भर्खरै :

‘चिनियाँ जन–कम्युन’ को चर्चा

– समा
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) कृत थुप्रै महत्वपूर्ण पुस्तकमध्ये ‘चिनियाँ जन–कम्युन’ पनि एक हो । नेपालमा हाल २४ हजार ५ सत्न्दा बढी सरकारी संस्थाहरू क्रियाशील भएको बताइन्छ । नेपालका सहकारीविद्, सहकारीकर्मी र अभियन्ताहरूले ‘चिनियाँ जन–कम्युन’ पुस्तकको अध्ययन गरेको खण्डमा चीनको इतिहास र चीनको एउटा फरक अनुभवसँग परिचित हुने अवसर पाउनेछन् । सन् १९६० को चीन र सन् २०१९ सम्म आइपुग्दाको चीनमा विभिन्न हिसाबले आकाश जमिनको फरक भइसकेको छ भन्दा फरक नपर्ला । अभाव, गरिबी, असमानताको पृष्ठभूमिबाट आज चीनले अन्तर्राष्ट्रिय दबुमा प्राप्त गरेको आर्थिक, सांस्कृतिक र राजनीतिक उचाइ कतिपयको निम्ति अविश्वसनीय लाग्न सक्छ । चिनियाँ जन–कम्युन आजको चीन निर्माणको एउटा महत्वपूर्ण खुड्किलो मात्र नभई एउटा बलियो आधारस्तम्भ थियो ।
चिनियाँ विशेषतासहितको समाजवाद निर्माण र थप परिमार्जन गरी अगाडि बढिरहेको आजको चीनको इतिहासका केही पृष्ठहरू पुस्तक ‘चिनियाँ जन–कम्युन’ मा पाइन्छ । नेपाल र नेपाली समाजको लागि चीनको इतिहास प्रेरणाको एउटा स्रोत मान्न सकिन्छ । नेपाली समाजलाई सहकारीको वास्तविक अर्थ के हो बुझ्न यस पुस्तक नपढी नहुने महसुस हुन्छ । सहकारीको अर्थ वित्तीय कारोबारमात्र होइन, कामगरी खाने जनताको आवश्यकता पुरा गर्ने र देशको आर्थिक, सामाजिक अवस्थामा परिवर्तन ल्याउने उपाय हुनुपर्छ भन्ने शिक्षा पुस्तकले दिन्छ । जन–कम्युन के हो ? यसको पृष्ठभूमि, विकास र विस्तार कसरी भयो ? गाउँ र सहरका जन–कम्युनको तत्कालीन अवस्था कस्तो थियो ? यी सवालको जवाफ पुस्तकमा प्रस्तुत छ । अत्यन्त जानकारीमूलक र मननीय विचारहरूले भरिएको यस पुस्तकको महत्व नेपाली समाजमा अझ बढी छ भन्ने अनुभव पुस्तक अध्ययनपश्चात् हुनेछ ।
तीनवटा अध्यायमा विभक्त पुस्तकको पहिलो अध्यायमा चीनको पुरानो भूमि व्यवस्था, भूमिसुधार, पारस्परिक सहयोग दल, प्राथमिक सहकारी संस्था, अगाडि बढेको सहकारीबारे विस्तृत चर्चा छ । चिनियाँ जनता क्रान्तिपूर्व जापान, बेलायत, फ्रान्स, संरा अमेरिकालगायतका साम्राज्यवादी देशहरूबाट अत्यन्त शोषित एवम् प्रताडित थिए । शोषण र दमनको लामो इतिहासलाई उल्टाएर चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भयो । ९० प्रतिशत चिनियाँ किसानहरूको हातमा जग्गा थिएन । त्यतिबेला चीनको मुख्य समस्या भनेकै किसान समस्या एवम् जमिनसँग सम्बन्धित समस्या थियो । त्यसकारण क्रान्तिको निम्ति किसानहरू जागे । आजको चीन सगौरव घोषणा गर्छ, “चिनियाँ इतिहास किसान सङ्घर्षको जगमा उभिएको छ ।”
किसान समस्या हल गर्ने उद्देश्यका साथ किसानलाई जग्गा वितरण र भूमिसुधारको नीति अगाडि बढाइयो । यसबाट मात्र समाधान सम्भव भएन । कृषि औजारको कमी पूर्ति गर्न, श्रमशक्तिको व्यवस्थित उपयोग गर्न, खेतीलाई समाजवादीकरण गर्न चिकपाको निर्देशनमा ‘पारस्परिक सहयोग दल’ को स्थापना गरियो ।
पारस्परिक सहयोग दलको स्थापना नै चिनियाँ जन–कम्युनको विजारोपण मानिन्छ । यद्यपि यसले चिनियाँ समाजको वर्गभेद हटाउन सकेन, सामूहिक श्रमको विकास भएपनि उत्पादन साधनमा व्यक्तिगत स्वामित्व हट्न सकेन । त्यसकारण प्राथमिक खेती सहकारी संस्था स्थापनाको आवश्यकताबोध गरियो । यसले समाजवादी सहकारी निर्माणका लागि आवश्यक आधारशिलाहरू खडा ग¥यो । चिनियाँ जनतालाई समाजवादी खेती सहकारी संस्था बनाउनको लागि उत्साहित ग¥यो ।
पुस्तकका लेखक बिजुक्छेँज्यूले माओ त्सेतुङले लेख्नुभएको पुस्तक ‘चीनको गाउँतिर समाजवादको लहर’ मा व्यक्त विचारको सान्दर्भिकताबारे विवेचना गर्नुभएको छ । लेखकले चीनको भूमिसुधार र जन–कम्युन बारेका केही पुस्तकहरू– ‘चीनको गाउँले इलाकामा समाजवादी प्रवाह’, ‘जन–कम्युनबारे १९५८ को चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकको विज्ञप्ति र निर्णय’, ‘सन् १९५६ को ‘कृषि उत्पादक सहकारीको एक नमूना ऐन–नियम’, ‘चिनियाँ क्रान्तिभन्दा पहिलेको भूमि तिरोको एक अध्ययन’ बारे आप्mनो अध्ययनको सार पस्कनुभएको छ । यी ऐतिहासिक महत्वका पुस्तकहरूको अध्ययन गर्नसमेत पाठकहरूलाई हौस्यानुभएको अनुभव हुन्छ ।
अगाडि बढेको सहकारीको अर्को नाम नै समाजवादी सहकारी संस्था हो । सन् १९५६ बाट यसको आन्दोलन तीव्ररूपमा अगाडि बढ्यो । बढी परिवार मिलेर बन्ने यस किसिमको सहकारीमा ठाउँअनुसार कुनै सहकारीभित्र एउटा सिङ्गो सहर अटाउन सकिन्छ भने एउटै सहकारीभित्र थुप्रै गाउँ र सहर पनि अटाउन सकिन्छ । सहकारी सहरदेखि गाउँ, समथर ठाउँदेखि पहाडसम्म फैलाउन चिकपाले नीतिगत कार्य गरेको तथ्यहरू पुस्तकमा प्रस्ट पारिएको छ ।
चिनियाँ भाषामा जन–कम्युनलाई रेन–मिन कुंशो अर्थात् मानिसहरूको ज्यासल भनिन्छ । खेती र उद्योगको मिश्रित सङ्गठनको रूपमा पनि जन–कम्युनलाई लिइन्छ । पुस्तकमा लेखिएको छ –“चिनियाँ जनकम्युन चिनियाँ समाजवादी समाजको सबैभन्दा तल्लो सङ्गठन हो जसमा खेती (किसान) उद्योग (मजदुर), शिक्षा र संस्कृति (विद्यार्थी), व्यापार र मिलिसिया (जनसेना) आदि सबै क्षेत्र सम्मिलित छन् । यो राज्य शासनको एक तल्लो अङ्ग पनि हो ।”
जन–कम्युनमा सदस्यहरूलाई जन्मदेखि मृत्युसम्मका सम्पूर्ण आधारभूत आवश्यकताहरूको राम्रो बन्दोबस्त निःशुल्क गरिन्छ । कम्युनले आप्mनै सामूहिक भान्छाघर, अस्पताल, सेनेटोरियम, विद्यालय, पुस्तकालय, प्रसुतिगृह सञ्चालन गर्छ । मनोरञ्जनका लागि क्लब, सिनेमा हल, नाटक घर, पार्कहरूको व्यवस्था पनि कम्युनभित्र हुने गर्दछ । सामूहिक लुगा सिउने पसल, कपाल काट्ने पसल, शारीरिक व्यायाम स्थल सञ्चालन गरिन्छ । शिशुशाला, बालोद्यान, आदर निकेतनको व्यवस्थासँगै समाजलाई बुद्धिजीवीकरणतर्फ लान कम्युनले भूमिका निर्वाह गर्छ । महिलाहरूलाई घरको चौघेरा र बालबच्चा हुर्काउने जिम्मेवारीबाट बाहिर ल्याई शिक्षित, राजनीतिक, सांस्कृतिक र आर्थिकरूपले सक्षम बनाउन कम्युनले आवश्यक बन्दोबस्त गर्छ । बालबालिकालाई क्रान्तिकारी, देशभक्त र कुशल बनाउन कम्युनले निकै मेहेनत गर्दछ । कम्युनले सैन्य तालिमको पनि व्यवस्था गर्दछ । यी सम्पूर्ण व्यवस्थासहित प्रशासन र लोककल्याण, वितरण व्यवस्था, व्यक्तिगत सम्पत्तिको प्रश्न, पारिवारिक प्रश्न, कम्युनको गुण र आकारबारे पुस्तकको दोस्रो अध्यायमा व्याख्या प्रस्तुत छ । जन–कम्युनकै माध्यमबाट समाजवादी समाज हुँदै साम्यवादी समाजमा सङ्क्रमण कसरी हुन्छ भन्ने थुप्रै विचारणीय दृष्टिकोणहरू पुस्तकले समेटेको छ ।
तेस्रो अध्यायमा बिजुक्छेँज्यूले आपूmले प्रत्यक्ष अनुभव गर्नुभएका सहरी कम्युन प्रणालीबारे सरस वर्णन गर्नुभएको छ । पेइचिङको एक सहरी कम्युनमा कम्युनभित्रको महिला नेतृत्व र सहभागिताबारे बडो चाखलाग्दो तथ्य प्रस्तुत छ । ‘पश्चिमी झिलको लोक कम्युनको एक फार्म’ र ‘शाङ्घाईको माछ्याऊ जनकम्युन’ बारेको संस्मरणात्मक लेखले चीनमा गाउँ र सहरका जनकम्युनहरूको यथार्थ तस्बिर प्रस्तुत गर्छ । पाठक आपैm पुगेसरी अनुभव हुने यात्रा वर्णनले चिनियाँ जनताको क्रान्तिअघि र क्रान्तिपछिको जीवनमा भिन्नताबारे प्रस्ट पार्छ । जन–कम्युनका व्यावहारिक अभ्यासको तीनवटा दर्पण यस अध्ययनमा भेटिन्छन् । का.रोहितको ‘चीन यात्रा’ भित्र पनि यी तीन शीर्षकका यात्रा वर्णनहरू सङ्कलित छन् ।
‘चिनियाँ जन–कम्युन’ सन् १९६० को दशकमै का. रोहितले टिपोट र खेस्रा तयार पार्नुभएको अध्ययन, भ्रमण र विश्लेषणको परिमार्जित रूप हो भन्न सकिन्छ । यो पुस्तकको अध्ययनबाट चिनियाँ इतिहासको एक कालखण्ड र अध्यायको जानकारी प्राप्त हुन्छ । आजभन्दा १० वर्ष अगाडि वर्कर्स् पब्लिकेसन्स्ले प्रकाशित गरेको यस पुस्तक आजपनि उत्तिकै सान्दर्भिक र पठनीय छ । पुस्तकले नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण मार्गनिर्देशन गर्नेमा कुनै शङ्का छैन । जनताले बुझ्ने भाषामा लेखिएको यस पुस्तकको गाता सुन्दर छ, मूल्य रु. ८० त्यति महँगो होइन ।
नेमकिपाको सातौँ महाधिवेशनले ‘सहकारीहरूलाई कम्युनको रूपमा विकास गर्ने’ छलफल सुरु गरेको छ । यस सन्दर्भमा पुुस्तकको फेरिपनि अध्ययन, छलफल, अन्तरक्रिया हुने विश्वास लिन सकिन्छ । पुस्तकका लेखकप्रति हार्दिक आभार र प्रकाशकप्रति कृतज्ञता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *