था निकै राम्रो थियो । म खोलामा पौडी खेल्थें, फुटबल खेल्थें, भेंडा चराउन्थें र खेतमा काम गर्थें । मेरो बाल्यकाल मेरा छोराछोरीको तुलनामा निकै राम्रो थियो”, हुस्सेनले सुनाए ।
उनले आफ्ना छोराछोरीको जीवन सामान्य लयमा अघि बढोस् भन्ने नै आफ्नो चाहना भएको बताए ।
“ईश्वरले हाम्रो लागि सुखद् दिन चाँडै ल्याइदेओस्, यही प्रार्थना छ । म मेरो छोराले दमासकसमा राम्रो शिक्षा पाओस् भन्ने चाहन्छु । इब्राहिम र मेरा अरू सबै छोराछोरीले उनीहरूले बिताएको त्यो समय बिर्संदै जाओस् भन्ने चाहन्छु ।” उनले भने ।
हुस्सेनको घरबाट केटाकेटीलाई घरबाट बाहिर जाने र बाहिरी गतिविधिमा संलग्न हुने कुनै अनुमति छैन ।
“इब्राहिमहरू बाहिर खेल्न गए छिमेकीहरू रिसाउला कि भन्ने पीर लाग्छ । सहरतिर गए गाडीले ठक्कर देला कि वा अपहरणमा पो पर्ला कि भन्ने डर लाग्छ ।” उनले सुनाए ।
आफ्नो छोरा धेरै कुराबाट बञ्चित भएकोमा हुस्सेनलाई निकै पीडा भएको छ ।
“अधिकांश समय उनीहरू घरभित्रै हुन्छन् । म ढोकामा ताला लगाइदिन्छु । केटाकेटी कोठाभित्र खेल्छन् । बेलाबेला मात्र म उनीहरूलाई बाहिर आँगन वा अन्य ठाउँमा लाने गर्छु ।” हुस्सेनले भने ।
इब्राहिमले युद्धलाई राम्ररी बुझेको छ ।
“युद्ध नराम्रो छ किनभने युद्धमा हत्या हुन्छ । गोलीको कर्कश आवाजमात्र सुनिन्छ । त्यो निकै नमिठो लाग्छ ।” इब्राहिमले भने ।
दमासकसमा अब केटाकेटीले साथी पाए र दमासकसलाई मन पराउन थाले ।
“मनजिबभन्दा यो ठाउँ राम्रो छ किनभने यहाँ मेरा साथीहरू छन् । मनजिबमा मेरा साथीहरू थिएनन् । यहाँ म स्कूल जान्छु । मनजिबमा म स्कूल जान पाउँदिनथेँ”, केटोले भन्यो ।
त्रासद बाल्यकाल भएर पनि इब्राहिमलाई कुनै क्यामरा आफ्नो अघि आउँदा खुशी लाग्छ र खुशीले ङिच्च हाँस्न जानेको छ । चर्किएको ऐना हेर्न उनी सानो कुर्सीमाथि चढ्छ र ऐनामा अनुहार हेर्दै कपास कोर्छ । उसको त्यस्तो चालामाला देखेर हुस्सेनको मन पनि खुशी मान्छ । सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *