भर्खरै :

एउटा यस्तो समय थियो

– रुपेश श्रेष्ठ
एउटा धारिलो कविताको प्रहारले
मरणासन्न भएको क्रूर शासकले
सारा सेनाबेना लगायो
र पक्रियो कविलाई
कोच्यो झ्यालखानामा ।
कसको सुराकी थियो कवि ?
गरियो छानबिन
महिनौं चल्यो सोधपुछ
डामिरहन्थे प्युसाहरु
तर, शक्ति क्षीण नहुञ्जेल
कवि रातभरि गम्थ्यो
दिनभरि गम्थ्यो
र भित्ताभरि आफ्नै रगतले लेख्थ्यो कविता
अक्षर नबुझ्ने प्युसाहरुले
बोलाए पण्डित
बोलाए विद्वान्
नयाँ–नयाँ अर्थ लगाउँदै
जाहेरी भयो दरबारमा
आकुलव्याकुल शासक आफैँ पुग्यो झ्यालखाना
र पढ्यो भित्ताभरिका हरफ ।
आगो भएर शासकले
जलाइदियो झ्यालखाना
तर, कविलाई जलाएर कहाँ डढ्थो र कविताका अर्थ !
कविताको झङ्कारले
आँखै झिमिक्क भएन शासकको
क्रोधमात्रै बगिरह्यो रगतमा
छटपटीले बोली फुटेन,
नाडी चलेन,
बन्द भयो धड्कन ।
एउटै कविताको प्रहारले ढल्यो शासक
ढल्यो शासन सत्ता ।
आज समय अर्कै छ
हो, एउटा समय थियो
शासकहरु
कविता पढ्थे र बुझ्थे ।
– घिन्ताङ घिसी ट्वाक

Leave a Reply

Your email address will not be published. Required fields are marked *