भर्खरै :

केटाकेटीका प्रिय सी चिनफिङ

पेइचिङ, १ जुन । संसारकै उदयीमान शक्ति चीनका राष्ट्रपति सी चिनफिङको दैनिक व्यस्तताको कुरा गरी साध्य छैन । तर, उहाँले चीनको भविष्य स–साना केटाकेटीसँग भेटघाट गर्ने समय भने व्यस्त समय तालिकाबीच छुट्याउनुभएको छ ।
सी चिनफिङ संसारमा सबभन्दा बढी केटाकेटीसँग समय बिताउने नेतामध्ये पर्नुहुन्छ । उहाँ विद्यालय विद्यालय धाउनुहुन्छ, बालबालिकाका घरमा पुगेर भेट्नुहुन्छ, उनीहरूका खेल हेर्न पुग्नुहुन्छ । उनीहरूसँग कार्चोपी भर्नुहुन्छ । साथै वृक्षारोपण कार्यक्रमजस्ता गतिविधिमा सहभागी बन्नुहुन्छ । उहाँ बालबालिकाको नाममा निरन्तर पत्रहरू लेख्नुहुन्छ ।
शनिबार चीनमा बालदिवस मनाइयो । सो अवसरमा चीनभरिका बालबालिकालाई राष्ट्रपति सीले शुभकामना सन्देश पठाउनुभयो ।
सो अवसरमा मे ३१ मा राष्ट्रपति सीले मकाउ प्राथमिक विद्यालयका विद्यार्थीलाई एउटा पत्र पठाउनुभयो । सो पत्रमा उहाँले बालबालिकालाई आफ्नो मातृभूमिलाई प्रेम गर्ने सुन्दर परम्परा कायम राख्न अनुरोध गर्नुभयो । साथै मकाउको विकासमा सहयोग गर्न अनि चिनियाँ राष्ट्रको पुनर्जागरणमा योगदान गर्न आग्रह गर्नुभयो ।
मकाउको हाउ कोङ आधारभूत विद्यालयको पुस्तकालयमा भेला भएका विद्यार्थीहरू सीको सो सन्देश सुनेर दङ्ग परे । हर्षविभोर भएर ताली बजाए ।
“सीको पत्र पाएर म निकै उत्साहित भएको छु”, पाँच कक्षाका विद्यार्थी ताङ विङ चीले भने ।
“देशको अझ राम्रो सेवा गर्न म निकै मिहिनेतका साथ पढ्नेछु”, उनले भने ।
चान लाई विङ सो विद्यालयका शिक्षक हुन् । उनले विद्यार्थीहरूमा देशको सेवा गर्ने भावनाले जरा लिएको र त्यो भावना कालान्तरमा फल्नु–फुल्नुका साथै फलदायी हुने बताइन् ।
चीनको मुख्त्ूमिमा मात्र पन्ध्र वर्ष र सोभन्दा मुनिका बालबालिकाको सङ्ख्या २४ करोड ८० लाख रहेको तथ्याङ्क छ ।
सीले प्रायशः पन्ध्र वर्ष र सोभन्दा कम उमेरका बालबालिकाको हुर्काईबारे चासो राख्ने गर्नुहुन्छ । उहाँले चीनको सपना साकार पार्न बालबालिकालाई सक्षम बनाइनेमा आशा व्यक्त गर्नुभएको छ ।
सन् २०१५ को जुन १ मा पेइचिङमा आयोजित चिनियाँ यङ पायोनियरका सदस्यहरूको भेलामा बोल्दै सबै चिनियाँ बालबालिकाले सानै उमेरदेखि नै असल बन्न सिक्नुपर्ने विचार राख्नुभएको थियो ।
“असल बन्न हामी उच्च नैतिकवान, ज्ञानी र जिम्मेवार बन्न जरुरी छ”, सीले भन्नुभयो, “सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको उच्च नैतिकता र अनुशासन नै हो ।”
सन् २०१६ मा सीले चेच्याङ प्रान्तका १२ वटा प्राथमिक विद्यालयका विद्यार्थीलाई एउटा पत्र पठाउनुभएको थियो । सन् १९५० को दसकमा बाँझो रहेको ताचेन टापुमा खनजोत गर्ने जनताका नातिनातिनीहरू अहिले ती विद्यालयमा पढिरहेका छन् ।
सीले उनीहरूलाई पठाएको पत्रमा आफ्ना हजुरबुवा–हजुरआमाले जस्तै चिनियाँ कम्युनिष्ट पार्टी, देश र जनतालाई माया गर्नुपर्ने र राष्ट्रिय पुनर्जागरणको चिनियाँ सपना साकार पार्न योगदान गर्नुपर्ने विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *