भर्खरै :

त्यो दसैँ, यो दसैँ !

लालबहादुर भूजेल
नेपालीहरूले धूमधामसँग मनाउने पर्व दसैँ, वर्षासँगै आउने जनैपूर्णिमा, कृष्ण जन्माष्टमी तथा तीजपछि आउने गर्छ । पुरानो पिँढीले अवलम्बन गर्दै आएका परम्परा, रीतिरिवाज नयाँ पुस्ताले अनुसरण गर्दै जानु मूल्य–मान्यताभित्र पर्दछ । नेपाली चाडपर्व भेषभूषा, संस्कृति जो जहाँ भए पनि हाम्रा पहिचान र गर्व हुन् । भनिन्छ, १२५ जातजातिका मानिसहरूको साझा फूलबारी र १२३ भाषा तथा दसौँ धर्म प्रचलनमा रहेको नेपाललाई सुन्दर, शान्त र विशाल भौगोलिक आधारमा नभई जातिको दृष्टिले भनिएको हो । धर्म, भाषा र जातिको हिसाबले विविधता भए पनि यहाँको सबै संस्कृतिमा सहअस्तित्वको भावनाले ओतप्रोत छ ।
नित्य परिवर्तन रुचाउने र नवीनता चाहने औधी मनोहर प्रकृति, मानव दिललाई आल्हादित गराउनु नै आफ्नो परम कर्तव्य ठान्ने भएकोले बेलाबखतमा आफ्नो छटा बदली पृथ्वीका अनेकानेक जीवजन्तुहरूलाई उल्लास, हर्ष, आनन्द लुटाउँदै आइरहेका छन् । अतः अपार, अपूर्व, अलौकिक समयको परिवर्तनलाई हामीले विभिन्न ६ वटा ऋतुहरूको नामकरण गरेका छौँ । धान रोपाइँ गर्ने सिलसिलामा हुनेखानेहरूले आफ्नै खेतबारीमा रोपेर तथा आफ्नो जग्गा–जमीन नहुनेहरूले अर्काको ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्छन् । भौगोलिक विकटताको साथसाथै साउन र भदौ महिनाको कोदो रोप्ने, धान गोड्ने र वर्षात्को कमीसँगै शरद् ऋतुमा मनाइने महान चाड बडा दसैँ आउँछ ।
पहिलेको दसैँ
वर्षा ऋतुले मदमस्ती बनाएका उर्लँदो खहरे खोलाहरूको भेल मत्थर भएर नतमस्तक भइसकेका हुन्छन् । न हिलो, न धूलो न तालु र कञ्चट सेक्ने घाम, न शिशिरको जस्तो दुःसह जाडोको प्रकोप हुन्छ । कवि शिरोमणि लेखनाथले आफ्नो ऋतु विचारमा शरदयामको वर्णन गर्दै लेख्नुहुन्छ ः
“न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ । अपूर्व यो शरद्काल सबैको सुख घाम छ ।”
खेतमा झुलेका मनोहर पहेँला बाला, बारीमा कोदोका बाला र फापरका झुप्पा, आली र बारीका कान्लामा भट्मास र बोडीका कोसाहरूले शोभायमान गरी मनलाई आनन्दित तुल्याउँछन् । आफ्नो बगैँचामा राताम्मे मनमोहक हलुवाबेद, पूर्णिमाको जूनको आभा पोखिएजस्ता सर्लक्क अम्बाका दाना, सुन्तला, कमला, ज्यामिर, नासपाती, कागती, केरा, भोगटे, चाक्सी आदिले मधुरताको स्वादिष्टता वृद्धि गर्न तँछाड–मछाड गरी होडबाजी गरेको देख्दा माली हर्षले उन्मत्त हुन्छ । वर्षभरि खेतीपातीमा थकित अहोरात्र–अहोदिन खट्ने कृषकहरू कुर्दा–कुर्दै कठिनसाथ प्रतिक्षाको वरदानस्वरूप भएभरको मीठो खाने र राम्रो लाउने आशाले अलमस्त देखिन्छ । शरद् कालको मौसमी आवह नै स्वर्गीय अनुभूति हुन्छ ।
रोजगारी र उच्च अध्ययनको सिलसिलामा देशको सहर बजार र मुग्लानबाट आफ्ना छोरा–छोरी नाता–कुटुम्ब फर्केर न्यानो आत्मीयता साट्ने आसमा हुन्छन् वयोवृद्ध बाबु–आमाहरू दसैँको शुभारम्भ हुने दिन प्रतिपदादेखि अधैर्यसाथ आँखा तानी–तानी प्रतिक्षारत देखिन्छन् । देवीदेवताका स्थानमा बाजागाजा बज्न थाल्छ, एकातिर गाउँफर्कनेहरूको लर्को, अर्कातिर धानको च्यूरा घर–घरमा ढिकीमा कुटेरो गाउँ नै मगमग बसाएको हुन्थ्यो ।
कोसौँ पर गएर घर लिपपोत गर्ने रातो माटो र कमेरे माटोको जोहो, सालको बोक्रा ल्याएर रातभरि आँगनमा पकाई रङरोगनको लागि खोटो बनाउने जोस जाँगरले गाउँघर गमक्क गम्केको हुन्थ्यो । स्वतस्फूर्त, भत्केको बाटो घाटो, पोखरी बनाउने ठाँटी पाटीपौवा मर्मत गर्ने, झाडी फाँड्ने, रातभरि बसेर बाबियाको लिङ्गो पिङलाई चाहिने डोरी बाट्ने, पाखिनमा गएर महिनौँ लगाएर रोटे पिङलाई आवश्यक पर्ने पिर्को – डाँडी, मादल, खाँवा काटेर के केटाकेटी, के युवा, के वृद्धवृद्धा एउटै मनमुटु भएर सरदाम जुटाएर पिङ हालिन्थ्यो । त्यतिबेला आत्मनिर्भरमुखी समाज थियो, घर–घरमा अन्नपात, खसीबोका पालिन्थ्यो । पेटभरि मासुखान, मीठो चोखो खान, नयाँ टालो फेर्न, वर्षदिन कुर्नुपथ्र्यो । तैपनि मानिसहरूमा सुखानन्द छाएको थियो, धेरै सुखी नभए पनि खुसी थिए । परेको बेलामा मोतोजोतो थियो । मान्यजनको सादर आदर भाव थियो । आशीर्वचन लिएर टिको थापिन्थ्यो  ।
अहिलेको दसैँ
दसैँसम्म आइपुग्दा महँगीले पराकाष्ठा नाघेको छ । भ्रष्ट बिचौलिया र नवधनाढ्यहरूको लागि दसैँ भड्किलोरूपमा खर्च गर्ने अवसर भएको छ भने निर्धा–निमुखा र निम्न आय आर्जन हुनेहरूलाई दसैँ होइन बसाइँ सर्नुपर्ने ‘घाँडो’ भएको छ । बजारमा नक्कली सामानको बिगबिगी, तडकभडक र देखासिकी छ जसले विकृति र मारमा नित्याएको छ । गाउँको पनि मौलिकता ओझेलमा परेको छ । ढक, तराजु र खाद्यान्नको मिसावट मनपरी छ,अनुगमन छैन राज्यका नीति कार्यक्रमले हुँदाखानेको मन जित्न नसके अभिशाप हुनेछ । अतः संस्कृति परम्परालाई जगेर्ना गरी आपसी सद्भाव, एकता कायम गर्न गच्छेअनुसार मनाउनुपर्छ । वधस्थलहरूको सुधार गरी उपभोक्ता सचेतनाले गरिमा वृद्धि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *