भर्खरै :

सम्पदा संरक्षण र युवाहरूको अग्रसरता

आफ्नो घर वरपर रहेका मठ मन्दिर र सम्पदाको संरक्षण र सरसफाइप्रति युवा अग्रसरता बढिरहेको छ । चाँगुनारायण मन्दिर क्षेत्रका केही युवाहरूले शनिबारको बिदा आफ्नै स्थानको पहिचान र परिचय बनेको चाँगुनारायण मन्दिर परिसरका विभिन्न ऐतिहासिक प्रस्तरहरूको सरसफाइ गरी उपयोग गरे । भक्तजनले चढाउने अबिर, नैवेद्य, धुप बाल्दाको कालो ध्वाँसोले मैलिएका ती मूर्ति र प्रस्तरलाई उनीहरूले सफा गरे । काठमाडौँका केही टोलमा पनि युवाहरूले आफ्नो फुसर्दको समय यसरी नै सदुपयोग गरे ।
भक्तपुरको याछेँ गणेशमा वरपरका केही युवाले पनि आफ्नो टोलको परिचय बनेको मन्दिरको सरसफाइमा अग्रसरता देखाएर उदाहरणीय काम गरे । सम्पदा संरक्षणमा अब्बल मानिएका भक्तपुरका जनताले स्थानीय गुठीमार्फत सम्पदाको सरसफाइ र संबद्र्धन गर्ने काम हुँदै आएको छ । आफ्नो पहिचान र परिचय जोडिएको सम्पदा संरक्षणप्रति स्थानीय युवाहरूको यस्तो तदारुकता अनुकरणीय छ ।
निःसन्देह सम्पदा क्षेत्रको संरक्षण र संबद्र्धन गर्ने जिम्मेवारी सरकार र स्थानीय तहको हो । राज्य आफ्नो उक्त जिम्मेवारीबाट कहिल्यै पनि टाढा र मुक्त हुनसक्दैन । तर, आफ्नो वरपर रहेका आफ्नो परिचय बनेका सम्पदाको सम्भार गर्नु स्थानीय जनताको पनि उत्तिकै दायित्व हो । अझ शैक्षिकरूपमा पढेलेखेका, शारीरिकरूपमा ऊर्जावान युवाहरूले यस्तो रचनात्मक कार्यमा अग्रसरता देखाउनाले समाजलाई अघि बढाउन र सभ्य बनाउन गुनिलो योगदान हुन्छ ।
भक्तपुर नगरपालिकाले नगरभित्रका प्रत्येक विद्यालयलाई एक एकवटा सम्पदा क्षेत्रको जिम्मेवारी दिएर सम्पदा संरक्षणमा नयाँ पुस्तालाई अग्रसर बनाउने सत्प्रयास गरेको छ । विद्यालय तहबाटै सम्पदा क्षेत्रको सरसफाइमा विद्यार्थीलाई परिचालन गर्नसके उनीहरूले भविष्यमा पनि सम्पदाप्रति माया गरिरहने छन् । उनीहरूले सम्पदाको महत्वलाई मनदेखि बुझ्न सक्छन् । यो कार्य अन्य स्थानीय तहको लागि अनुकरणीय हुन्छ ।
केही मानिस सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी आफ्नो नभएको सोच्छन् । निर्वाचनमा मत दिएर जिताएका प्रतिनिधिले नै यस्ता सबै काम गरिदिनुपर्ने सोच बोकेका केही मानिस पनि छन् । सभ्य समाज निर्माणको निम्ति यो विचार विषाक्त विचार हो । नागरिकले आफ्नो अग्रसरतामा हुनसक्ने स–साना कामले पनि समाजलाई सभ्य बनाउन बलियो टेवा पुग्न सक्छ । मन्दिर, पाटी, सम्पदा क्षेत्र सरसफाइ गर्ने, मेलापर्वमा भक्तजनको व्यवस्थापन, खानेपानी, प्राथमिक स्वास्थ्य उपचार आदिको व्यवस्थाले समाजमा सामाजिक भावना बलियो बन्दै जान्छ । बलियो सामाजिक भावना नै सभ्य समाजको परिचय हुने गर्दछ ।
पुँजीवाद समाजको सबभन्दा ठूलो कमजोरी भनेको सामाजिक भावना कमजोर बन्दै जानु हो । व्यक्तिवादी चिन्तन नै पुँजीवादी समाजको सबभन्दा ठूलो कमजोरी हो । त्यसैले पुँजीवादलाई उठाउँछ र त्यसैले सखाप पनि गर्छ । समाज विघटनको मूल कारण भनेको सामाजिक भावनाको अभाव हो ।
नेपाली समाजमा व्यक्तिवादी चिन्तनको जरा काट्ने बलियो औजार भनेको सामाजिक भावनाको विकास हो । सामाजिक भावना ठूलठूला कामबाट भन्दा स–साना कामबाट बलियो जग लिने गर्दछ ।
आफ्नो आँगनकै सम्पदा संरक्षण र संबद्र्धन गर्न युवाहरूको यो अग्रसरतालाई निरन्तरता र व्यापकता दिन जरुरी छ । यसले नेपाली समाजमा सामाजिक भावनालाई अझ खँदिलो बनाउँदै लानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *