भर्खरै :

खोकना र बुङमति हाम्रा सांस्कृतिक सभ्यता

श्यामकृष्ण खुलिमुली
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका कब्जा गर्ने क्रममा कान्तिपुरमाथि विजय प्राप्त गर्दा इन्द्रजात्रा चलिरहेको थियो । पृथ्वीनारायण स्वयम् बसी उक्त जात्रा चलाएका थिए । शाहकाल, राणाकाल, पञ्चायतकालमा समेत यहाँको जात्रा परम्परा मासिएन । भलै भाषिक दमन कायमै थियो । तर, हालको गणतान्त्रिक सरकार भने सम्पदा, जात्रा र परम्पराप्रति उदासीन देखिएको छ । दु्रतमार्गको नाममा नेपाली सेनालाई अघिल्लो मोर्चामा खटाएर खोना (खोकना) र बोङा (बुङमति) का रैथानेलाई उठिबास गरी मच्छेन्द्रनाथको जात्रासमेत नामेट पार्ने खेल खेल्दै छ ।
केन्द्रिकृत विकास
२०३३ मा खोकनास्थित सिकाली क्षेत्रको ३०४ रोपनी जग्गा प्याराशुट झार्न भनी नेपाली सेनाले लियो  । तर त्यसमध्ये ३९ रोपनी आफूले लिएर बाँकी जग्गा बेचेपछि खोकनावासी आक्रोशित भए । सैँबु क्षेत्रमा दङ्गा प्रहरी र कारागार राख्ने भनेर जग्गा अधिग्रहण गरियो । तर, पछि ती जग्गा पनि प्लटिङ गरेर बिक्री गरियो । यसरी पटक–पटक सरकारले जग्गा लिएर आदिवासीको भूमि मास्ने र सुकुमवासी बनाउने काम ग¥यो । हाल आएर बाहिरी चक्रपथ, द्रुतमार्ग, स्मार्ट सिटी, बागमती कोरिडोर, १३२ केभी प्रसारण लाइन निर्माणले खोकना र बुङमतिको अस्तित्व र सम्पदा मेटिँदै छ ।
काठमाडौँ उपत्यकाका रैथाने आदिवासीलाई राजा, राणा, पञ्चेहरूले अल्पमतमा पार्ने, लुट्ने काम गर्दै आएका छन् । दरबार बनाउनका लागि राणाहरूले रैथानेका सयौँ हजारौँ रोपनी जग्गा कब्जा गरे । शाहवंशीय राजाले पनि सयौँ रोपनी जग्गा कब्जा गरे । त्रिभुवन विश्वविद्यालय, माइतीघर, तीनकुने, अन्तर्राष्ट्रिय विमानस्थल, व्यारेक, सडक विस्तारको क्रममा कौडीको मूल्यमा स्थानीयको जग्गा अधिग्रहण गरिएको थियो ।
काठमाडौँ संवेदनशील र जोखिमयुक्त ठाउँ हो । विगतदेखि नै राजधानीको रूपमा रहँदै आएको यो उपत्यका मेल्टिङ पटको रूपमा विकास भएको छ । काठमाडौँकेन्द्रित सोचले गर्दा यहाँको जनसङ्ख्या तिब्ररूपमा वृद्धि भएको छ । विकास पनि यहीँमात्र सीमित भएको छ भने मानिसको बसाइ पनि यहीमात्र भएको छ । विकासलाई विकेन्द्रित गर्न नसक्दा र अन्य ठाउँमा पनि अवसर सिर्जना गर्न नसक्दा काठमाडौँका चाप थेगिनसक्नुसँग बढेको छ । त्यससँगै खानेपानी अभाव, यातायातको अव्यवस्था, फोहोरमैलाको समस्या, धुलोधुँवा, कोलाहल बढेको छ । यसले कुनै पनि बेला विनास निम्त्याउन सक्छ । यसलाई विकेन्द्रित गर्न आवश्यक छ । त्यसका लागि राजधानी अन्यत्र सार्नुपर्छ । काठमाडौँलाई सांस्कृतिक सम्पदाको रूपमा विकास गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ ।
सम्पदा मासेर भ्रमण वर्ष  !
नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा बीस लाख पर्यटक भित्याउने लक्ष्य राखेको छ । त्यसका लागि तामझाम सुरु भएको छ । योजना बन्दै छ, प्रचारप्रसार सुरु भएको छ । नेपालमा किन पर्यटक आउँछन् ? कंक्रिट हेर्न आउने भए नेपालको भन्दा उत्कृष्ट कंक्रिट निर्माण विदेशमा थुप्रै छन् । उनीहरू त यहाँको संस्कृति, परम्परा, मौलिकता र सम्पदा हेर्न आउने हुन् । पुर्खाले सिर्जेको सम्पदा हाम्रो कला र सम्पति हुन् । ती सम्पदा हाम्रो पहिचान हुन् । विदेशी पैसा कमाउने माध्यम हुन् । तर सरकार हाम्रा मौलिक सम्पदा मासेर पर्यटन वर्ष मनाउन लागिरहेको छ । हाम्रा प्राचीन र मौलिक निर्माण सामग्री र निर्माण शैली, मौलिक प्रविधि, रैथाने ज्ञान र सीपको उपेक्षा गरी स्मार्ट रानीपोखरी, आधुनिक धरहरा, स्मार्ट खोकना र बुङमति निर्माण गरेर समृद्ध नेपालको सपना पूरा हुनसक्दैन । के यसरी नेपाल भ्रमण वर्ष सफल हुन्छ र ? खोकना र बुङमति नेवारी परम्परागत शैलीमा निर्मित प्राचीन बस्ती हुन् । २०७२ को भूकम्पले त्यहाँको बस्ती तहसनहस पा¥यो । सरकारले त त्यहाँ मौलिक शैलीमा बस्ती निर्माणका लागि ध्यान दिनुपर्ने हो, योजना बनाउनुपर्ने हो, पीडितलाई सहुलियत दिनुपर्ने हो । उल्टै सरकार सम्पदा मास्न लागिपरेको छ । खेतीयोग्य भूमि सकाउन लागिपरेको छ ।
खोइ रोपवे ?
२०२१ सालमा अमेरिकाको सहयोगमा हेटाँैडादेखि काठमाडौँसम्म सामान ढुवानीका लागि रोपवेको स्थापना भयो । उक्त रोपवेले विनाइन्धन प्रतिघण्टा २२ टनसम्म सामान ढुवानी गर्नसक्थ्यो । तर, प्रजातान्त्रिक सरकार आएपछि त्यसलाई मास्ने काम गरियो । नेपालजस्तो पहाडी मुलुकका लागि रोपवे सबभन्दा सस्तो र भरपर्दो ढुवानीको साधन हो । बर्सेनि अरबौँ खरबौँको इन्धन किनेर सामान ढुवानी गर्नुभन्दा रोपवे सबभन्दा सस्तो माध्यम हुन्थ्यो । तर देशलाई परनिर्भर र कङ्गाल बनाउने सोचले गर्दा विदेशीले बनाइदिएका सम्पूर्ण कलकारखाना एवम् पूर्वाधार मासिएका छन् । खोकना र बुङमतिवासीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा पनि आज सरकारको आँखा लागेको छ । यी बस्ती प्राचीन बस्ती हुन् । उत्खननको क्रममा त्यहाँ प्राचीन सभ्यताका प्रमाणहरू भेटिएका छन् । त्यस्तो बस्तीलाई संरक्षण गर्नुको साटो उल्टै सेना लगाएर सम्पदा मास्ने र स्थानीय बासिन्दालाई सुकुमवासी बनाउने प्रयत्न भइरहेको छ ।
विकास कि विनास ?
के कंक्रिटका महल, बाटो, पुल बन्दैमा विकास भएको मानिन्छ ? विकास भनेको भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणको प्रक्रिया हो । विकासका सूचकाङ्कहरू धेरै छन् । तर यहाँ एक्साभेटर लाउनु, डोजरले डाँडा सम्याउनु, खेतीयोग्य जमिन प्लटिङ गर्नु, सडक विस्तार गर्नु आदिलाई मात्र विकासको मानक मान्ने गरिन्छ । तर त्यसले जनजीविकामा पार्ने असर, रैथानेहरू विस्थापित हुने प्रक्रिया, सम्पदा मासिनु, पर्यावरणमा असर पर्नु, खेतीयोग्य भूमि मासिनुलाई भने गौणरूपमा हेर्ने गरिएको छ । तत्कालीनरूपमा फाइदा भएजस्तो देखिए तापनि त्यसले दीर्घकालीनरूपमा विनासमात्रै निम्त्याउँछ । त्यस्तो विकास विकास होइन विनाश हो । जुन पटक्कै वैज्ञानिक र दूरदर्शी काम होइन । हामा पुर्खाले बरु कति व्यवस्थित बस्ती निर्माण गरेका थिए । ठाउँ–ठाउँमा ढुङ्गेधारा, पाटी, चोक, बाटो, पोखरी आदिको बन्दोबस्त गरेका थिए । तर, अहिले जनसङ्ख्या वृद्धि भएसँगै त्यसलाई व्यवस्थित गर्नुपर्ने हो । अझ वैज्ञानिक बस्ती एवम् सहरको निर्माण गर्नुपर्ने हो । तर, उल्टै राजधानी केन्द्रित विकासलाई मात्र जोड दिएको छ । खोकना र बुङमतिको विनास पनि त्यसैको एउटा सिलसिला हो । वर्षौदेखि चल्दै आएको मत्स्येन्द्रनाथको जात्रा अहिले नचल्ने अवस्थामा पुगेको छ । यसको गुठी जग्गा पनि यही दु्रतमार्गमा परेको छ । खोकना र बुङमतिमा तीनसय रोपनीभन्दा बढी यस्तै जग्गा किसानले वर्षौँदेखि जोत्दै आएका छन् । तर, उनीहरूसँग त्यसको धनीपुर्जा छैन । यदि वर्तमान सरकार कम्युनिष्ट सरकार हो भने जग्गा जोत्नेलाई दिनुपर्छ कि पर्दैन ? त्यसमा मोहियानी हक कायम हुने कि नहुने ? बालुवाटार, सिंहदरबार, खुलामञ्च किन्ने ठूला मान्छेलाई काँधमा बोक्ने अनि श्रम पसिना बगाई वर्षौदेखि त्यही माटोमा जन्मे हुर्केकालाई विस्थापित गर्ने कुरा पक्कै पनि न्यायोचित हुनसक्दैन ।
समृद्धिको राजनीति
प्रधानमन्त्रीले सुरुमा समृद्धिको नारा दिँदा जनताले धेरै आशा गरेका थिए । तर, त्यो नारा पटक – पटक दोहोरिएपछि, होर्डिङ बोर्ड र छापामा सीमित भएपछि भने जनताले आशा त्यागेका छन् । चुनावको बेला प्रम पत्नीले माइतीको चेली भनेर भोट मागेको कुरा त्यहाँका जनताले बिर्सेका छैनन्  । तर जब आपूmहरू सुकुमवासी बन्न लागेको र विस्थापित हुन लागेको समस्या सुनाए तब त्यसबाट तर्केको देखेर धेरै खोकना र बुङमति बासीले आँसुको धारा बगाएका थिए । सरकार पानीजहाजको कुरा गर्दै छ । तर, देशका सम्पदाहरू मासिँदै छन् । दुईतिहाइ सरकारले घोषणा गरेको समृद्धि कहिले आउने हो ? जनताले सपना नै देख्न छाड्ने गरी हावादारी सपनामात्र देखाएर समृद्धि आउँदैन । महेन्द्रले अरनिको राजमार्ग बनाउँदा भारतले असन्तुष्ट बनेपछि भनेका थिए, “साम्यवाद गाडी चढेर आउँदैन ।” त्यसैले पानीजहाज चल्दैमा समृद्धि आउँदैन, सपना बाँडेरमात्र समृद्धि आउँदैन । ऐतिहासिक सम्पदा मासेर स्मार्ट सिटी बनाउँदैमा र द्रुतमार्ग बन्दैमा समृद्धि आउँदैन ।
khulimuli@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *