साहिला

राम्रो लाउने, मीठो खाने
रमाउने आसमा
छोरा छोरीहरू खुसी भए
दसैँ आयो भनेर ।
छर छिमेकी, साथी भाइको घरमा
कुखुरा, खसी, बोका भित्याएको देखेर
आमा, बुबालाई पिरोल्न थाले
हाम्रो घरमा कहिले भित्याउने भनेर
छोरा छोरीहरू
भलाकुसारी गर्न थाले
कुखुरालाई म चारा ख्वाउँछु
खसीलाई मैले चराउन लान्छु
बोकालाई म चराउँछु भन्दै
गुरु योजना बनाउन थाले ।
जीवन हो यो गरिब
ज्यामी र भरियाको
काम छैन त कमाइ छैन
दसैँ आयो कसरी मनाऔँ
रातभर निन्द्रा लागेन
पीर पर्न थाल्यो यो मन ।
हुने खानेहरूको लागि
चाड पर्व दसैँ आएर के फरक प¥यो
हामीजस्ता गरिबहरूका लागि
छोरा छोरीहरूको मन दुखाउने
कथा व्यथा हो यो दसैँ
के थाहा ती बाल बच्चाहरूलाई
अरूको देखासिखी गर्नुहुन्न
दसैँ त आउँछ, जान्छ
आसै आसमा मन दुखाएर जान्छ !
छोरा छोरीहरूलाई कसरी सम्झाउँ
गरिब जनताको लागि
दसैँ दसा हो भनेर ।
छोरा छोरीको मन राख्न
दसैँ मनाऔँ भने
आफूसँग जोहो छैन
नमनाऔँ त पिरोल्ने भयो
दसैँ दसा भइदियो
दसैँ ऋणको भारी भइदियो ।